पाए। उनले 'मसान', 'अपवाद' जस्ता फिल्ममा काम गरेका छन्। उनको अभिनय क्षमता र फिल्मको चर्चा भए पनि अपेक्षित व्यापार नभएपछि उनी निराश छन्। उनीसँग धनबहादुर खड्काको अन्तरंग कुराकानीः
विदेश निकै लामो समय बसियो त?
हलिउड फिल्म 'हाइवे टू धम्पुस' को बाँकी सुटिङका लागि गएको थिएँ। त्यो सकिए पनि बसाइ लम्बियो। भाइ र बहिनी अमेरिकामै बस्ने भएकाले यसपालिको दशैँ उनीहरूसँगै मनाउने योजना थियो। फर्किहाल्नुपर्ने बाध्यता नभएकाले मौका पाएको बेला घुमिहालौँ न भनेर पनि बसाइ लम्ब्याएँ किनभने त्यो फिल्मले पैसा पनि राम्रै दिएको थियो र बसेको, आएको र घुमेको पनि पैसा दिने भएपछि अवसरको उपयोग गरौँ न भन्ने भयो।
हलिउडमै भविष्य खोज्ने प्रयास गरिएन?
किन नगर्नु, गरेँ नि। 'हाइवे टू धम्पुस'मा नेपाली कलाकार अनिवार्य थियो र मलाई लिए। फेरि पनि मलाई काम गर्न मेरो लुक्स चाहिने क्यारेक्टर पनि हुनुपर्यो। यो फिल्म केही ठूला फेस्टिभलमा सहभागी भएपछि त्यस्ता अवसर प्राप्त होलान् कि भन्ने आशा चाहिँ छ। हलिउडको फिल्म बजारभित्र कसरी पस्ने भन्नेबारे केही बुझेँ। त्यहाँ युनियन र नन् युनियन फिल्म बन्दा रहेछन्। युनियनबाट ठूला बजेटका फिल्म बन्छन्। युनियनभित्र रहेर काम गर्न वा त्यहाँ प्रवेश गर्न अमेरिकाको वर्किङ परमिटलगायत प्रक्रिया पूरा गर्नुपर्छ।
त्यसो भए कोसिसले काम गरेन?
कोसिससम्म गरेको हुँ। कोही धनी हुने कोसिस गर्छन्, कोही खुसी हुने। मैले अवसर खोज्ने कोसिस गरेँ। मैले यहाँ गरेको कामको प्राफाइलले त्यहाँ केही गर्दैन। यहाँ लिएको डिग्रीले पनि त्यहाँ काम गर्दैन। त्यसैले सजिलो भएन।
हलिउड र नेपाली फिल्मबीच काम गराइको स्टाइलमा मुख्य भिन्नता के पाउनुभयो?
यहाँ धेरै कुरा विश्वासमा चल्छन्, त्यहाँ नियममा चल्नुपर्छ। त्यहाँ के गर्ने, कसरी गर्ने र त्यसका लागि चाहिने आधारभूत कुरा के हुन् भन्ने पहिल्यै स्पष्ट हुन्छ। कलाकारले कति बजे उठ्ने र कति बजे स्पटमा पुग्ने भनेर कल सिट दिइन्छ। यहाँ लोडसेडिङ हुने थाहा हुँदाहुँदै पनि बत्ती गएपछि जेनेरेटरको व्यवस्था गर्ने तरखर गरिन्छ। उनीहरू स–साना कुरामा पनि ध्यान पुर्याउँछन्। पर्दाअगाडि कलाकारको केमेस्ट्री मिलाउनुछ भने पर्दापछाडि पनि घुलमिल हुनुपर्यो नि, कनेक्सन खोज्नुपर्यो नि। यहाँ त पर्दामा श्रीमान्–श्रीमतीको भूमिकामा अभिनय गर्ने कलाकारहरू एकपटक पनि बोलेका हुँदैनन्। झुटो आँसु झारेर दर्शकलाई साँच्चीकै आँसु झार्ने बनाउनु सजिलो कुरा होइन। यस्ता कुरामा त्यहाँ असाध्यै ध्यान दिइँदो रहेछ।
यहाँ त सिनियर/जुनियरको पर्खालले पनि त्यो अवस्था सिर्जना गरेको हो। त्यहाँ छ कि छैन?
त्यही त। यहाँ त निर्देशकलाई केही सोध्यो भने असिस्टेन्टतिर औँलो तेर्स्याएर 'ऊ त्यसलाई सोध्' भन्छन्। एउटै फिल्ममा काम गर्नुछ भने मिल्ने साथी हुनुपर्यो नि। रेस्पेक्ट त गरिन्छ। बाउलाई पनि रेस्पेक्ट गरिन्छ, कुरा त खुलेर हुन्छ। त्यसैले त्यहाँ एउटै टिम भनेपछि परिवारजस्तै सबैले सबैलाई सम्मान गर्छन्।
छोटो समय भए पनि सिस्टममा चल्नुभयो। अब यहाँ काम गर्न चाहिँ गाह्रो हुने भयो?
अलिअलि हुँदो रहेछ। त्यसपछि एउटा फिल्ममा गरेँ। आफूलाई चाहिँ अलि यस्तो गर्न पाए हुने भन्ने लागिरहँदो रहेछ। तर, त्यस्तो गर्दा चित्त दुखाउलान् भन्ने पीरले गाह्रो भयो।
अस्ट्रेलियामा सुटिङ भएको 'ऋतु' बाट कस्तो अपेक्षा गर्नुभएको छ?
कोसिस गरिएको छ। स्त्रि्कप्ट पनि राम्रो छ। बाहिर बसेका मान्छेहरूले एउटा टोली अस्ट्रेलिया पुर्याए, मलाई अमेरिकाबाट बोलाए। आकर्षण थप्ने क्रममा अर्काे एउटा आकर्षण थपिएको छ। अपेक्षा त हिजो गरेका फिल्म 'मसान', 'अपवाद'बाट गरेको थिइनँ र? कोसिस पनि गरेकै हुँ। दाह्री चाहिने ठाउँमा दाह्री पालेँ, कपाल काट्ने ठाउँमा कपाल काटेँ। अहिले यहाँ के चल्छ भन्नेमा कन्फ्युजन छ।
नेपाली फिल्म क्षेत्रबाट पूरै निराश हो तपाईं?
यो समयमा मजस्ता कलाकार निराश नभए को हुन्छ? कलाकार, कवि र पेन्टर बच्चाजस्तै हुन्। सानै कुराले पनि छुन्छ हामीहरूलाई। अहिलेको अवस्थाले पनि छोएन भने कहिले छुन्छ? हामीलाई त झन् दोहोरो फ्रस्टे्रसन छ। फिल्म फ्लप छन्, देशको अवस्था लथालिंग छ।
तपाईंलाई चाहिँ किन नेपाली फिल्म चल्दैनन् जस्तो लाग्छ?
बाघ र गाउँलेको कथाजस्तै भयो। हिजो हामीले ढाँट्यौँ। बाघ आएकै थिएन, आयो भन्दै गाउँले गुहार्यौँ। आज साँच्चीकै बाघ आइरहेको छ। कहिले 'साँघुरो' बनेर आएको छ, कहिले 'उमा' बनेर। तर, गाउँलेले पत्याइदिएनन्। उनीहरू आएनन्। त्यसैले अहिले स्तरोन्नति भएर पनि फिल्म चलेका छैनन्।
धेरै फिल्मकर्मी त ठूला बजेटका बलिउड/हलिउड फिल्मका कारण साना बजेटका नेपाली फिल्मको बजार तहसनहस भएको बताउँछन् नि?
मलाई त्यस्तो लाग्दैन। सुन्दर हिमाल आइफोनले खिचे सेतो र सुन्दर देखिने र सस्तो मोबाइले खिचे कालो र नराम्रो आउने भन्ने हुँदैन। दूध हालेकै चिया मिठो हुन्छ भन्ने पनि छैन। अलिकति आइडिया लगाउने हो भने त कालो चिया झन् मिठो बन्दैन र? त्यसैले सिर्जनामा सुन्दरता भर्ने हो, सिर्जनशीलता बढाउने हो भने बजेटले असर गर्दैन।
भविष्यमा नेपाली फिल्मले गति लिने अपेक्षा छ कि छैन?
जिन्दगीबाट आशा भन्ने कुरै झिकेर फाल्ने हो भने बाँच्नुको के अर्थ भयो र? त्यसैले आशा गर्नैपर्छ। तर, अहिलेको अवस्थालाई आधार बनाउने हो भने त केही पनि देखिन्नँ। फिल्मका मामिलामा त भर्खरै राष्ट्रले गरेको अर्थात् फिल्म क्षेत्रको सबैभन्दा ठूलो संस्थाले गरेको काम नै पूरै असफल देखियो। त्यसैले व्यक्तिले गर्नसक्ने कुरै छैन।
समीक्षकहरूले राम्रै नम्बर दिएको 'अपवाद' फ्लप भएपछि तपाईं निराशाको यो बिन्दुसम्म पुगेको हो?
त्यस्तो त होइन। तर, परिस्थितिले नै त्यस्तो बनाइदियो। धेरै प्रयास गरियो। प्रयास सफल नभएपछि एक खालको निराशा त आउने नै भयो। त्यसैले अहिले फिल्म खेल्ने कुरामा पनि कटौती गरिरहेको छु।
बाँच्न पनि पर्यो। त्यसका लागि के गर्नुहुन्छ त?
त्यही त समस्या छ। कलाकार फूलजस्तै हुन् भन्छन् धेरैले। त्यसैले फूललाई राम्रो देखिने, सुगन्ध पनि छर्ने चुनौती छ। फिल्म खेलेर मात्रै मेन्टन गर्न सकिएला जस्तो छैन। त्यसैले अब विकल्प खोज्नैपर्ने बेला आएको छ।
विकल्पमा के गर्नुहुन्छ?
फिल्म पढियो, फिल्म नै जानियो र यही गरियो। त्यसैले यसकै वरिपरि बसेर केही गर्ने कि भन्ने सोच छ। चाँडै एउटा फिल्म आफैँ निर्माण गर्ने योजनामा पनि छु।
अरू कलाकारजस्तै काम गरेर उतै बस्न मन लागेन?
नढाँटी भन्नुपर्दा त्यो सोच पनि बनाएको थिएँ। तर, म जुन कुरामा बाँधिएको थिएँ, त्यसले यस्तो सोचलाई फैलिनै दिएन। फिल्मको अफर पनि आयो, कलाकार हुन पुगेको थिएन, फर्किएँ। त्यसमाथि अहिले त्यहाँ बसेर जे पायो, त्यही गर्ने स्वतन्त्रता भएको महसुस पनि गरिनँ।
विदेशी गर्लफ्रेन्ड भएकाले पनि धेरै समय त्यतै अल्भि्कएको पनि सुनियो!
पहिला थिए। ती पहिलाकालाई भेट्न पनि खोजेको हो। तर, समयले सम्बन्धका नशाहरू सुकाइसकेको थियो। त्यसैले भेट भएन।
दीर्घकालीन सम्बन्ध चाहिँ कहिले जोड्ने?
मलाई स्वतन्त्र रहन, संसार घुम्न पुगेकै छैन। यसका साथै जिन्दगीमा धेरैवटा 'स' समय, साथ र संगतजस्ता कुरा मिल्न पनि जरुरी छ। कहिलेकाहीँ बाआमाले भन्नुहुन्छ, 'सबै साथीहरूले बिहा अरे।' बिहा अरेर को कहाँ पुगे त नि! अहिले विवाहको अर्थ, आवश्यकता र परिभाषा बदलिसक्यो। हरेक मान्छे इन्डिभिजुअल छन् अहिले। त्यसैले जोडी बनाउन सजिलो छैन।
तपाईं एकजना बैंकर महिलासँग प्रेममा रहेको कुरा पनि खुब आए...
यो अन्धाले हात्ती छामेजस्तै हो। हामी इमोसनल अट्याचमेन्ट र स्पिरिचुअल अट्याचमेन्टलाई फरक दृष्टिबाट हेर्न सक्दैनौँ। विचार मिल्यो भने साथी भइन्छ, साथी भयो भने सँगै फिल्म हेर्न, पार्टीमा गइन्छ। त्यसैले सम्बन्धबारे लेख्न पाइन्छ, जोख्न पाइँदैन। हाम्रो सम्बन्धलाई जोखिदिए। कसले हाम्रो मनलाई बुझ्यो र?
देखेपछि लेखिने नै भयो। तपाईंले पनि त बचाउ गर्नुभएन नि ?
केका लागि बचाउ गर्ने त नि? म स्पष्टवक्ता! धेरै कुरा स्पष्ट भनिदिन्छु। त्यतिबेला पनि साथी हुन् भनेकै थिएँ। बाहिर चर्काे बोल्ने र मनमा केही नराख्ने सही हुन् कि भित्रभित्रै धेरै गर्ने, बाहिर नबोल्ने सही हुन्, जजमेन्ट गर्नै छाडिदिएँ। एकपटक त चित्त पनि दुख्यो। जुम आउट गरेर हेरेँ। अरूका त्यस्तै आइराछ, अरूका सातौँ/आठौँ पटक आइराछ। मेरो एकपटक आयो के फरक पर्यो त नि भनेर चुप लागेँ। के हो/होइन भन्ने मुखले किन बताउनु, समयले बताइहाल्छ नि।
कपालले पनि 'ढिलो नगर' भन्ने संकेत गरिसकेछ?
दाह्री झन् धेरै फुलेका छन्। अचेल छसात वर्षकै केटाकेटीको कपाल फुल्न थालिसक्यो। त्यसैले कपालले सही उमेर बताउनै छाडिसक्यो जस्तो लाग्छ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !