राजधानीका ठमेल र लाजिम्पाट क्षेत्र तेस्रो लिंगी यौनकर्मी -पुरुष शरीर, महिला लुक्स)हरूको आश्रयस्थल हुन् भन्ने सामान्य जानकारी मात्र थियो। लामो प्रयासपछि धरानकी पूजा राई फोटोसहित आफ्ना कुरा बताउन राजी भइन् र लाजिम्पाटस्थित आफ्नै डेरामा बोलाइन्। उनले दिएको 'लोकेसन'मा पुगेर फोन
गरेँ। मलाई चिनेर हात उठाइन्। हाफ पाइन्ट र गन्जी मात्रै लगाएकी। पुरुषकै पहिरनमा देखेर मनमा कताकता चिसो पस्यो। जे पर्ला पर्ला भनेर उनलाई पछ्याएँ। कोठाको टेबलमा शृंगारका सामान देखेपछि बल्ल ढुक्क भएँ।झन्डै एक घन्टा उनीसँग कुराकानी भयो। उनी राती ठमेल जाँदा मात्र महिला पहिरनमा निस्कँदी रहिछन्, दिनभरचिाहिँ पुरुष 'लुक्स'मै। गृहनगर धरान पनि अभिभावकको इज्जत ढाक्न पुरुष भएरै पुग्ने उनले सुनाइन्। समाजले आफूहरूलाई सहज रूपमा नहेरिदिने हुँदा पुरुष र महिला दुवैको लुगाफाटो किन्न बाध्य हुनुपरेको र महँगीमा खर्च धान्न धौधौ परेको गुनासो उनको थियो। त्यसपछि अर्को दिन राती साढे ९ बजेतिर यौनकर्मी बनेर ठमेल जाँदै गरेको उनको फोटो खिच्ने सल्लाह गरेर म त्यहाँबाट बाहिरिएँ।
+++
अर्को दिन निर्धारति समयमै सहकर्मी रवि मानन्धरसहित पूजाको डेरातिर लागियो। लैनचौरमा पुगेर फोन गर्दा उनले आफ्नो कोठामा साथी आएकाले थप आधा घन्टापछि आउन भनिन्। सहकर्मी मानन्धरले शंका व्यक्त गरे। तर, मैले पूजाले धोका नदिने जिकिर गरेँ। नभन्दै आधा घन्टापछि उनको फोन आयो। हामी फेरि उनीकहाँ गयौँ। यतिबेला पूजा सुन्दर युवतीको आवरणमा बदलिएकी थिइन्। बाटोमा हिँड्दाहिँड्दै भेटेको भए ठोक्किँदा पनि नचिनिने लुक्स थियो उनको। कोठामा फोटो खिचेर ठमेलमा ग्राहक पर्खिरहेको रात्रिकालीन दृश्य पनि खिच्न राजी थिइन् उनी। आधा घन्टामा कर्मचारी सञ्चयकोषअगाडि गएर पर्खन भनिन् उनले।
सञ्चयकोष भवनअगाडिको सडकमा तेस्रो लिंगी यौनकर्मीहरू देखिन थालिसकेका थिए। स्वप्न बगैँचा अगाडिपट्टिका रूखका छहारीदेखि ज्याठा जाने सडकसम्म उनीहरू भड्किलो शैलीमा यताउति गर्ने र रेलिङ्मा बस्ने गररिहेका थिए। त्यसैबीचमा एउटा गल्लीबाट छापामार शैलीमा चियाउँदै एक जना तेस्रो लिंगी निक्लिए। केही पर प्रहरी भ्यान भएकाले बिरालो चालमा निस्कने तिनै पूजा रहिछिन्। तर, उनी त एकैछिनको मोलमोलाइपछि ट्याक्सी चढेर ग्राहकसँग हुँइकिन्। हामी हेरेको हेरै भयौँ।
बिनाअनुमति फोटो खिच्दा उनीहरूले इँटा, ढुंगा टिपेर हान्नेमा प्रहरीले सचेत गराएको थियो हामीलाई। पूजाले चाहिँ अरू तेस्रो लिंगी यौनकर्मीलाई पनि सम्झाइदिने र फोटो खिच्न सहज हुने बताएकी थिइन्। फोटो खिचेर आफ्नो रोजीरोटी कसैले पनि गुमाउन चाहँदैन। उनले पनि त्यही गरिन्। हामीले फर्कनु उचित ठान्यौँ र पूजालाई फोन गर्यौँ। तर, उनी त पानी परेर आफू आउन नसकेको बहाना पो बनाउन थालिन्। 'भर्खर ग्राहक टिपेर ठमेलबाटै गएको होइन ?' भनिदिन मन लागेको थियो। तर, किन किन त्यसो भनिहाल्न सकिनँ।
+++
त्यही रिपोर्टिङ्का क्रममा तेस्रो लिंगी मोडल अञ्जली लामासँग भेट भयो। समाजले तेस्रो लिंगीहरूलाई नकारात्मक रूपमा हेर्नुका साथै केही प्राकृतिक कुराको अभावले आफूहरू ठगिएको मार्मिक पीडा सुनाइन् उनले। कसैको बुहारी बनेर भित्रिने उनमा ठूलो इच्छा रहेछ। "बुहारी बनौँ, बच्चा जन्माऔँ र उसलाई काखमा राखेर खेलाऔँ जस्तो लाग्छ," उनले भनिन्, "तर, हामीबाट त्यो सम्भव छैन।"
यही कारण तेस्रो लिंगीहरूले ब्वाइफ्रेन्ड बनाए पनि त्यो विवाहको ढाँचासम्म नपुग्दो रहेछ। उनी केही वर्षदेखि ब्वाइफ्रेन्डसँग बस्दै आएकी रहिछन्। "उसको परिवारबाट विवाहका लागि दबाब आइरहेको छ। अब हामी एकसाथ बस्न नपाउने भयौँ।" यसो भनिरहँदा उनको अनुहार पानी पर्न लागेको आकाशजस्तै अँध्यारो थियो।
'सरोगेट मदर' अर्थात् भाडाकी आमाबाट सन्तान जन्माउन सकिने तरिका उनलाई मैले सुनाएँ। उनी बडो उत्सुक बनिन्। उनको अनुहारमा एकाएक चमक आयो। तैपनि, विश्वास लागेन क्यारे ! सोधिन्, "साँच्चै यस्तो हुन्छ ?" उनी यसबारे ब्वाइफ्रेन्डसँग सल्लाह गर्ने भन्दै हामीसँग छुट्टिएकी थिइन्। उनका ब्वाइफ्रेन्डले सरोगेट मदरबाट बच्चा जन्माउने प्रस्तावलाई कसरी लिए कुन्नि ? सरोगेट मदरको अवधारणाले यी दुईको सम्बन्ध बलियो बन्यो कि चुँडियो ? अहिले पनि बेलाबेला मनमा खुलदुली भइरहन्छ।
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !