बलिउड नायिका ऐश्वर्या रायले चलचित्रमा पुनरागमन गर्ने पक्का भएको छ। उनी आफ्ना श्रीमान् अभिषेक बच्चनसँगै कम ब्याक गर्दैछिन्। उनीहरूले अभिनय गर्ने चलचित्रको शीर्षक हो 'ह्याप्पी एनिभर्सरी'। यसअघि ऐश्वर्याको कमब्याकका सम्बन्धमा अनेकन चर्चा चल्दै आएको थियो। ऐश्वर्याले चलचित्र 'रामलीला' को आइटम
डान्सका साथै 'मासूम' को रिमेकमा काम गर्ने चर्चा हल्लामै सिमित भए। भारतका एड गुरु प्रल्हाद कक्कडको निर्देशनमा बन्ने 'ह्याप्पी एनिभर्सरी' मा वच्चन दम्पतीले अभिनय गर्ने खबरलाई भने शतप्रतिशत सही भनिएको छ। चलचित्रको छायांकन आगामी जनवरी महिनातिर दक्षिण अफ्रिकाबाट प्रारम्भ हुने बताइन्छ।
कटरिना नम्बर वान
टाइम सेलेब्स वेबसाइटले गरेको ताजा सर्वेक्षणमा बलिउड अभिनेत्री कटरिना कैफ तथा अभिनेता शाहरूख खान पहिलो स्थानमा पर्न सफल भएका छन्। सर्वेक्षणमा शाहरूखले सलमान खान, रणवीर कपुर तथा अमिताभ बच्चनलाई कडा टक्कर दिँदै पहिलो स्थान हासिल गरेका हुन्। शाहरूखले सर्वेक्षणमा ३७ दशमलव ३ अंक पाएका थिए भने सलमानले ३७ अंक पाएर दोस्रो स्थानमा रहे। फरहान अख्तर ३३ दशमलव ५ अंक सहित तेस्रो स्थानमा रहे। नायिकातर्फ कटरिना कैफ लगातार सातौं पटक यो सर्वेक्षणको पहिलो स्थानमा रहन सफल भइन्। कटरिनाले सर्वेक्षणमा ३३ अंकसहित पहिलो स्थान हासिल गरेकी हुन्। नायिकातर्फ दोस्रो स्थानमा ३२ दशमलव ६ अंकका साथ सोनम कपूर छिन् भने तेस्रो स्थानमा २७ दशमलव ५ अंकका साथ सोनाक्षी सिन्हा छिन्। सर्वेक्षणमा बलिउडका सेलिब्रेटीहरूका चलचित्रको बक्स अफिस सफलता, उनीहरू समाचारमा आइरहने खुबी, अभिनय गरेका विज्ञापन तथा सामाजिक सञ्चालनमा उनीहरूको सक्रियतालाई आधार बनाइएको थियो। पत्रकार सोहा
नायिका सोहा अलि खानले आफ्नी भाउजू करिना कपुरझैं चलचित्रमा पत्रकारको भूमिका निर्वाह गरेकी छिन्। चलचित्र 'वार छोड न यार' मा उनी टेलिभिजन पत्रकारको भूमिकामा प्रस्तुत भएकी हुन। फराज हैदरको निर्देशनमा हालै प्रदर्शन भै प्रसंसा पाइरहेको यो चलचित्रलाई भारतकै पहिलो युद्ध-कमेडी चलचित्र भनिएको छ, जुन भारत-पाकिस्तानको सीमामा हुने तनावमा आधारित छ। चलचित्रमा सोहाले युद्ध भैरहेको स्थानबाट रिपोर्टिङ गरेकी छिन्। उक्त चलचित्रको भुमिकाबाट ख्याति कमाएकी सोहाको बारेमा प्रस्ट पार्दै निर्देशक हैदर भन्छन्— 'सोहामा गजबको आत्मविश्वास छ। झट्ट हेर्दा उनी चञ्चले देखिन्छिन् तर वास्तवमा उनी निकै मजबुत तथा परिपक्व छिन्।' आईटम गीतमा मनीषा
क्यान्सर रोगलाई परास्त गर्न सफल नायिका मनीषा कोइराला अहिले फेरि बलिउडमा छिन्। विगतमा चर्चासँगै विवादमा आएको एउटा गीतको दोस्रो संस्करणमा आइटम नृत्य गर्ने कुराले मनीषालाई चर्चामा ल्याएको छ। विगतमा 'चोली के पीछे क्या है...' गीतका कारण बलिउड हल्लिएको थियो। यतिबेला त्यही गीतले पुनः एकपटक चर्चा पाएको छ। निर्देशक सुभाष घईले 'चोली के पीछे क्या है...' बाट पाएको ख्यातिलाई आफ्नो आगामी चलचित्र 'कांची' मा सदुपयोग गर्दैछन्। यसपटकको गीत छ, 'कम्बलके नीचे क्या है...' र त्यही गीतमा अाईटम नृत्य गर्दैछिन् नायिका मनीषा कोइराला। यही गीतमा मनीषालाई महिमा चौधरी, पेरिजाद जोराबियन, श्रावणीका साथमा ऋषि कपुर तथा मिथुन चक्रवर्तीले पनि साथ दिइरहेका छन्।
साभार ; साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !