दसैंको समयमा पूरै मुलुक यसको चहल-पहलमा रमाउँछ। त्यसै पनि रमाइलो यो चाडलाई अझ रमाइलो बनाएका हुन्छन् विभिन्न थरीका परिकारले। अरू बेला जति मासु खाए पनि दसैंको मासुको विशेष महत्व छ। यो सबैको घरमा बोका, बंगुर, बँदेल वा राँगा बलि दिने अर्थात् मार हान्ने विशेष अवसर पनि हो। मासुका विभिन्न परिकार अचार, चिउरा अनि विभिन्न पेय पदार्थहरू दसैंमा बढी खपत हुन्छन्। दसैंमा हामी अरू
बेलाभन्दा अलि बढी मासु खान्छौं साथै हिजोआज धेरैले मासुसँग अल्कोहलजन्य पेय पदार्थ पनि लिन्छन्। अत्यधिक मासु, अचार तथा चिल्लो-पिरो र त्यसमाथि मद्यपान एवं धूम्रपान गरिने भएका कारण दसैंमा स्वास्थ्य समस्या पनि उत्पन्न हुन सक्छ जसका विषयमा सबैजना सचेत हुनु आवश्यक छ।स्वास्थ्यका दृष्टिकोणले मासुलाई राम्रो, पोसिलो एवं स्वस्थकर खानेकुरा मानिए पनि आजभोलि अत्यधिक मासु सेवनलाई नराम्रो मान्न थालिएको छ। मासुका परिकार नखाएर साग एवं अन्य तरकारी सेवन गर्दा मुटुको रोग -कारोनरी हर्ट डिजिज्) हुने सम्भावना कम हुने कुरा विभिन्न अध्ययनबाट स्पष्ट भैसकेको छ। त्यस्तै मांसाहारीहरूभन्दा शाकाहारीहरूको आयु सरदर ७ देखि १५ वर्ष बढी हुने, वृद्धावस्था ढिलो आउने, मोटोपन कम हुने तथा अधिकांश क्यान्सरबाट जोगिने गरेको अध्ययनहरूले देखाएका छन्। डा. स्मिथको अध्ययनले यस किसिमको परिणाम मासुभन्दा पनि मासुसँग सेवन गरिने मद्यपान र धूम्रपानले गर्दा हुने स्पष्ट पारेको छ। त्यसैले उचित मात्रामा मासुका परिकार खानु स्वस्थकर मानिन्छ। मासुमा मुख्य रूपमा प्रोटिन तथा एमिनो एसिड पाइन्छ। त्यसैले मासु बढ्दो उमेरका बालबालिका, गर्भवती वा सुत्केरी महिला तथा वृद्धहरूका लागि अति उपयोगी हुन्छ। त्यस्तै मासुमा खनिज तत्व र भिटामिन पनि पाइन्छ। सबैभन्दा महत्वपूर्ण कुरा त मासुमा मात्र भिटामिन बी १२ पाइन्छ, जुन शाकाहारी खानामा पाइँदैन। मासु नखानेहरूमा ओमेगा-३ तथा आमेगा-६ को बीचको सन्तुलनमा कमी आउने, खनिज पदार्थहरूमा कमी आउने तथ्य पनि अध्ययनले देखाएको छ यद्यपि हामीले सेवन गर्ने मासु स्वस्थकर हुनुपर्छ।
मासुमा विभिन्न किसिमका जुकाका अण्डा, जुकाका भाग, सूक्ष्म परजीवी -ब्याक्टेरिया फन्जाइ) तथा मन्द विषादी -फुड प्वाइजन) हुन सक्छन्। त्यस्ता हानिकारक तत्वलाई नष्ट नगरी मासु सेवन गर्नु हुँदैन। त्यसैले स्वस्थ खसी छान्नुका साथै त्यसलाई राम्रोसँग तयार गरी अनि पकाएर मात्र सेवन गर्नुपर्छ। दसैंमा मासुको भण्डारणमा समस्या आउन सक्छ। मासु भण्डार गर्दा मासुमा विभिन्न जीवाणु वृद्धि हुने भएकाले यसलाई पाँच डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रममा भण्डार गर्नुपर्छ। मासु सम्भव भए पि|mजमा र नभए झिँगा नभन्किने -लाग्ने), मुसा नलाग्ने, सुख्खा तर चिसो ठाउँमा भण्डार गर्नुपर्छ। कलेजो, मुटु, फोक्सोजस्ता नरम मासु भण्डार गर्न सुख्खा -ड्राइ) बनाउनुपर्छ अन्यथा धेरै लामो समय भण्डार गर्नुहुँदैन।
धेरै मासु खाएर पखाला चल्यो भन्ने गुनासो धेरैको हुन्छ तर मासु सजिलै पच्ने खानेकुरा हो। यसले पखाला लगाउने वा अपच हुने हुँदैन। मासुमा धेरै तेल वा मसला प्रयोग गरियो वा धेरै फ्राई गरियो भने तथा मासु अस्वस्थ, असुरक्षित छ भने पेटको गडबढी हुन सक्छ। त्यसैले धेरै चिल्लो एवं मसलेदार मासुको परिकार बनाउनु वा धेरै फ्राई गर्नु राम्रो होइन। धेरै मासु खानाले कब्जियत हुने सम्भावना हुन्छ। त्यसैले मासुका परिकारसँग फाइवर भएका खानेकुराहरू -सागपात, सलाद, फलफूल) तथा पर्याप्त मात्रामा पानी सेवन गर्नु राम्रो मानिन्छ।
सामान्यतया सबै किसिमका रोगीले मासु खान मिल्छ भन्दा फरक नपर्ला। ग्यास्ट्राइटिसका बिरामीहरूले उसिनेर वा चिल्लो र मसला नहाली पकाएको मासु खानुपर्छ। मधुमेहका रोगीले खानामा विशेष ध्यान पुर्याउनुपर्छ। यस्ता बिरामीले बोसो नभएको मासु खानुपर्छ। उच्चरक्तचापका बिरामीले पनि बोसो नभएको तथा नुन कम हालेर पकाएको मासु खान हुन्छ। यस्ता बिरामीले साँधेको, तारेको मासुको परिकार खानु राम्रो मानिँदैन। बाथका बिरामीहरूले रातो मासु, गोलभेंडा, गेडागुडी, पालुङ्गोको साग आदि खानु हुँदैन भने हाड तथा जोर्नीका बिरामीहरूले मासु खानु राम्रो मानिन्छ। मिर्गौलाका बिरामीहरूले मासुका परिकार -ससेज, ह्याम, वाकन आदि) खान उपयुक्त नभए पनि घरमा नुन कम हालेर पकाइएको मासु थोरै मात्रामा खान मिल्छ। जन्डिस अर्थात् कमलपित्तमा पनि मासु खान सकिन्छ। जन्डिसका बिरामीले खाने मासु बोसो, चिल्लो तथा मसलारहित हुनुपर्छ। रक्तअल्पता, क्यान्सर, क्षयरोग, यौनरोग, छालारोग आदि भएका बिरामीहरूका लागि मासु राम्रो मानिन्छ।
अहिले मासु र मद्यपान एक-अर्काका पूरक भैसकेका छन् तर मद्यपानले अर्थात् त्यसमा रहेको इथानोलले पेटको खराबी, पाचनप्रणालीमा नकारात्मक असर, दिमागको खराबी, विभिन्न ग्रन्थि तथा रोगविरुद्ध लड्ने शक्तिमा असर गर्दैन भन्न सकिँदैन। अझ मसलादार, चिल्लो, पिरो मासुका परिकारहरूसँग मद्यपान अर्थात् रक्सी, बियर, वाइन एवं हि्वस्की प्रयोग गर्दा पेट तथा कलेजोमा असर पर्छ। यसले कसैकसैलाई तुरुन्त बान्ता हुने, पखाला चल्ने समेत हुन सक्छ। लामो समयसम्म रक्सी तथा मासु सेवन गर्नाले कलेजो खराब हुनुका साथै रगत बान्ता पनि हुनसक्छ। त्यसबाहेक पेटको अल्सर, क्यान्सर, रक्तअल्पता, दुर्बलता, प्याङक्रियाजको समस्या आदि हुनसक्छ। यस्तो अवस्थामा हरियो सलाद, फलफूल तथा अन्य पोषिला खानेकुराहरू खानाले स्वास्थ्यमा पर्ने असरलाई केही कम गर्न सकिन्छ तर कलेजो राम्रो र स्वस्थ बनाउन मद्यपान नगर्नु नै उत्तम हुन्छ।
साभार : नारी
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !