CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » लौ अमेरिका बन्द भएर त बिजोग भएछ त्यहाँ पनि

लौ अमेरिका बन्द भएर त बिजोग भएछ त्यहाँ पनि

delisiसन् २०११ मा नेपालमा एउटा दलले बन्द गर्न आह्वान गर्दैगर्दा तत्कालीन अमेरिकी राजदूत स्कट एच डेलिसीले फेसबुकमा सार्वजनिक रुपमा आलोचना गरे। बन्द गर्नेहरुलाई भिसा नदिने कुरा पनि सुनिएको थियो। बन्ददेखि वाक्कदिक्क भइसकेका नेपालीहरुलाई अर्कै देशको राजदूतले यस्तो बोल्दा कूटनीतिक मान्यता
उल्लङ्घन भएकोतर्फ ध्यानै गएन। वाहवाही सुरु भयो उनको। आज उनकै देशमा ‘अमेरिका बन्द’ हुँदा बिचरालाई एक शब्द लेख्ने आँट छैन। हाम्रोमा जस्तो सरकारी कर्मचारीले सरकारलाई वा विपक्षीलाई नानाभाँती भन्न गाह्रो छ त्यहाँ। अमेरिकामा अहिले भइरहेको बन्द नेपालमा दलहरुले गर्ने जस्तो पसल र गाडी रोकेर गर्ने ‘नेपाल बन्द’ चाहिँ हैन। तर झण्डैझण्डै यस्तै समस्या केही वर्षअघिदेखि नेपालमा पनि देखिएको थियो। सत्तापक्ष र विपक्षीबीच कुरा नमिलेर बजेट पास गर्न नदिएर झण्डै अमेरिकाको हालतमा पुग्न आँटेको भए पनि नेपालमा कुरो मिलाइछाडे। अध्यादेश वा पूरक बजेट ल्याएर भए पनि हाम्रोमा काम चलाइयो। अहिले अमेरिकामा त बिजोग छ। अत्यावश्यक कामका बाहेक सरकारी कर्मचारीहरु अक्टोबर १ देखि बेतलबी विदामा गएका छन्। सरकारी वेबसाइट बन्द छन्। हाम्रोमा जस्तै त्यहाँ पनि मार पर्ने भने बिचरा जनता नै। राष्ट्रपति र सांसदहरुले भने तलब पाउने रहेछन्। कस्तो बिजोग भइरहेको छ त अमेरिकामा अहिले ? केही उदाहरण हेरौँ-
क्यान्सरपीडित बच्चाहरुको बिजोग
बन्दका कारण न्यासनल इन्स्टिच्युट अफ हेल्थ (NIH)ले ७५ प्रतिशत कर्मचारी कटौति गर्नुपरेको छ। यसको अर्थ- क्यान्सर उपचारको लागि नयाँ क्लिनिकल ट्रायलहरु गर्ने काम पनि बन्द। यसको अर्थ क्यान्सरपीडित बिरामी र बिरामी बच्चाहरुलेसमेत औषधि पाउने छैनन्। एबीसी न्युजका अनुसार सरकार बन्द जति हप्ता लम्बिँदै जान्छ, क्यान्सरपीडित १० बच्चाले क्लिनिकल ट्रायल गर्न पाउने छैनन्।
आम्मै नि, यस्तो भयावह पीडा हुने काम त गर्नुभएन नि भनी विपक्षी रिपब्लिकनहरुले NIH सहित अरु स्वतन्त्र संघीय एजेन्सीलाई चाहिँ बजेट हुने गरी एउटा विधेयक पास गर्न खोजेका थिए संसदमा। तर सत्तारुढ डेमोक्रेटहरुले सरकारको कुन अङ्ग खोल्ने कुन नखोल्ने भनेर तिमेरुले निर्णय गर्ने, सबै बजेट पास गर शैलिमा प्रस्तुत हुँदै त्यसलाई रोकिदिए।
बूढी आमै हराएको हरायै
जो इलियोट ब्लेकस्ली ६३ वर्षकी बूढी आमै हुन्। इडाहोको क्रेटर्स अफ दि मुन न्यासनल प्रिजर्भमा हाइकिङ गएकी थिइन् एमी लिङ्केर्टसँग। सेप्टेम्बर २३ देखि बेपत्ता छिन्। लिङ्केर्टको शव दुई दिनपछि फेला पर्‍यो तर ब्लेकस्लीको अझै अत्तोपत्तो छैन। सुरुमा उनीहरुलाई खोज्न ७० सरकारी कर्मचारी, कुकुरसहितको टिम र हेलिकप्टरहरु प्रयोग गरिएका थिए। यो सरकार बन्दका कारण अब जम्माजम्मी १० जना पार्क रेन्जरहरु खोजी कार्यमा जुटेका छन्। केही दर्जन रिपब्लिकन सांसदहरुले राष्ट्रपतिको ओबामाकेयरको विरोधमा उत्रँदा बूढीआमै बाँचेकी भए मर्ने बेला र मरेकी भए लाश कुहिने बेला भइसक्यो।
बिहे नै गर्न नपाउने, कत्रो आपत !
अमेरिकाको राजधानी वासिङटन डीसीमा धेरैजसो नगर सेवाहरु सुचारु छन् तर म्यारिज ब्युरो भने बन्द भएको छ। कानुनी रुपमा त्यहाँका बासिन्दाहरुले अब बिहेको मान्यता पाउन लामै समय कुर्नु पर्ने भएको छ।
न्यासनल पार्क नजिकैका व्यापार सुख्खा
सरकार बन्दले म्युजियम, स्टायच्यु अफ लिबर्टी, न्यासनल पार्कहरु बन्द भएका छन्। ती ठाउँ नजिकै बसेर व्यापार गर्नेहरु, टुर गाइडहरु, सौभिनेयर बेच्नेहरु, मोटलहरुलाई त यो बन्दले बिजोग बनाएको छ। त्यहीँको आम्दानीमा भर पर्नुपर्नेलाई अहिले मर्नु न बाँच्नु भएको छ। यी साना व्यापारीहरुका लागि हजारौँ डलर आम्दानी गुमाउनु भनेको चानचुने कुरा है।
ओहायोबाट सेन्ट अगाथा क्याथोलिक स्कूलका २७ जना विद्यार्थीहरु १४ हजार डलर चन्दा उठाएर जति बेला डिसी पुगेका थिए, ठ्याक्कै सरकार बन्द भइदियो। उनीहरु खासमा म्युजियम र मोन्युमेन्टहरु घुमी ज्ञान बढाउन आएका थिए। तर उनीहरु अहिले अमेरिकाको घटिया राजनीतिबारे बुझ्ने मौका पाइरहेका छन्। (स्रोतः भाइस)
बिचरा कर्मचारीहरु
लाखौँ अमेरिकी कर्मचारीहरु अक्टोबर १ मा बिहान उठ्दा आफू तलब नआउने गरी विदामा रहने खबर सुने। अर्को अर्थमा उनीहरु बेरोजगार भइसकेका थिए अनिश्चितकालका लागि। यो बन्द सेप्टेम्बर ३० को मध्यरात ११ बजेर ५९ मिनेटसम्म उनीहरुको जागिर थियो। अक्टोबर १ मा त्यहाँको नयाँ आर्थिक वर्ष सुरु भएपछि उनीहरु बेरोजगार भए। यो बन्द कतिसम्म हुन्छ भन्ने पनि उनीहरुलाई थाहा छैन। कानुनी रुपमा त उनीहरु बेतलबी विदामा हुन् तर नियमित आइरहने रकम नआउने गरी बन्द भएपछि असर त जसलाई पनि परिहाल्छ नि।

बन्द जता पनि दुर्भाग्यपूर्ण नै

delisi१८ डिसेम्बर २०११ मा बिहान पौने १२ बजे डेलिसीले लेखेको त्यो स्टायटसलाई उनी आफैले डिलिट गरिसके जस्तो छ।उनको फेसबुक पेजमा १५ डिसेम्बरको पोस्टपछि एकै पटक २२ डिसेम्बरको पोस्ट छ। अहिले उनी अफ्रिकी देश युगान्डामा राजदूत छन्।
नेपालमा जस्तो बन्द होस् कि अमेरिकामा जस्तो, दुःख पाउने सर्वसाधारण जनता नै हुन्। त्यसैले जताको भए पनि बन्द दुर्भाग्यपूर्ण नै हुन्छ। फरक यति हो कि हाम्रा राजदूतले अमेरिकामा बन्द दुर्भाग्यपूर्ण भन्दै हिँड्न सक्दैनन्। राजदूतको त कुरै छाडौँ, नेपालमा बन्द हुँदा तीन हात उफ्रेर फेसबुक र ट्विटरमा विरोध गर्न हतारिने अमेरिकावासी नेपालीहरु पनि आफै बसेको देशको सरकार बन्दको दुर्भाग्यपूर्ण पक्ष देख्दैनन् वा देख्न चाहँदैनन्, देखे पनि लेख्न चाहँदैनन्।

साभार ; माई संसार
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis