CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बुढ्यौलीमा शिव श्रेष्ठ गर्लफ्रेन्डको चक्करमा

बुढ्यौलीमा शिव श्रेष्ठ गर्लफ्रेन्डको चक्करमा

नायक शिव श्रेष्ठ उमेर ढल्कने क्रममा एउटी युवतीको नजिक देखिन्छन्। काठमाडौंको एक स्टुडियोमा खिचिएको यो तस्बिरमा नायक श्रेष्ठसँग देखिएकी यी युवती विगत एक दशकदेखि शिव श्रेष्ठकी साथी -?)का रूपमा उनको नजिक छिन्। नायक श्रेष्ठकी कान्छी छोरीभन्दा
पनि कम उमेरकी यी युवती सानो ठिमीकी स्थायी बासिन्दा हुन्। त्यसो त जेठी श्रीमती गंगादेवीसँग सम्बन्ध-विच्छेदपछि १३ वर्षअघि छोरा-छोरीहरूकै अनुमतिमा शिवले भित्र्याएकी चितवन रामनगरकी सिर्जना श्रेष्ठ नै शिवकी कान्छी छोरी स्वीटीकी उमेरकी हुन्। सिर्जनाबाट विवाह भएको दस वर्षपछि जन्मिएको छोरा साइसुन्दर पनि तीन वर्षका भैसकेका छन्। जेठी श्रीमतीसँग विवाह भएको २५ वर्षपछि पारपाचुके गरेका शिवको उनीबाट पाँच जना सन्तान छन्। ती सबैको विवाह भैसकेको छ भने हाल उनीहरू सबै विदेशमा छन्। 

३० को दशकको अन्त्यतिर उदाएका नायक श्रेष्ठले त्यतिबेला नेपाली मात्र होइन, पाकिस्तान, बंगलादेश, श्रीलंका आदि देशका चलचित्रमा पनि आफ्नो प्रभुत्व जमाएका थिए। एक्सन नायकका रूपमा शिव अहिले पनि चर्चित छन्। पछिल्ला केही वर्षयता चलचित्रको पर्दामा नदेखिएका श्रेष्ठ अचेल आफ्नो तीनवर्षे छोरासँग खेलेर तथा साथीभाइहरूसँग गफ गरेर समय व्यतीत गरिरहेका छन्। ती युवतीसँग शिवको परिचय साथीभाइहरूसँग गफ गरेर समय बिताउने क्रममै भएको बताइन्छ। केही प्रमाणका साथ शिवसँग कुरा गर्दा उनले भने- 'दस वर्षअघि एउटा पार्टीमा उनीसँग चिनजान भएको हो।'

नेपाली चलचित्रका नायकहरूमा गर्लफ्रेन्ड बनाउने लहर नै छ। भुवन केसी यो दौडमा सबैभन्दा अगाडि छन्, उनी प्रायः वर्षैपिच्छे विभिन्न महिलासँगको अन्तरंग सम्बन्धका कारण चर्चामा आइरहन्छन्। पछिल्लो पुस्ताका आर्यन सिग्देलले पनि केही समयअघि आफ्नी प्रेमिका सपना भण्डारीलाई सार्वजनिक गरे। शिव र भुवनभन्दा पछि चलचित्रमा पर्दापण गरेका राजेश हमालले पनि केही समयअघि साप्ताहिकमार्फत आफ्नी प्रेमिका मधु भट्टराईलाई सार्वजनिक गरेका थिए। 

डेढ दशकदेखि साइबाबाको अनन्य भक्त भएका शिव भने प्रेमिकाहरूको मामिलामा  धेरै पछाडि छन्। युवतीहरूसँग नायक शिव श्रेष्ठको अन्तरंगको सम्बन्धका बारेका कहिल्यै चर्चा चलेन, यस अर्थमा शिव अरूभन्दा केही अलग छन् पनि भन्न सकिन्छ। 

दुई वर्षअघि जेठी श्रीमतीतर्फका कान्छा छोरा शक्तिको विवाह गरेका शिव हजुरबुवा पनि भैसके, तर उनको यौवन अझै गएको रहेनछ। प्राप्त जानकारीअनुसार चार वर्षअघि सोभित बस्नेतको निर्देशनमा बनेको चलचित्र 'राज'को छायांकनका लागि जोमसोम पुग्दा वसन्ती रञ्जित शिव श्रेष्ठकै साथमा थिइन्। स्रोतका अनुसार 'राज'को छायांकनका लागि वसन्तीले शिवलाई पर्सनल एसिस्टेन्ट जसरी सघाएकी थिइन्। गत वर्ष अमेरिकी राजदूतावासमा भिसा लिन एकसाथ दस जनाले दिएको आवेदनमा वसन्तीको पनि नाम थियो। ती दस जनामा शिव श्रेष्ठ र अर्का नायक श्रीकृष्ण श्रेष्ठ पनि थिए। दस जनामा शिव र श्रीकृष्णले मात्र भिसा पाए भने वसन्तीलाई राजदूतावासले भिसा दिएन। उनीहरू एउटा कार्यक्रमका लागि अमेरिका जाँदै थिए। 

विगत केही वर्षयता शिव  वसन्ती, जसलाई किरण नामले पनि बोलाइन्छ, सँग काठमाडौंका विभिन्न स्थानमा पटक-पटक देखिएका छन्। विशेषगरी उनीहरूलाई नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्सका रेस्टुराँमा देखिने गरेको छ। काठमाडौंमा मात्र होइन, यी दुईलाई पोखरा र नेपालगन्जमा पनि सँगै देखिएको थियो। यदि उनीहरूबीच कुनै विशेष सम्बन्ध नभएको भए, उनीहरू किन काठमाडौं, पोखरा वा नेपालगन्ज घुमिरहेका छन् त ? भन्ने प्रश्न पनि उठ्छ, तर कोही कसैको साथमा देखिँदा उनीहरूबीच सम्बन्ध नै छ भनेर ठोकुवा गर्न सकिँदैन। यद्यपि यी दुईको सम्बन्धका बारेमा स्रोत भन्छ, 'हावा नचली पात हल्लिदैन।'

यस विषयमा बुझ्न नायक श्रेष्ठसँग सम्पर्क गर्दा उनले आनाकानी गर्दै भने- 'उनी मेरी शुभचिन्तक एवं मैले पहिले नै घोषणा गरेको चलचित्र 'खुकुरी कान्छी'की कथाकार हुन्। चलचित्रमा केही लगानी उनको पनि रहनेछ।' शिवले यति भनेर टार्न खोजे पनि मौनता श्रेष्ठले पटकथा तथा संवाद तयार पारिसकेको भनिएको चलचित्र 'खुकुरी कान्छी' निर्माणतर्फ भने शिव श्रेष्ठले कुनै कदम भने चालेका छैनन्। केही वर्षअघि उनले अर्को एक चलचित्रको घोषणा गरेका थिए, जुन बन्दै बनेन। त्यसैले पनि यी युवतीलाई कथाकार र सहलगानीकर्ता बताइएको यो चलचित्र 'खुकुरी कान्छी' पनि बन्छ र ? भन्ने प्रश्न उठाउन सकिन्छ। श्रेष्ठ भन्छन्- 'यो चलचित्र अवश्य बन्छ। यसका लागि गर्नुपर्ने पूर्वतयारी गरिरहेकै छु। अहिले नै मिडियालाई अहिले सबै जानकारी दिन नखोजेको मात्र हो। समय आएपछि सबैलाई थाहा हुनेछ।' 

'खुकुरी कान्छी' बने पनि नबने पनि वसन्ती अर्थात् किरणलाई विगतको एक सफल चलचित्र 'कान्छी'का यी नायक शिव श्रेष्ठले कान्छी बनाएर भित्र्याए भने त्यति अचम्मचाहिँ लागि नहाल्ला कि ? भन्ने जिज्ञासामा श्रेष्ठले कसम खाँदै भने- 'त्यस्तो कदापि हुनेछैन।' अनि गर्लफ्रेन्ड मात्रै हो त ? शिवले आफ्नै स्टाइलमा भने- 'गर्लफ्रेन्डभन्दा गलत अर्थ लाग्न सक्छ, नेपालीमा केटी साथी मात्र भनौं कि ?'

शिव श्रेष्ठले घुमाउरो किसिमबाट जवाफ दिए पनि दस वर्ष लामो समयसम्म एउटी 'केटी साथी'सँगको उनको सम्बन्धमाथि शंका गर्ने प्रशस्त आधार छन्। यदि चलचित्र बनाउने सम्बन्ध मात्र हो भने पनि यति लामो समयसम्म किन चलचित्र बनाइएन ? भन्ने प्रश्नको जवाफमा भने शिवले 'हतारिएर चलचित्र बनाउँदा घाटा हुन सक्ने' भन्दै टार्न खोजे। शिव र उनकी 'केटी साथी' वसन्तीबीच धेरै नजिकको सम्बन्ध हुन सक्ने संकेत भने उनको कुरा गर्ने शैलीबाट स्पष्ट बुझिन्थ्यो। शिव र वसन्तीबीच 'के पाक्दैछ ?' भन्ने कुराका बारेमा केही समय भित्रै थाहा भैहाल्नेछ, भनिन्छ नि, 'ओठमाथिको जुँगा र मनभित्रको प्रेम लुकाएर लुकाउन सकिँदैन।'  

हामी गर्लफ्रेन्ड-ब्वाइफ्रेन्ड हौं 

सानो ठिमीमा बस्ने किरण अर्थात् वसन्ती रञ्जित आफूलाई शिव श्रेष्ठकी गर्लफ्रेन्ड बताउँछिन्। शिव श्रेष्ठसँग ११ वर्षदेखिको चिनाजानी भएको बताउने वसन्ती अर्थात् किरणले फोनमा कुरा गर्ने क्रममा भनिन्- 'हामी धेरै पटकसँगै देखिएपछि हल्ला चलेको हो। हो, हामी धेरै ठाउँमा सँगै देखियौं। हल्लाको पछाडि दौडेर केही हुँदैन, हल्ला त जस्तो पनि चलाउन सकिन्छ। वास्तविकतामा हामी गर्लफ्रेन्ड-ब्वाइफ्रेन्ड हौं, त्यो पनि ११ वर्षदेखि। यो कुरा उहाँका निकट सबैलाई थाहा छ र परिवारलाई पनि थाहा छ। कुरा मिलेको खण्डमा भविष्यमा हामी सँगै पनि बस्न सक्छौं। यसमा अरू कसैलाई आपत्ति होला जस्तो मलाई लाग्दैन।'

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis