म रारा चाउचाउको उपभोक्ता हुँ। सकेसम्म प्राकृतिक कुराहरु नै बढी उपभोग गर्न रुचाउने भए पनि कहिलेकाहीँ छिटोको लागि चाउचाउ खानै पर्ने हुन्छ। तुलनात्मक रुपमा रारा त्यति धेरै रासायनिक पदार्थ नहालेको जस्तो देखिने र धेरै स्पाइसी नहुने हुँदा रारालाई छानेको हुँ मैले।
हप्ता दिन जस्तो अगाडि ल्याएर राखेको केही पाकेट मध्ये राराको अन्तिम प्याकेट बिहीबार पकाउन खोलेर सिजनिङ
पाउडरको प्याक खोज्ने क्रममा सेतो रङको चाउचाउभित्र केही कालो पदार्थ देखियो। लाग्यो एउटै तेललाई धेरै पटक प्रयोग गर्दा यस्तो आएको होला। भाँडोमा खन्याएर हेर्दा त थुप्रै कालो सानो-सानो कुरा पानीमा तैरिएको दैखियो। कालो मध्येको केही बाहिर निकालेर हेर्दा पो थाहा भयो कालो त मरिकेका अनगिन्ती घुन किरा पो रहेछन्। पाकेटभित्र रहेको सिजनिङ पाउडरको सानो प्याक खोलेर हेर्दा त्यो पनि धूलो नभई डल्लो परेको थियो।
त्यसपछि मैले जुन पसलबाट किनेको हो त्यो पसलमा गएर सबै कुरा बताएँ। पसलेले सप्लाई गर्नेलाई सोधे र उताबाट उत्पादन गर्ने कम्पनीमा कम्प्लेन गर्नु भने जवाफ आयो। बेलि-बिस्तार लेखेर राराको खोलमा दिएको इमेल (everest@noodles.wlink.com.np)मा पठाइदिएँ। तर एक छिनपछि डेलिभरी फेलरको इमेल पो आएछ। पछि कम्पनीका मान्छेसँग कुरा भए पछि थाहा भो त्यो इमेल चल्तिमा रहेनछ।
कम्प्लेन त गर्नै परो भनेर गुगल गरेँ वेबसाइटको लागि। हिमश्री फुड लिमिटेडले उत्पादन गर्ने राराको वेब-साइट केसी ग्रुपभित्रको साइटमा भेटियो। त्यसमा दिइएका तीन वटा नम्बरमा फोन गर्दा दुइटामा उठेन। एउटा चाहिँ निजी प्रयोजनको लागि प्रयोग हुने फोनमा पो पुग्यो।
त्यसपछि पनि मैले कम्प्लेन गर्ने उपाय खोजी गरेँ र १९७ मा फोन गरेँ। पहिला काठमाडौँको नम्बर लिएँ जुन उठेन। फेरि फोन गरी पोखराको नम्बर मागेँ र फोन गरेँ। त्यसमा भने एक जना महिलाले उठाइन्। मैले बेलिबिस्तार लगाएँ अनि तिनले पुरानो चाउचाउसँग नयाँ राखेको हुँदा त्यस्तो भएको होला भन्ने जवाफ आयो र प्रडक्सनको मान्छेलाई फोन गर्नुस् भनी पोखराको अर्को नम्बर टिपाइन् जुन फोनमा फोन उठेन।
फेरि मैले पहिलाकै नमबरमा फोन गरेर दिएको फोन नउठेको र बाँकी मेरो भनाइ राखेँ जसमा पाकेटमा दिएको इमेल अपडेट नगरेको, पाकेटमा कम्प्लेन गर्नको लागि फोन नम्बर नराखिएको, वेबसाइटको फोनहरु गल्ती राखिएको र गुणस्तर सम्बन्धी गुनासो गर्दा यथेस्ट चासो नरहेको हुँदा मैले जन-स्वास्यमा असर पर्ने देखेको कारण मिडिया, उपभोक्ता मञ्च र सम्बन्धित निकायमा यो सूचना दिन जरुरी छ भनेर सुनाइ दिएको थिएँ।
केही बेरपछि पहिला नउठेको प्रडकसनको भनिएको फोनबाट एक पुरुषले फोन गरे। मैले त्यही कुरा दोहोराएँ र उद्योगलाई बदनाम गर्ने आफ्नो उद्देश्य नरहेको तर उद्योग समाज प्रति उत्तरदायी हुनु पर्छ भन्दै यस विषयमा उपयुक्त कदम चाली कसको लापर्बाहि हो कम्पनी पत्ता लगाउन तिर लाग्छ भन्ने बिस्वास दिलाउनुस् भन्ने कुरा राखेँ। उनले मलाई काठमाडौँमा मार्केटिङ हेर्ने मान्छेको नाम र फोन नम्बर दिए। मैले उनैलाई फोन गर्न लगाइ दिन भनेँ। स्याम्पल कलेक्सन गर्न आउने र ल्याबमा टेस्ट गर्न लाने भन्ने कुरा गरे पनि मलाई त्यो दिनमात्र हैन आजसम्म पनि फोन आएन उनीहरुको तर्फबाट। मैले उनलाई खोल र डल्लो परेको सिजनिङ प्याक छ, चाउचाउ नै चाहिने हो भने चाँडै पठाउनुस् नत्र पानीमा हालिसकेको चाउचाउ फ्याँक्नु पर्ने हुन्छ भनेको थिएँ।
पछि पाकेट ध्यान दिएर हेर्दा पाकेटको अगाडि पट्टीको रङ्गीन भागमा केही (मेसिन हुन सक्छ)मा च्यापिएर काटिएको जस्तो सानो लाम्चो छिद्र देखियो। पहिलाका २ वटा पाकेटमा पनि सिजनिङ पाउडर चैँ डल्लो परेको थियो तर घुन भेटिएको थिएन। उत्पादित मिति हेर्दा मिति नाघेको देखिँदैन चाउचाउको। पाकेटमा दिएको उत्पादन मिति ५ जुन २०१३ छ जुन तलको फोटोमा हेर्न सक्नु हुन्छ र बेस्ट बिफोर ९ महिना छ।

म आफै बिजनेस प्रफेस्नल भएको कारणले पनि माथि भने जस्तै यो ब्लग लेख्नुको उद्देश्य देशमा चलिरहेका उद्योगलाई बदनाम गर्नु र धरासायी पार्नु होइन। तर समाजप्रति उत्तरदायी बन्नको लागि यो तथ्यलाई बाहिर ल्याउनु जरुरी ठानेको हुँ। बाँकी उपभोक्ता अधिकारवादी संस्था र रारा उत्पादन गर्ने कम्पनी हिमश्री फुडको जिम्मा! कम्पनीले यसमा कस्तो भूमिका खेल्दो रहेछ र यो कम्पनी आम उपभोक्ता प्रति कत्तिको संवेदनशील रहेछ र उसले आफ्नो इमान्दारीता आम उपभोक्ता प्रति देखाउँदो रहेछ कि रहेनछ, यसबाट देखिनेछ। यसमा उत्पादक कम्पनी राराको उत्पादन प्रकियामा समस्या नहुन पनि सक्छ तर उपभोक्तासम्म आई पुग्दा गुणस्तरीय रारा चाउचाउ उपलब्ध गराउनु उत्पादक कम्पनीको दायित्व हो। उपभोक्तासम्म आइपुग्न प्रयोगमा आउने सप्लाई चेनलाई कम्पनीले उतरदायी बनाउने आन्तरिक गतिविधिको कुरा हो, जुन सम्पूर्ण उपभोक्तालाई थाहा हुने कुरा हैन। उपभोक्ताले रारा चाउचाउ ISO 9001:2000 certified company बाट उत्पादित भएको गुणस्तरीय चाउचाउ भनेर किन्ने हो। अनि हामी उपभोक्ताले पनि राम्रो कम्पनीको माग गर्यौँ भने मात्र आउने दिनमा समाजका समस्या थोरै-थोरै गर्दै हट्दै जाँदा लामो समयमा ठूलो परिवर्तन भएको देखिएला।
साभार : माई संसार

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !