अहिले मलाई काठमाडौँ जिल्ला अदालत धाउने काम आइपरिरहेको छ। त्यसै क्रममा यहाँ मौलाएको घुसखोरी देखेर छक्क परेको छु। सबैलाई यसबारे जानकारी दिन यहाँ लेख्ने जमर्को गर्दैछु।
सबैभन्दा पहिलो दिन मेरो मुद्दाको प्रत्युक्तर पेश गर्नुपर्ने दिन थियो। त्यस दिन वकिलले तयार गरेको प्रत्युक्तर दर्ता (मुद्दाको म्याद बुझ्न गएको दिन) गर्न अदालती कामको बिल तिरेपछि नौ नम्बर फाँटमा दर्ता गर्न गएँ। त्यहाँ एक महिला कर्मचारीसित भेट भयो। मसँग मेरो वकिल पनि थिए। ती महिला कर्मचारीले मेरो मुद्दा दर्ता गर्ने क्रममा
मेरो वकिलसित हाकाहाकी पैसा माग्यो खाजा खर्च भन्दै। तर मेरो वकिलले उनलाई हामी खाजा खुवाउँछौँ भने।
यसरी मैले मेरो जीवनमा पहिलो पटक अदालतमा नियमित प्रक्रियाको काम गर्न पनि घुस (खाजा खर्च) माग्दा रहेछन् भन्ने थाहा पाएँ। पहिलो दिन अदालतको काम सकियो। त्यसपछि सुरु भयो तारिख बुझ्ने दिनहरु।
तारिख बुझ्ने दिनको डेट एउटा कागजमा लेखिदिँदा रहेछन्। म त्यस तारिखको दिन बिहान ११ बजे पुग्न थालेँ। तर अदालतका कर्मचारीले विपक्षी आएको छैन, त्यसैले कुर्नुस् कि २ बजेपछि आउनुस् भन्न थाले।
हुन्छ भनेर म २ बजे पुग्छु त विपक्षीसँग मेरो भेट हुँदैन। बरु अदालतका कर्मचारीले नयाँ तारिख/पेशीको डेट दिएर पठाउँछन्।
अहिले आएर पो बल्ल बुझ्न थालेँ कि मैले ११ बजे पुगेर कर्मचारीलाई खाजा खर्च (घुस) दियो भने मात्र उनीहरुले मेरो लागि उपयुक्त तारिख/पेशी डेट दिने रहेछ। भनेपछि अदालतमा घुस नखुवाई काम नहुने रहेछ।
मालपोत कार्यालय र अदालतमा घुस खानको लागि कोभन्दा को कम भन्ने प्रतिस्पर्धा पो चलेको रहेछ। त्यति मात्र हैन हालको नयाँ भवनमा रहेको अन्डरग्राउन्ड अभिलेख शाखामा पनि अस्ति एउटा डकुमेन्ट हेर्नु पर्यो भनेर गएको, त्यहाँको कर्मचारीले १३० रुपियाँ घुस खाइहाल्यो।
अब यसरी जुनै पनि फाँट र शाखामा घुस दिएर म त अदालतबाट दिक्कै भइसकेँ। फेरि काम गरिदिएनन् भनेर कम्प्लेन गर्ने ठाउँ पनि मैले त्यहाँ कतै देखिनँ।
साभार : माई संसार
http://www.mysansar.com/2014/02/10865/

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !