केही दिनअघि
काठमाडौँका केही ठाउँमा सेकुवा पोल्न आर्यघाटको काठ प्रयोग भएको माइसंसारमा पढियो। सरसर्ती कमेन्टहरु हेर्दा धेरैले आगोको उच्च
तापक्रमले गर्दा किटाणुहरु मरिसक्ने
हुँदा फरक नपर्ने विचार पनि ब्यक्त गरेको
पाइयो। के किटाणुहरु मर्दैमा संक्रामक बिमारबाट जोगिइन्छ त? होला, यसले अहिलेलाई खासै फरक नपर्ला, तर यो चलन स्वास्थ्यको हिसाबले किन राम्रो हैन भन्ने वैज्ञानिक हिसाबले
चर्चा गरौँ ।संक्रामक रोग के हो ?
संक्रामक रोगको साधारण परिभाषामा ब्याक्टेरिया, भाइरस, फंगाइ या परजीवी जस्ता जीवित वस्तुका कारणले हुने बिमारहरु पर्दछन्। यिनीहरु जीवित वस्तुहरु भएकोले यिनीहरुको आफ्नै जीवन चक्र हुन्छ। विभिन्न प्रक्रियाबाट एक व्यक्तिबाट अर्कोमा सर्ने मौका मिल्न गएमा महामारी फैलिन्छ।
उदाहरणको लागि – रुघा लागेको मान्छेले समातेको ढोका या रिमोटको बटन छुनु भयो भने पनि रुघा सर्छ। त्यस्तै टाइफ़ाइडको कारक साल्मोनेला टाइफ़िमुरिअम भन्ने ब्याक्टेरिया दिसाबाट सर्छ। टाइफ़ाइड लागेको व्यक्तिको दिसा कसैगरी अरुको खानासम्म पुग्यो भने अरुलाई पनि टाइफ़ाइड लाग्न सक्छ। टाइफ़ाइड लाग्यो भने के खाएछु भन्ने थाहा पाइराख्नु होला। हैजा पनि त्यस्तै हो। यी त भए जीवित किटाणुले हुने बिमार। के जीवित नभएको वस्तुले पनि संक्रमण गर्न सक्छ?
सक्दो रहेछ।
त्यो वस्तु हो निश्चित प्रकारको प्रोटिन । यो कुरा थाहा भएको धेरै भएको छैन, त्यसैले अलि पहिले स्कुलमा पढेको, बुझेको कुराले त नपुग्ने भयो नै तर अहिले आएर यो सिद्धान्तले ठुला ठुला स्थापित मान्यताहरुलाइ पनि हल्लाइदिएको छ।
यो सब शुरु भएको हो सन् १९९० को दशकमा ।
सन् १९८६ बाट बेलायतमा केही गाईहरु बहुलाउन शुरु भएकोमा ६-७ वर्षभित्रै १ लाख भन्दा बढी गाईहरु बहुलाए। यो “बहुला गाईको महामारी” गराउने कुनै किटाणु भेटिएन तर अनुसन्धान गर्दै जाँदा गाईलाई खुवाएको दानाको कारणले यस्तो भएको निष्कर्ष निस्क्यो।
भएछ के भने, दाना बनाउँदा त्यसमा बहुला गाईका हड्डी र मासु मिसाइँदो रहेछ र दिमागमा हुने एक प्रकारको प्रोटिन पनि मिसिँदो रहेछ। त्यो प्रोटिन स्वस्थ गाईमा एउटा सद्धे आकारको हुँदो रहेछ भने बहुला गाईमा अर्कै बिग्रेको आकारको।
समस्या कहाँ भयो भने बिग्रेको प्रोटिन शरीरभित्र पसेपछि सद्धे प्रोटिनलाइ पनि आफूजस्तै बनाइदिने रहेछ। यस्ता प्रोटिनहरुलाई प्रिअन प्रोटिन भनिन्छ।
हाम्रो जीवन चलाउने नै प्रोटिनहरुले हो, यसको बारेमा अघिल्लो लेखमा चर्चा गरियो, तर प्रिअन प्रोटिन चाहीँ शरीरमा के कामको लागि बन्छन ठ्याक्कै थाहा लागिसकेको छैन।
बिग्रेका प्रोटिनको संख्या धेरै भएपछि दिमागमा जालो जस्तो परेर बस्दिने रहेछ, अनि गाईको दिमागी हालत बिग्रिने रहेछ। बिग्रेको प्रोटिन ख्वाएको वर्षौपछि मात्र लक्षण देखा पर्ने रहेछ।
यो तथ्य थाहा भएपछि बेलायतमा हजारौको संख्यामा बहुलाएका गाइहरुलाई मारेर मात्र नभई, जलाएर, गाडियो, ताकि ती प्रोटिनहरु फेरि स्वस्थ गाइको खानामा नपुगुन्। गाईको दानामा गाईकै मासु नहालेको भए यो महामारी नहुने रहेछ। त्यसैले त्यसरी दाना बनाउन नपाउने नियम पनि बन्यो, र महामारी स्वात्त घट्यो।
यो त गाईमा लाग्ने Mad Cow Disease को महामारी भयो, त्यस्तै भेडामा स्क्रेपी भन्ने रोग छ प्रिअन प्रोटिनले हुने। मान्छेमा यो रोग लाग्छ कि लाग्दैन?
कुनै पनि रोग एउटा प्रजातिबाट अर्को प्रजातिमा सर्न कठिन हुन्छ जसलाई प्रजाति-अवरोध भन्छन्। प्रिअन रोग लागेको गाई या भेडाको मासु खाएर मान्छेलाइ यो रोग लागेको पुष्टि भएको छैन।
९० ताका बेलायतले मासु हानिकारक नभएको जिकिर गरे पनि अमेरिका लगायत धेरै देशले बेलायतबाट मासु आयात गर्न रोके। खराब प्रोटिन शरीरभित्र पसेको वर्षौंसम्म लक्षण नदेखाए पनि रोग लाग्न सक्ने भनेपछि सतर्क त हुनै पर्यो। त्यति मात्र हैन, रक्तदान गर्न खोजे पनि बेलायतमा केही समय बसेर आएको मान्छेको रगत चल्दैन अमेरिकामा।
भने पछि निकै सतर्कता अपनाइएको रहेछ।
एउटा प्रजातिबाट अर्को प्रजातिमा बिमार सर्न कठिन होला, तर मान्छेबाट मान्छेमा सर्दो रहेछ। यो पनि प्रमाणित भयो नब्बेकै दशकमा।
पपुवा न्युगिनीको एउटा आदिवासी गाउँमा कुरू भन्ने अचम्मको दिमागी बिमार फैलियो – खासगरी केटाकेटी र महिलामा। थरर काँप्ने, खुट्टा लुला हुने तर हाँसिरहने। बिमारले छोएको केही समयमै मर्ने।
गाईलाई त बिरामी गाइकै मासु ख्वाएर महामारी फैलियो, तर मान्छेमा महामारी कसरी त?
त्यो पनि ठ्याक्कै त्यस्तै रहेछ।
त्यहाँको मृत्यु संस्कार कस्तो रहेछ भने, कुनै आफन्तको मृत्यु भएपछि मासु खाएमा आफन्तकै शरीरमा रहने विश्वास रहेछ। गाउँका गाउँ बिरामी परे पनि बिमारको पत्तो नलागेपछि अमेरिकाका डाक्टर स्टान्ली प्रुशिनरले मरेका बिरामीको गिदी हेर्दा उही गाईको जस्तै पाए।
त्यहाँदेखि सरकारले त्यो संस्कारमा बन्देज लगायो र कुरूको महामारी बन्द भयो।
यसरी गाईमा हुने BSE र मान्छेमा हुने CJD जस्ता प्रोटिनबाट प्रोटिनमा सर्ने बिमार प्रमाणित गरे बापत १९९७ को नोबेल स्वास्थ्य पुरस्कार उनै डाक्टर प्रुशिनरलाइ प्रदान गरियो।
काठमाडौँको आर्यघाटका दाउरालाई त्यसै फाल्नभन्दा रिसाइकल गर्नु एकदम राम्रो हो, तर जहाँसम्म उच्च तापमा सबै किटाणु मर्छन् त्यसैले सेकुवा पकाउन पनि प्रयोग गर्दा फरक पर्दैन भन्ने विचार छ, त्यो किटाणुमा मात्रै लागु हुन्छ। यो बिग्रेको प्रिअन प्रोटिन ९०० डिग्रीको तापमा पनि जस्ताको तस्तै रहन सक्छ।
त्यसैले बिरामी गाईलाई जलाएर खरानी पारेपछि पनि गाड्ने गरिएको थियो बेलायतमा। त्यसैगरी कुनै किसिमले खराब प्रोटिनको जालो लागि मरेको मान्छेको अलिकति पनि खरानी बाँकी रहेको छ भने त्यहाँ रिस्क हुन्छ नै।
काठमाडौँको कोइला या गोल बनाउँदा कस्तो प्रोसेसिङ्ग गरिन्छ थाहा भएन। त्यस्तै यस्तो गोलले पोलेको सेकुवा खाए बिरामी परिहालिन्छ भन्न खोजेको पनि हैन यहाँ, किनकि महामारी नभएको अवस्थामा त्यस्ता रोग लागेका मान्छे नै हुने सम्भावना कम हुन्छ।
तर यहाँ प्रष्ट पार्न खोजिएको के भने किटाणु बाहेक पनि रोग सर्ने सम्भावना रहन्छ र प्रिअन रोगाणुयुक्त खरानी ठुलो संख्यामा जनजिब्रोमा पुगेको खण्डमा ठुलै महामारी फैलिने सम्भावना पनि रहन्छ भनी सचेत हुनु पनि आवश्यक छ।
त्यसैले, निष्कर्षमा भन्दा दाउराको पुन: प्रयोग राम्रो हो, अनुगमन गरी इँटाभट्टा जस्ता अन्य आवश्यक ठाउँमा प्रयोग गर्दा राम्रो, तर यस्तोमा मान्छेले खाने कुरा पोल्ने काम मानव सभ्यता र स्वास्थ्य – दुवै हिसाबले नराम्रो हो।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !