डान्सकी रानी, प्रतिभाकी खानी, नेपालकी छोरी तेरिया।
एकातिर पन्चैबाजा घन्किरहेको छ। कोही नाचिरहेका छन्। कसैले माथिका नारा लगाइरहेका छन्।
कसैले हातमा प्लेकार्ड र फूलमाला बोकेका छन्। सबै जना उनकै व्यग्र प्रतीक्षामा छन्। अघिल्लो बिहीबार दिउँसो गौतमबुद्ध विमानस्थल भैरहवाको वातावरण सधैंभन्दा बेग्लै थियो।
भारतको जी टिभीले आयोजना गरेको डिआईडी लिटिल मास्टर-३ को अन्तिम पाँच (टप फाइभ) मा छनोट भएर रुद्रपुर, रुपन्देहीकी १२ वर्षीया तेरिया फौजामगर चार महिनापछि जी टिभीको छायांकन टिमसहित आफ्नो जिल्ला आउने क्रममा देखिएको दृश्य हो यो। चर्को गर्मीको पर्वाह नगरी उनको स्वागतमा उर्लिएका सहभागीको उमंग र उल्लास ठूलै विजय उत्सवभन्दा कम थिएन।
भैरहवाबाट सुरु भएको यस्तो भीड बुटवल हुँदै उनको घर रुद्रपुरको सुनगाभाचोकसम्म पुग्दा थामिनसक्नु भैसकेको थियो। दोस्रो दिन तेरियाले बागेश्वरी संगीतालयलगायत दर्जनौं संघसंस्थाबाट ठाउँठाउँमा सम्मान ग्रहण गरिन् भने बुटवलको ट्राफिकचोकमा दसौं हजार दर्शकमाझ नृत्य प्रस्तुत गर्दै आफूलाई भोट दिएर जिताउन अपिल गरिन् र तेस्रो दिन शनिबार मुम्बई प्रस्थान गरिन्।
'यति कलिली बालिकाको यति ठूलो स्वागत र समर्थकहरूको भीड रूपन्देहीमा कहिल्यै देखेको थिइन,' बागेश्वरी संगीतालय बुटवलका संगीतकार सुरेश सेन्चुरीले भने- 'कलाको कुनै जात, धर्म, समुदाय र सीमा हुँदैन भन्ने पुष्टि भयो, कलाप्रेमीका लागि यो साँच्चिकै ऐतिहासिक घटना सावित भयो।'
रूपन्देहीको रुद्रपुर सुनगाभाचोक घर भएकी तेरिया डिआईडी लिटिल मास्टर-३ मा १४ वर्षमुनिका करिब ४ लाखमध्येबाट छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै टप फाइभमा पुग्न सफल भएपछि उनी एकाएक सेलिबे्रटी बन्न पुगेकी हुन्। चार महिना अघिसम्म उनी आफ्नो गाउँ रुद्रपुरमा मात्र परिचित थिइन् तर अब उनको परिचय धेरै फराकिलो भएको छ। कसरी सम्भव भयो यो सफलता ?
२०५९ साउनमा रूपन्देहीको रुद्रपुरमा आमा अनिता क्षेत्री तथा बुबा विजय फौजा मगरकी कान्छी छोरीका रूपमा जन्मिएकी तेरिया सानैदेखि नृत्य भनेपछि हुरुक्कै हुन्थिन्। 'तेरियाका आमा र बा दुवै जना नाच्न खप्पिस थिए, उनीहरूको त्यो वंशानुगत गुण दोब्बर भएर छोरीमा सरेरै होला ऊ झन् सिपालु भएकी,' तेरियाका ६२ वर्षीय हजुरबा कृष्णबहादुर भन्छन् ।
रुद्रपुरकै स्थानीय विद्यालयमा कक्षा ६ मा अध्यनरत तेरिया सानैदेखि गाउँमा हुने हरेक सांस्कृतिक कार्यक्रम एवं विद्यालयको अतिरिक्त क्रियाकलापमा सरिक हुन्थिन्। उनी पढाइमा पनि सधैं प्रथम हुँदै आएकी छिन्। ७ वर्षको उमेरमा गाविसस्तरीय नृत्य प्रतियोगितामा प्रथम भएपछि परिवारलाई तेरियाले केही न केही गर्छे भन्ने आशा जागेको उनका हजुरबा कृष्णबहादुर सम्झन्छन्। तेरियाले डिआईडीमा भाग लिन बारम्बार जिद्दी गर्ने र जिल्लामा हुने जुनसुकै नृत्य प्रतियोगिता जितेर आउन थालेपछि परिवारले उनलाई २०६५ सालमा बुटवलको बागेश्वरी संगीतालयमा भर्ना गरिदियो। नृत्य सिक्न उनी बिहान ५ बजे उठेर हजुरबासंग करिब ३० किलोमिटर टाढा बुटवल पुग्थिन्। उनलाई मुकेश गुरुङले नृत्य सिकाउंथे। 'तेरियामा एकपटक सिकाएको कुरा कहिल्यै नबिर्सने अचम्मको गुण छ',-मुकेश भन्छन्- 'उनको नृत्य कला देखेर म पनि छक्क पर्छु।'
नृत्य सिक्ने क्रममै पोहोर साल काठमाडौंमा सम्पन्न 'स्कुल आयलफिल्ड क्याराभान' शीर्षकको विद्यालयस्तरीय राष्ट्रव्यापी नृत्य प्रतियेगितामा प्रथम भै १ लाख रुपैयाँ नगद पुरस्कार जितेर घर फर्किएपछि तेरियामा डिआइडीमा भाग लिन सक्छु भन्ने आत्मविश्वास बढेको उनका हजुरबा कृष्णबहादुरले साप्ताहिकलाई बताए।
कसरी पुगिन् मुम्बई ?
तेरियाले डिआइडी-३ मा भाग लिन चाहेपछि हजुरबा कृष्णबहादुरले मुम्बईमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत आफ्ना भतिजा तेजबहादुरको सहयोगमा जी टिभीमा सम्पर्क गरे। जीटिभीले एउटा हिन्दी गीतमा नाचेको भिज्युअल बनाएर पठाउन भन्यो। सोहीअनुसार बागेश्वरी संगीतालयको सहयोगमा नृत्यको भिज्युअल बनाएर पठाइयो जसलाई जीटीभीले ओके गर्यो र तेरियालाई जनवरी १३ सम्म मुम्बई आउन भन्यो। अडिसन भने १९ तारिखमा थियो। मुम्बई पुगेपछि अडिसनका लागि कोरियाग्राफर खोजी गर्ने क्रममा सार्थक मिश्रलाई भारु २३ हजार ५ सय दिएर तेरियाले प्रशिक्षण लिइन्। मुम्बईमा तीनवटा अडिसन पार गरेपछि जीटीभी टिमले तेरियाका हजुरबालाई टेलिभिजन अडिसनका लागि मुम्बईबाट छनोटमा पर्न कठीन हुने भएकाले नयाँ दिल्ली जान सुझाव दियो। तेरियाले मुम्बईमै सामना गर्छु भनेपनि हजुरबाले दिल्ली लगेर अडिसन दिलाए जहाँ तेरिया सफल भइन्।
डेढ महिना भारतमा बस्दा उनका हजुरबाले १ लाख भारतीय रुपैयाँ खर्च गरेका थिए तेरियाका लागि। त्यसपछि तेरिया फेब्रुअरी ८ देखि सुरु भएको मेगा अडिसनमा पुगिन्। त्यहाँ पनि सफल भएर १ सय २ जनामा छनोट भइन्। त्यसपछि कोरियोग्राफर राउन्डमा ३६ जना र मेघा राउन्डमा १६ जना हुँदै भोटिङ राउन्ड (टप टेन) मा छनोट हुन सफल भइन्।
तेरिया मेघा अडिसनमा सफल भएपछि हजुरबा नेपाल फर्किए भने आमा अनिता मुम्बई पुगिन्। 'म डीआइडी जितेर आउँछु, सबैलाई खुसी बनाउँछु, नेपालको नाम राख्न चाहन्छु,' -रुद्रपुरस्थित आफ्नो घरमा साप्ताहिकसँग कुराकानी गर्दै तेरियाले भनिन्- 'टाइटल जित्नका लागि सबैको भोट र सपोर्ट चाहिन्छ।'
के भन्छिन् आमा ?
तेरियासँगै मुम्बईबाट फर्किएकी उनकी आमा अनिता छोरीको सफलतामा खुसीले दंग छिन्। 'यहाँ आउँदा यति धेरै मान्छेको भीड देखेर म खुशीले बेहोस नै हुन्छु कि जस्तो लाग्यो,' -गत बिहीबार छोरीलाई लिएर आएकी अनिताले भनिन् ।
यसै बीच हिजो राती नेपाली बालिका तेरिया मौजा मगरले डीआईडी लिटिल मास्टर्स ३ को उपाधी जितेकी छन् । शनिबार राति भएको ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो ।
५ महिनादेखि भारतको जी टिभीमा जारी रियालिटी शोको अन्तिम प्रस्तुति शनिबार राति भएको हो । रुपन्देही रुद्रपुरकी १२ वर्षीय तेरियाले भारत कोलकाताकी ८ बर्षीय अनुस्का क्षेत्री, भारत बैंगलोरका १० वर्षीय सद्विन सेट्टी र मुम्बईका १२ वर्षीय हादिक रुपारेललाई पछि पार्दै उपाधी जितेकी हुन् ।
दर्शकबाट प्राप्त मतको आधारमा तेरियालाई विजयी घोषणा गरिएको हो । उपाधिसँगै उनले ५० लाख नगद र कार पुरस्कार स्वरुप पाउनेछिन् ।
प्रतियोगिताका लागि १४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएका थिए, जसमध्ये ४० हजार छनोट भै विभिन्न चरणका प्रतिस्पर्धापश्चात् १७ जना भोटिङ राउन्डमा पुगेका थिए।
Teriya ko aama chhetri nabhaera magar nai bhaeko jankari prapta bhaeko chha.
ReplyDelete