'लिभिङ टुगेदर' को अवधारणा नै नबुझ्ाी उमेरजन्य आकर्षण या परिबन्दमा परेर बिहे नगरी सँगै बस्ने जोडी धोका, हिंसा र 'ब्ल्याकमेलिङ' मा परिरहेका छन्।
तस्वीरहरुः देबकी बिष्ट
स्नातक पढ्न राजधानी आएकी उनी शुरूका दुई वर्ष एक्लै बसिन्। यसबीचमा नजिकिएका 'क्लासमेट' विशाल शर्माले पछि बिहे गर्ने गरी सँगै बसौं भन्दा खर्च र सुरक्षाको हिसाबमा पनि ठीकै लागेको रसिका बताउँछिन्। त्यसपछिको समयमा भने विशालले कोसँग बोल्ने वा नबोल्ने, कस्तो कपडा लगाउने, फेसबुकमा कस्तो फोटो राख्ने लगायतका कुरामा नियन्त्रण बढाउन खोजेको रसिकाको आरोप छ। पढाइ सकिएर रोजगार भएपछि बिहे गर्ने समझ्दारीमा सँगै बसेको यो जोडी अध्ययन नसकिंदै एक–अर्काका समस्या बनेका छन्। त्यति मात्र होइन, शर्त अनुसार बिहे नगर्ने, अरूसँग पनि हुन नदिने र घरपरिवारलाई सबै कुरा भनिदिने विशालको धम्कीले रसिकालाई धेरै तनाव दिएको छ।
घर न घाटको अवस्था
काठमाडौंको एक सञ्चार गृहमा प्राविधिक रहेकी दाङकी अनु शाह (२४) पनि 'लिभिङ टुगेदर' का कारण 'न घर न घाट' हुन पुगेको बताउँछिन्। फेसबुकबाट नजिकिएका सुनार थरका एक पत्रकारले बिहे गर्ने आश्वासन दिएर डेढ वर्षसम्म शारीरिक, मानसिक र आर्थिक शोषण गरेर अलपत्र पारेको उनले बताइन्। “उसले अरू केटीहरूसँग पनि सम्बन्ध राखेको थाहा पाएपछि शर्त अनुसार बिहे गरौं भन्दा धेरै कुटपिट गर्यो”, अनु भन्छिन्। कुटपिटको चोट उनको शरीरबाट अझै हराएको छैन। (हे. तस्वीर माथि)
उदयपुर, गाईघाटका राजेन्द्र दनुवारसँग काठमाडौंमा 'लिभिङ टुगेदर' को सम्बन्धमा बसेकी सिन्धुपाल्चोककी अनिशा नेपाल (२४) को पनि अहिले बेहाल छ। २०६२ को फागुनमा माओवादीको जनसांस्कृतिक समूहबाट भागेर काठमाडौं आएकी उनले शुरूमा होटलमा सरसफाइको काम गरिन्। त्यही समयमा चिनजान भएका राजेन्द्रले परिस्थिति सहज भएपछि बिहे गर्ने आश्वासनका साथ सँगै बसौं भने। तर, सँगै बसेको डेढ वर्षमा उनले अर्को बिहे गरेर आफूलाई अलपत्र पारेको अनिशा बताउँछिन्।
इलामका मनोज खत्रीसँगको 'लिभिङ टुगेदर' मा पाएको शारीरिक–मानसिक यातनाबाट विक्षिप्त काठमाडौंकी सानु लामा (२३) अहिले एउटा गैर–सरकारी संस्थाको आश्रयमा बसेर पुरानो कुरा बिर्सने कोशिशमा छिन्। अढाइ वर्ष सँगै बस्दा मनोजले रु.२ लाख पनि खाइदिएको र यस बीचमा दुई पटक बच्चा फाल्न बाध्य पारेको पीडा सानु सुनाउँछिन्। अरूसँग बोल्दा पनि निर्मम कुटपिट सहेकी सानुले अब कुनै सीप सिकेर नयाँ जीवन शुरू गर्ने विचार गरेकी छन्। पछि बिहे गर्ने सल्लाह गरेर काठमाडौंका सञ्जय कार्कीसँग 'लिभिङ टुगेदर' मा बसेकी नुवाकोटकी लक्ष्मी तामाङ (२२) पनि अहिले ठूलो तनावमा छिन्। “सँगै बसेको दुई वर्षमा नागरिकता बनाइदेऊ भन्दा उसले मलाई १६ वैशाखमा छोड्यो”, लक्ष्मी भन्छिन्, “अहिले बिहे गर्दैछ भनेको सुन्दैछ।”
कानून चाहिन्छ
पश्चिमा मुलुकहरूमा एकअर्काको शारीरिक, आर्थिक र सुरक्षाको आवश्यकता पूरा गर्ने समझ्दारीमा सँगै बस्ने, मन मिले बिहे गर्ने र नमिले अलग हुने 'लिभिङ टुगेदर' नेपालमा भने खासगरी महिलाका लागि गलपासो सावित हुँदैछ। समाजको ध्यान उति आकृष्ट नभएको मात्र हो, बिहेको आश्वासनमा हुने 'लिभिङ टुगेदर' भुसको आगो झैं सल्किरहेको छ। यौनजन्य हिंसा र बाध्यात्मक देहव्यापार विरुद्ध काम गर्ने गैर–सरकारी संस्था रक्षा नेपालकी अध्यक्ष मेनुका थापा भन्छिन्, “शहरमा बढ्दो 'लिभिङ टुगेदर' लाई कानूनी दायरामा ल्याउन ढीलो भइसकेको छ।”
मन मिलुञ्जेलको सम्बन्धलाई हतियार बनाएर एकले अर्कालाई दुःख दिने प्रवृत्ति बढेको बताउने अधिकारकर्मी मोहना अन्सारी पनि सामाजिक–सांस्कृतिक मूल्यमान्यता विपरीत 'मेरो निजी जीवन हो, जे गर्दा पनि हुन्छ' भन्दै गरिने 'लिभिङ टुगेदर' को अपरिपक्व निर्णयले निम्त्याएको समस्या रोक्न कानून अत्यावश्यक भएको बताउँछिन्। समाजशास्त्री चैतन्य मिश्र त्यस्तो कानूनले 'लिभिङ टुगेदर' मा बस्नेहरूको शर्तको रेकर्ड राख्ने व्यवस्था गर्नुपर्ने बताउँछन्। मिश्र भन्छन्, “त्यस्तो दर्ता प्रक्रियाले अरूलाई दुःख दिने नियतले बसेका व्यक्तिहरूलाई सचेत बनाउन र बदमासी गरे कारबाही गर्न सजिलो बनाउँछ।”
कानून त चाहियो, चाहियो'
स्मिता थापा (२६) धरान, सुनसरी
दुवैको खर्च म एक्लैले धानेकी थिएँ। मैबाट खर्च लिएर अर्कै केटीलाई शपिङ गरिदिएको थाहा पाएपछि मैले पनि कडाइ गर्न थालें। तर, सुधि्रनु त कता हो कता, मेरो नाममा ब्याङ्कबाट लिएको ऋण पनि नतिर्ने भन्न थाल्यो अनि म पनि अलग्गिएँ। सँगै बस्दा आफ्नो मोबाइल अफ गरेर राख्ने र मेरो मोबाइलको हरेक कल रिसिभ गर्थ्यो। फेसबुकमा फोटो नराख, कसैसँग नबोल भन्थ्यो।
अहिले पनि कसैले फेरो फेसबुकमा कमेन्ट गर्यो भने के चलिरा'छ भन्छ। म पनि तिमीले धोका दियौ भन्दैमा रोएर बस्ने कुरा त आएन'नि भन्ने जवाफ दिन्छु। त्यस्तो मान्छेसँग बसेर मैले एक वर्ष खेर फालें। 'लिभिङ टुगेदर' ले धेरैको जीवन बर्बाद पारिरहेकोले यसलाई व्यवस्थित बनाउन कानून चाहिन्छ भनेर लागेकी छु। केटीहरूलाई धोका पाइन्छ, त्यसरी नबस भन्दै हिंडेकी छु।
'ठूलो पिरलोमा छु'
रिमा तामाङ (२१) दामन, मकवानपुर
तर, मैले विवाहको कुरा निकालेपछि झगडा हुन थाल्यो। छोरी जन्मेपछि त उसले झनै अत्याचार गर्न थाल्यो। अहिले आएर मेरो छोरी होइन भन्छ। राति फोन गरेर म केटीसँग बसेको छु भन्छ। केही महीना अगाडि आएर छोरीलाई 'भविष्यकी वेश्या' भन्यो। अहिले छोरीलाई चाइल्ड केयर सेन्टरमा राखेर एउटा रेस्टुरेन्टमा काम गरिरहेकी छु। नागरिकता निकाल्ने र छोरीको जन्मदर्ता गर्न सक्ने अवस्था छैन। घर गएर आफ्नै आमासँग बसेको भए यी दिन आउने थिएनन् होला। छोरीलाई कसरी भविष्य दिने, ठूलो पिरलोमा छु।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !