‘मेरो विचारमा शारीरिक सजाय कहिल्यै पनि उचित हुँदैन। सामान्य किसिमको सजायले हानि कम गर्ला तर फाइदा त गर्दै–गर्दैन। निर्मम सजायले मानिसलाई निर्दयी र पशु बनाउँछ।'शारीरिक सजायका बारेमा बेलायती दार्शनिक बर्टेन्ड रसेलले राखेको धारणा हो यो। एउटा किस्सा छ, बेलायत घुम्न गएका जंगबहादुर राणाले उतैबाट शिक्षा भित्र्याए, सँगसँगै ‘छडी' पनि। वि.सं. १९१० को उनको बेलायत यात्रापछि नेपाल भित्रिएको ‘छडी' त फेरिएको छ, तर त्यसको दुखाइ अझै नफेरिएको विद्यार्थीको भोगाइ छ।
...
सात वर्षअघिको घटना सम्झँदा रश्मि शर्मा (नाम परिवर्तन) अझै भस्किन्छिन्। त्यस बेला उनी युकेजीमा पढ्थिन्। होमवर्क नगरेको निहँमा कक्षा शिक्षकले उनको दाहिने हातको चोरी औंला र माझी औंलाको बीचमा पेन्सिल राखे, र बेस्मारी थिचिदिए। पाँच वर्षे कलिला औंलामा बसेको घाउको दाग अझै मेटिएको छैन।
रश्मि कक्षा आठमा पढ्दै छिन्। त्यति बेला लौरो बोकेर आउने शिक्षक अहिले खाली हात आउँछन् रे। तर, उनको मनको डर भने हटेको छैन। ‘तिनै शिक्षक अहिले प्रिन्सिपल बनेका छन्,' उनी भन्छिन्, ‘कक्षा चहार्दै खेलिरहेका विद्यार्थीको कन्सिरी तानिदिन्छन्। उठबस गराउँछन् र जगल्ट्याउँछन्।'
उनी स्कुल जाँदा कुनै दिन खुसीसाथ गएकी हुन्नन्। ‘अरू शिक्षकले पिटे प्रिन्सिपलका उजुरी गर्न गइन्थ्यो। यहाँ त प्रिन्सिपलले नै कुट्छन्,' उनी भन्छिन्, ‘मलाई त सधैं डर भइरहन्छ, त्यही भएर स्कुल जान पनि रहर लाग्दैन।'
देशभरका विद्यालयमा दिइने यातनाको सिकार भएकी उनी एक्ली होइनन्। बालअधिकारका बारेमा जतिसुकै चर्चा गरे पनि विद्यालय अझै विद्यार्थीमैत्री हुन सकेका छैनन्। आमाहरूले गाला सुम्सुम्याएर पठाएका नानीहरू बेलुका घर फर्कंदा शिक्षकको हत्केलाको छाप लिएर फर्कन्छन्। विद्यार्थी शिक्षकको डरले बोल्न सक्दैनन् भने अभिभावक नानीको पढाइ बिग्रिने डरले चुपै रहन्छन्।
तनाव पोख्ने ठाउँ
शिक्षाविद् विद्यानाथ कोइराला विद्यार्थीले सजाय पाउनुमा केही मुख्य कारण देख्छन्। शिक्षकले आफ्नो तनावको व्यवस्थापन गर्न नजान्दा विद्यार्थीको शरीरमा सुम्ला उठ्ने गरेको उनको तर्क छ। ‘आफ्नो तनाव विद्यार्थीमाथि पोख्ने चलन अझै छ,' उनले भने, ‘उपचार विद्यार्थी पिट्ने शिक्षकलाई पनि जरुरी भइसक्यो।'त्यस्तै, अर्काथरी शिक्षक प्रतिशोधका कारण पनि विद्यार्थी कुट्ने गरेको उनी सुनाउँछन्। ‘हातमा सुम्ला लिएर हुर्केका तिनै नानी शिक्षक बनेपछि सोही प्रक्रिया उसले आफ्ना विद्यार्थीमा लागू गर्छ,' कोइराला भन्छन्, ‘भविष्यमा नानीहरूले पिटाइ नखाऊन् भन्नका लागि यो चक्र तत्कालै रोकिनु जरुरी छ।'
केही शिक्षकको नियत राम्रो हुँदाहँदै पनि विकल्पबारे ज्ञान नहुँदा विद्यार्थीलाई पिट्ने गरेका छन्। ‘सरकार शिक्षकलाई विद्यार्थी नकुट् भन्छ तर कसरी पढाउने भन्ने विकल्प दिँदैन,' उनी भन्छन्, ‘नयाँ सोचका साथ पढाउने तालिम दिनु जरुरी छ।'
नकुटेका नानीहरू बिग्रन्छन् भन्ने सामाजिक मान्यता कायमै रहेकाले पनि विद्यालयमा विद्यार्थी पिटिने क्रम जारी रहेको उनको बुझाइ छ। अब नानीहरूको चञ्चलतालाई उनीहरूको ज्ञान अभिवृद्धिको लागि प्रयोग गर्न जरुरी रहेको उनी बताउँछन्। ‘नानीहरू उफ्रिन्छन् भने त्यसलाई शारीरिक र गणितको ज्ञान दिने काममा उपयोग गर्नुपर्छ,' उनले भने, ‘तर उसलाई त्यही बहानामा पिट्न पाइन्न।' पिटेर, तर्साएर होइन विद्यार्थीको रुचिअनुसार फकाएर, खेलाएर पढाउन सक्नु नै असल शिक्षकको खुबी भएको उनी बताउँछन्।
बहाना साना, सजाय कडा
अनुशासन र शारीरिक सजायबीच गोरु बेचेको साइनो पनि पर्दैन। तर यहाँ विद्यार्थी सानासाना बहानामा पिटिने गरेका छन्। अनुशासनको कारबाहीको नाममा उनीहरू शारीरिक सयाज भोग्दै छन्।गृहकार्य नबुझाउँदा, समयमा विद्यालय नपुग्दा, पोसाक सफा नहुँदा, विनाकारण विद्यालय अनुपस्थित हुँदा, साथीभाइसँग जिस्कँदा, चकचक गर्दा, अक्षर नराम्रो हँदा, विद्यार्थी कुटिने गर्छन्। त्यो पिटाइको मात्रा भने शिक्षकको मुडअनुसार भर पर्छ।
अबोध विद्यार्थीले आफ्नो चञ्चलताको सजाय तुरुन्तै पाउँछन्। कहीँ कुखुरा बनाइन्छन्, कसैको कान निमोठिन्छन्। कसैको हत्केला र शरीरमा स्केल, डस्टर वा छडीको डाम बस्छ त कसैको कन्सिरी उखेलिन्छन्। उठबस गराउने घुँडा टेकाउने, चिमोट्ने, औंलाको बीचमा पेन्सिल राखेर थिच्ने, सिस्नुपानी लगाउने, बाथरुपमा थुन्नेजस्ता सजायबाट विद्यार्थी अछुतो छैनन्।
सजायको नाममा यौन दुर्व्यवहार
शिक्षकको पिटाइबाट थलिएका कतिपय विद्यार्थी बाल हेल्पलाइन नेपालको शरणमा पुग्ने गरेका छन्। ‘निर्ममताको हद नाघेपछि मात्र हामीकहाँ आइपुग्छन्,' कार्यक्रम अधिकृत सागर भण्डारीले भने। हेल्पलाइनमा कानको जाली फुटेका, पिठ्युँमा नीलडाम भएका, शरीरमा घाउ भएका लगायतका उजुरी आएका छन्। ‘अन्य सामान्य घटना यत्तिकै हराएर जान्छन्,' उनले भने, ‘यहाँ आइसकेका उजुरी गम्भीर कारबाही प्रक्रियामा जानैपर्ने खालका छन्।'हेल्पलाइनमा २०७०/७१ मा ६१ वटा गम्भीर उजुरी दर्ता भएका छन्। ‘कक्षाकोठामा विद्यार्थीले सामूहिक यातना पाउने क्रम त बढेको छ नै,' उनले भने, ‘पछिल्लो समय सजायको बहानामा छात्राहरूमाथि यौन दुर्व्यवहारका घटना समेत हुन थालेका छन्।'
दबिन्छन् सुस्केरा
केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल अनुगमनको अभावमा विद्यालयमा बालअधिकारको हनन् भइरहेको बताउँछन्। कुनै पनि बहानामा बालबालिकालाई सजाय दिन नपाइने कानुन भए पनि ससाना बहानामा कलिला नानीले अनावश्यक सजाय भोग्दै आएको उनी सुनाउँछन्।बालबालिका स्वाभावैले चञ्चल हुन्छन्। तर, शिक्षक उनीहरूको मनोविज्ञान बुझ्न सक्दैनन्। सरकारले ‘दण्डरहित शिक्षा' भन्ने नारा अघि सारे पनि त्यसको प्रभावकारिता खासै नदेखिएको धितालको भनाइ छ। ‘नानीहरूका पीडाले पर्खाल नाघेपछि कतिपय घटना पत्रिकामार्फत बाहिर आउँछन्,' उनले भने, ‘नत्र अधिकांश नानीका सुस्केरा विद्यालय हाताभित्रै दब्ने गरेका छन्।
शिक्षक र अभिभावक दुवैको डरले आफूले पाएको सजाय नसुनाउँदा उनीहरूमा पछिसम्म मनोवैज्ञानिक असर परिरहन्छ। ‘मेरी पाँच वर्षकी छोरी अघिल्लो साता विद्यालय जाने क्रममा बाटोभरि रोइरही। मैले के भयो भन्दा बोल्दै बोलिन,' काठमाडौं डाछीकी मन्जु सिम्खडाले भनिन्, ‘पछि उसको साथीहरूसँग बुझ्दा अघिल्लो दिन विद्यालयको बाथरुममा थुनेको थाहा भयो।'
सजायबारे घरमा सुनाउँदा पनि अभिभाववकले नानीहरूकै दोष देखिदिँदा समस्या झन् चर्को बन्ने गरेको छ। ‘पढिनस् होला, चकचक गरिस् होला, त्यही भएर त पिटे नि भन्नुभयो,' कक्षा आठकी एक क्षात्राले भनिन्, ‘त्यसपछि मैले घरमा भन्नै छाडेँ।'
अनुगमन फितलो
प्याब्सन र एन–प्याब्सनले मातहतका विद्यार्थीको अनुगमन राम्रोसँग नगरेको गुनासो छ। एन–प्याब्सनका अध्यक्ष कर्णबहादुर शाही अहिलेको युगमा विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय दिनु कानुनीमात्र नभई मानवीय रूपमा पनि असह्य रहेको बताउँछन्। ‘पिटेर, गाली गरेर विद्यार्थी सुधार्छु भन्नु शिक्षकको मूर्खता हो,' उनी भन्छन्, ‘त्यसले क्षणिक सुधार त ल्याउला तर भविष्यसम्म यसले विद्यार्थीलाई असर पारिरहन्छ।'कतिपय अभिभावक अझै पनि नानीहरूलाई पिटेर भए पनि तह लगाइदिनुपर्यो् भनेर आफूहरूकहाँ आउने गरेको उनले सुनाए। ‘समाजमा रहेको पुरातन संस्कार अझै हटेको छैन,' उनी भन्छन्, ‘तिनै संस्कार कहिले घरमा त कहिले स्कुलमा देखिन्छन्।'
विद्यार्थीलाई पिटेरभन्दा परामर्श दिएर सुधार्न सकिने उनी सुझाउँछन्। ‘प्रत्येक विद्यालयमा मनोविमर्श सेल खोल्ने सोच बनाएका छौं,' शाहीले भने, ‘केही समयअघि हामीले आठ सय प्रिन्सिपलका लागि विशेष तालिम पनि दिइसकेका छौं।'
सजायका समस्या
विद्यालयमा पाउने सजायबाट बालबालिकामा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुन्छ। ‘शारीरक चोट निको भए पनि त्यसको मनमा रहने असर दीर्घकालसम्म रहन्छ,' मनोविज्ञ गोपाल ढकाल भन्छन्, ‘त्यसले उनीहरूको भविष्य नै जोखिममा पार्न सक्छ।' सजायबाट बालबालिकाले आफूलाई असुरक्षित, अपहेलित र असहाय ठान्ने गर्छन्। त्यसैगरी उनीहरूमा बदलाको भावना पलाउने, आत्मविश्वासमा कमी आउने, पढाइमा अरुचि पैदा हुने, निद्रा नलाग्ने, एकाग्रतामा कमी आउने, सपनामा बर्बराउनेजस्ता समस्या देखिने उनी बताउँछन्।‘बाल्यकाल खेल्ने/कुद्ने उमेर हो,' उनले थपे, ‘असल शिक्षक त्यही हो, जसले खेल्दै/कुद्दै गरेका नानीहरूलाई ज्ञान दिन सक्छ।'
क्रूर सजायका नमुना
राजधानीको स्वयम्भूस्थित द एक्सेलसियर बोर्डिङ स्कुलका शिक्षकको पिटाइबाट कक्षा सातका सचिन बुढाथोकीको दाहिने कानको जाली फुट्यो। खाजा खाने समयमा एकापसमा चलेको भन्दै शिक्षकले बुढाथोकीलाई पिटेका थिए।त्यस्तै, शौचालयको बत्ती ननिभाएको निहुँमा झापामा एक शिक्षकले कक्षा तीनमा अध्यनरत टेकनाथ राजवंशीलाई निर्ममतापूर्वक पिटेको घटना अखबारले छापे। उनको शरीरमा नीलडाम हुने गरी शिक्षकले रबरको पाइपले पिटेका थिए।
उता, बाँकेको हरमिनियामा स्कुले बालकले शिक्षकको पिटाइबाट आँखाको ज्योति नै गुमाउनुपर्योा। होमवर्क नगरेको भन्दै किताबले हिर्काउँदा नर्सरीमा पढ्ने आठ वर्षीय अजय धोबीको आँखा फुटेको थियो।
विद्यार्थीको गल्तीसँगै शिक्षक अचानक आवेगमा आउँदा यस्ता घटना हुने गरेको मनोविज्ञ गोपाल ढकाल बताउँछन्। ‘अब शिक्षकलाई काउन्सिलिङको जरुरी छ,' उनले भने, ‘तबमात्र यस्ता क्रूर घटनालाई न्यूनीकरण गर्न सकिन्छ।'
कानुन छ, कारबाही छैन
सरकारले ‘भयरहित शिक्षा'को अवधारणा अगाडि सारिसकेको छ। अवधारणाअनुसार कुनै पनि बहानामा विद्यार्थीलाई सजाय दिन मिल्दैन। ‘तर, अझै पनि विभिन्न दोष देखाउँदै विद्यार्थी पिटिएका खबर आइरहेका छन्,' शिक्षा विभागअन्तर्गत अनिवार्य शिक्षा तथा बालअधिकार शाखाका उपनिर्देशक प्रमोदकुमार शर्माले भने, ‘यो शिक्षकको व्यक्तिगत आचरणमा पनि भर पर्दो रहेछ।'उनका अनुसार विद्यालयमा हुने सजायको भागीदार अत्यधिक रूपमा प्राथमिक तहका विद्यार्थी हुने गरेका छन्। देशभरका ३४ हजार प्राथमिक विद्यालयमा झन्डै ४४ लाख विद्यार्थी पढ्ने गरेको तथ्यांकले देखाउँछ।
‘भयरहित शिक्षा'अन्तर्गत विद्यालयमा लौरो लैजान नपाइने भए पनि अझै पिटाइका घटना रोकिएका छैनन्। पिटाइका विभिन्न घटना सार्वजनिक भएपछि यस्तै कारबाही गर्नुपर्छ भनेर कतै नलेखिएको शर्मा बताउँछन्। ‘कुनै कारण पिट्न पाइन्न भन्ने अवधारणा आइसकेको छ,' उनी भन्छन्, ‘तर कसैले पिटिहाले के कारबाही हुने भन्ने नै प्रस्ट छैन।'
सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयमा विद्यार्थीले बढी सजाय पाइरहेका उनी बताउँछन्। ‘उजुरी आएपछि घटना हेरेर कारबाही गर्ने हो,' उनले भने, ‘तर धेरै घटनाहरू हामीकहाँ आइपुग्दैनन्।' कतिपय विद्यालयमा हुने सजाय थेग्न नसकेपछि प्राथमिक तहका कतिपय विद्यार्थीले पढाइ नै छाड्ने गरेको उनको बुझाइ छ।
के छ ऐनमा?
शिक्षा छैटौं संशोधन नियमावलीमा शिक्षकहरूको आचारसंहितामा बालबालिकालाई विद्यालयमा कुनै पनि किसिमको शारीरिक सजाय दिन नपाइने प्रावधान छ। शिक्षा मन्त्रालयले शिक्षा विभागमार्फत २०६२ सालमै जिल्ला शिक्षा कार्यालयहरूलाई बालबालिकालाई अनुशासन वा अन्य कुनै बहानाबाट यातना दिन वा मौखिक दुर्व्यवहार गर्न नहुने र गराए दण्डनीय हुने जानकारी गराएको थियो।
त्यस्तै शिक्षा मन्त्रालयले बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप– २०६७ अगाडि ल्याएको छ। जसमा विद्यालयमा कुनै पनि प्रकारको भौतिक, शारीरिक एवं मानसिक दण्ड सजाय नहुने र बालबालिकालाई दुर्व्यवहारबाट जोगाउने उल्लेख गरिएको छ।
त्यसैगरी विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका– २०६८ ले विद्यालयमा शारीरिक र मानसिक सजाय नदिने सुनिश्चितता गरेको छ। बालबालिकालाई दिइने मानसिक र शारीरिक सजायका कारण उनीहरूको समग्र व्यक्तित्वमा असर गर्ने मनोविज्ञ बताउँछन्।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !