माओवादीको सशस्त्र द्वन्द्वले बाँके, बैजापुरका रामरतन चौधरीको परिवार सम्हालिन नसक्ने गरी ध्वस्त बन्यो।
चन्दा मागेको माओवादीको चिठी घरमा आएपछि चन्दा लिन कोही आए दिनू भनेर घरमा केही रकम छाडेको र बाटोमा भेटे पनि दिने भनेर साथमै अरू रकम लिएर हिंडेको वेला यो
घटना भएको उनी बताउँछन्। तर, अपहरण हुनुमा चन्दा नदिनु कारण रहेको उनले पछि मात्र थाहा पाए।
उनी बसेको घरका मानिसलाई भित्र राखेर ढोका बन्द गरेकाले उनको बचाउमा कोही आउन पाएनन्। त्यसपछि उनलाई दुई सय मिटर टाढा लगी दुवै हात पछाडि बाँधेर र भुईंमा लडाएर लट्ठीले कुटपिट गर्न थालियो।
यसरी कुटपिट भयो कि, पानी माग्दा पनि उनलाई दिइएन। त्यसपछि उनको दुवै खुट्टामुनि काठ राखेर माथिबाट अर्काे ठूलो काठले थिचिदिए। यसो गरेको केही बेरमै उनको दुवै खुट्टा भाँच्चियो र उनी बेहोश भए। त्यसपछि माओवादीले छाडेर गएको र चार घण्टापछि मात्र सहयोग गर्न गाउँले आएको उनी बताउँछन्।
त्यसपछि आएका उनका परिवारका सदस्यले बोकेर राप्तिको अगैयासम्म ल्याए र त्यहाँबाट एम्बुलेन्समा नेपालगञ्जको भेरी अञ्चल अस्पताल पुर्याए। शरीरबाट रगत धेरै बगेकोले तत्कालै उनलाई १० प्वाइन्ट रगत दिइयो। त्यसपछि त्यहाँ उपचार हुन नसक्ने भन्दै काठमाडौं पठाइयो। काठमाडौं गएपछि भेरी अञ्चल अस्पतालमा पनि माओवादीले आफूलाई खोजेको उनको भनाइ छ।
काठमाडौंको शिक्षण अस्पतालमा उनको झ्न्डै ६ वर्ष उपचार भयो। उनी उत्तानो परेर मात्र सुत्न सक्थे, फर्कन, उठ्न र बस्न सक्दैनथे। यस्तो स्थिति थाहा पाएपछि उनकी आमा चिन्ताले बिरामी भइन् र २८ चैत २०५८ मा संसार त्यागिन्। तर, त्यस्तो अवस्थामा पनि उनी घर पुग्न सकेनन्।
आमाको किरिया सकिएर चोख्याउने दिनमा पनि माओवादीले उनको घरमा आक्रमण गरी सम्पत्ति लुटे तथा घर ध्वस्त बनाइदिए। त्यही वेला उनको ७ बिघा जग्गा पनि कब्जा गरेको घोषणा गरे। त्यस्तो अवस्थामा पनि गाउँलेहरू डरले त्यहाँ सहयोग गर्न आउन सकेनन्। त्यो वेला बिरामी पिता हीरामणि र ज्वाईं खुशीरामलाई पनि पिटेर हात, खुट्टा र करङ भाँचिदिएको उनी बताउँछन्। तर, उपचारका लागि अस्पताल लैजान कोही गाउँले तयार भएनन्। दुई दिनपछि आएको सशस्त्र प्रहरीको टोलीले सबै घाइतेलाई ट्रयाक्टरमा हालेर भेरी अञ्चल अस्पताल नेपालगञ्ज पुर्यायो। त्यही यातनाकै कारण उनका पिता हीरामणिको मृत्यु भयो भने ज्वाईं अझै घाइते छन्।
यस्तो अवस्थामा उनका पाँच जना छोराछोरीको पढाइ बिग्रिने नै भयो।
काठमाडौंबाट उपचार गरी फर्किएपछि उनी २०६५ सम्म नेपालगञ्जमा बसे।
त्यसपछि गाउँ गएका उनले सानो घर बनाए पनि माओवादीले कब्जा गरेको जग्गा फिर्ता पाउन सकेनन्। अहिले त्यो जग्गा वैद्य माओवादीका कार्यकर्ताहरू जीतबहादुर थारू, भीमबहादुर थारू, भरथरी थारू र रतिराम थारूले उपभोग गरिरहेका छन्। प्रशासनमा उजुरी दिए पनि जग्गा फिर्ता पाउन सकेका छैनन्। जग्गा कब्जा गर्नेमध्येका जीतबहादुरले द्वन्द्वको वेला गार्ड लिएर हिंड्ने र जनअदालत चलाउने गरेको उनी बताउँछन्।
उनले द्वन्द्व प्रभावितको नाममा अहिलेसम्म राहत पाएका छैनन्। उपचार खर्च, ध्वस्त भएको घर र कब्जा गरिएको जग्गाको क्षतिपूर्ति पनि पाएनन्। माओवादी सरकारले शान्ति प्रक्रियापछि आफ्ना कार्यकर्तालाई मात्र राहत र क्षतिपूर्ति दिएको तथा त्यसपछिका सरकारले पनि आफ्नो दलका कार्यकर्ताबाहेक अरूलाई वास्ता नगरेको उनी दुःखेसो पोख्छन्।
दुवै खुट्टामा रड राखेकोले उनी अहिले राम्ररी हिंड्न सक्दैनन्। अधिकांश जमीन माओवादीको कब्जामा छ भने बाँकी सम्पत्ति उपचारमा सकियो। उपचार गर्न ६ वर्ष काठमाडौं बस्नुपरेकाले उनको सहायक प्राविधिकको अस्थायी जागीर पनि गयो। “मेरो पूरै परिवार माओवादी द्वन्द्वले ध्वस्त बनायो” रामरतन पीडा पोख्छन्।
तुफान न्यौपाने, नेपालगञ्ज
साभार : हिमाल साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !