CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » अख्तियार पनि हेरेको हेर्यै

अख्तियार पनि हेरेको हेर्यै

अख्तियार पनि हेरेको हेर्यै!काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिंदालिंदै रंगेहात पक्राउ परेका कर्मचारीलाई विशेष अदालतले सफाइ दिएको छ। २०७१ असार ११ गते वन विभागको परिसर बबरमहलबाट सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिंदालिंदै पक्राउ परेका काभ्रेका सहायक वन अधिकृत प्रल्हादप्रसाद धितालविरुद्ध अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले २०७१ कात्तिक १० गते
सफाइ दिएको समाचार छ। घुस लिंदालिंदै रंगेहात पक्राउ परेका सहायक वन अधिकृत धिताललाई सफाइ दिएपछि अख्तियारको भ्रष्टाचार विरुद्धको अभियानलाई नै ठेस पुग्ने भनी चिन्ता प्रकट गरिएको छ। धितालकै नजीरलाई आधार बनाएर रंगेहात घुस लिंदालिंदै समातिएकाहरूले भटाभट सफाइ पाउने चिन्ता समेत प्रकट गर्न थालिएको छ।
विशेष अदालतका रजिष्टार नातिबाबु लामिछानेले सहायक वन अधिकृत धितालले सफाइ पाएको हो भनी बताए। लामिछानेले भने–’बरामदी मुचुल्कामा जसले घुस दिएको हो, ऊ बस्नुपर्छ, सही गर्नुपर्छ, उसको रोहबरमा मुचुल्का गर्नुपर्छ। तर, अधिकृत धितालको खल्तीमा पैसा हाल्ने मान्छे हिंडेको र बरामदी मुचुल्कामा ऊ बसेको छैन। अदालतमा घुस दिने व्यक्तिले विपरीत बकपत्र गरेको छ। वन अधिकृत धिताल अर्कै काममा तालिममा आएको बेलामा विभाग परिसरमा पैसा दिएको छ, कामको सिलसिलामा पैसा दिएको होइन। बरामदी मुचुल्कामा घुस दिनेको सही छैन। सेवाग्राहीले पैसा लिन मानेको थिएन, जबर्जस्ती पैसा हालिदिएको हो भन्ने बयान दिएका छन्।’ रंगेहात पक्राउ परेकाहरूले घुस दिने पक्षलाई यसैगरी विपरीत बकपत्र गराउने र अदालतबाट सफाइ पाउने नजीर त स्थापित हुँदैन भन्ने जिज्ञासामा रजिष्टार लामिछानेले भने–रंगेहातका अरु मुद्दा र धितालको मुद्दामा फरक छ। पूर्ण फैसला आएपछि विश्लेषण गर्दा उचित हुन्छ। विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, सदस्यद्वय भूपेन्द्र राई र नरेन्द्र शिवाकोटीको इजलासले अधिकृत धिताललाई सफाइ दिएको रजिष्टार लामिछानेले जानकारी दिए।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले धितालले विशेष अदालतबाट सफाइ पाएको कुरामा अनभिज्ञता प्रकट गरे। सफाइ पाए नपाएको बुझेर प्रतिक्रिया दिने बताउँदै उनले सफाइ पाएकै रहेछन् भने अख्तियार कानुन बमोजिम सर्वोच्च अदालतमा पुनरावेदनमा जान्छ भन्ने प्रतिक्रिया दिए।
काभ्रेका एक सेवाग्राहीसँग निजी जग्गामा भएको रुख कटान गर्न आदेश दिने क्रममा सहायक वन अधिकृत धितालले काठमाडौंस्थित वन विभाग, बबरमहलको परिसरमा २० हजार घुस लिएका थिए। घुस लिएर रुख कटान गर्ने आदेश दिँदादिदैको अवस्थामा आयोगको विशेष टोलीले धिताललाई पक्राउ गरेको थियो।
Source :http://sanghu.weeklynepal.com/2014/11/04/article-item41415088235/
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis