
एक जना कलाकारले बनाएको चित्रलाई लिएर अहिले भइरहेको बहस देखेर मेरो मनमा जागेको सामान्य जिज्ञासा हो यो। मैले कसैको समर्थन वा विरोध गरेको हैन। समाजको ठूलो हिस्सालाई यदि आफ्नो आस्था र विश्वासप्रति ठेस पुगेको महसूस हुन्छ भने त्यस्तोमा आफ्नो अभिव्यक्ति स्वतन्त्रता नखोजेकै राम्रो हुन्छ भन्ने मेरो मान्यता हो। तथापि अहिले भइरहेको विरोध हेर्दा हाम्रो समाज अगाडि बढेको छ कि पछाडि सोच्न बाध्य भइन्छ।
यो नजिकैको एउटा मूर्ति काठमाडौँको टेकुमा सार्वजनिक रुपमा राखिएको मूर्ति हो, मानिसहरु त्यहाँ पूजा पनि गर्छन्।
तर यो मूर्तिलाई मैले यहाँ बाहिर सार्वजनिक रुपमा जस्ताको तस्तै राख्न सकिनँ। यो मूर्तिको प्रष्ट फोटो भित्र छ तर त्यो तपाईँलाई आपत्तिजनक लाग्न सक्छ भनी सचेत पनि गराउँदैछु। सावधान, भित्र क्लिक गर्नुअघि यसमा संवेदनशील विषयवस्तु छ भन्ने बुझ्नुहोला।
अहिलेको बहस हेर्दा लाग्छ, कुनै कलाकारले यस्तो मूर्ति बनाउनै सक्दैनन्। कसैले बनाइ हाल्यो भने ?
शायद् त्यो कलाकारलाई धार्मिक संस्थाबाट धम्की आउनेछ- हाम्रो विष्णु भगवानलाई विकृत रुपमा प्रस्तुत गर्ने ? हाम्रो भगवानको यौन अङ्गलाई अस्वभाविक र अप्राकृतिक रुपमा हाइलाइट गरेर यो कलाकारले गर्न खोजेको के ? यसलाई कानुनी कारबाही हुनुपर्छ। हुलमुलमा कसैले यसको हात काट्नु पर्छ भन्लान् ? त्यसैलाई कसैले ज्यानको धम्कीका रुपमा पनि लेलान्। कसैले यो बनाउनेको धर्म चैँ के रहेछ भनेर खोज्लान्। कसैले यो बनाउनेको नियत खोज्लान्।
यो पनि हेर्नुस्, बौद्ध स्तुपको मुख्य प्रवेशद्वारको बायाँ पट्टी रहेको ठूलो मानेनजिकै यस्तो मूर्ति देखिन्छ। अहिले कसैले यस्तो बनाएको भए हाम्रो बुद्ध भगवानको अपमान गर्ने भन्दै गाली गर्नेहरुको ताँती लाग्न सक्थ्यो।
अनि सिडिओ कार्यालयले यस्तो बनाउने कलाकारलाई पनि स्पष्टिकरण लिन बोलाउला। के जवाफ देला कलाकारले ? कानुन पनि कलाकारको विपक्षमा नै हुनेछ। सार्वजनिक रुपमा अश्लीलता फैलाएको आरोप उनलाई लगाउन सकिन्छ। धेरैलाई आपत्तिजनक लाग्ने भएकोले यस्तो बनाउनु उनको अभिव्यक्ति स्वतन्त्रता भित्र परेको मानिने छैन। किनभने हाम्रो समाज अहिले फरक भइसकेको छ। समाजमा अश्लील क्रियाकलाप बढेका छन् ह्वात्तै र यस्तो मूर्तिमा पनि अश्लीलता देख्न थालिएको छ।

[पुनश्चः यो ब्लग यस्तो मूर्ति अहिलेको अवस्थामा कसैले बनायो भने कस्तो प्रतिक्रिया आउला भन्ने विषयमा मात्रै हो। त्यो चित्रको बारेमा हामीले यो ब्लगमा नै पर्याप्त बहस गरिसकेका छौँ। त्यो चित्रको बारेमा मेरो धारणा पनि यही ब्लगमा छ। पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुहोला। फेरि पनि त्यही चित्रकै बारे कमेन्ट गर्नुछ भने त्यही ब्लगमा गर्दा हुन्छ। यहाँ हामी यस्तो मूर्ति र चित्र अहिले बनाउन र प्रदर्शन गर्न सकिन्छ कि सकिन्न भन्नेमा मात्रै बहस गर्दैछौँ।]
अझै काठमाडौँका मन्दिरमा भएका टुँडालहरुको त कुरै बेग्लै। चुम्बनका दृश्यसमेत सेन्सर हुने र यौन वेबसाइटहरु ब्लक गरिरहेको अहिलेको अवस्थामा यस्ता टुँडालका चित्रहरु अहिले कसैले बनाएर मन्दिरमा राख्ने कल्पना पनि गर्न सकिँदैन। बनाइहाले पनि अश्लीलताको आरोप लगाइनेछ। ती चित्रहरु त यहाँ राख्ने आँट पनि गर्न सकिएन।
साभार : माई संसार
By Salokya, on September 15th, 2012
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !