CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » घरमा स्वास्नी हुँदाहुँदै ..बाहिर ' I Love U' ; विवाहेतर सम्बन्ध : विखण्डनको बीउ

घरमा स्वास्नी हुँदाहुँदै ..बाहिर ' I Love U' ; विवाहेतर सम्बन्ध : विखण्डनको बीउ

प्रतिष्ठित एक अन्तर्राष्ट्रिय गैरसकारी संस्था (आईएनजीओ)को वित्त विभागमा कार्यरत एक महिलाको काठमाडौँका पुरुषसँग प्रेमविवाह भयो, २०५७ सालमा। पत्नीको राम्रो कमाइ, पतिको प्रशस्त पुख्र्यौली सम्पत्ति। पुतलीजस्ती प्यारी छोरी। झट्ट हेर्दा 'सानो परिवार, सुखी परिवार' जस्तो लाग्छ। तर, यस जोडीको दाम्पत्य जीवन भने सुखी रहेन। 

आफ्नो जागिर नभएकाले ती पुरुषले काभ्रेको बनेपामा घर सजावटका सामानको पसल थापे। पसलमा एक युवतीलाई कर्मचारीका रूपमा राखे। पत्नी लामो समय कार्यालयकै काममा व्यस्त रहने, बेलाबेला स्वदेशकै विभिन्न क्षेत्र र विदेशसमेत गइरहने। घर, अफिस, सामाजिक व्यवहार, छोरीको हेरचाह सबै गर्दा सधैँ व्यस्तता र थकान। 

पतिको झुकाव भने तिनै कामदार युवतीप्रति बढ्न थाल्यो। सुरुमा व्यावसायिक सम्बन्ध हुँदै बिस्तारै ती दुई प्राणी कति नजिक भए भने शारीरकि सम्बन्ध पनि सामान्य बन्दै गयो। आफ्नो घर र पत्नी दोस्रो प्राथमिकतामा पर्ने भइहाल्यो।

ती पुरुषले घरपरविारलाई दिने समयमा कटौती गर्नुलाई पतिको व्यस्तताकै रूपमा बुझिन्, पत्नीले। ती युवतीसँग हुने टेलिफोन वार्ता, मोबाइल सन्देश, कहिलेकाहीँ गाडीमा सँगै रहेको देखिनु पनि उनका लागि सामान्य थियो। व्यापारमा बढी समय लगाउँदा आम्दानीका साथै सामाजिक प्रतिष्ठा बढेकै ठान्थिन्। आफ्नो काममा व्यस्त रहने उनले न पतिको पिछा गर्न सकिन्, न त्यसो गर्नु आवश्यक नै ठानिन्। तर, उनको दाम्पत्यमा तेस्रो व्यक्तिले प्रवेश गरसिकेको थियो। 

सात वर्षसम्म कुनै आशंका नगरेकी पत्नीले अन्ततः चाल पाइन्, पसलमा सहयोगीका रूपमा राखेकी तिनको पेटमा आफ्ना पतिको गर्भ हुर्किरहेको। त्यसयता उनीहरूको दाम्पत्यमा धाँजा फाटेको छ। पति ती युवतीलाई ससम्मान घर भित्र्याउने तरखरमा छन् भने पत्नी न घर बस्नु, न छाडेर जाने अवस्थामा।

नेपाली समाजमा विवाहेतर सम्बन्धका कारण दाम्पत्य जीवन कसरी धरापमा पररिहेको छ भन्ने ज्वलन्त उदाहरण हो, यो। पतिपत्नीको फरकफरक क्षेत्रको व्यस्त दिनचर्याले परिवारको संरचनालाई नै कसरी खोक्रो बनाइरहेको छ भन्ने दृष्टान्त पनि छ यसमा। विवाहेतर सम्बन्ध नेपाली समाजमा अपवाद रूपमा होइन, समग्र प्रवृत्तिका रूपमा स्थापित हुने तरखरमा छ। दाम्पत्य सम्बन्ध जति कसिलो, रसिलो र विश्वासिलो बन्नुपर्ने हो, त्यति पनि हुन सकेको छैन।

जिल्ला अदालत, प्रहरी कार्यालय, राष्ट्रिय महिला आयोग, अधिकारवादी संघसंस्थादेखि प्रधानमन्त्री तथा मन्त्रिपरष्िाद् कार्यालयसम्म न्यायका लागि गुहार्न पुग्नेहरूको संख्याले पनि विवाहेतर सम्बन्धको आकार र मात्रालाई देखाउँछ, जसले आफ्नो जीवनसाथी वा संगिनी अर्कैसँग समय बिताउन थालेका कारण आफू पीडित भएको गुनासो गररिहेका हुन्छन्। ती निकायमा पुगेका घटना केलाउने हो भने समाजमा विवाहेतर सम्बन्धका कारण छँदाखाँदाका युगल जोडी मात्रै छुट्टँिदै छैनन्, यसैका कारण परिवारमा थप तनाव, हिंसा, झैझगडाले समेत विकराल रूप लिइरहेको देखिन्छ। जस्तो : दाङमा कार्यरत एक सरकारी अधिकृत आफू जहाँजहाँ सरुवा हुन्छन्, पत्नी र छोरा पनि साथै लैजान्छन्। तर, उनको लगाव भने अर्कै युवतीतिर बढी छ। ती युवती पनि सरकारी जागिरमै छिन्, जससँग बारम्बार भेट गररिहन्छन् ती अधिकृत।

हाल हिमाली क्षेत्रको महिला विकास कार्यालयमा सुपरभाइजर रहेकी ती युवती अहिले फरक जिल्लामा पुगे पनि यसअघि उनीहरू एकै ठाउँमा कार्यरत थिए। ती दुईको हिमचिमले पत्नी भने चर्को मानसिक तनावमा छिन्। उनका भनाइमा, पतिले न पहिलेजस्तो प्रेम गर्छन्, न त सम्मान नै। आफूलाई हेला गर्न थालेको महसुस भएपछि उनी महिला आयोगलाई गुहार्न पुगेकी छन्।

राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृतकी पत्नीले त पतिको बाहिरी सम्बन्धका कारण आफू भौतिक यातना र दुव्र्यवहारको सिकार हुनुपरेको उजुरी गरेकी छन्, आयोगमा। हुन पनि ती महिला अहिले घर न घाटको अवस्थामा छिन्। उनीसँग सुमधुर सम्बन्ध छँदै ती अधिकृतले चिनेको एक व्यक्तिलाई ऋण दिन भन्दै कागजमा सही गर्न लगाए। त्यसको एक महिना नबित्दै सोही कागज देखाउँदै पतिले 'तँलाई मैले अंश दिइसकेँ, अब हाम्रो सम्बन्ध सकियो' भन्दा पो छाँगाबाट खसेजस्तै भइन्। अंश दिएपछि सम्बन्धविच्छेद भएसरह मानिन्छ। सरकारी जागिरे महिलासँग ती अधिकृतको उहिल्यैदेखि सम्बन्ध रहेको धेरै ढिलो चाल पाइन्।





पत्नीपीडित पुरुष पनि

यो त भयो पुरुषको विवाहेतर सम्बन्धका कुरा। पत्नीको त्यस्तै अवैध सम्बन्धका कारण पीडित बनेका पुरुषको संख्या पनि कम छैन। इराक छिर्दा सर्लाहीका सञ्जय महतको सपना पत्नीलाई सुखसँग पाल्ने र छोरीलाई स्तरीय शिक्षा दिनेबाहेक केही थिएन। यही सपना बोकेर उनले जोखिम मोलेरै नेपालीका लागि प्रतिबन्धित मुलुक इराक गएर पसिना बगाए। दुई वर्षपछि नेपाल फर्किंदा उनीसँग न पत्नी घरमा थिइन्, न त आफूले पठाएको पैसा नै। फोन गर्दा 'अबदेखि मलाई नखोज्नू, मैले नयाँ साथी पाइसकेँ' भनेर जवाफ फर्काइन्। न्यायको खोजीमा महत महानगरीय प्रहरी परसिर ललितपुरको शरणमा पुगेका छन्।

युवाहरू वैदेशिक रोजगारमा जाने क्रमसँगै विवाहेतर सम्बन्धमा पनि बढोत्तरी आएको छ। विदेशबाट पठाएको रकममा स्वदेशमा रहनेले मोजमस्तीपूर्ण जीवन जिउने र त्यही क्रममा विवाहेतर सम्बन्ध राख्ने गरेको ललितपुर प्रहरी परसिरका उपरीक्षक वसन्तराज पन्त बताउँछन्। भन्छन्, "अब प्रहरीले समेत हेरेर नभ्याउने अवस्था आइसक्यो।" विदेश जाने महिलाको भन्दा पुरुषको संख्या बढी भएकाले यस्ता घटनामा पुरुष बढी पीडित हुने गरेको प्रहरीको भनाइ छ। 

नेपालमा विवाहेतर सम्बन्धबारे छुट्टै अनुसन्धान भएको छैन। त्यसैले विवाहेतर सम्बन्धको आकार र यसले पारेको सामाजिक प्रभावका सम्बन्धमा यकिन गर्ने कुनै पनि सूचकांक उपलब्ध छैन। तर, समग्र पारविारकि विवादका मुद्दा मुलुकभरका जिल्ला अदालतमा आर्थिक वर्ष ०६७/६८ मा २८ हजार ४ सय २१ थिए। तीमध्ये पतिपत्नीको सम्बन्ध प्रमुख रूपमा जोडिने मुद्दा जारी, नाता कायम, बहुविवाह, माना चामल र सम्बन्धविच्छेद पर्छन्। यी मुद्दा मात्रै ९ हजार ४ सय ६५ थिए। त्यसैगरी प्रहरी प्रधान कार्यालय, महिला तथा बालबालिका सेवा निर्देशनालयमा ०६८/६९ मा २ हजार २ सय ५० घरेलु हिंसाका घटना रेकर्ड भएका छन्। यी सबै घटना विवाहेतर सम्बन्धका कारण नभए पनि अधिकांशमा दम्पतीकै कारण हुन्छन्। अधिवक्ता केशवराज अर्याल भन्छन्, "लोग्नेस्वास्नीको झगडाको अधिकांशतः यौन नै प्रमुख कारण हुन्छ। असन्तुष्टिका अरू धेरै कारण हुन सक्छन् तर त्यसको परण्िाामचाहिँ विवाहेतर सम्बन्ध हुन्छ।"

घर-समाजका सबै घटना प्रहरी र अदालतसम्म पुग्दैनन्। समाजका निकै कम घटना मात्रै सरकारी निकायमा पुग्छन्। त्यसमा पनि दम्पतीको मामिला व्यक्तिगत भन्दै गाउँघरमै सामसुम पार्ने गरन्िछ। त्यसैले माथिको तथ्यांक छिटपुट घटनाको मात्रै हो। यति हुँदा पनि वाषिर्क हजारौँ दम्पती अदालत र प्रहरीसम्म उपचार खोज्न पुग्छन्। अझ, करबि ६ हजार दम्पती कानुनी रूपमा छुट्टन्िछन् भने वर्षमा साढे तीन सय महिलाले आफ्नो श्रीमान्को विवाहेतर सम्बन्धलाई वैधता दिन अस्वीकार गरेको देखाउँछ। र, यो दर बर्सेनि उकालो लागिरहेको छ -हेर्नूस्, रेखाचित्र)। यसले पनि जीवनभर सँगै रहने कसम खाएर गरनिे विवाहहरू दुर्घटनाग्रस्त हुने क्रम एकपछि अर्को बढेको प्रस्ट्याउँछ। प्रकारान्तरले यो पनि विवाहेतर सम्बन्धको बढ्दो क्रमकै द्योतक हो।





'लिभिङ् टुगेदर’को तनाव

प्रहरी र महिला आयोगमा परेका घरेलु हिंसाका उजुरीमध्ये अधिकांश पतिपत्नीको बाह्य सम्बन्धकै कारण उब्जिएका विवाद छन्। आयोगकी अध्यक्ष शेष चाँदतारा भन्छिन्, "आयोगमा परेका उजुरीमध्ये ९० प्रतिशत बाह्य सम्बन्धकै उपज हुन्।" आयोगमा आर्थिक वर्ष ०६७/६८ मा घरेलु हिंसा र महिला हिंसामा ३ सय ३७ उजुरी परेका थिए। डेढ वर्षअघि महिला आयोगका लागि 'लिभिङ् टुगेदर'बारे अनुसन्धानका क्रममा तीन किसिमका बाह्य सम्बन्ध राख्ने विवाहित व्यक्तिहरू भेटिएको पूर्वनायव महान्यायाधिवक्ता चेतनाथ घिमिरे बताउँछन्। ती हुन्, रोजगारका लागि सहर छिरेका पुरुष, वैदेशिक रोजगारका लागि बाहिरएिका र उच्च मध्यमवर्गीय महिला। 

घिमिरेका अनुसार गाउँबाट सहर छिरेका पुरुष शारीरकि आवश्यकताका लागि त्यस्तो सम्बन्ध गाँस्छन् भने पति वैदेशिक रोजगारमा गएका महिलाहरू शारीरकि आवश्यकतासँगै सुरक्षाको लालसाले। "पति विदेश गएपछि महिलाले आफूलाई असुरक्षित ठान्ने रहेछन्। त्यसैले कुनै पुरुषको सहायता खोज्छन्," घिमिरे भन्छन्, "त्यसपछि उनीहरू सँगै रेस्टुराँ र सिनेमा हल पुग्छन्। अनि, अन्तरंग सम्बन्धसमेत कायम गर्छन्।" बाह्य सम्बन्धमा रहेका उच्च तथा मध्यम वर्गीय महिलाले भने पतिबाट यौन सन्तुष्टि पाउन नसकेका कारण विकल्प खोजेको अनुसन्धानका क्रममा खुलेको थियो। "यीमध्ये पनि बढीजसोले पतिले चाल नपाउने गरी धनाढ्य व्यक्तिसँग सम्बन्ध कायम गरेको पाइयो," घिमिरे थप्छन्।

समाजको चरत्रि, संरचना, आर्थिक क्रियाकलापमा व्यक्तिको पहुँचमा आएको फेरबदलले पनि धेरैलाई आफ्नो वैवाहिक सम्बन्धको घेरा तोड्ने अवसर र प्रेरणा दिइरहेको छ। विवाह, यौन, प्रेम, दाम्पत्य सम्बन्धबारे कतिपय पुराना मान्यता भत्किँदै छन् भने नयाँ स्थापित भइसकेका छैनन्। धर्म र पापको अवधारणाले समाजलाई धेरै हदसम्म अनुशासनमा बाँधेको थियो। तर, अहिले ती मान्यता हराउँदै छन्। कुनै बेला सबैजसो नेपालीको पेसा कृषि थियो। पतिपत्नी प्रायः सँगसँगै कार्यक्षेत्रमा हुन्थे। कम्तीमा दिनभर िआ-आफ्नो काममा खटिए पनि साँझ जसरी पनि एकठाउँमा भेला हुन्थे। भावना साटासाट गर्थे। मनमा लागेका कुरा ठाउँको ठाउँ भन्न सक्थे। ती अवसर आपसी आशंका मेट्ने वा प्रस्टीकरण दिने अवसर पनि थिए। सजिलो-अप्ठ्यारो, क्रिया-प्रतिक्रिया, सुख-दुःख हरेक चरणमा साथै हुन्थे। हदै भए १० देखि ५ बजेसम्मको सरकारी जागिर खान्थे। तर, आजका दम्पतीको दैनिकी र कार्यक्षेत्र मात्रै बदलिएको छैन, सोचाइ र व्यवहारमै आनका तान फरक परेको छ। 

त्यसमा पनि रोजगारमुखी बन्दै गएको दम्पती कामको सिलसिलामा धेरै समयका लागि टाढाटाढा पनि पुग्न थालेका छन्। रात, दिन, नजिक, टाढा नभनीकन उनीहरू आफ्नो काममा खट्छन्। "हरेक मान्छेलाई गाँस, बास, कपासपछि प्रेम, यौन र भावनात्मक सम्बन्धको खाँचो पर्छ," प्रजनन स्वास्थ्य परामर्शदाता रेखा जोशी भन्छिन्, "लामो समय पति वा पत्नीसँग टाढा हुँदा जो नजिक छ, उसैसँग भावनात्मक र संवेगात्मक लगाव बढ्न पुग्छ।" घर-परिवारलाई पर्याप्त समय दिन नसक्नु विवाहेतर सम्बन्धको एउटा कारण मान्छिन्, जोशी। 



नयाँपन खोज्दै सम्बन्ध

अधिकारकर्मी एवं अधिवक्ता सपना प्रधान मल्ल दाम्पत्य सम्बन्ध र मायाको अभिव्यक्ति निरस भएमा मानिसहरू नयाँपनको खोजीमा अरूको संगतमा पुग्ने गरेको बताउँछिन्। "हामीमध्ये धेरैले सम्बन्धलाई पुनःताजगी दिइरहेका हुँदैनौँ। मेरै त हो नि, जसरी राखे पनि भइहाल्छ नि भन्ने सोचिरहेका हुन्छौँ," उनी भन्छिन्, "तर, मान्छेको मन नयाँ कुराप्रति आकषिर्त हुन्छ र यही चाहनाले उसलाई बाह्य सम्बन्ध स्थापित गर्न प्रेरति गररिहेको हुन्छ।" 

उनको विश्लेषणमा, महिलाका आर्थिक क्रियाकलापमा पहुँचसँगै स्वतन्त्रतासमेत ल्याइदियो। गृहिणी र खेतीपातीको काममा खुम्चिएका महिलालाई थोरै संख्यामा भए पनि कामकाजी तथा आत्मनिर्भर बनाइदियो। "बाह्य सम्पर्क बढेपछि त्यसले सम्बन्धको संरचनामा समेत असर गर्ने नै भयो," उनी भन्छिन्, "अहिले महिलाहरूले मेरो अर्को व्यक्तिसँग सम्बन्ध छ, त्यसैले म सम्बन्धविच्छेद गर्न चाहन्छु भनेर ठाडै जाहेरीसमेत दिन थालेका छन्।" 

अधिकारप्रतिको सचेतना, सम्मानपूर्ण व्यवहारको अपेक्षा, व्यक्तिगत इच्छाविपरीत कुनै पनि कार्य नसहने मान्यता र अवधारणाले सम्बन्ध बढी स्वच्छन्द बन्दै गएको मल्लको ठहर छ। महिला आयोगकी सदस्य मोहना अन्सारी दोहोरो सम्बन्ध राख्ने महिला र पुरुष दुवैलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने पक्षमा छिन्। भन्छिन्, "युरोपतिर सम्बन्धविच्छेदलाई खुकुलो बनाइएको छ तर पतिपत्नी सँगै हुँदाहुँदै बाहिर सम्पर्क गर्न छूट छैन।" 

सहरका भित्री गल्लीदेखि जंगल र खेतका बीच, नदीका किनार, पहाडका टाकुरासम्म फैलिएका होटल, लज, रेस्टुराँ र रसिोर्ट विवाहेतर सम्बन्धका लागि उचित गन्तव्य बनेका छन्। कतिपयले बाह्य सम्बन्धकै लागि महँगा अपार्टमेन्टसमेत भाडामा लिएको पाइन्छ। केही उद्यमी-व्यवसायी तथा सार्वजनिक चिनारी भएका सेलिबि्रटीहरूले गोपनीयताकै लागि आफ्ना यौनसाथीलाई निश्चित अवधिमा भारतका विभिन्न सहर, थाइल्यान्डको बैंकक, मलेसिया, सिंगापुरलगायत मुलुकमा समय बिताएर समेत सम्बन्धलाई निरन्तरता दिइरहेका छन्। 

काठमाडौँका उच्च घरानियाँभित्र कुन हदसम्मका घटना भेटिएका छन् भने पति र पत्नीले सहमतिमै फरक यौनसाथी रोजेर राख्ने गरेका छन्। "झट्ट हेर्दा ती व्यक्ति अहिले पनि पतिपत्नीजस्ता देखिन्छन्। एउटै गाडीमा भोजभतेर वा पारिवारिक जमघटमा सामेल हुन्छन्," एक वरष्िठ अधिवक्ता भन्छन्, "तर, घर पुगेपछि उनीहरू अलग-अलग सुत्छन्।"

समाजको एक तहमा छाक टार्नका लागि यौन व्यवसायमा लाग्नुपर्ने बाध्यता छ। कतिपय पुरुषले पत्नीलाई नै देहव्यापारमा लगाएका घटना पनि सार्वजनिक नभएका होइनन्। "तर, समाजको तल्लो वर्ग र सडकमा के कति भएको छ भन्ने कुराले खासै अर्थ राख्दैन र यसले विवाहेतर सम्बन्धको प्रमुख प्रवृत्तिको प्रतिनिधित्व पनि गर्दैन," महानगरीय प्रहरी अपराध महाशाखाका वरष्िठ उपरीक्षक देवेन्द्र सुवेदी भन्छन्, "उच्च आर्थिक हैसियत भएको वर्ग जुन छ, त्यहाँ यो समस्या डरलाग्दो छ।" 





हाई प्रोफाइलका विचलन

उच्च आर्थिक हैसियत र शक्तिको आडमा हुर्किएको विलासी प्रवृत्ति विवाहेतर सम्बन्धको सबैभन्दा उर्वर ठाउँ बनेकामा प्रजनन स्वास्थ्य परामर्शदाता जोशी पनि सहमत छिन्। काठमाडौँमा देखिएका हाई प्रोफाइलका पछिल्ला केही घटनाले समेत यसको पुष्टि गर्छन्। जस्तो : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का छोरा प्रकाश विवाहित पत्नी र छोरालाई छाडेर विद्यार्थी नेतृ बिना मगरसँग भूमिगत छन्। सशस्त्र प्रहरीका नायब महानिरीक्षक रञ्जन कोइरालाले आफ्नी पत्नी गीता ढकालको हत्या गरेको आशंकामा प्रहरीले पक्रेपछि खुल्यो, उनको सम्बन्ध वैदेशिक रोजगार व्यवसायरत महिलासँग रहेछ। 

उता, स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीकी पत्नी योगमाया बुटवल, लक्ष्मीनगरका रामबहादुर कार्कीसँग बस्ने गरेको तथ्य धेरै पछि खुल्यो। ०४५ मा रायमाझीसँग प्रेमविवाह गरेकी योगमाया बन्जाडे (सीमा)ले ०६२ सालदेखि कार्कीसँग सम्बन्ध रहेको र आफूले तीन-चार महिनाअघि मात्र विवाह गरेको कुरा रूपन्देही अदालतमा कार्कीविरुद्ध अंशमुद्दा दायर गरेपछि खुल्यो।

एकातिर विवाहितसँगको सम्बन्ध तोड्न नचाहने र अर्कातिर लुकिछिपी बाह्य सम्बन्ध पनि राख्ने प्रवृत्ति नै समस्याको जड बनेको छ। यसमा कुनै व्यक्ति विशेषको आचरण मात्रै जिम्मेवार छैन, यो समाजको प्रवृत्ति नै बन्दै छ। तर, आफ्नो वैधानिक संस्था र सम्बन्धलाई खल्लो बनाएर सन्तुष्टि र फेसनका नाममा बाहिर बरालिने यही प्रवृत्ति पारिवारिक विखण्डनको कारक बनेको छ। जोशी भन्छिन्, "देखासिकी, भोगविलास र अल्पज्ञानका कारण धेरै पतिपत्नी यसतर्फ लागेका छन् तर यौन जीवनलाई राम्ररी बुझ्ने हो भने यसरी बरालिनै पर्दैन।" 

(आवरण तस्बिर : लक्ष्मीप्रसाद ङाखुसी, मोडलहरू : जानुका थापा मगर र सुशील खड्का)





विवाहेतर सम्बन्ध र कानुन

सामान्यतः जुनसुकै मुलुकको कानुन र समाजमा विवाहेतर सम्बन्ध बर्जित छ। नेपाली समाजले पनि यस्तो सम्बन्धलाई मान्यता दिएको छैन। तर, कानुन भने खुकुलो बन्दै छ। ०५८ अघिसम्म पत्नीले अर्को पुरुषसँग करणी गराएको ठहरेमा स्वतः सम्बन्धविच्छेद हुने कानुन थियो। मुलुकी ऐन २०२०, लोग्नेस्वास्नीको महलको २ नम्बरमा भएको उक्त व्यवस्था संशोधनपछि अर्को पुरुषसँग विवाह गरेमा मात्रै स्वतः सम्बन्धविच्छेद हुने व्यवस्था आयो। त्यसपछि परपुरुषसँग सम्बन्ध राख्दैमा सम्बन्धविच्छेद नहुने तर्क गर्न थालिएको छ। यद्यपि, करणी गराएको प्रमाणित गर्न सजिलो छैन, जुन गोपनीयताको हकविरुद्ध हुन्छ। पत्नीका हकमा पनि पतिले परस्त्रीसँग करणी गरेको ठहरेमा सम्बन्धविच्छेद गर्ने एउटा आधार हुने उल्लेख छ।

वैवाहिक सम्बन्धमा पनि बलात्कार हुने भन्दै कानुनमा तीनदेखि ६ महिनासम्म कैद र जरविानाको व्यवस्था छ। "यसले पतिपत्नीको यौनसम्बन्धलाई सीमित पारेको छ," अधिवक्ता केशवराज अर्याल भन्छन्, "यसले पनि पुरुषलाई अन्य विकल्प खोज्नुपर्ने अवस्थासम्म पुर्‍याएको छ।" कतिपय कानुनले सम्बन्धविच्छेद गर्न नमिल्ने तर पतिपत्नी छुट्टएिर बस्ने व्यवस्था गरेका छन्। पतिले खानलगाउन दिएन भनेर अंश दाबी गर्न मिल्ने कानुन छ। अदालतमा अंश मुद्दा परेपछि अलग बसेको वा मानोचुलो छुट्टएिको मानिन्छ।

महिलाले अर्कोसँग विवाह गर्नेबित्तिकै स्वतः सम्बन्धविच्छेद हुन्छ तर पुरुषको हकमा जतिसुकै असन्तोष भए पनि उसले छोडपत्र गर्नै नपाउने अवस्था छ। महिलाले नचाहे करबिकरबि विच्छेद असम्भव छ। अधिवक्ता अर्याल भन्छन्, "पत्नीबाट असन्तुष्ट पुरुषले अर्कोसँग सम्पर्क गर्न पाउँदैन तर पत्नीको विवाहेतर सम्बन्धचाहिँ विवाहमा परण्िात हुन्छ।"







'यसकारण बाहिरी हिमचिम’- रेखा जोशी

भोक, तिर्खा लागेजस्तै शरीरले यौन पनि माग गर्छ। कुनै वर्ग वा समुदाय छुट््याउँदैन यौन व्यवहारले। तर, उच्च/मध्यम वर्गका मानिस देशविदेश घुमिरहेका हुन्छन्। उनीहरूले यौन मनोविज्ञान र यौन दर्शन बुझेका हुन्छन्। देशविदेशको यात्राले गर्दा पति वा पत्नीबीच लामो समयसम्म सम्बन्ध नहुन सक्छ। यस्तो अवस्थामा सुरक्षित तवरले सम्बन्ध राख्न तयार हुन्छन्।

यौनिकतामा प्रेम पनि महत्त्वपूर्ण पक्ष हो। पतिबाट यौन सुख पाए पनि कुनै महिलाले प्रेम नपाएको हुन सक्छ। त्यो कुरा उसले कार्यालयको सहकर्मीबाट पाएको हुन सक्छ। उसलाई हेरेर, सँगै खाएर वा यस्तै अन्य क्रियाकलापद्वारा प्रेमको वाष्पीकरण भइरहेको हुन सक्छ। यहाँ यौन हुनैपर्छ भन्ने छैन। अर्को अवस्थामा शारीरकि सम्बन्ध नै हुन्छ। उनीहरूले एचआईभी, यौनरोग, अनिच्छित गर्भबारे राम्ररी बुझेका छन्। यी तीनवटै कुराको तालमेल मिल्दा समस्या आउँदैन भन्ने जानेका हुन्छन्। अनिच्छित गर्भ रहेपछि त्यो कुरा बाहिर प्रचारमा आउँछ। तल्लो वर्गका मानिसको 'अफेयर' चाँडै बाहिर आउने कारण यही हो।

धेरै दम्पती सँगै बस्दा पनि यौन जीवनमा सन्तुष्ट हुँदैनन्। प्रेमको अनुभूतिको अभाव वा सहधर्मीको अरूसँग सम्बन्धका कारण पनि यसो भएको हुन सक्छ। पत्नीले पतिबाट यौन मात्रै होइन, सुरक्षा वा अभिभावकत्व पनि खोजिरहेकी हुन्छिन्। यी कुरा नपाउँदा स्वतः दुवै बिस्तारै टाढिन्छन्। आफूलाई मूल्यांकन गर्छन्। सहधर्मीमा समस्या देख्छन् र विकल्प खोज्छन्।

एउटालाई चाहना भएका बेला अर्कोलाई मन नलाग्ने, अरू नै बहाना बनाउने कारण पनि दम्पतीबीच असन्तुष्टि बढ्छ। कसैको व्यवहार नै हिंसात्मक हुन्छ, अर्कोलाई त्यो मन पर्दैन। र, भद्र साथी खोज्छ। कतिपय यस्तो राम्रो होइन भन्ने अनुभूत गरेर पुरानैकहाँ फर्किन पनि सक्छन्। 

केही भने यौनप्रतिको भ्रमका कारण बाहिर बरालिन्छन्। जस्तो : लामो समयसम्म यौन क्रियाकलाप भए मात्रै चरम सुख पाइने, यौनांग ठूलो हुनुपर्ने, रूपरंग राम्रो हुनुपर्ने आदि। तर, मनका कुरा खोल्न सक्ने साथीबाट सन्तुष्टि पाउन सकिन्छ भन्ने बुझ्दैनन्। सबथोक बुझेको ठान्नेले पनि यौनबारे नबुझेको हुन सक्छ। कतिपय आफूलाई नियन्त्रण गर्न सक्दैनन् र यौन नै सबै चीज हो भन्ने ठान्छन्। आधुनिकताका नाममा पनि गलत बाटोतिर गइरहेका छौँ।

अस्थिर राजनीति पनि यसको एउटा कारक हो। खुलेआम यौन बेच्न हुने वा नहुने भन्नेबारे राज्यले सोच्न पाएकै छैन। नियम बनाउन सकेकै छैन। जे पनि गर्न पाइन्छ भन्ने मानसिकता छ। बालबालिकालाई नैतिक शिक्षा र संस्कार सिकाउने कसैलाई फुर्सदै छैन। यसले भोलिको पिढी कस्तो हुने हो भन्ने चिन्ता छ। 

(प्रजनन स्वास्थ्य परामर्शदाता जोशीसँगको कुराकानीमा आधारति।)





'विचलन हो स्वच्छन्द सम्बन्ध’

यौनलाई सामाजिक मान्यता प्रदान गर्न विवाह आवश्यक परेको हो। अर्थात्, निश्चित व्यक्तिबीच मात्र यौन सम्बन्ध रहोस्, वंशको निरन्तरता होस्। विवाहले यौनलाई नियमित त गर्‍यो तर नियन्त्रण गरेन। त्यसैले विवाहेतर सम्बन्ध पनि स्थापित भयो। आमरूपमा समाजले यसलाई अनैतिक र अमर्यादित

मानेको छ।

केही जातिमा मीत लगाएपछि एक रातका लागि पत्नी साट्ने चलन छ। सहरका कुलीनहरूमा पत्नी साट्ने पार्टी नै हुन थालेको पनि सुनिएको छ। यो उग्र उपभोक्तावादी व्यवहार हो। अति आधुनिक हुने नाममा यस्तो भइरहेको छ। बाध्यताले होस् वा अरू कारण, आफ्नै पत्नीलाई यौनजन्य व्यवसायमा लगाएको पनि पाइन्छ। पत्नीलाई पठाएर आम्दानी गर्ने पनि छन्, समाजमा। यसैले अमर्यादित, अनैतिक र प्रतिबन्धित भन्दाभन्दै पनि व्यवहारमा रहेको र समाजले कुनै न कुनै रूपमा मान्यता दिएको कुरा हो यो। 

यतिबेला २० देखि ४० वर्ष उमेरका लाखौँको संख्याका पुरुष बाहिर छन्। ती बाहिर हुँदैमा विवाहेतर सम्बन्ध हुन्छ नै भन्ने होइन। तर, यसले प्रमुख रूपमा आधार प्रदान गरेको छ। गाउँबाट सदरमुकाम, सहर, राजधानी हुँदै विदेशसम्म पुगेको बसाइँसराइको प्रवृत्ति, एकल परविार र बढ्दो सहरीकरण विवाहेतर सम्बन्धका लागि अरू आधार हुन्। गाउँबाट सहर आउँदा कुनै व्यक्ति/परविार एक्लो आउँछ, उसको समाज, सामाजिक सम्बन्ध र कतिपय सामाजिक मान्यतासमेत उतै छाड्छ। उसका विधि र व्यवहार सामाजिक, मर्यादित र नियमित छन् कि छैनन् भनेर निगरानी राख्ने कोही हुँदैन। ऊ जोसँग डराउनुपर्ने हो, त्यो नभएपछि स्वच्छन्द बन्छ। त्यसैले बदलिँदो पारविारकि संरचना विवाहेतर सम्बन्धको अर्को आधार हो।

मान्छेलाई सामाजिक प्राणी भन्न त छाडेका छैनौँ तर ऊ कति वैयक्तिक, आत्मकेन्दि्रत र भोगी बन्दै छ भने उसलाई अरू मान्छेले के सोच्छन्, के गर्छन् भन्ने कुराको कुनै पर्वाह हुँदैन। हरेक व्यक्तिमा यो मेरो जिन्दगी हो, मलाई अरू कसैको वास्ता छैन भन्ने सोचाइ विकसित भएको छ। यही कारण 'यो उसको मामला हो' भनेर बेवास्ता गरििदने समाज पनि तयार भइसकेको छ। सहर र बजारमा यस्तो जनसंख्या हुन्छ, जहाँ समुदायको निगरानी हुँदैन। कहिलेकाहीँ छापा मार्नेबाहेक प्रहरीले समेत निगरानी गर्न सक्दैन। एउटा ठूलो घरमा थुप्रै परिवार बसेका हुन्छन्। एउटा कोठाको गतिविधिबारे चासो राख्ने फुर्सद अर्को कोठामा बस्नेलाई हुँदैन। को आउँछ, को जान्छ भन्ने समेत न घरबेटीलाई चासो हुन्छ, न छिमेकीलाई।

विवाहेतर सम्बन्ध : विखण्डनको बीउ

वैवाहिक सम्बन्ध वा संस्थाले मात्रै ती आवश्यकता पूरा गर्ने सामथ्र्य गुमायो। त्यसको विकल्पमा अरू संस्था निर्माण भएका छैनन्। सबै अनियन्त्रित आवश्यकता पूर्ति गर्ने संस्था हुन सम्भव पनि छैन। अनि, सामाजिक र सांस्कृतिक मान्यताबाहिर गएर यौनजस्तो जैविक आवश्यकता पूरा गर्ने क्रम बढ्यो। 

विवाह गरसिकेको तर दम्पती सँगै नबसेको लाखौँको जनसंख्या छ। समाजको निगरानीबाट सजिलैसँग बच्न सक्ने अवस्था छ। परविार, समाज, परम्परा, संस्कृतिसँग केही मतलब हुन छाड्यो। बरू, उमेर छउन्जेल, बैँस छउन्जेल मोज गर्ने हो भन्ने सोचाइ बढ्दै छ। विवाहेतर सम्बन्धमा पनि निश्चित व्यक्तिसँग मात्र सम्बन्ध हुन्छ। एक तहमा प्रेम र स्नेहको मात्रा छ। अर्को भने एकदमै भोगी, विलासी र उग्र छ। जसले जोसँग पनि सम्बन्ध राख्छ। तेस्रोचाहिँ किनबेचको तहमा छ। थुप्रै विवाहिता महिला यौन बेच्न बसेका छन् भने कैयौँ विवाहित पुरुष तिनका ग्राहक छन्।

यस्ता कुरामा समुदायले सधैँ निगरानी गर्न सक्दैन। आमा समूह बनाएर हिँड्न पनि सम्भव छैन। गाउँमा त कतिले गाली गर्छन्, जिब्रो टोक्छन्, मेलापँधेरामा कुरा गर्छन्। त्यसले नियन्त्रण र निगरानी हुन्छ। तर, अब समाज भन्ने नै रहेन। मान्छे समाजबाट टाढा गएर व्यक्तिमा सीमित भयो। अनौठो त के भने, विकसित, पुँजीवादी र उपभोक्तावादी संस्कृतिका मानक मानिने मुलुकमा पनि यहाँजस्तो छैन। कम्तीमा पतिपत्नी सँगै रहेको अवस्थामा ती मुलुकमा अर्को व्यक्तिसँग सम्बन्ध हुँदैन। एउटा मन परेन भने प्रक्रिया पुर्‍याएर उसलाई छाड्छन् र अर्कोसँग जान्छन्। त्यहाँ पुनः विवाह धेरै हुन सक्छन् तर वैयक्तिक तहमा आफ्नो नैतिकता र निष्ठालाई ख्याल गर्छन्। कतिले विवाहेतर सम्बन्धलाई पश्चिमी सभ्यता, संस्कृति वा आधुनिकता भन्छन्। यो हुँदै होइन।

नर्वेमा हुने औपचारकि विवाहमध्ये ६० प्रतिशत विच्छेद हुन्छन्। लिभिङ् टुगेदर वा विवाहअघिको सम्बन्ध यसमा पर्दैन। जहाँ विवाह नगरी सँगै बस्न र बच्चा जन्माउन पाइन्छ। ती बच्चालाई पनि राज्यले स्वास्थ्य, शिक्षाको अवसर दिन्छ। राज्यलाई कर तिर्ने, सम्मान गर्ने, विवाहित पति वा पत्नीप्रतिको निष्ठामा सम्झौता गर्दैनन्। गरे भने त्यो अनैतिक ठहर्छ। हाम्रो समाज आडम्बरी छ। बाहिर मर्यादा, मान र आदर्शका कुरा गर्ने तर वैयक्तिक तहमा नैतिक/निष्ठावान् देखिन नसक्ने। त्यसैको एक कडी हो, विवाहेतर सम्बन्ध। यो विचलन हो। यसले पारिवारिक विखण्डन ल्याउँछ।

(मानवशास्त्री ढकालसँगको कुराकानीमा आधारित )

















रामबहादुर रावल,मनबहादुर बस्नेत,
नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis