CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » निराश हेड सर र लन्ठू विद्यार्थीहरू

निराश हेड सर र लन्ठू विद्यार्थीहरू


केही महिनादेखि रामवरण सरले सबै नेतालाई ट्युसन लिन बोलाएको बोलाएकै छन्। हेड सरले नै बोलाएपछि विद्यार्थी केटाहरू पुष्पकमल, सुशील, झलनाथ, विजय गच्छदार र बाबुरामहरू जाऊँ कि नजाऊँ गर्दै शीतलनिवास प्राथमिक विद्यालय जान्छन् र अल्छी मानीमानी कक्षामा बस्छन्। हेड सर आफ्ना हठी र बदमास विद्यार्थीहरूसँग आजित छन्। लन्ठूहरू जति पढाए पनि पाठै बुझ्दैनन्। भनेको मान्दैनन्, होमवर्क गर्दैनन्। राम सरले धेरै महिनादेखि नैतिक शिक्षाको एउटै पाठ पढाइरहेका छन् : 'सहमति'। प्रत्येक कक्षाको अन्त्यमा राम सर सोध्छन्, "तिमीहरूले जसरी पनि सहमति गर्नुपर्ने
कुरा बुझ्यौ त ?"

विद्यार्थीहरू सधैँ भन्ने गर्छन्, "बुझ्यौँ सर !"

तर, उनीहरू बुझ्दैनन्। बुझ्ने प्रयासै गर्दैनन्।

राम सर भन्नुहुन्छ, "तिमीहरू मिल, झगडा नगर, है ?"

उनीहरू लेघ्रो तानेर भन्छन्, "हुन्छ सर !"

तर, उनीहरू मिल्दैनन्, कक्षाबाट निस्कनासाथ कुस्ती खेल्न थाल्छन्।

राम सर भन्नुहुन्छ, "हठ गर्नुहुँदैन। सबैका कुरा सुन्नुपर्छ। अरूले भनेका राम्रा कुरा लिनुपर्छ।"

विद्यार्थीहरू भन्छन्, "हुन्छ सर।"

तर, उनीहरू आफ्ना हठ छाड्दैनन्। रूपका कुरा सुन्दैनन्। लिँडे ढिपी गरेको गरेकै गर्छन्।

राम सर उनीहरूलाई होमवर्क दिन्छन् र सात दिनभित्रमा होमवर्क गरेर ल्याउनू भन्छन्। उनीहरू होमवर्क गर्नुको सट्टा डन्डीबियो खेल्न थाल्छन्। क्यारेम, चेस र बाघचाल खेल्न थाल्छन्। कबड्डी र भालेजुधाइ खेल्न थाल्छन्। एकअर्काका टाउकामा धूलो हाल्ने र अनुहारमा हिलो छ्याप्ने गर्न थाल्छन्। होमवर्क गर्दै गर्दैनन्। आजित भएका हेड सर बेलाबेलै विद्यार्थीहरूलाई स्कुलमा बोलाएर होमवर्कबारे सोध्छन्।

विद्यार्थीहरू एकमुख लागेर भन्छन्, "गर्दै छौँ सर। एक साता टाइम पाऊँ सर। अर्को साता फरक पर्दैन सर !'

तर, गर्दैनन्। अर्को साता पनि यिनीहरूले होमवर्क गर्दैनन्। यी मतिछाडा विद्यार्थीहरूलाई भर्खरै पनि बोलाएर राम सरले सहमतिको होमवर्क पूरा गर्न भने। कक्षामा पस्नासाथ सरले सोधे, "तिमीहरूले सहमति गरेनौ भने के हुन्छ, थाहा छ ?"

विद्यार्थीले एक मुख लागेर भने, "था' छैन सर !"

राम सरले भने, "बेइज्जत हुन्छ ! यसरी पटकपटक होमवर्क नगर्दा, एकापसमा बारम्बार झगडा गर्दा, यस्तो हठी र जिद्दी हुँदा हामी कसैलाई पनि फाइदा हुँदैन। तिमीहरूका बाआमा, दाजुभाइ, दिदीबहिनी सबैलाई दुःख हुन्छ। घर झन्झन् बिग्रन्छ। हामी सबैको भविष्य चौपट हुन्छ। छरछिमेक, गाउँघरमा हाम्रो बदनामी हुन्छ। त्यसैले हामीले यस्तो बेइज्जत हुने काम गर्नुहुँदैन। कुरा बुभmयौ तिमीहरूले ?"

विद्यार्थीहरूले एक मुख लागेर लामो लेघ्रो तान्दै भने, "बुझ्यौँ सर।"

राम सरले खुसी हुँदै भन्नुभयो, "स्याब्बास् ! ल सबै जाओ। मिलेर छलफल गर र बाँकी दुई दिनभित्रमा होमवर्क सकेर लिएर आओ।"

विद्यार्थीहरू आ-आफ्ना झोला च्यापेर अटेसमटेस गर्दै खोरबाट भोका बाख्रा निस्किएजस्तो शीतलनिवासको ढोकाबाट बाहिर निस्किए। होमवर्क दिएको कापी हुर्रहुर्र आकाशमा उडाउँदै घरतिर दौडिए। हेड सर यी अनुशासनहीन विद्यार्थीबाट केही पार नलाग्ने भो भन्ठान्दै निराश मुद्रामा कुर्सीमा थुचुक्क बसे र गम्छाले पसिना पुछ्न थाले।



लक्ष्मण गाम्नागे,  नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis