मोरा जंगलबाट आएका हैनस् ? हामीले त ल्याएका हौँ। धम्की नदेऊ, हिम्मत छ भने फेरि जाऊ जंगल।
हामी किन जंगल जाने ? हिम्मत भए तिमीहरु जाऊ न!
कस्तो घटिया वादविवाद गरेको होला जस्तो लाग्छ है सुन्दा। यो कुनै काल्पनिक संवाद हैन। ठ्याक्कै यस्तै शैलिमा अहिले नेताहरुले भाषण गरिरहेका छन्। देशमा गर्नुपर्ने काम कति धेरै छन्। तर यी नेताहरु त दोहोरी खेल्ने पाराले पो एकअर्कासित सवालजवाफ गर्दैछन् बा। जनताले गर्न पनि के गर्ने? सबै टाउके नेताहरुलाई चड्कन लगाइसकेकै छन्, चेतेनन्। अब दोहोरी
सुनेरै बस्ने त हो नि। अस्ति नै प्रचण्डले उताबाट यस्तै पारा हो भने शान्ति सम्झौता च्यातिन्छ भनेर भाषण गरे।
त्यसको जवाफमा यताबाट सुशील कोइरालाले भाका हालेर यसो भने- हिम्मत भए सम्झौता च्यातेर जंगल पसे हुन्छ, हामी रोक्दैनौँ।
अब त्यसको पनि जवाफ उताबाट प्रचण्डले दिनै पर्यो, आज काभ्रेमा तनावका बीच भएको जिल्ला अधिवेशनका क्रममा भाषण गर्दै उनले ठोके- ‘हामी किन जंगल जाने ? हिम्मत छ भने सुशीलजीहरु गए हुन्छ।’
त्यसको जवाफ पनि अब एक दुई दिनमा सुशील दाबाट आउने होला।
हे दैव, के सुन्नु पर्यो यो हाम्रो कानले। त्यत्रा मान्छे मरेर २०६२/६३ को जनआन्दोलन गरेको अब कसैलाई जंगल जान नपरोस्, फेरि यस्तो द्वन्द्व हामीले भोग्न नपरोस् भनेर पो थियो त। अब त उल्ले उल्लाई जंगल जा उल्ले उल्लाई म किन जाने तैँ जा भनेर पो बाझिरहेका छन् त भाइ। डण्डा लाउनु पर्ने राष्ट्रपति पनि मिति तोकिएको म्याद थप्दा थप्दा जोकर बनेर पाखा लागिसके अनिश्चितकालीन म्याद दिएर। अब कताबाट सहमति हुनु !
सुशील दा पनि बेकारमा नचाहिने कुरा गर्दै हिँड्छन् भन्या। कहाँ अब माओवादी पुरानो माओवादी रह्यो रयत्रो सुखसुविधा र सत्तासुखसमेत भोगिरहेका र १० वर्षसम्म छाड्दैनौँ भनिरहेकालाई जंगल जा-जा भनेर किचकिच गर्दा आउने जवाफ त त्यही न हो- हिम्मत भए तिमेरु नै जाओ।