परासी, फाल्गुन ११ - जिल्लाको हरपुरस्थित सशस्त्र प्रहरी बेस क्याम्पका एक प्रहरी जवान बिहीबार राति स्थानियको घरमा पस्दा स्थानियबासीले समातेर कुटपीट गरेका छन् । बिहीबार राति साढे १० बजे हरपुर- ४ स्थित चेतन हरिजनको घरभित्र पस्दा सशस्त्र प्रहरी जवान मनोज रिजाललाई स्थानियबासीले कुटपिट गरि इलाका प्रहरी पिपरहवालाई बुझाएका हुन् ।
रातिको समयमा घरभित्र पसेपछि चोर चोर हल्ला हुदा भेला भएका गाउँलेले प्रहरी जवानलाई कुटपिट गरेको स्थानिय जामिन
राईमले बताए । राईमका अनुसार जनताका सुरक्षाका लागि बसेको सशस्त्र प्रहरी बेस क्याम्पका जवानहरु नै यस्तो कुकृत्यमा लागेको भन्दै स्थानियवासी क्याम्पविरुद्ध उत्रेका छन् । स्थानियबासीले बुझाएका प्रहरी जवानलाई विभागिय कारबाही गरिने भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीले घटनालाई थामथुम पारिरहेको राईमले जनाए ।
राइमका अनुसार आक्रोसित गाउँलेले गाउबाट बेस क्याम्प नै हटाउनु पर्ने माग गर्न थालेका छन् । बेस क्याम्पका प्रहरीबाट यस्ता घटना पटक पटक दोहोरिने गरेको स्थानियले बताएका छन् । तर सीमा सुरक्षा कार्यालय बेलासपुरका प्रहरी उपरीक्षक चित्रबहादुर खत्रीले घटना समान्य भएको तर गाउँलेले अनावश्यक रुपमा उछालेको बताए ।
प्रहरी स्रोतका अनुसार गाउँकै एउटा केटीले रिजाललाई बोलाएको तर उसको घर बिर्सेर अर्कैको घरमा पस्दा घटना सार्वजनिक भएको हो ।
स्रोत: कान्तिपुर