हलिउड नायिका तथा गायिका सेलेना गोमेजले अभिभावक दर्शकहरूलाई आफ्ना छोराछोरीहरूलाई उनको नयाँ चलचित्र 'स्प्रिङ ब्रेकर्स' हेर्न नदिन अनुरोध गरेकी छिन्। सेलेनाका अनुसार यो चलचित्र बालबालिकाहरूका लागि होइन। यो चलचित्रमा उनी एक कलेज छात्रा बनेकी छिन् जसले विदाका लागि पैसा जम्मा गर्न आफ्ना तीनजना साथीसँग मिलेर एउटा रेस्टुराँ लुट्छिन्। यसबाहेक
चलचित्रमा त्यस्ता धेरै विषयवस्तु छन् जुन केटाकेटीहरूले हेर्न मिल्दैन। गोमेजका अनुसार लुटपछि सबै साथीहरू जेल जान्छन् जहाँ जमानत राखिदिने व्यक्तिले उनीहरूलाई मादक पदार्थ एवं हतियारको धन्दामा धकेलिदिन्छन्। त्यसपछि उनीहरूको संसार नै परिवर्तन हुन्छ। सेलेना भन्छिन्— 'मैले आफ्ना तर्फबाट केटाकेटीका बुवा-आमालाई चेतावनी दिँदै यो चलचित्र हेर्न नदिनु भनेकी छु। १८ वर्षभन्दा माथिका दर्शकले भने यो चलचित्र छुटाउनु हुँदैन।' यो चलचित्र आगामी २२ मार्चका दिन अमेरिकासहित विश्वभरी प्रदर्शन हुनेछ।