CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » बलिवुडका निक्कै चर्चित तर असफल प्रेमका कथा - हृदय छुने

बलिवुडका निक्कै चर्चित तर असफल प्रेमका कथा - हृदय छुने












सलमान-ऐश्वर्या

'हम दिल दे चुके सनम'को छायांकन स्थलबाट प्रारम्भ भएको सलमान खान र ऐश्वर्या रायबीचको प्रेम पनि धेरै चर्चामा आएको प्रेमकथा हो। यसअघि पनि संगीता बिजलानी, सोमी अलीहरूसँगको असफल प्रेमका कारण चर्चामा आएका  सलमान एकोहोरो रूपमा ऐश्वर्यालाई प्रेम गर्न थाले। ह्यान्डसम सलमान र ब्युटिफुल ऐश्वर्याबीचको सम्बन्धको चर्चा पनि धेरै चल्यो। प्रेम सम्बन्ध सुरु भएको डेढ वर्षमै चाहिनेभन्दा बढी हक देखाएको आरोप लगाउँदै ऐश्वर्या सलमानबाट  अलग भइन्। ऐश्वर्याले अभिषेक बच्चन र शाहरूख खानसँग काम गर्दा सलमानले सेटमै गएर बबाल मच्चाएको रहस्य पनि खोलिन्। ह्यारेसमेन्टको आरोप लगाएर उनले सलमानविरुद्ध प्रहरीमा उजुरीसमेत गरिन्। ऐश्वर्या सलमानसँग पूर्ण  रूपमा अलग भएपछि उनले विवेक ओवरायको साथ पाइन्, तर उनले विवाह भने अमिताभ पुत्र अभिषेकसँग गरिन्। सलमान यतिबेला फेरि अर्को 'ब्रेकअप'का कारण चर्चामा छन्, क्याटरिना कैफसँगको ब्रेकअप।

दिलीपकुमार-मधुबाला
चालीसको दशकमा बनेको चलचित्र 'ज्वारभाटा'को छायांकनका क्रममा दिलीपकुमार र मधुबालाको पहिलो भेट भएको थियो। त्यही चलचित्रको निर्माणक्रममा नजिकिएका दिलीपकुमार र मधुवालालाई १९५१ मा बनेको चलचित्र 'तराना'पछि  दर्शकले 'सुहाउने केमेस्ट्री' भएको जोडीका रूपमा मन पराउन थाले। यी दुईबीच गहिरो प्रेम भएको बताइन्छ। १९५७ मा यो जोडीलाई निर्देशक बी.आर.चोपडाले आफ्नो चलचित्र 'नयाँ दौर'मा काम गराउन मुम्बईबाट बाहिर लगे। छोरी  दिलीपकुमारसँग महिनादिनका लागि बाहिर गएको मधुबालाका बाबुलाई मनपरेन। बाबुलाई मनाउन मधुबाला सुटिङ छाडेर मुम्बई फर्किन्। काम छाडेर हिंडेको भनी बीआर चोपडाले मधुबालाविरुद्ध मुद्दा हाले। उक्त मुद्दामा दिलीपकुमारले  मधुबाला र उनका बाबुविरुद्ध गवाही दिएपछि उनीहरूको सम्बन्ध बिग्रियो। धेरै पछि दिलीपकुमारले मधुबालासमक्ष विवाहको प्रस्ताव राखे। मधुबालाले वास्तै गरिनन् र तत्काल गायक किशोरकुमारसँग विवाह गरिन्। यद्यपि १९६० मा  दिलीपकुमार र मधुबालाको एउटा चलचित्र आयो र उक्त चलचित्र सुपरहिट भयो- 'मुगल-ए-आजम'। 

देवानन्द-सुरैया 

सन् १९४० को अन्त्यतिर देवानन्दसमक्ष त्यतिबेलाकी स्टार गायिका तथा नायिका सुरैयाको जोडी भएर चलचित्र 'विद्या'मा काम गर्ने प्रस्ताव आयो। संघर्षरत देवानन्दका लागि विगस्टार सुरैयासँग काम गर्न पाउनु, त्यो पनि उनको नायक  भएर, एउटा गतिलो अवसर थियो। देवले सुरैयाको साथ र सहयोग पाए। उनीहरूबीच रोमान्सका खबर पनि सुनिन थाले। यी दुईको 'केमेस्ट्री'लाई दर्शकले पनि औधी रुचाए। चार वर्षको अवधिमा उनीहरूले सातवटा चलचित्रमा नायक- नायिकाको भूमिका निर्वाह गरे र सबै चलचित्रले बक्सअफिसमा सफलताको झन्डा गाडे। भनिन्छ, चलचित्र 'विद्या'को एउटा गीत 'किनारे किनारे चले जाऐगें'को छायांकनका क्रममा डुंगामा बसेको बेला पानीमा र्झनबाट जोगाएपछि सुरैयाले  देवलाई मन पराउन थालेकी थिइन्। चलचित्र 'जित'को छायांकनस्थलमा देवानन्दले सुरैयालाई एउटा महंगो हिराको औंठी दिँदै प्रेम प्रस्ताव राखेका थिए। हिन्दू र मुस्लिमको विवाहका विरुद्धमा रहेकी सुरैयाकी हजुरआमाले उक्त औंठी समुन्द्रमा  फालिदिएकी थिइन्। हजुरआमाकै अवरोधका कारण सुरैया र देवानन्दको विवाह भएन। पछि देवानन्दले अभिनेत्री कल्पना कार्तिकसँग विवाह गरे भने सुरैयाले आजीवन विवाह गरिनन्। 

राज कपुर-नरगीस

'आग', 'अन्दाज', 'बरसात', 'प्यार', 'जान पहचान', 'आवारा', 'अम्बर', 'अनहोनी', 'आशियाना', 'बेवफा', 'आह', 'पापी', 'धुन', 'श्री ४२०', 'चोरी चोरी' तथा 'जागते रहो' राज कपुर र नरगिसले साथै अभिनय गरेका चलचित्र हुन्। ती १६  चलचित्रमध्ये ६ वटा राज कपुरले बनाएका थिए। सन् १९४८ देखि चलेको राज-नरगिसको  'केमेस्ट्री'ले १९५६सम्म बलिउडमा तहल्का नै मच्चायो। विवाहित र सन्तानका पिता भएर पनि राज कपुर नरगिसलाई निकै मन पराउँथे।  नरगिसप्रतिको प्रेमकै कारण राज कपुरको दाम्पत्य जीवन सुखद रहेन। नरगिस पनि राज कपुरलाई मन पराउँथिन्, तर उनी राजको दाम्पत्यजीवन बिगार्न चाहन्नथिन्। चलचित्र 'मदर इन्डिया'को छायांकन स्थलमा भएको भयंकर  आगलागीबाट ज्यान जोगाएपछि नरगिसले सुनिल दत्तसँगै विवाह गरिन् अनि राज र नरगीसको प्रेमको अन्त्य भयो।  

गुरुदत्त-वहिदा रहमान

निर्देशक तथा अभिनेताका रूपमा चालिसको दशकमा उदाएका गुरुदत्तलाई अझै पनि बलिउडका सर्वोत्कृष्ट निर्देशकको सूचीमा राखिन्छ। सन् १९५६मा गुरुदत्तले दक्षिण भारतमा सहायक भूमिका निर्वाह गरिरहेकी मुस्लिम युवती वहिदा  रहमानलाई आफ्नो थि्रल तथा सस्पेन्स लभस्टोरी 'सिआइडी'मा लिए। त्यही चलचित्रको छायांकनताका उनीहरूले एक-अर्कालाई मन पराउन थाले। छायांकन सकिँदा-नसकिँदै उनीहरू मायाको बन्धनमा बाँधिसकेका थिए। जबकि गुरुदत्त  विवाहित थिए। उनले त्यतिबेलाका चर्चित पाश्र्वगायिका गीता दत्तसँग विवाह गरिसकेको अवस्था थियो। गीता दत्तसँग पनि गुरुदत्तले लामो समय प्रेम गरेर विवाह गरेका थिए। 'सिआइडी'पछि गुरुदत्तको निर्देशन एवं निर्माणमा बनेका  वहिदाका चलचित्र पनि निकै सफल रहे, जसमा 'प्यासा', 'चौधवीका चाँद', 'साहेब, बिबी और गुलाम' आदि प्रमुख छन्। वहिदासँग गुरुदत्तको सम्बन्ध पाँच वर्ष रह्यो। वैवाहिक जीवन र प्रेम जीवनको दोसाँधमा निकै तनावमा रहन थालेपछि  गुरुदत्तले आत्महत्या गरे, ४० वर्षको उमेरमा। नर्भस ब्रेकडाउन भएका कारण गीता दत्तको पनि १९७२मा निधन भयो। १९७४मा वहिदाले शशी रेखी उर्फ कमलजितसंग विवाह गरिन्। 

अमिताभ-रेखा

बलिउडमा सबैभन्दा बढी कुरा गरिएको प्रेमकथा अमिताभ बच्चन र रेखाको हो। सन् १९७६ मा सुरु भएर १९८१ मा टुंगिएको यो प्रेमकथाको आरम्भ चलचित्र 'दो अञ्जाने'को सेटबाट भएको थियो। उनीहरू लामो समयसम्म आफ्नो प्रे मलाई गोप्य राख्न सफल भए। १९७२मा अभिनेत्री जया भादुडीसँग विवाह-बन्धनमा बाँधिसकेका अमिताभका लागि रेखासँगको प्रेम सम्बन्ध गोप्य राख्नु बाध्यता थियो। भनिन्छ, उनीहरू समय मिलाएर मुम्बईको जुहुस्थित रेखाको साथीको  घरमा भेट्थे। नौवटा चलचित्रमा साथै देखिएको यो जोडीको प्रेम त्यतिबेला दुनियाँलाई थाहा भयो, जब अमिताभले चलचित्र 'गंगाकी सौगन्ध'को छायांकनस्थलमा रेखाप्रति अभद्र व्यवहार गरिरहेका एक सहकलाकारलाई पिटे। त्यसपछि ऋषि  कपुर र नितु सिंह वैवाहिक समारोहमा रेखा मंगलसूत्र र सिन्दूर लगाएर अमिताभका साथमा पुगिन्। अमिताभ र रेखाले गोप्य विवाह गरेको हल्ला पनि नचलेको होइन। रेखा र अमिताभले यश चोपडाको चलचित्र 'सिलसिला'मा अन्तिम पटक  काम गरे। यश चोपडा रेखा-अमिताभ-जयाको व्यक्तिगत कुरालाई उनीहरूकै अभिनयमार्फत पर्दामा ल्याउन सफल भए। त्यसपछि अमिताभ र रेखाबीचको प्रेमकथा टुंगियो पनि। यहाँसम्म कि एवार्ड समारोह तथा पार्टीहरूमा भेट्दा पनि  उनीहरू बोल्दैनथे। त्यसपछि रेखाले नायक विनोद मेहरासँग विवाह गरिन्। मेहराको निधनपछि व्यापारी मुकेश अग्रवालसँग पनि उनले विवाह गरिन्, तर त्यो विवाह सफल भएन। अहिले रेखा एकल जीवन बिताइरहेकी छिन्। हालै एक अन्तवार् र्ताका क्रममा अमिताभले भनेका छन्- कुनै निर्देशक उनी र रेखालाई एउटै चलचित्रमा खेलाउन चाहन्छन् र स्क्रिप्ट राम्रो छ भने उनलाई कुनै आपत्ति छैन। 


Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis