काठमाडौं, फागुन ९ - शिक्षा विभागले मंगलबार संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ जारी गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार स्वीकृत निर्देशिका मंगलबारदेखि देशभर लागु गराउन निर्देशन दिएको विभागका निर्देशक टेकनारायण पाण्डेले जनाए।
निर्देशिकामा आधारभूत तह (कक्षा १ देखि ८) र माध्यामिक तह (कक्षा ९ देखि १२)का लागि छुट्टै परिच्छेदमा ड्रेस कोड तोकिएको छ। विद्यार्थीले 'चुज पाइन्ट' प्रयोग गर्न पाउने छैनन्। पाइन्टको मोता आधारभूत तहका लागि १२-१४ र माध्यमिकका लागि १६ इन्चभन्दा कम राख्न पाइन्न। कम्मरभन्दा कम्तीमा १ इन्चमाथि पाइन्ट/स्कर्ट हुनुपर्ने छ। स्कर्टको तल्लो भाग घुँडाभन्दा कम्तीमा २ इन्च तलसम्म हुनुपर्ने व्यवस्था निर्देशिकामा छ। घाँटीभन्दा ३ इन्च तलसम्म मात्र सर्टको टाँक खोल्न पाइनेछ। कुर्ता सुरुवाल आदि प्रयोग गर्ने भएमा घाँटीभन्दा १ इन्च तलसम्म मात्र खुल्ला भएको प्रयोग गर्न पाइने व्यवस्था छ। यसैगरी कम्मर पेटी १.५ इन्चभन्दा कम चौडा हुनुपर्ने छ। पेटीको वकल फेसनेवल प्रयोग गर्न पाइन्न। माथिका पोसाकसँग मिल्ने कोट, स्विटर, ज्याकेट, मफलर तथा जुत्तामोजा विद्यालयले तोकेबमोजिम रङ र डिजाइनको प्रयोग गर्नुपर्ने छ।
पोसाकमा टाइसमेत तोकिएको भए टाइको गाँठो घाँटीसम्म हुनुपर्ने छ। संस्थागत विद्यालयले नियमित पोसाक सातामा सामान्यतः दुई किसिमको मात्र प्रयोग गर्ने व्यवस्था मिलाउनु पर्ने छ।
ड्रेस तोक्दा नेपाली संस्कृति तथा परम्परा सुहाउँदो र नेपाली उत्पादनहरूलाई प्राथमिकता दिनुपर्ने खालको हुनुपर्नेछ। मौसम अनुसार (जाडो र गर्मीका लागि) छुट्टाछुट्टै पोसाक हुनुपर्ने व्यवस्था निर्देशिकामा छ। 'डे्रस कोड' कम्तीमा ३ वर्षका लागि हुनुपर्ने र त्यसको नमुना विद्यालयले उपलब्ध गराउनु पर्नेसमेत व्यवस्था छ।
'स्वीकृत निर्देशिका अनुसार अब पूर्वप्राथमिक तहका विद्यार्थीले भारी ब्याग बोक्न पाउने छैनन्,' निर्देशक पाण्डेले नागरिकसँग भने, 'पूर्व प्राथमिक तहका बालबालिकाको टिफिन र पानी पनि अभिभावकले स्कुलमा पुर्यासउनु पर्ने व्यवस्था गरिएको छ।' नयाँ निर्देशिकामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीले बढीमा ४ किलोको स्कुल ब्याग बोक्न सक्ने र कक्षा ६-८ सम्मका विद्यार्थीले ६ किलोसम्मको ब्याग बोक्न पाउने व्यवस्थाका लागि सबै जिल्लालाई निर्देशन दिइसकेको उनले जनाए।
यसैगरी कक्षा ९ भन्दा माथिका विद्यार्थीले ८ किलोसम्म वजन भएको स्कुल ब्याग बोक्न पाउने मापदण्ड तोकिएको छ। 'पाठ्यक्रम विकास केन्द्रले तोकेअनुसार विद्यार्थीले पढ्ने मुख्य किताब ८ वटा मात्र हुन्,' पाण्डेले भने, 'तर निजी विद्यालयले सन्दर्भ सामग्री भनेर कक्षा १ का विद्यार्थीलाई ३० वटासम्म (करिब १० किलो) किताब बोकाएको अभिभावकको गुनासो छ।' बालबालिकालाई मानसिक र शारीरिक शोषणबाट बचाउन स्कुल ब्याग र पाठ्यपुस्तकको मापदण्ड तोकिएको विभागले जनाएको छ।
निजी विद्यालयले सवारी साधन प्रयोग गर्दा कक्षा १-५ सम्मका विद्यार्थीलाई १२ किलोमिटरको मापदण्ड तोक्दै त्यही अनुसार बस व्यवस्था गर्नुपर्ने छ। ६ कक्षादेखि माथिका विद्यार्थी भए १८ किलोमिटरसम्मको दुरीमा मात्र बस चलाउन पाइनेछ। उपत्यकाबाहिरका निजी विद्यालयले कक्षा १-५ सम्मका विद्यार्थीलाई १५ किलोमिटर र कक्षा ६ देखिमाथि २५ किलोमिटर दुरीमा मात्र स्कुल बस चलाउनुपर्ने छ।
निर्देशिकामा विद्यार्थीले प्रयोग गर्ने खाजा (टिफिन)सम्बन्धी मापदण्ड पनि तोकिएको छ। विद्यालयमा जंक फुड प्रयोगमा प्रतिबन्ध लगाइएको छ। विद्यार्थीले चाउचाउ, चिजबल, लेज कुर्कुरे जस्ता जंक फुड टिफिन लाने पाउने छैनन्। स्कुलका क्यान्टिनमा पनि यस्ता खाजा बिक्री वितरण गर्न पाइने छैन। रसायनयुक्त तयारी खाजाले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परेको सरकारी ठहरपछि सरकारले विद्यालयमा यस्तो खाजा निषेध गरेको पाण्डेले बताए।
निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले सरकारवालासँगको छलफलबाटै निर्देशिका आएको बताउँदै कार्यान्वयनमा पूर्ण सहयोग गर्ने बताएका छन्। प्याब्सनका अनुसार निजी विद्यालय सामुदायिक विद्यालय सञ्चालन र व्यवस्थापन ऐनबाटै सञ्चालन हुनु पर्दा समस्या थियो। अहिले आएको निजी विद्यालय सञ्चालन र व्यवस्थापन निर्देशिकाले वातावरण सहज हुने विश्वास प्याब्सन अध्यक्ष बाबुराम पोख्रेलले बताए।
'निर्देशिकामा जिल्ला शिक्षा समितिमा र जिल्ला शिक्षा कार्यालयले बनाउने हरेक समिति र उपसमितिमा निजी विद्यालय सञ्चालक सहभागीता अनिवार्य गराउने व्यवस्था सरहानीय छ,' उनले भने, 'सरकारी समिति र उपसमितिमा निजी विद्यालयका प्रतिनिधिको उपस्थित हुँदा हामीले आफ्नो समस्या राख्ने मौका पाउँछौं।'
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले पनि नयाँ निर्देशिकाको स्वागत गरेको छ। निजी विद्यालय सञ्चालन गर्ने छुटै ऐन माग भइरहेको बेला निर्देशिका जारी हुनु सकारात्मक काम भएको एन प्याब्सनकी अध्यक्ष गीता राणाले बताइन्।
'जारी निर्देशिकाले निजी विद्यालयको भौतिक एवं पठनपाठन सुधार र अनुशासन कायम गर्न सहयोग गर्छ,' उनले भनिन्, 'यो निर्देशिकाले निजी विद्यालय सञ्चालन र व्यवस्थापनसम्बन्धी छुट्टै ऐन ल्याउन पनि मद्दत गर्छ।'
अभिभावक संघ नेपालले निर्देशिकामा अभिभावकका समस्या सम्बोधन भएको जनाएको छ। युवा विद्यार्थी तान्न मिनी स्टर्कलाई ड्रेस कोर्ड तोक्ने विकृति अब हट्ने विश्वास अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले व्यक्त गरे। 'निजी विद्यालय सञ्चालन र व्यवस्थापन गर्ने नियम कानुन नभएका बेला यो निर्देशिकाले केही हदसम्म निजी विद्यालयलाई व्यवस्थित गर्न सहयोग गर्ने छ,' उनले भने।
मिनी स्कर्टले छोरीहरूको अस्मितामाथि नै प्रहार गरेको उनको बुझाइ छ। निजी स्कुलले पैसा कमाउने दाउमा स-साना नानीहरूलाई किताबको भारी बोकाउने गरेको उनले बताएका छन्।
यस्तो छ मापदण्ड
• जंक फुडमा प्रतिबन्ध
• स्कुल बसले विद्यार्थी बोक्ने दुरी निश्चित
• विद्यार्थीले 'चुज पाइन्ट' प्रयोग गर्न नपाउने
• कम्मरभन्दा कम्तीमा १ इन्चमाथि पाइन्ट/स्कर्ट लगाउनुपर्ने
• स्कर्टको तल्लो भाग घुँडाभन्दा कम्तीमा २ इन्च तलसम्म हुनुपर्ने
• घाँटीभन्दा ३ इन्च तलसम्म मात्र सर्टको टाँक खोल्न पाइने
• कुर्ता सुरुवाल भएमा घाँटीभन्दा १ इन्च तलसम्म मात्र खुल्ला हुनुपर्ने
• सातामा दुई किसिमको मात्र पोसाक हुनुपर्ने
• तीन वर्षसम्म डे्रस कोड फेर्न नपाइने
• पाँचसम्मका विद्यार्थीलाई ४ किलोभन्दा भारी ब्याग बोकाउन नपाइने
• ६ देखि ८ कक्षाका विद्यार्थीको ब्याग बढीमा ६ किलो हुनुपर्ने
• कक्षा ९ भन्दा माथिका विद्यार्थीको ब्यागको वजन ८ किलोभन्दा बढी हुन नहुने
• स्कुल बसले विद्यार्थी बोक्ने दुरी निश्चित
• विद्यार्थीले 'चुज पाइन्ट' प्रयोग गर्न नपाउने
• कम्मरभन्दा कम्तीमा १ इन्चमाथि पाइन्ट/स्कर्ट लगाउनुपर्ने
• स्कर्टको तल्लो भाग घुँडाभन्दा कम्तीमा २ इन्च तलसम्म हुनुपर्ने
• घाँटीभन्दा ३ इन्च तलसम्म मात्र सर्टको टाँक खोल्न पाइने
• कुर्ता सुरुवाल भएमा घाँटीभन्दा १ इन्च तलसम्म मात्र खुल्ला हुनुपर्ने
• सातामा दुई किसिमको मात्र पोसाक हुनुपर्ने
• तीन वर्षसम्म डे्रस कोड फेर्न नपाइने
• पाँचसम्मका विद्यार्थीलाई ४ किलोभन्दा भारी ब्याग बोकाउन नपाइने
• ६ देखि ८ कक्षाका विद्यार्थीको ब्याग बढीमा ६ किलो हुनुपर्ने
• कक्षा ९ भन्दा माथिका विद्यार्थीको ब्यागको वजन ८ किलोभन्दा बढी हुन नहुने
-- रुबी रौनियार