CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » राजधानीका अपराधहुने मुख्यमुख्य स्थानहरु

राजधानीका अपराधहुने मुख्यमुख्य स्थानहरु

राजधानीका तीन  स्थानमा धेरै अपराध
राजधानीलगायत नेपालका प्रमुख शहरहरूमा आपराधिक घटना बढ्दै गएको देखिए पनि गत वर्षको तुलनामा अपराधका घटनामा कमी आएको नेपाल प्रहरीले दाबी गरेको छ। आपराधिक कार्यलाई नियन्त्रणमा लिएर शान्ति सुरक्षा कायम गराउने कार्यमा प्रहरीले उल्लेख्य सफलता हासिल गरेको नेपाल प्रहरीले दाबी गर्दै आएको छ।  राजधानीको बौद्ध, जोरपाटी,कपन,
चाबहिल, बालाजु, वनस्थली, बसुन्धरा, सामाखुसी,  स्वयभू, ललितपुरका ग्वार्कोलगायतका क्षेत्र आपराधिक गतिविधि ज्यादा हुने ठाउँँको रूपमा चिनिन्छन्। प्रहरीको रेकर्डअनुसार ती क्षेत्रमा आपराधिक कार्यहरू नभएको दिन हँुदैन त्यसैले नेपाल प्रहरीद्वारा ती क्षेत्रको सुरक्षा–व्यवस्था कडा पारिएको छ। प्रहरीले ती क्षेत्रहरूको सुरक्षा–व्यवस्था मजबुत बनाए पनि बौद्ध आसपासका क्षेत्र, ठमेल र स्वयम्भू आसपासका क्षेत्र तथा चक्रपथबाहिरका विभिन्न नयाँ बस्तीलाई बढी आपराधिक घटना हुने स्थानका रूपमा चित्रण गरी सुरक्षा–व्यवस्था निकै कडा तुल्याएको छ।  
प्रहरीले बढी आपराधिक घटना हुने भनिएका स्थानहरूमध्ये ठमेलमा क्रिश्चियनहरूको बाहुल्य रहेको छ। त्यस्तै, बौद्ध र स्वयम्भूमा बुद्धिष्टहरूको बाहुल्य छ। शान्तिका अग्रदूत गौतम बुद्धको छायामा बढी आपराधिक कार्य हुने प्रहरीको रेकर्डले उल्लेख गर्छ। प्रहरीका अनुसार यी स्थानमा आपराधिक कार्यका योजना बन्ने गरेको र त्यहीँबाट परिचालन हुने गरेको पाइन्छ। त्यस्तै, चक्रपथबाहिरका नयाँँ बस्तीहरूमा पनि पछिल्लो समय अपराधका घटना हुने गरेका छन्। ती क्षेत्रमा बलात्कार, चोरी, लुटपाटजस्ता घटना हुने गरेका छन्। प्रहरीका अनुसार बलात्कारका घटना अहिले निकै बढेको छ। कतिपय बलात्कारका घटना सार्वजनिक नगरी गोप्य रूपमै कानुनी कारबाही अघि बढाउनेसमेत गरिएको छ।  
नेपाल प्रहरीका प्रवक्ता केशव अधिकारीले प्रहरीले बौद्ध, ठमेल तथा स्वयम्भूलाई आपराधिक घटना हुने क्षेत्रमा राखे पनि प्रतिशतका अधारमा अन्य स्थानमा अपराधका घटना हुने गरेको जानकारी दिए। उनले हत्या तथा महिला हिंसाका घटना यस वर्ष बढी देखिएको जानकारी गराउँँदै ती घटनामा संलग्नलाई नियन्त्रण गर्न प्रहरी सफल भएको बताए। अपराध गरेर लुक्न सजिलो हुने स्थानमा बढी आपराधिक घटना भएको भन्दै प्रवक्ता अधिकारीले थपे, 'सुकुम्बासी बस्ती तथा उपत्यकाबाहिरका झोर क्षेत्रमा पनि अपराधका घटना भएको देखिन्छ।'  
प्रवक्ता अधिकारीले तराईमा हुने हिंसात्मक घटना गत वर्षका तुलनामा निकै कम भएकाले पनि अघिल्लो वर्षका तुलनामा अपराधका घटनामा कमी आएको जानकारी दिए। उनले भने, 'तर, अझै पूर्णरूपमा आपराधिक कार्यलाई नियन्त्रण गर्न सकिएको छैन, त्यसमा प्रहरी प्रयासरत छ।'  
'चोरको हजार दाउ' भनेजस्तो जस्तोसुकै कडा सुरक्षा–व्यवस्था गरे पनि कतै न कतैबाट अपराधका घटना हुने गरेको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका एसएसपी विजयलाल कायस्थ बताउँछन्। राजधानीबाहिरका धेरै शहरमा राजधानीमै बनेका योजनाअनुसार हत्या, अपहरण, चोरी, लुटपाट, हत्या, ठगीजस्ता घटना हुने गरेका पाइएको उनको भनाइ छ। उनले भने, 'पहिलेका तुलनामा अहिले आपराधिक घटना निकै कम भएको देखिन्छ, यो नेपाल प्रहरीको सफलता हो।'  
कायस्थका अनुसार शहरको भित्री भागमा भन्दा पनि चक्रपथबाहिर बन्दै गरेका नयाँ शहरहरूमा चोरीलगायतका घटना हुने गरेका छन्। यी क्षेत्रमा बलात्कार, हत्या, लुटपाटजस्ता घटना हुने गरेका पाइएको कायस्थको भनाइ थियो। ती घटनाका योजना बौद्ध, ठमेल, स्वयम्भूजस्ता स्थानमा बन्ने गरेको देखिन्छ भने राजधानीका सुकुम्बासी बस्तीहरूमा आपराधिक कार्यमा संलग्न रहेका व्यक्ति लुक्ने गरेको र साना अपराधका घटना ती क्षेत्रमा हुने गरेको छ। 'कुनै एक क्षेत्रमा नभई उपत्यकाका धेरै स्थानमा एकै प्रकृतिका घटना भइरहेका देखिन्छन्,' कायस्थले घटना र विचारसँग भने, 'त्यसैले नेपाल प्रहरीले शहरका सबै क्षेत्रलाई उत्तिकै संवेदनशील ठान्दै उच्चसुरक्षा सतर्कता अपनाइरहेको छ।'  
प्रहरीका अनुसार पछिल्लोपटक राजनीतिक नेतृत्वको आश्रयमा अपराध तथा ठगीका घटना बढी हुने गरेका छन्। ती घटनामा संलग्न भएकालाई ठूला दलका नेताहरूले संरक्षण दिएकाले धेरै अपराधी सजिलै उम्किरहेको प्रहरी अधिकारीको भनाइ छ। नेपाल प्रहरी सुरक्षा महाशाखाका एक प्रहरी नायव उपरीक्षकले भने, 'आपराधिक कार्यमा संलग्न रहेको भन्दै प्रहरीमा उजुरी आएको तथा अपराध गरेको पुष्टि हुँदा पनि धेरै अपराधी उम्किरहेका छन्।' त्यसरी उम्केका आपराधिक मानसिकताका व्यक्तिले नै पुनः अपराधजन्य काम गर्ने गरेको देखिन्छ।'  
त्यस्तै राजधानीबाहिर भने आपराधिक घटनामा केही कमी आएको देखिए पनि पूर्वीतराईका जिल्लाहरूमा साना हतियारका बलमा आपराधिक कार्य हुने गरेको प्रहरीको रेकर्डमा उल्लेख छ। त्यस्तै, पश्चिम तराईमा भने चेलिबेटी बेचबिखनका घटनाले बढी प्रश्रय पाएको देखिन्छ। प्रहरीका अनुसार अपराधीको निशानामा उद्योगी–व्यवसायी देखिएका छन्। उद्योगीहरूलाई अपहरण गरी उनीहरूबाट रकम असुल्ने काम भइरहेका समाचार फागुन ९ को घटना र विचार साप्ताहिक मा छापिएको छ । 

Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis