दोलखा, फागुन ९ - चोरी भएका ३ दर्जन पसलका सामान डेरामा बरामद भएपछि हिरासतमा रहेका प्रहरी जवान खेमराज प्रजा आज बिहान जिल्ला प्रहरी कार्यालयको शौचालयको भेन्टिलेसनबाट फरार भएका छन्। उनलाई पक्रन व्यापक प्रहरी परिचालन गरिएको छ।
सदरमुकामका पसलमा दिनहुँजसो रातको समयमा विगत ६ महिनादेखि चोरी घटना बढेपछि अनुसन्धानको घेरामा आएका
उनको कोठामा सोमबार छापा मार्दा एक ट्रक चोरी सामान फेला परेको थियो। जिल्लाका प्रहरी प्रमुख डिएसपी ओम अधिकारी आफैं उनको कोठा पुगेर चोरीका एक ट्रक सामान बरामद गरी ल्याएका थिए।
चोरीमा संलग्न प्रहरी जवान प्रजा साढे दुई वर्षदेखि दोलखामा कार्यरत थिए। इलाका प्रहरी कार्यालय सिँगटी हुँदै जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका उनलाई डेढ महिनाअघि मात्र प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको निवास सुरक्षार्थ खटाइएको थियो। मकवानपुरको राक्सीराङ गाविस-८ घर भएका उनी श्रीमतीसँगै कोठा भाडामा लिएर भीमेश्वर नगरपालिका-१० स्थित मानेडाँडामा बस्दै आएका थिए।
प्रहरीका अनुसार प्रजिअको गार्डका रुपमा खटाइएका उनी प्रत्येक रात डेरा जाने भन्दै बाहिर निस्कन्थे। 'कहिले श्रीमती खाना कुरेर बसेकी छिन् भन्थ्यो त कहिले कोठामा जान्छु भन्थ्यो,' प्रजिअको निवासमा गार्डका रुपमा खटिएका अर्का एक प्रहरीले भने, 'यस्तो काममा संलग्न होला भन्ने त कल्पनै गरेका थिएनौं।'
त्यसअघि जिल्ला प्रहरीमा रहँदासमेत उनी त्यसैगरी डेरा जान्छु भन्दै राति निस्केर चोरी गर्थे। सोमबार पक्राउ गरेलगत्तै प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा उनले सदरमुकामका सबै पसलका चोरीमा संलग्नता स्विकारेका थिए।
प्रहरीका अनुसार राति-राति बाहिर निस्केर हुक प्रयोग गरी चरिकोटका प्रायजसो पसलबाट उनी सामान चोर्थे। 'रातको समय जिल्ला प्रहरीबाट निस्कने गस्तीको आँखा छल्दै उनी सटरको माथि कभर नभएका पसलमा हात छिराएर हुक प्रयोग गरी सामान झिक्थे भने कहिले बजारमा रोकिराखेका गाडीबाट सामान चोर्थे,' एक प्रहरी अधिकृतले भने। उनका अनुसार ती प्रहरी जवानले सबैखाले पसल चोरेर सामान आफ्नो घर पठाउँथे।
चोरीमा उनको मात्र संलग्नता छ कि मतियारहरु अरु कोही छन् भनी अनुसन्धान भइरहेकै बेला उनी आज बिहान हिरासतबाटै फरार भएका हुन्। उनकी श्रीमतीसमेत फरार छिन्।
२०५९ सालमा प्रहरीमा प्रवेश गरेका प्रजालाई मुलुकी ऐनको चोरीको महलअन्तर्गत मुद्दा चलाइने तयारी हुँदै थियो। उनी मंगलबारबाट लागु हुने गरी निलम्बनमा परिसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
रमेश खतिवडा,