• काठमाडौंकी २३ वर्षीया सिताष्मा (नाम परिवर्तन) ले विवाह गरेको तीन महिनामा नै श्रीमान्सँग सम्बन्धविच्छेद गरिन्। बिहे दुई परिवारबीच सौहार्दपूर्ण रूपमा भएको थियो। बिहे भएको छोटो समयमै सम्बन्धविच्छेद गर्ने कारण बन्यो– श्रीमान्को अप्राकृतिक यौनसम्पर्क। सम्बन्धविच्छेद गर्ने कारणबारे उनले न्यायाधीशसँग भनेकी थिइन्, ‘नीलो चलचित्र हेर्दै दिनहुँ त्यहीअनुरूप म लोग्नेको चाहना पूरा गर्न
• गोरखा घर भए पनि सुरक्षा निकायमा अधिकृतस्तरको श्रीमान् पाउँदा काठमाडौंकी हरिसा (नाम परिवर्तत) खुसी नै थिइन्। घरमा नयाँ सदस्यको रूपमा छोरी जन्मिँदा पनि परिवारमा कुनै समस्या थिएन। जब हरिसाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा राम्रो जागिर पाइन्। त्यसपछि उनको श्रीमान्को भन्दा धेरै तलब हुन थाल्यो। घरका सामानहरू किन्दा श्रीमान्–श्रीमतीबीच झगडा नै हुन थाल्यो। उनीहरूको यो झगडा कहिल्यै जोडिन नसक्ने गरी सम्बन्धविच्छेदमा गएर टुङ्गियो।
जिल्ला अदालत काठमाडौंबाट भएका यी दुईवटै सम्बन्धविच्छेदको प्रत्यक्ष साक्षी बनेकी थिइन्– अधिवक्ता पुन्यशिला दवाडी। महिलालाई निःशुल्क रूपमा कानुनी सहायता दिइरहेको ललितपुरको कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) की कानुन अधिकृत दवाडीका अनुसार पछिल्लो समय सम्बन्धविच्छेद गर्न कुनै ठूलो इस्यु नै चाहिँदैन। नयाँ पुस्ताका युवायुवतीले समाधान हुने सामान्य खालका कुरामा मिल्न नसकेर सम्बन्धविच्छेद गरिरहेका छन्। उनी सम्बन्धविच्छेदका कारणबारे भन्छिन्, ‘पहिलो कारण महिलामा आएको चेतनास्तर हो। उनीहरू आफ्ना अधिकारबारे सचेत भएका छन्। दोस्रो कारण श्रीमान्–श्रीमतीबीचको ‘इगो’को समस्या हो भने अर्को कारण घरेलु हिंसा हो।’
सिताष्मा र हरिसा त प्रतिनिधि महिला मात्र हुन्। पछिल्लो समय देशैभरि दाम्पत्यजीवनमा बेमौसममा पहिरो गएझैं ठूलो सङ्ख्यामा सम्बन्धविच्छेदका घटना बढेका छन्। विगत पाँच वर्षको तथ्याङ्कलाई मात्र आधार मान्ने हो भने अहिले झन्डै दोब्बर छ। आर्थिक वर्ष ०६३/६४ मा देशभर तीन हजार आठ सय १९ सम्बन्धविच्छेदका मुद्दा रहेकोमा आर्थिक वर्ष ०६८/०६९ मा पुग्दा सात हजार एक सय ५७ पुगेको छ। यो तथ्याङ्कले वर्षेनी साढे नौ प्रतिशतका दरले सम्बन्धविच्छेद बढेको देखाउँछ। त्यसो त देशभरको कुल सम्बन्धविच्छेदको सङ्ख्या काठमाडौंमा एकचौथाइ छ। काठमाडौंमा आर्थिक वर्ष ०६८/६९ मा मात्र एक हजार सात सय ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको देखिन्छ। यो तथ्याङ्क देशभरको साढे २४ प्रतिशत हो। काठमाडौंमा सम्बन्धविच्छेदको दर हरेक वर्ष साढे १० प्रतिशतले वृद्धि हुँदै गएको छ।
काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार भरत लम्सालका अनुसार अदालतमा हेरचाह गरेन, खान–लगाउन दिइएन, यातना दिए, घरबाट निकालेजस्ता घरेलु हिंसाका कारण सम्बन्धविच्छेद गर्न आउनेको सङ्ख्या बढी छ। दुवै पक्षको मञ्जुरी भएर आए आज दर्ता गरिएको मुद्दामा भोलि नै मिलापत्र भएर टुङ्गिने लम्सालले बताए। ‘छिटो सम्बन्धविच्छेद चाहनेले मिलापत्रबाट अंश नै दाबी गर्दैनन्,’ स्रेस्तेदार लम्सालले भने, ‘कतिले त लेनदेनका सबै कुरा मिलाएर पनि छिटो सम्बन्धविच्छेद गर्ने गरेका छन्।’
राष्ट्रिय महिला आयोगमा पनि साउनदेखि यता सम्बन्धविच्छेद गर्न ११ वटा मुद्दा परेका थिए। जसमा दुई जोडी त चिकित्सककै थिए। श्रीमान्–श्रीमती दुवै चिकित्सक भए पनि उनीहरूबीच सामान्य कुरामा विवाद भई आयोगमा उजुरी परेको आयोगकी प्रवक्ता मोहना अन्सारीले बताइन्। उनी भन्छिन्, ‘श्रीमान्–श्रीमतीबीच यति ठूलो अविश्वासको खाडल बढेको छ कि साना–साना कुरा पनि सम्बन्धविच्छेदको स्तरमा गएर टुङ्गिने गरेका छन्।’ उनको बुझाइमा घरको नेतृत्व कसको हुने, वैदेशिक रोजगार र सम्पत्तिमा स्वामित्वको दाबीजस्ता कुराले सम्बन्धमा दरार ल्याइरहेको छ।
परम्परागत मूल्य–मान्यतामा आएको परिवर्तन होस् वा सामाजिक चेतनामा वृद्धिका कारण नेपाली समाजमा सम्बन्धविच्छेदको सङ्ख्या बढ्दै गएको छ। केही वर्षअघिसम्म सम्बन्धविच्छेद अर्थात् पारपाचुके शब्दसमेत सुन्न नचाहने नेपाली समाजले अहिले सम्बन्धविच्छेद गर्नुलाई सामान्य ढङ्गले हेर्न थालेको छ। सामाजिक चेतना र स्वतन्त्रताको अनुभूतिका कारण नेपालमा पछिल्लो समय सम्बन्धविच्छेद गर्नेको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ। हरेक वर्ष सयौँको सङ्ख्यामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढिरहेको तथ्याङ्कले नेपाली समाजको बदलिँदो अवस्थाको चित्रण गर्दछ।
परम्परागत मूल्य–मान्यतामा आएको परिवर्तन होस् वा सामाजिक चेतनामा वृद्धिका कारण नेपाली समाजमा सम्बन्धविच्छेदको सङ्ख्या बढ्दै गएको छ। केही वर्षअघिसम्म सम्बन्धविच्छेद अर्थात् पारपाचुके शब्दसमेत सुन्न नचाहने नेपाली समाजले अहिले सम्बन्धविच्छेद गर्नुलाई सामान्य ढङ्गले हेर्न थालेको छ। सामाजिक चेतना र स्वतन्त्रताको अनुभूतिका कारण नेपालमा पछिल्लो समय सम्बन्धविच्छेद गर्नेको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ। हरेक वर्ष सयौँको सङ्ख्यामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढिरहेको तथ्याङ्कले नेपाली समाजको बदलिँदो अवस्थाको चित्रण गर्दछ।
नेपालको कानुनअनुसार स्वास्नीले लोग्नेलाई निजको मञ्जुरीबेगर लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि छोडी अलग बसेको अवस्थामा सम्बन्धविच्छेद गर्न पाउँछ। यस्तै लोग्नेको ज्यान जाने, अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक, मानसिक कष्ट हुने किसिमको काम वा जाल, प्रपञ्च गरेमा पनि सम्बन्धविच्छेद गर्न सकिने कानुनी प्रावधान छ। स्वास्नीलाई निको नहुने यौनसम्बन्धी कुनै रोग लागेमा पनि स्वास्नीसित लोग्नेले सम्बन्धविच्छेद गर्न पाउँछ।
यस्तै, व्यवस्था महिलाका लागि पनि छ। लोग्नेले अर्की स्वास्नी ल्याएमा वा राखेमा वा स्वास्नीलाई घरबाट निकालेमा वा खान, लाउन नदिएमा वा स्वास्नीको खोजखबर नलिई हेरविचार नराखी लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि स्वास्नीलाई छोडी अलग बसेको अवस्थामा महिलाले सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था छ। स्वास्नीको ज्यान जाने, अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल, प्रपञ्च गरेमा वा लोग्ने नपुङ्सक हुने भएमा पनि सम्बन्धविच्छेद हुन सक्छ। यसबाहेक दुवै थरीको मञ्जुरी भएमा लोग्ने–स्वास्नीको सम्बन्धविच्छेद गर्न सकिने प्रावधान कानुनमा छ।
सम्बन्धविच्छेदका लागि कानुनमा महिलालाई केही प्राथमिकता दिएको देखिए पनि व्यवहारमा भने पुरुषहरू पहिले सम्बन्धविच्छेदका लागि तयार देखिन्छन्। राष्ट्रिय महिला आयोगमा आएका उजुरीमध्ये सम्बन्धविच्छेद गर्न चाहने पुरुषको सङ्ख्या ७५ प्रतिशत र महिलाको सङ्ख्या २५ प्रतिशत छ। आयोगमा परेका उजुरीमध्ये ४० प्रतिशत मात्र सम्बन्धविच्छेदको प्रक्रियासम्म पुग्ने गरेका छन्। ६० प्रतिशत मुद्दा मिलापत्रमै टुङ्गिन्छ। यसरी मिलेर गएका मुद्दा पुनः समस्याका रूपमा आउने गरेको आयोगकी प्रवक्ता अन्सारी बताउँछिन्। ‘मानाचामल भराउने सहमति गरेर गएको ६ महिनादेखि दुई वर्षभित्रै सम्बन्धविच्छेद गर्नुपर्यो भन्दै आउँछन्,’ उनले सुनाइन्।
भनिन्छ, लोग्ने–स्वास्नीको सम्बन्ध जुनीजुनीका लागि हो। सम्बन्धविच्छेद हुनुको कारण विविध भए पनि परम्परागत मूल्य–मान्यतामा आएको परिवर्तन र नाता–सम्बन्ध कायम भएपछि श्रीमान्–श्रीमती सँगै नबस्नु यसका प्रमुख कारण बनेका छन्। समाजमा शिक्षाको स्तर बढेसँगै चेतनाको स्तर वृद्धि हुँदा अन्याय र अत्याचार सहेर बस्न नसक्ने भएकाले पनि सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढेको विश्लेषण गरिन्छ। समाजशास्त्री गणेश गुरुङ यो कुरा स्वीकार गर्दैनन्। उनी महिलाहरूमा आएको चेतना अभिवृद्धिका कारण पुरुषप्रधान समाजमा दबिएर बसेका महिलाले अधिकार खोजेको बताउँछन्। ‘अबका महिला लोग्नेले जे गरे पनि सहेर बस्नुपर्छ भन्ने छैन। आफैँ आत्मनिर्भर भएका महिलाले चेपुवामा परेको कुरा नसहँदा सम्बन्धविच्छेद बढेको हो। यो समाज परिवर्तनको सङ्केत हो,’ गुरुङ भन्छन्।
- शङ्करप्रसाद खनाल -
संचारिका फिचर सेवा
संचारिका फिचर सेवा
By mysansar, on mysansar , March 22nd, 2013
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !