CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » आधा करोड सिध्याए तर अमेरिका पुग्न सकेनन्

आधा करोड सिध्याए तर अमेरिका पुग्न सकेनन्


सुरेन्द्र पौडेल, काठमाडौं, भदौ १३ -गोर्खा च्याङ्ली- ४ का देवबहादुर खत्री (नाम परिवर्तन) ब्राजिलबाट फर्केको मंगलबार दुई दिन भयो। अमेरिका जाने सपना देखेर साढे दुई महिनाअघि काठमाडौं छाडेका उनले आधा करोड सिध्याए तर अमेरिका पुग्न सकेनन्। दोहा, बोलिभिया हुँदै ब्राजिल पुगेपछि बल्ल छाँगाबाट खसेझैँ भए- अमेरिका त दलालले देखाएको मिठो सपनामात्रै रहेछ। ब्राजिलमा अलपत्र खत्री आफूजस्तै सात साथीसँगै आइतबार काठमाडौं आइपुगेका छन्।





'पैसा त फस्यो, बाँचेर फर्कन सकेकोमा खुसी छु,' अमेरिका छिर्नकै लागि मात्र भनेर बोलिभिया पुगी काठमाडौं फर्कंदा १२ लाख रुपैयाँ फँसाएका खत्रीले पछुताउँदै भने, 'अमेरिका पुगेपछि जिन्दगी बन्छ भन्ने सपना देखियो, त्यही सपनाले डुबायो।'
पोखरा भलाम डाँडागाउँकी अमृता गुरुङले ब्राजिलबाट खत्रीका आफन्तलाई फोन गरी तनहुँ फिरफिरेका दलबहादुर गुरुङ नेपाल आएको जानकारी दिएकी थिइन्। अमेरिका आउने भए काठमाडौं बालकुमारीमा बसेका दलबहादुरसँग सम्पर्क गर्न उनले भनेकी थिइन्। केही वर्षअघि विभिन्न ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका जाने प्रयासमा बीच बाटोमा फसेपछि ब्राजिल फर्केकी अमृता साओपाओलोस्थित एक ब्युटिपार्लरमा काम गर्छिन्।

अमृताका आफन्त खत्रीका चिनजानका रहेछन्। ब्राजिल हुँदै सजिलै अमेरिका जान सकिने बताएपछि खत्री केही साथी लिएर गोर्खाबाट काठमाडौं आए। २०६८ जेठ २४ गते उनले सुन्धाराको होटल भिक्टोरियामा दलबहादुरसँग भेट भयो। सबै कागजात जुटाए एक साताभित्र ब्राजिल पठाइदिने र त्यहाँबाट अमेरिका छिराइदिने आश्वासन दिए दलबहादुरले।

'जो पहिले कागजात लिएर आउँछ, त्यसैलाई पहिले पठाइदिन्छु भन्यो,' खत्रीले सुनाए, 'राहदानी पहिल्यैदेखि थियो, अन्य कागजात पनि एक साताभित्र बनाएँ।'

खत्रीलाई प्रहरी रिपोर्ट बनाउन तीन दिन, नागरिकताको अंग्रेजी अनुवाद गर्न दुई दिन र १० वर्ष मिति हुने एलो फिभर कार्ड बनाउन एक दिन लाग्यो। दुई हजार ८ सय तिरेर बनाउनुपर्ने एलो कार्ड भिसा लगाउन अनिवार्य रहेछ। खत्रीसहित पाँचजनाले एकै दिन सम्पूर्ण कागजात र ७ लाख रुपैयाँ दलबहादुरलाई बुझाए। केहीले भने रकम हात्तीसारस्थित हिमालयन गोर्खा ट्राभल्स एन्ड टुर प्रालिमा बुझाएका थिए। हिमालयनले रकम बुझेको रसिदमा सि/ओ दमन सर भनी उल्लेख गरेको छ। नभन्दै दलबहादुरले जेठ ३१ गते उनीहरु (पाँच जना) लाई काठमाडौंबाट ब्राजिलका लागि दोहा उडाइदिए।

त्रिभुवन विमानस्थलमा खत्रीसहित पाँचजनालाई िदलबहादुर आफैैंले बाईबाई गरे। उनीहरुलाई ब्राजिलको साओपाओलोसम्मको हवाई टिकट, बोलिभियाको लापाजबाट मार्सिला नाम गरेकी महिलाले पठाएको स्पन्सर लेटर, एलो फिभरको इन्जेक्सन लगाएको कार्ड थमाइदिएका थिए दलबहादुरले। उनीहरुसँग भएको राहदानीमा ब्राजिल र बोलिभिया दुवै देशको भिसा थिएन।
'एक लटमा पाँचजना मात्र पठाउने रहेछन्,' खत्रीले भने, 'धेरै पठाउँदा अरूले चाल पाउलान् भनेर।'

टिआइएमा भिसा नदेखेपछि अध्यागमनका कर्मचारीले 'कहाँ जाने?' भनी सोधे। 'ब्राजिल,' उनीहरुले भने। अध्यायगमनका कर्मचारीले टेबुलमुनिबाट एउटा कागज निकालेर पढे। राहदानीमा भएको नाम कागजमा भेटेपछि अघि बढ्न संकेत गरे।

'विमानस्थलमा दलालले सेटिङ मिलाएका हुँदारहेछन्, हामीलाई त थाहै थिएन,' खत्रीले सुनाए, 'सिसी क्यामराले देख्छ कि भनेर अध्यागमनका कर्मचारीले सेटिङ मिलाएकाको नामावली टेबुलले छेकेर हेर्दारहेछन्।'

साढे चार घन्टा विमान यात्रापछि खत्री कतारको दोहा पुगे। दोहामा छ घन्टा ट्रान्जिट। दोहा विमानस्थलमा बोर्डिङ पास लिँदा उनीहरु पाँचजनालाई मात्र त्यहाँ रहेको 'सुरक्षा डेस्क' मा जान भनियो। सुरक्षा डेस्कमा भारतीय नागरिक थिए। उनले पनि नेपाली राहदानी देखेपछि 'ब्राजिल जान लागेका? ल जाओ' भन्दै राहदानी फ्याँकिदिए। त्यहाँ पनि सेटिङ भएको खत्रीले बुझे।

१४ घन्टामा उनीहरु दोहाबाट ब्राजिलको साओपाओलो पुगे, जेठ ३२ गते। साओपाओलो विमानस्थलमा एक ब्राजिलियन 'नेपाली, नेपाली' भन्दै उनीहरुको नाम भएको प्लेकार्ड लिएर आइपुगे। ती ब्राजिलका लागि एजेन्ट रहेछन्। साओपाओलोमा २२ घन्टा ट्रान्जिट थियो। भोलि बिहान बोलिभियाको सान्तात्रु्कज जाने हवाई टिकट र बोडिङ पास आइपुग्ने बताउँदै ती एजेन्ट बाहिरिए। रात विमानस्थलमै बित्यो।
'ब्राजिलसम्मका लागि मैले दलाललाई ७ लाख बुझाएको थिएँ। खानाबस्न सबै यही पैसामा हुन्छ भनेका थिए,' खत्रीले भने, 'तर ब्राजिल पुगेपछि हवाइ टिकट मात्र बेहोरे। खानबस्न आफैंले लगेको पैसा खर्च गर्नुपर्योक।'

असार १ गते ब्राजिलियन एजेन्ट बोलिभियाको सान्तात्रु्कज जाने टिकट लिएर आइपुगे। एजेन्टका साथ दुई घन्टामा सान्तात्रु्कज पुगेपछि उनीहरुले विमानस्थलमै ५३ अमेरिकी डलर तिरेर राहदानीमा बोलिभियाको एक महिनाको भिसा लगाए। त्यसपछि उनीहरु त्यहीँबाट डेढ घण्टा हवाई यात्रा गरी असार १ गते नै बोलिभियाको अर्को स्थान लापाज पुगे। त्यहाँ उनले एजेन्टलाई एक हजार अमेरिकी डलर बुझाउनुपर्योग।

'नेपालीलाई लगेपछि लापाजमा रहेका दुईवटा होटल कागतुस र खिमिनाजमा राखिने रहेछ। हामीलाई पनि त्यहीँ राखियो। प्रतिदिन प्रतिव्यक्ति होटलले ३० बोलिभियन नोज लिने रहेछ,' खत्रीले भने, 'हामी त्यहाँ पुग्दा ती होटलमा झन्डै ७० नेपाली थिए।'

लापाजमा १० दिन बसेपछि एजेन्टले ब्राजिलको भिसा लगाएर राहदानी ल्याइदिनेरहेछन्। सेटिङ मिलेन भने डेढ महिनासम्म लाग्छ। मेक्सिकोले ब्राजिलमा रहेको दूतावासबाट आफ्नो देशको भिसा दिने हुनाले लापाज पुर्यााई ब्राजिलको भिसा लगाइन्छ। मेक्सिकोले भिसा दिएन भने फेरि बोलिभिया लगी पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिराइने सेटिङ रहेको उनले सुनाए।

लापाजमा एजेन्ट रहेकी स्थानीय महिला मार्सिलाले एक नेपालीलाई स्पन्सर लेटर पठाएबापत ५ सय अमेरिकी डलर लिन्छिन्। तर अहिले दलालहरु बाठो भई उनलाई मासिक एक हजार ३ सय अमेरिकी डलर बुझाउने गरेको खत्रीले बताए।

'ब्राजिलबाट कोलम्बियासम्म प्लेनमा लगिन्छ। त्यहाँ पुगेपछि आफूसँग भएका राहदानीलगायत सम्पूर्ण कागजात च्यातेर फाल्नुपर्छ। अनि कोलम्बियाबाट मोटरबाटो, जंगल, समुन्द्र हुँदै लुकाएर विभिन्न मुलुक हुँदै मेक्सिकोबाट अमेरिका प्रवेश गराउने हामीलाई एजेन्टले भनेका थिए,' खत्रीले सुनाए, 'प्रत्येक देशमा पुगेपछि एजेन्ट फेरिन्छन्, तिनले आफ्नो देशको सीमा कटाई अर्को देशमा रहेको एजेन्टलाई बुझाउने रहेछन्। प्रत्येक विमानस्थलभित्र अर्को विमानस्थलसम्म जाने टिकट लिएर एजेन्ट नै आउँछन्।'
ब्राजिलको भिसा लगाउन २० अमेरिकी डलर लाग्ने रहेछ। लापाजमा ब्राजिलको भिसा लागेपछि साउन ४ गते खत्रीसहित १२ नेपाली सडक मार्ग हुँदै ब्राजिलको साओपाओलेतर्फ लागे। बोलिभिया र ब्राजिलको सीमा कुरुम्बा हुँदै उनीहरुलाई साओपाओले आउन बसमा मात्रै ५१ घन्टा लाग्यो। बाटो खाने भनेको स्याउ र सुन्तला मात्र, त्यो पनि साथमा पैसा भए। उनीहरु साउन ७ गते साओपाओले आइपुगे। साओपाओलोको ब्रासस्थित दलबहादुरको अपार्टमेन्टमा उनीहरु बसे।

त्यहीँ उनले थाहा पाए साओपाओलोमा दलबहादुरको नाम दिलिप गुरुङ रहेछ। उनले चार-पाँच कक्षाभन्दा पास गरेका रहेनछन्। दलबहादुर पनि ६ वर्षअघि त्यही रुट हुँदै अमेरिका जाने क्रममा बीचमा फसेर ब्राजिलमा शरणार्थी बनेर बसेका रहेछन्। उनीसँग अहिले ब्राजिलको एलो कार्ड रहेछ, जसका कारण उनी नेपाल-ब्राजिल गर्न पाएका रहेछन्। त्यहाँ अरु थुप्रै नेपाली भेटिए, जो अमेरिका जान हिँडेका थिए तर महिनौंदेखि अलपत्र परेर बसेका थिए। सबै थाहा पाएपछि खत्रीलाई छाँगाबाट खसेजस्तो भयो।

काठमाडौंबाट गएदेखि काठमाडौं फर्कुन्जेल २ हजार २ सय ७५ डलर पकेट खर्च भएको उनले सुनाए। काठमाडौंमा आफन्तले पैसा हाली हवाई टिकट किनी पठाइ दिएपछि अन्य ६ जनाको साथ खत्री आइतबार काठमाडौं आइपुगेका थिए।

'एक-दुईजना मात्र अमेरिका पुग्दा रहेछन्,' उनले भने, 'अरू सबै बीच बाटोमा अलपत्र पर्ने।' काठमाडौंदेखि ब्राजिलसम्म आफ्नो आधा करोड खर्च भएको पनि उनले सुनाए।


WEDNESDAY, 29 AUGUST 2012 08:34 

साभार नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis