पूर्व सभासद् सदरुल मियाँ हकको हत्या भएको पाँचौं दिनसम्म प्रहरी 'सुराक' विहीन छ।
श्रवणकुमार देव
माथिल्लोस्तरको छानबिनको मागलाई सम्बोधन गर्दै सरकारले ९ जेठमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अलि अन्सारीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन आयोग पनि गठन गरेको छ। नेपाल प्रहरीको स्थानीय संयन्त्र र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) आफ्नो हिसाबमा क्रियाशील छँदैछ। तर, अहिलेसम्म हत्याको कारण समेत खुलेको छैन।
अनुमान र आशंका
घाँटी रेटिएको र पिठ्यूँ लगायत शरीरका विभिन्न भागमा काटिएको पूर्व सभासद् हकको शव पेट्रोल पम्पको माथिल्लो तलामा ७ जेठ बिहान भेटियो। हत्यामा प्रयोग भएको धारिलो हतियार पनि घटनास्थलमै भेटिएको छ। उनको शव भेटिएको ठाउँमा पुग्न दुइटा ग्रिलमा लगाइएको ताल्चा खोल्नुपर्छ, जुन रातको समय बाहिरको मान्छेलाई सम्भव देखिंदैन। त्यसकारण, हत्या निकट चिनजानकै व्यक्तिबाट भएको हुनसक्ने जिल्ला प्रहरीका एक अधिकृत बताउँछन्। उनी एक सातादेखि पम्पमा सुत्न थालेका थिए।
त्यो साँझ् छिमेकी गाउँ खोजपुरको बिहेमा सहभागी भएका उनी त्यहाँबाट कतिखेर फर्के भन्ने खुलेको छैन। त्यहीं रहेको बेला पल्सर मोटरसाइकलमा आएका दुई जना युवकले बोलाएको बताइन्छ, तर उनी कतिखेर, कोसँग हिंडे भनेर खुल्न सकेको छैन। छानबिन समितिमा सदस्य रहेका पूर्वाञ्चल प्रहरी प्रमुख डीआईजी पर्शुराम खत्रीले धेरै
निकायहरू छानबिनमा सक्रिय रहेकाले अपराधी जो भए पनि चाँडै पत्ता लाग्ने बताए। समाजसेवी नेताका रूपमा चिनिने हकको कसैसँग व्यक्तिगत रिसइबी थिएन। तर, गलत कुराको प्रतिवादमा कसैको मुख नहेर्ने उनको स्वभाव थियो। त्यो पनि हत्याको एउटा कारण हुनसक्ने अनुमान छ। प्रहरीको तालीमप्राप्त कुकुर घटनास्थलदेखि ३०० मिटर उत्तरमा हकको सर्ट, चप्पल र डायरी फेला पारेर कल्याणपुर–२ को मण्डल टोलहुँदै इलाका प्रहरी कार्यालयमा आएर रोकिएको थियो। त्यसकारण, प्रहरीभित्रै पनि छानबिन गरिनुपर्ने मधेशी जनअधिकार फोरम नेपालका सप्तरी अध्यक्ष युसुफ अली बताउँछन्।
आफन्तहरूका अनुसार, ईंटा उद्योगका मजदूरहरूलाई ज्यालामा दिनुपर्ने रकम अभाव भएपछि हक केही दिनदेखि तनावमा थिए। घटना भएको राति ९:३० बजे बिहे घरमा हकसँगै रहेका मलेठ गाविसका खुदुस मियाँ उनले राजविराज–२ का हीरा हुसैनसँग मोबाइल फोनमा पैसाकै कुरा गरेको बताउँछन्।
असल जनप्रतिनिधि
२०४५ सालमा राजनीतिमा प्रवेश गरेर २०५४ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित एसएलसी उत्तीर्ण सदरुल संविधानसभा निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भएरै सप्तरी–५ बाट फराकिलो मत अन्तरले विजयी भएका थिए। कल्याणपुरमै जन्मेका उनी जिल्लामा समाजसेवीका रूपमा लोकप्रिय थिए। संविधानसभाको संवैधानिक समितिमा सदस्य बनेका उनले एमाओवादी नेतृत्वको सरकारले दलित समुदायका लागि छुट्याइएको १५ प्रतिशत आरक्षण कोटालाई ९ प्रतिशतमा झार्दा त्यसलाई पहिलाकैमा कायम राख्न महत्वपूर्ण भूमिका खेलेका थिए।
हकलाई संविधानसभा/व्यवस्थापिका संसद्मा जनताको आवाज उठाउने विरलैमध्येका एक सभासद् मानिन्थ्यो। सप्तरीबाट प्रत्यक्ष निर्वाचित ६ र समानुपातिकतर्फका १० सभासद् भए पनि जिल्लाको आवाज उठाउनेमा उनी एक्ला थिए। मधेशी, मुश्लिम, आदिवासी, जनजातिको पक्षमा उभिएर उनी संविधानसभाको चारवर्षे कार्यकालमा सधैं चर्चामा रहे। 'समावेशी विधेयक' को माग गर्दै ६ वैशाख २०६९ देखि पाँच दिनसम्म व्यवस्थापिका–संसद् ठप्प पार्ने चार सभासद्मध्ये उनी एक थिए।
स्वतन्त्र सभासद् हुँदा पार्टीको ह्वीप नलाग्ने अवस्थाको फाइदा उठाएका उनलाई विभिन्न मधेशवादी दलहरूले राम्रो पदको आश्वासन दिए पनि पार्टी प्रवेश गराउन सकेनन्। त्यतिबेलाको सत्ता राजनीतिमा हकले चाहेको भए मन्त्री हुन नसक्ने कुरै थिएन। सभासद् बनेपछि अरू काठमाडौंमुखी भए पनि उनी संविधानसभा/व्यवस्थापिका संसद्को बैठक हुँदा बाहेक जिल्लामै हुन्थे। संविधानसभा विघटनपछि उनी व्यवसाय र समाजसेवामा केन्द्रित थिए।
श्रवणकुमार देव, राजविराज, हिमाल खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !