CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » कान्छी श्रीमतीको 'बबाल'ले एसएसपी सरुवा

कान्छी श्रीमतीको 'बबाल'ले एसएसपी सरुवा

कान्छी श्रीमतीको 'बबाल'ले एसएसपी सरुवा
काठमाडौं - महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख बनेको तीन महिनामै एसएसपी रणबहादुर चन्दको सरुवा भएको छ। 'पदीय दायित्व बहन गर्न नसकेको' भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई काठमाडौं प्रहरी प्रमुखबाट हटाउँदै सोमबार सुबोध घिमिरेलाई प्रमुख बनाएको हो।
गृहले उनको सरुवाको निर्णय गर्दै उनको ठाउँमा घिमिरेको नाममा निर्णय गरिसके पनि सोमबार बेलुकासम्म सरुवापत्र प्रधान कार्यालयमा आइसकेको छैन।
काठमाडौंमा घटेका आपराधिक घटना अनुसन्धान सफल भए पनि व्यक्तिगत आचरणका कारण उनी संगठनमा आलोचित थिए। उनको लापरवाह व्यवहारका कारण संगठनको छवि धुमिल बनेको भन्दै संगठनका प्रभावशाली सदस्यहरुले प्रहरी महानिरीक्षक कुवेर रानालाई पटक–पटक काठमाडौं प्रमुख फेर्न सुुझाव दिएका थिए।
चुल्ठे–मुन्द्रे नियन्त्रण अभियानबाट उनी अति आलोचित भएका थिए। शुक्रबार कान्छी श्रीमती गोमा सुवेदीले उनको कार्यकक्षमा 'बबाल' गरेपछि उनको सरुवाको निर्णय भएको हो।
क्यासिनो नियन्त्रण निस्प्रभावी बनेको, अन्ना क्यासिनोका जिएम तप्तबहादुर विष्टलाई हिरासतमा नराखी प्रहरी कर्मचारीको कोठामा राखेको जस्ता घटना सार्वजनिक भएपछि गृह नेतृत्वसमेत उनीप्रति असन्तुष्ट थियो।
'पदीय जिम्मेवारी अनुसारको जिम्मेवारीबोध गर्न नसक्दा उनको सरुवाको गृहकार्य सुरु भएको थियो,' प्रधान कार्यालयस्रोतले नागरिकसँग भन्यो, 'शुक्रबार उनी निकट महिला प्रहरी कार्यालयमा आएर जथाभावी गर्दा आगोमा घिउ थप्ने काम भयो।'
महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुख हुँदा नै उनी नियमित सरुवाअगाडि नै प्रधान कार्यालय तानिएका थिए। महाशाखामा काम गर्दा उनलाई उनकै अंगरक्षक कर्णबहादुर साउदले गोली हानेर हत्या प्रयास गरेका थिए। बालुवाटारमा बेलुका उनकै कोठामा दुई राउन्ड गोली हाने पनि उनी भाग्यवश जोगिएका थिए।
एसएसपी जयबहादुर चन्दको बढुवालगत्तै काठमाडौं परिसर प्रमुखको पद रिक्त भएपछि विजयलाल कायस्थ, घिमिरे लगायत एसएसपी सम्भावित सूचीमा भए पनि एकाएक चन्द प्रमुख बनेर आएका थिए।
प्रहरी नेतृत्व सहमत नभए पनि तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारको समर्थनमा गत पुसमा चन्द काजमा काठमाडौं पठाएका थिए। सरकार परिर्वतनलगत्तै उनको सरुवाको तयारी भए पनि गत माघमा भएको एसएसपीको नियमित सरुवामा चन्दले नै काठमाडौं प्रमुखकोे जिम्मेवारी पाएका थिए।
सोमबार काठमाडौं परिसर प्रमुखमा सरुवा पाएका घिमिरे लागुऔषध नियन्त्रण ब्युरोमा सरुवा भए पनि 'असहमति जनाउँदै' प्रधान कार्यालयमै बसेका थिए। प्रहरी नेतृत्व उनलाई अपराध महाशाखाको प्रमुख बनाउने तयारीमा थियो। परिसर प्रमुखमा चन्द नै कायम भएपछि काठमाडौं परिसर प्रमुखको सूचीमा परेका कायस्थ महाशाखा प्रमुख बने। घिमिरेको सरुवा लागुऔषध ब्युरोमा निस्किए पनि उनी विशेष ब्युरोमै थिए।
चन्दले प्रहरी नेतृत्वसँग व्यवहार सुधार्छु भन्दै 'तामातुलसी' छोएर वाचा गरेपछि नियमित सरुवामा उनको जिम्मेवारी हेरफेर भएको थिएन। तर, व्यक्तिगत व्यवहारमा सुधार नदेखिएपछि 'पदीय जिम्मेवारी सन्तोषजनक रुपमा बहन नगरेको' भन्दै रानाले उनलाई प्रधान कार्यालयमा बोलाएर पटक–पटक मौखिक रुपमा सचेत गराए पनि उनको व्यवहारमा सुधार आएन।
सुरक्षा दृष्टिले संवेदनशील काठमाडौंको प्रमुख भए पनि प्रहरीको सञ्चार साधन (वाकिटकी) नियमित प्रयोग नगर्ने र आफूमाथिका अधिकारीलाई जानकारी नै नदिई सम्पर्कविहीन बन्ने गर्दैआएका थिए।
नियमित सरुवापछि पनि उनको व्यवहार नसुध्रेपछि उनले मात्रै काठमाडौं सम्हाल्न नसक्ने निष्कर्ष निकाल्दै प्रहरी नेतृत्वले डिएसपीका रुपमा काठमाडौंमा कार्यरत उत्तम कार्की बढुवा पाएर एसपी भए पनि चन्दको सहयोगीका रुपमा उनलाई काठमाडौंमै राखेको थियो।
शुक्रबार उनकी कान्छी श्रीमती सुवेदी काठमाडौं परिसरमा आएर उनको कोठामा रहेका प्रहरी अधिकृतलाई बाहिर पठाएर अन्ना क्यासिनोका जिएमसँग आधा घन्टा गोप्य कुराकानी गरेपछि गृह मन्त्रालयले उनको सरुवाको निर्णय गर्योा।
चन्द काठमाडौं प्रमुख भएपछि केही आपराधिक घटनाको अनुसन्धान सफल भएको थियो। काठमाडौं बांगेमुढामा भएको आयुश श्रेष्ठको हत्या, टेकुमा भएको इश्वरी बरालको हत्या, काठमाडौंको तीनथानामा भएको शेरबहादुर घर्ती हत्या, ज्याठामा आफ्नै कोठामा मारिएका दम्पती रामबहादुर खड्का र कल्पना हत्याकाण्डको अनुसन्धान सफल भएको थियो।
माओवादीका पूर्व लडाकुलाई हतियारसहित पक्रेको घटनाको प्रशंसा भए पनि उनी जाँदाजाँदै भएको पेप्सीकोला गोलीकाण्डको अनुसन्धान अधुरै रह्यो। सो घटनामा रमा भट्टराई घाइते भएकी थिइन्।
चन्दको सरुवासँगै काठमाडौंको प्रहरी प्रमुख बनेका घिमिरे प्रहरीको दैनिक गतिविधिभन्दा पनि अनुसन्धानमा पोख्त प्रहरी अधिकारी हुन्। लामो समय आतंकवाद र गम्भीर प्रकृतिको आपराधिक घटनाको अनुसन्धान गर्ने विशेष ब्युरोमा काम गरेका उनी यसअघि पर्सा प्रहरी प्रमुख बनेका थिए।

-- नागरिक न्युज साभार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis