अरूको सिनेमा यस्तो र उस्तो भन्दै आफूलाई चलचित्र निर्देशकभन्दा समीक्षकको रूपमा प्रस्तुत गरेर सिनेमाको ‘कमेन्ट’ गर्ने चलचित्र निर्देशक मनोज पण्डितको तेस्रो चलचित्र ‘वधशाला’ हेरेपछि उल्टै समीक्षकहरूले मात्र होइन कि स्वयम् दर्शकहरूले समेत गाली गरे यिनलाई।
चलचित्र समीक्षकहरूले त मनोजको चलचित्र ‘वधशाला’लाई बन्न नसकेको डकुमेन्ट्री पनि भने। सेन्सरको विषयलाई लिएर बजार भने यसले तताएकै थियो तर यो हेरेपछि मनोजमाथिको
दर्शकहरूको भरोसा मात्र चिसिएको छैन कि लुटबाट दर्शकहरूको माया रामै्रसँग लुट्न पाएका दयाहाङ राई र सौगात मल्ल पनि माइनस भएका छन्। आफूलाई फरक धारको चलचित्र निर्देशक भनेर चिनाउन पाएमा दङ्ग पर्ने मनोज अन्ततः आफैँ झुक्किन पुगेका छन्, आफूले कुन धारको चलचित्र बनाएँ भनेर। चलचित्र केका लागि बनाउने? अनि कसका लागि बनाउने? उनी आफैँ कन्फ्युजमा छन्। अरूले तोकेको टिकटको रेट तिर्न तयार भएर दर्शकहरू हलभित्र छिर्छन् भने उनीहरू त्यो टिकटको पूर्ण रूपमा सदुपयोग होस् भन्ने चाहन्छन्। एकछिन भए पनि मन र मस्तिष्कलाई आराम दिन वा तनाव बिर्सनका लागि दर्शकहरू हलभित्र छिर्छन्। तर, वधशाला हेर्न हलभित्र छिरेपछि उल्टै दर्शकहरूको त्यो इच्छामाथि वध हुन पुग्छ। अनि निर्देशकले आफ्नो काम देखाउन चलचित्र बनाउने होइन कि दर्शकहरूको मन जित्न र ताली पाउन चलचित्र बनाउन सक्नुपर्छ। यदि दर्शकहरूको मन जित्न सकिएन भने त्यो चलचित्र र निर्देशकले आत्मलोचना गर्दै मैले राम्रो चलचित्र बनाउन सकिनँ भन्न सक्नुपर्छ। यदि वधशाला वृत्तचित्र हो भने वृत्तचित्रको उद्देश्य र प्रदर्शन फरक हुन्छ तर सार्वजनिक रूपमा प्रदर्शन गर्न सिनेमाको रूप दिएपछि निर्माताको लगानी बचाउन नसक्ने फिल्ममेकर वास्तवमा नै असफल फिल्ममेकर हो। दुई–चारजनाले अगाडि ‘वाहवाही गर्दैमा निर्माता मोहन डोटेलको लगानी फिर्ता आउँदैन। यसर्थ सार्वजनिक प्रदर्शन भएपछि लगानी उठाउन र दर्शकहरूको मन जित्न नसक्ने चलचित्र असफल नै हो भन्दा फरक नपर्ला।
सीमित दर्शकहरूको इच्छालाई ध्यानमा राखेर मल्टिप्लेक्स हलहरूका लागि बनाइएको भनेर हौवा पिटाइएको चलचित्र ‘वधशाला’ विशेषतः साधारण दर्शकहरूसमक्ष पुग्दै पुगेन र पुगे पनि ती दर्शकले बुझ्दैनथे। अझै पनि वधशालाका निर्माता मोहन डोटेल र निर्देशक मनोज पण्डितले के बुझ्नुपर्छ भने नेपाली चलचित्र हेर्ने वर्ग, तह र तप्काको बारेमा अध्ययन गर्नैपर्छ।
वरिष्ठ चलचित्र निर्देशक यादव खरेलको सहायक भएर वषर्ौंसम्म काम गरेका मनोज पण्डितलाई दर्शकहरूको परिवेशको बारेमा रामै्र ज्ञान हुनुपर्ने हो। तर, उहाँले वधशाला दर्शकहरूका लागि नभएर केही समीक्षक र आफ्ना लागि बनाएको देखिन्छ। दुई हप्ताअघि रिलिज भएको दुई चलचित्र नोटबुक र हमेशाभन्दा नयाँ रिलिज भएको वधशालाको व्यापार कम हुनु भनेको साह्रै अशोभनीय कुरा हो। सार्वजनिक प्रतिस्पर्धामा उत्रिएपछि व्यावसायिक रूपमा घाटा–नाफा हुन्छ। यो मामिलामा घाटा भएमा असफल अनि नाफा भएमा सफल मान्नैपर्छ। बढीभन्दा बढी दर्शकले हेरेमा सफल मानिन्छ। तर, यो पक्षमा भने वधशाला असफल नै हो। हुनसक्ला भोलि अन्तर्राष्ट्रिय महोत्सवमा गएर चलचित्र ‘वधशाला’ ले थुपै्र अवार्ड जित्ला यसले उठाइएका विषयका कारण। तर, नेपाली दर्शकले यसलाई लत्याएको कुरा भने स्वयम् निर्माता/निर्देशकले पनि स्वीकार्नुपर्छ।
राजनीतिक विषय, भाषण अनि यस्तै हल्लाहरू देख्दा र सुन्दा दिक्क भएका नेपालीले मन शान्त पार्न हलतिर छिर्दा फेरि त्यही कुरा देखेपछि कसरी उनीहरूको मन शान्त र प्रफुल्ल हुनसक्छ। अझै पनि केवल सिनेमा भनेको स्वच्छ मनोरञ्जन मात्र हो भन्ने कुरा बुझेका नेपाली दर्शकका लागि ‘वधशाला’जस्तो चलचित्र बनाउने समय आइनसकेको जानकारी यसका निर्माता/निर्देशकहरूलाई हुनुपर्छ।
राजन घिमिरे – विक्ली नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !