मंगलबार एकाबिहानै विश्वको सबभन्दा अग्लो स्थानमा रहेको भञ्ज्याङ थोरोङ्गला पास काटेर मुक्तिनाथ झर्दा मन्दिर नजिकैको हेलिप्याडमा दुई वटा हेलिकप्टर अडिएका थिए। ६ जना जति पुलिसले पनि हेलिकप्टर नजिकै पहरा दिइरहेका थिए। हामीले सोच्यौँ कुनै मन्त्री सन्त्री आएको
हुनुपर्छ मुक्तिनाथ घुम्न। हामीले मन्दिर बाहिर पूजाका सामान बेच्नेलाई पनि सोध्यौँ। “खै, ठूलो मान्छे आएको रे” भनिन्। को रैछ त आएको ? कतै मन्त्रिपरिषद् अध्यक्ष रेग्मी त आएका हैनन् ! नत्र यत्रो सुरक्षा !! मन्दिर बाहिर एक जना प्रहरी थिए। उनलाई सोध्यौँ- को आउनुभएको ?
‘खै एनआरएनको रे’ उनले जवाफ दिए।
“अध्यक्ष जीवा लामिछाने ?” हामीले सोध्यौँ।
“हैन”
“त्यसो भए को त ?”
उनले भन्न सकेनन्। एकछिन पछि पो थाहा भयो, उपेन्द्र महतो आफ्नी पत्नी र केही विदेशी साथीहरुसहित आएका रहेछन्। महतो एनआरएनका संस्थापक अध्यक्ष हुन्। अहिले एनआरएनका अध्यक्ष जीवा लामिछाने छन्। फोर्ब्स पत्रिकाको सूचि अनुसार आधिकारिक रुपमा विनोद चौधरी नेपालका सबभन्दा धनी व्यक्ति भए पनि उपेन्द्र महतो नेपालका धनीमध्येका पनि धनी हुन्। उनले मन्त्रीहरु जतिको सम्मान र सुरक्षा कुनै पदका कारण नभई पैसाको प्रभावका कारण पाएका हुन्।
सम्मान पाउन पदै नचाहिने रैछ। महतो कुनै पदमा छैनन्। तर उनी मुक्तिनाथमा हेलिकप्टर चार्टर गरेर पुग्दा त्यहाँका सिडिओले चाकरीकै लागि आधा दर्जनभन्दा बढी प्रहरी पठाइदिए। केही प्रहरी हेलिकप्टर नजिकै सुरक्षा दिएर बसे भने केहीले चाहिँ उनलाई एस्कोर्ट गरे।
मन्दिर दर्शन गरेर हेलिकप्टर चढेर फर्कँदै गर्दा उनलाई त्यहाँका भिक्षुणी र अन्य स्थानीय बासिन्दाले हात हल्लाएर विदाइ गरे। सामाजिक कल्याणका काममा करोडौँ खर्च गर्ने महतोले मुक्तिनाथमा पनि केही गर्लान् कि भन्ने आशा उनीहरुले गरेको देखियो।
के फोर्ब्सका अनुसार नेपालका सबैभन्दा धनी अनि अरु धनीहरुलाई पनि कतै बाहिर जाँदा यस्तै सुरक्षा दिइन्छ होला त ? मैले त पहिलो पटक यस्तो देखेँ। कि कल्याणकारी काममा बढी संलग्न भएकोले सामाजिक रुपमा समेत उपेन्द्र महतोको प्रभाव बढी भएकोले यस्तो भएको ? यो प्रश्नको जवाफ चाहिँ पाउन सकिनँ।
साभार :माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !