राष्ट्रपति डा. रामवरण यादव गम्भीर बिरामी भएका छन्। उनको आन्द्रामा दाग देखिएको छ। गम्भीर बिरामी नभएको भए विदेशमा लगेर उपचार गर्नुपर्दैन थियो। रोगको गम्भीरताका कारणै उनलाई जापान लगिँदैछ। सोमबार दिउँसो १: ५५ बजे थाइ एयरको विमानबाट जापान जाने टोलीमा छोरा चन्द्रमोहन यादव, छोरी अनिता यादव, कानुनी सल्लाहकार सुर्य ढुंगेल, निजी चिकित्सक डाक्टर यादव
नेपालको अन्तरिम संविधान २०६३ को धारा ३६ छ अनुसार राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिले गर्नुपर्ने सबै कामहरु उपराष्ट्रपतिले गर्नेछन्। अर्थात् अबका कार्यवाहक राष्ट्रपति हाम्रा उपराष्ट्रपति परमानन्द झा हुनेछन्।
राष्ट्रपतिज्युको स्वास्थ्य लाभको कामना गर्छौँ। अन्यथा अर्थ नलागोस् तर कथंकदाचित संविधानको धारा ३६ ङ को उपधारा क अनुसार स्वास्थ्य अवस्थाको कारण देखाई राष्ट्रपतिले राजीनामा दिएमा वा उपधारा ग अनुसार मृ्त्यु भएमा नि ?
यस्तो अवस्थामा धारा ३६ङ. बमोजिम राष्ट्रपति पदमुक्त भई अर्को राष्ट्रपति निर्वाचित नभएसम्म वा राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरु उपराष्ट्रपतिबाट सम्पादन गरिनेछ।
अहिले संविधान सभा वा संसद नरहेको अवस्था भएकोले तत्काल अर्को राष्ट्रपति निर्वाचित हुन सम्भव छैन। त्यसैले उपराष्ट्रपति नै कार्यवाहक राष्ट्रपतिका रुपमा रहिरहनेछन्।
फेरि एउटा कल्पना गरौँ- कार्यवाहक राष्ट्रपतिका रुपमा रहेका उपराष्ट्रपति कतै विदेश भ्रमणमा जानु परेमा वा उनको पनि कथंकदाचित मृत्यु भएमा चाहिँ के होला त ?
यसको कल्पना अहिलेको संविधानले गरेको छैन। संविधान सभाको दोस्रो निर्वाचन हुने पनि कल्पना नगरिएको र प्रधान न्यायाधीश प्रधानमन्त्री पनि बन्ने पनि कल्पना नगरिएको परिस्थिति अहिले देशमा विद्यमान रहेकोले कल्पना नगरिएका परिस्थितिहरुको कल्पना गर्न हामी बाध्य भएका छौँ। साँच्चै त्यस्तो भइहाले चाहिँ के होला ?
अमेरिकामा त्यस्तो अवस्थामा सभामुख राष्ट्रपति बन्ने चलन छ। सभामुख पनि नभएमा सिनेटका President pro tempore बन्छन्। उनी पनि नभए विदेशमन्त्री। त्यसपछि मन्त्रीहरुको लामो लिस्ट छ। भएभरका सबै मरे भने चाहिँ के होला भन्ने जिज्ञासा कसैले राखेको भेटिन्छ इन्टरनेटमा।
भेनेजुएलामा अस्ति भर्खर त्यस्तै अन्यौल भएको थियो। कार्यवाहक राष्ट्रपति र राष्ट्रपति निर्वाचित तर शपथ लिइनसकेको अवस्थामा ह्युगो चाभेजको मृत्यु भयो। अब उपराष्ट्रपति कार्यवाहक हुने कि सभामुख कार्यवाहक हुने ? कार्यवाहक राष्ट्रपति मात्रै मरेको भए उपराष्ट्रपतिले कार्यभार सम्हाल्थे। राष्ट्रपति निर्वाचितको मृत्यु भएको भए चाहिँ सभामुख कार्यवाहक भई सरकार चलाउँथे।
सार्क छिमेकी राष्ट्र बंगलादेशमा उपराष्ट्रपति हुँदैनन्। राष्ट्रपतिको पद रिक्त भए सभामुख कार्यवाहक हुन्छन्। पाकिस्तानमा पनि राष्ट्रपतिको पद रिक्त हुँदा सभामुख कार्यवाहक हुने चलन छ।
नेपालमा त संसद नभएकोले सभामुख पनि छैनन्। त्यसैले संविधानमा नभएको भए अन्तर्राष्ट्रिय प्रचलन अनुसार भनेर सभामुखलाई ल्याउन पनि सभामुख नभएको अवस्था छ।
श्रीलंकामा राष्ट्रपतिको पद रिक्त भए प्रधानमन्त्री, उनी पनि नभए सभामुख र उनी पनि नभए प्रधान न्यायाधीश ल्याउने व्यवस्था छ। भारतमा राष्ट्रपति र उपराष्ट्रपति दुवैको मृत्यु भए के गर्ने भन्ने व्यवस्थै थिएन। सन् १९६९ मा संविधान संशोधन गरेर बल्ल त्यस्तो अवस्थामा प्रधान न्यायाधीश वा उनको पनि अनुपस्थितिमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कार्यवाहक राष्ट्रपति हुने व्यवस्था राखिएको हो।
अर्को संवैधानिक अंग भन्दै सर्वोच्चका प्रधान न्यायाधीशलाई ल्याउँ भने पनि अहिले त हाम्रोमा प्रधान न्यायाधीश स्वयं कार्यपालिका प्रमुख प्रधानमन्त्री बनेको स्थिति छ। कार्यवाहक प्रधान न्यायाधीशलाई ल्याउने हो भने कार्यवाहक प्रधान न्यायाधीश चाहिँ राष्ट्रपति र प्रधान न्यायाधीशै चाहिँ प्रधानमन्त्री बन्नुपर्ने हुन्छ, त्यो पनि प्रोटोकल मिलेन। भनेपछि के हुँदो रहेछ त ? अन्यौल छ। त्यसै पनि कम अन्यौल छ र अहिले हाम्रो देशमा। आशा गरौँ, नयाँ चुनावपछि बन्ने नयाँ संविधानमा यस्तो हुँदा के गर्ने भन्ने बारे राम्रै व्यवस्था गर्नेछन्। त्यतिन्जेल यस्तो अन्यौल अहिल्यै देशमा नआउने कामना गरौँ र राष्ट्रपतिको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ। माई संसार बाट
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !