CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » चेन्नई एक्सप्रेस Vs भाग मिल्खा भाग

चेन्नई एक्सप्रेस Vs भाग मिल्खा भाग

संसारकै सबभन्दा ठूलो सिनेमा बजार मानिने भारतमा वर्षमा सयौं नयाँ चलचित्र आउँछन्। त्यस उद्योगमा हजारौं कलाकार छन्, जसले बर्सेनि आफ्नै कीर्तिमानसमेत कायम गर्दछन्। शाहरुख खानले निर्माण गरेको माइ नेम इज खानले आर्जन गरेको नाफालाई अहिले उनकै अर्को फिल्म
चेन्नई एक्सप्रेसले उछिनेको छ। धेरै दर्शक तान्नु, मिडियामा प्रशस्त चर्चा पाउनु र धेरै नाफा आर्जन गर्नुलाई सफलता मापनका सूत्र बनाउने हो भने चेन्नई एक्सप्रेसलाई सफल चलचित्र नभनी सुखै छैन। तर, सन्देश र सार्थकताका दृष्टिबाट हेर्ने हो भने यतिबेला समानान्तर रूपमा भारतीय चलचित्र बजारमा रिलिज भइरहेको चलचित्र भाग मिल्खा भाग त्यसभन्दा कैयौं गुणा बढी प्रभावकारी र सफल छ।
चेन्नई एक्सप्रेस एकजना चुलबुले केटाको कथामा आधारित छ, जो हजुरबुबाको अस्तु सेलाउन जाने निहुँमा साथीहरूसँग घुम्न जाने योजनामा छ। तर, यो संयोगले चेन्नई एक्सप्रेस रेलमा चढ्छ, जहाँ नायिकासँग भेट हुन्छ। बाटोमा अनावश्यक झन्झटसँग साक्षात्कार हुँदै केटीको नक्कली प्रेमी बनेर गाउँ पुग्छ, जहाँ न भाषा बुझ्छ, न आफू आउनुकै कुनै उद्देश्य। केटीको गाउँकै केटासँग विवाह तय हुन्छ, तर आफ्नो प्रेमी भएको बताएपछि राजनीतिज्ञ बुबाले जसले जित्छ, त्यसैलाई छोरी दिने भन्दै प्रतियोगिता आयोजना गर्छ। एक्लो नायक भाग्छ र श्रीलंकाको सीमामा पुग्छ। त्यहाँबाट फेरि फर्केर त्यही गाउँ आउँछ। केटीसँग भेट हुन्छ। फेरि लडाइँ हुन्छ, भागदौड मच्चिन्छ। उसैको बुबाको गाडीमा केटीलाई लिएर अनकन्टार ठाउँतिर जान्छ, फेरि गाउँ फर्किन्छ। अन्त्यमा गुन्डाहरूसँग लड्छ र आम हिन्दी फिल्ममा झैघं सयौं जनालाई एकजनाले हराउँछ र आफ्नो काममा सफल हुन्छ।
बस! मोटामोटी कथा यति नै हो। फिल्ममा त्यति धेरै कला पनि झल्किँदैन। बीच–बीचमा फन्नी चाहिँ छ। सन्देशको हिसाबले कुरा गर्दा पनि खास कुनै कारणले गर्दा झगडा भएको छैन। आम हिन्दी फिल्ममा झैं यसमा पनि केटीका लागि झगडा हुन्छ, अन्तिममा नायकले जित्छ। फिल्म सकिन्छ। तर, भारतीय सिनेमाका आलोचकहरूले यही बिन्दुमा धेरै आलोचना गर्ने गरेका छन्। यति लामो फिल्म हेरिसकेपछि दशर्कले त्यसबाट के हासिल गर्छ भन्ने कुरा बलिउडले कहिल्यै पनि ध्यानमा राख्दैन। प्रेमकै कुरा गर्ने हो भने पनि चेन्नई एक्सप्रेसमा त्यसको समेत त्यति जोडदार रूपमा प्रयोग भएको पाइँदैन।
यता माया–प्रेमको भारतीय मूलधारभन्दा भिन्नै थिममा बनेको भाग मिल्खा भाग भने आफ्नो उद्देश्यमा एकदम बेजोड छ। भारत–पाकिस्तान बन्दा पाकिस्तानतिरै बा–आमा गुमाएर दौडँदै (भाग्दै) भारत पसेको एउटा सानो बालक मिल्खा सिंह गरिबी, अभाव र एक्लोपनसँग जुध्दै भारतीय सेनामा प्रवेश गर्छ। त्यहाँ ऊ दौडमा छानिन्छ र त्यसैमा करिअर अघि बढाउँछ। उसले सेनाभित्र जित्छ, देशमा भएका दौडहरूमा जित्छ, बाहिर भएका दौडहरूमा पनि जित्छ। त्यसका लागि उसले नियमित रूपमा गरेको अभ्यास र साधनालाई जसले पनि सलाम नगरी रहन सक्दैन।
सन् १९६२ मा पाकिस्तानसँग मैत्रीपूर्ण खेल आयोजना हुँदा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले मिल्खा सिंहको नेतृत्वमा भारतीय टोली पाकिस्तान जाने घोषणा गर्छन्। तर, मिल्खाले जान मान्दैन। पछि दिल्लीबाट गाउँमा पुगेर उसकै कोचले धेरै सम्झाएपछि बल्ल मिल्खाले नेहरूसँग भेट्छ र पाकिस्तान जान तयार हुन्छ। तर, पाकिस्तानमा अरूले पत्रकार सम्मेलन गर्दा ऊ त्यहाँ अनुपस्थित हुन्छ र आफ्नो बालापन जोडिएको गाउँमा जान्छ। त्यहाँ जोडिएका आफ्ना सम्झनाहरूका कारण ऊ यति भावुक हुन्छ, दर्शकहरूले समेत आफूलाई थाम्न गाह्रो हुन्छ। पछि दौडमा उसले पाकिस्तानका चर्चित र विश्व कीर्तिमानधारी खेलाडीलाई हराउँछ। अन्तिममा त्यहाँका राष्ट्रपतिबाट दौडने होइन, उड्ने अर्थात् फ्लाइङ शिखको पदवी पाउँछ र स्वदेश फर्किन्छ।
यो फिल्म भारतको प्रख्यात एथ्लेटिक्स खेलाडी मिल्खा सिंहको जीवनीमा आधारित छ, जसले सन् १९५८ मै पद्मश्री पदवी पाएका थिए। फिल्मलाई रोचक बनाउन र दर्शकलाई मनोरञ्जन दिनका लागि केही अतिरिक्ति दृश्यहरू पनि राखिएको छ। जस्तो– रोम ओलम्पिकमा जाँदा मिल्खाले हार्नुका पछाडि त्यहाँ भेटिएका केटीसँगको रोमान्सले काम गरेको देखाइएको छ भने सेनामा जागिर खानुभन्दा पहिला मिल्खाको प्रेम प्रसंगलाई मार्मिक रूपमा देखाइएको छ, जुन वास्तविक होइन। प्रख्यात कलाकर्मी जावेद अख्तरका छोरा फहरानले मिल्खाका रूपमा आफूलाई यसरी ढालेका छन् कि मिल्खा स्वयम्ले भनेका छन्– ‘फिल्म हेर्दा त्यो म नभएर फहरान हुन् भन्ने मलाई लाग्दै लाग्दैन।’
झट्ट हेर्दा र सुन्दा भाग मिल्खा भाग खेलसँग सम्बन्धित जस्तो देखिए पनि यसलाई खेल, प्रेम र राजनीतिको त्रिवेणीभन्दा फरक पर्दैन। किनभने, भारत–पाकिस्तान विभाजनका दुष्परिणामहरूका बारेमा भारतीय दृष्टिकोणबाट फिल्मले सशक्त सन्देश दिन खोजेको छ। इतिहास भइसकेको त्यो तथ्यलाई अहिले फिल्ममार्फत उजागर गरेर त्यतिबेलाका जटिलताहरूलाई जस्ताको तस्तै अहिलेको पुस्तासम्म पुर्‍याउन खोजेको देखिन्छ। साथै, खेलकुद भनेको निरन्तरको साधना र योगको परिणाम हो भन्ने कुरा त फिल्मको मुख्य विषय भइहाल्यो। त्यसका अतिरिक्त मानव जीवनमा प्रेमले पार्ने प्रभाव र त्यसका विभिन्न रूपहरूका बारेमा पनि फिल्मले सूक्ष्म रूपमा दर्शकलाई बताएको छ।
फहरान स्वयम्ले भने अनुसार मिल्खा सिंहका छोराले २५ मिनेट सुनाएको आफ्नो पिताको कथाबाट प्रभावित भएर उनले यो फिल्म बनाएका हुन्। पछि मिल्खासँग भेटेर उनको कथालाई जस्ताको तस्तै राख्ने र साथै केही अतिरिक्त दृश्यहरू थप्ने सहमतिपछि उक्त फिल्म बनेको हो। फिल्म हेर्दाहेर्दै दर्शकलाई अपुरो जस्तो लाग्छ। पाकिस्तानमा दौड जितेपछि भाग मिल्खा भाग सकिएको छ। तर, सुनिए अनुसार यसको दोस्रो भाग पनि बनाउने तयारीस्वरूप कथालाई अपुरो छोडिएको छ।
लडाइँ र प्रेमको मात्रै बाहुल्य रहने बलिउडमा भाग मिल्खा भाग जस्ता फिल्म सफल रूपमा देखा पर्नुले दर्शकको रुचि लडाइँ र प्रेमका पुरानै कथा हेर्ने मात्र होइन भन्ने देखाउँछ। ठूला हस्ती कलाकारहरूको उपस्थिति, प्रचार–प्रसारमा विशेष जोड, गहिराइभन्दा सतहमा रमाउने भारतीय मिडिया जस्ता कारणले चेन्नई एक्सप्रेसले अत्यधिक व्यापारिक सफलता प्राप्त गर्ला। तर, सन्देश, कला र शिल्पका हिसाबमा भन्ने हो भने चेन्नई एक्सप्रेसभन्दा भाग मिल्खा भाग कैयौं गुणा बेजोड फिल्म छ। किनभने, यसले एक त वास्तविक कथा बोकेको छ। साथै, यसले होहल्ला र बजार मात्र हेरेको छैन, एउटा खास सन्देश पनि दिन खोजेको छ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis