भदौ ७। शुक्रबारको दिन। बिहान पौने दश बजे। न्युरोडमा एउटा सामान किन्न पैसा चाहियो। पर्सबाट एटिएम झिकेँ। खिचापोखरीस्थित नबिलको एटिएम हेरेँ, खुलेको छैन। त्यसपछि केही पर एभरेष्ट बैँकको एटिएममा चेक गरेँ। पैसा नराखेर होला, एटिएम सेवा उपलब्ध छैन भन्यो।
त्यसपछि एभरेष्टको अगाडिपट्टी एनसिसी बैँकको एटिएममा
आँखा पुग्यो। सोचेँ, पैसा त झिक्नै पर्छ। अनि त्यही एटिएममा छिरेँ।
ढोका अलि अप्ठ्यारो तरिकाले खुल्यो। अनि पहिलो पटक एटिएम छिराएँ। त्यस्तै के भन्यो मलाई याद भएन। अनि क्यान्सिल थिचेँ। मोबाइलमा ५० रुपैया डेबिट भाको एसएमएस थियो। एउटा बैँकको एटिएम अर्को बैँकमा छिराउँदै पिच्छे यो पैसा काटिन्छ। स्वभाविकै थियो। फेरि मैले एटिएम छिराएँ। कोड हालेँ। पैसा झिक्न चाहिएको अमाउन्ट थिचेँ। एटिएम खत्रखत्र गर्यो…..। ए, आउन लाग्यो। नोट फुत्रुक्क झर्ने ठाउँमा हेरिरहेँ। अलि धेरै बेर यस्तो आवाज आयो। मेरा आँखा पैसा खस्ने ठाउँमै छ। तर पैसा त झरेन पो। ए आम्मै, के भो हँ। म आत्तिएँ। झ्याप्प एसएमएस आयो हेर्दा मैले थिचेको अमाउन्ट र थप ५० रुपैयाँ मेरो एकाउन्टबाट घट्यो रे। तर मेरो हातमा सुको छैन त।
ढोका खोलेर एनसिसी बैँक रहेको माथिल्लो तल्लामा पुगेँ। सोधेँ। बैँककी एक कर्मचारीले भनिन्, ‘यस्तो भयो भने, जुन बैँकको खाता हो त्यहीँ सम्पर्क गर्नुपर्छ। त्यसपछि उनीहरुले हामीलाई सोध्छन् र हामीले जवाफले पठाउनु पर्छ।’
धन्यवाद भन्दै म हिँडे। केही आशा पलायो। न्युरोडको नबिल बैँक खोज्दै हिँडे। त्यहाँ गएर फर्म भरेँ। नबिल बैँककी एक महिला कर्मचारीले बुधबारसम्म पैसा खातामा नआए फोन गर्न भनिन्।
‘नबिलमै यस्तो भएको भा एक दुई दिनमा हुन्थ्यो,’ उनले भनिन्, ‘तर अरु बैँकमा हुँदा एक हप्ता लाग्छ।’
बुधबारसम्म आएन। बुधबार सार्वजनिक विदा भएकाले फोन गरिनँ।
बिहीबार गर्दा नबिलकी उनै कर्मचारी फोन उठाइन्। भनिन्, ‘तपाइँको त पैसा आइसक्यो होइन?’
मैले भनेँ– अहँ। कहाँ आउनु !
‘ए पख्नुस तपाइको एकाउन्ट नम्बर भन्नुस त?’ उनले सोधिन्।
मैले भन्दिएँ।
‘ए आम्मो रैन्छ,’ उनले भनिन्।
न्युरोड शाखाले एटिएम कार्ड सेक्सनमा मेरो चिठी पठाइसकेछ। उनी ती कर्मचारीले ‘पख्नुस म कार्ड सेक्सनमा बुझ्छु। एकछिनमा फोन गर्नुस’ भनिन्।
अनि मलाई हतार भो। १० मिनेटमा गरेँ। तर उनले मेरो नम्बर टिपेर एकछिनमा जानकारी दिने भन्दै फोन राखिदिइन्। उनले बिर्सिएपछि मैले फेरि ३/४ घण्टापछि फोन गरेँ।
‘हेर्नुस् न हाम्रो बैँकले एनसिसी बैँकलाई चिठी पठाइसकेको छ,’ उनले भनिन्, ‘तर उताबाट रेस्पोन्स आएको छैन।’ उनले आइतबार (भदौ १६) फोन गर्न भनेपछि मैले ‘ठिकै छ’ भन्दै राखिदिएँ।
आइतबार फोन गर्दा उनको फेरि उस्तै जवाफ–हेर्नुस् न एनसिसीले जवाफ नै पठाएन।
अब के गर्ने त?, मैले सोधेँ। एनसिसी र अरु केही (म अरु बैँकपीडित नभएकाले नाम उल्लेख गर्न चाहिनँ) बैँकले ढिला गर्ने गरेको उनले बताइन्। त्यसपछि अब के गर्ने भन्दा ‘खोइ’ भन्दै जवाफहीन भइन् उनी पनि।
आखिर मेरो गल्ती नै छैन। यत्तिका टेन्सन लिइरहेको छु। कस्तो हो त्यो एनसिसीको सिइओ पनि। उनले नाम र एकाउन्ट नम्बर लिएर आफ्ना ढिलासुस्ते कर्मचारीलाई भन्दिए हुन्थ्यो नि! झर्दै नझरेको पैसाको जवाफदेही हुनुपर्दैन एनसिसी?
यत्तिका दिन कुरिसक्दा पनि कुन बैँक दोषी हो मैले बुझ्नै सकेको छैन। यदि म एटिएमबाट हिँडेपछि पैसा झरेको भए ? त्यसको म आफै जिम्मेवार रे।
अब बैँकले थोत्रो एटिएम देखाउनका लागि मात्रै राख्ने भए एटिएमको मतलब के? फेरि यसको जिम्मेवारी लिन चाहे एनसिसीले सोही दिन सिसी क्यामेराको फुटेज देखाउँदा चाहिँ के हुन्थ्यो?
सेवा लिन जानेलाई दिने यस्तो गैरजिम्मेवारीले म जस्ता पीडित मान्छे कति होलान्? लौ न, मेरो पाँच हजार रुपियाँ फिर्ता लिन अब म के गरुँ?
[तपाईँ वा तपाईँको परिवार वा आफन्त वा साथीहरुले पनि एटिएम चलाउने क्रममा यस्तै समस्या भोग्नुभएको थियो कि ? थियो भने तल कमेन्टमा अनुभव बाँड्नुस् है]
साभार : माई संसार http://www.mysansar.com/2013/09/7338/
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !