उनको कालो रंगको अति छोटो कपडामा सुनौलो बुट्टाहरू चम्किरहेका छन् । अन्य १२ नेपाली युवतीसँगै स्टेजमा आएकी उनको आँखाको श्रृंगार पनि उस्तै चहकिलो छ । लामो कालो केशलाई हावामा लहराउँदै मादक हाउभाउका साथ नृत्यको फन्को मारेर परिवेशलाई उत्तेजक बनाउने उनका अफ्रिकी र भारतीय प्रशंसक पनि धेरै नै देखिए । कुनै वेला उनको नृत्य हेर्न नेपालीहरू पनि आइपुग्छन् । हरेक प्रस्तुतिमा उनलाई डान्सबारका नियमित ग्राहकहरूले माला र ताजले सजाइदिन्छन् । त्यो नै उनले पाउने ‘टिप्स’ हो ।
नेपालीहरूसँग तर्कने र नाम–ठेगाना सोध्दा टाउको निहु¥याउने उनले यो अफ्रिकी मुलुक तान्जानियाको राजधानी दारेसलाम आएको तीन महीना भएको बताइन् । त्यसो त, उनी आइनपुग्दै दारेसलामका डान्सबारहरूमा ‘सिम्पल सिम्पल कान्छीको’, ‘च्याङ्बा हो च्याङ्बा’, ‘मुसुमुसु हाँसी देऊ न’ लगायतका नेपाली गीतहरू ‘हिट’ भइसकेका थिए । भाषा नमिल्ने ठाउँमा ती गीतहरूलाई उत्तेजक नृत्य मार्फत ‘हिट’ बनाउने दलाल मार्फत यहाँ आएका उनी जस्ता नेपाली युवतीहरू नै हुन् । काम खोज्दै यति टाढा आएका यी चेलीहरूको अवस्था देख्दा मनोरञ्जन खोज्दै डान्सबार पुगेका नेपालीहरूको मन खङ्ग्रङ्ग हुन्छ ।
तान्जानियादेखि मडगास्करसम्म
सबैलाई थाहा छ, आफ्नै देशमा दुईपैसा बचत हुनेगरिको अवसर भए यी युवतीहरू तान्जानियामा मन रुवाउँदै नाचिरहेका हुने थिएनन् । अफ्रिकाका डान्सबारहरूमा उनीहरूलाई देख्दा हरेक नेपाली ग्राहकलाई बिल्कुलै गलत भइरहेको भन्ने लाग्छ, तर सबैले बाध्यताका बीच मन मारेर आ–आफ्नो बाटो समात्नु परेको छ । “आफ्नै देशका चेलीबेटीलाई यहाँ यो अवस्थामा देख्दा पक्कै नराम्रो लाग्छ”, एक जना नेपाली ग्राहकले कठोर हुँदै भने, “तर, त्यसो भन्दैमा बेठीक हो भन्दै चिच्याइहाल्नु पनि जरूरी छैन ।”
दारेसलामका डान्सबारहरूमा नेपालले ‘नाच्ने केटीहरूको देश’ भन्ने परिचय बनाएको छ । कान्छी शब्दले ‘सेक्सी डान्स गर्ने नेपाली केटी’ भन्ने अर्थ धारण गरेको छ । दारेसलामका डान्सबारहरूमा अहिले ६० भन्दा बढी नेपाली युवती रहेको यहाँ अन्य काम गरेर बसेका नेपालीहरूको अनुमान छ । उनीहरूका अनुसार, नेपाली युवतीहरू नेल्सन मण्डेलाको दक्षिण अफ्रिकादेखि केन्या, नाइजेरिया, कंगो र मडगास्करसम्म छ्यापछ्याप्ती भइसकेका छन् । गत असार पहिलो साता केन्याको राजधानी नैरोबीमा १० नेपाली युवती पक्राउ परेका थिए (हे. http://www.standardmedia.co.ke/?articleID=2000086453 । बैतडीदेखि ताप्लेजुङसम्मका ती युवतीहरूमाथि वेश्यावृत्ति र लागूऔषध हेरोइन लिएको आरोप लागेको थियो । ती युवतीहरूलाई उत्तेजक मुजरा डान्सका लागि मानव तस्करहरूले केन्या ल्याएको स्ट्याण्डर्ड डिजिटल अनलाइन समाचारले बताएको थियो । दलालहरूले कतिपय नेपाली युवतीहरूलाई युरोप–अमेरिकामा काम लगाइदिने भन्दै ‘अन अराइभल’ भिसा पाइने अफ्रिकी मुलुकहरूमा पुर्याउने गरेका छन्, जहाँ उनीहरूलाई ‘मुजरा’ बारहरूमा नाच्न बाध्य पारिन्छ ।
धेरैजसो भारतीय नागरिकहरूले खोलेका यस्ता बारहरू वेश्यावृत्तिका अड्डा मानिन्छन् । सन् २००५ मा भारतमा मुजरा बारहरू प्रतिबन्धित भएपछि त्यहाँ लाखौं नर्तकी बेरोजगार भएका थिए । भारतीय मनोरञ्जन व्यवसायीहरूले दलाल मार्फत तिनै नर्तकीहरूलाई अफ्रिका लगेर मुजरा बारहरू खोलेका थिए । भारतमा चर्को सामाजिक विरोध भएपछि मुजरा देखाउने बारहरू बन्द गरिएका थिए । अफ्रिकाका यस्ता डान्सबारका संचालक धेरैजसो भारतीय नै छन् । उनीहरू सबै बद्मास नै हुन्छन् र सबैले वेश्यावृत्ति नै गराउँछन् भन्ने चाहिं हैन । दारेसलामकै डान्सबारमा आत्मसम्मानका साथ मिहिनेत गरेर राम्रै पैसा कमाएको काठमाडौंमा भेटिएकी त्रिशूलीकी रेश्मा श्रेष्ठ (२७) ले बताइन् (हे.बक्स) । दारेसलामकै टप अफ द टाउन (टीओटी) डान्सबारमा एक वर्ष काम गरेकी मोरङकी टीना लामा (परिवर्तित नाम) भन्छिन्, “डान्सबारमा नाच्ने भन्दैमा सबै ठाउँमा खराब व्यवहार हुन्छ भन्ने छैन, तान्जानियामै पनि डान्सबारहरूका आ–आफ्नै तरीका छ (हे.बक्स) ।”
तलबले घर फर्कन सकिन्न
कतिपय युवतीलाई भाग्यले साथ दिए पनि धेरैजसोलाई डान्सबारहरूले यौन धन्दामा लगाउँछन् भन्ने आम बुझइ छ । नृत्य मात्र गर्ने हो भने यहाँ पाइने प्रति महिना सरदर नेरु.३२ हजार तलबले कहिल्यै घर फर्कन नसकिने एक नेपाली युवतीले बताइन् । ती युवती कार्यरत बारको स्टेजको तस्वीर खिच्दा बाहिर निकालिएको यो संवाददातालाई क्लोज सर्किट क्यामराबाट जोगिंदै उनले भनिन्, “बडा गाह्रो परिस्थितिमा छौं ।”
दलालहरूले नेपाली युवतीलाई बस र रेलमा भारत पुर्याएर त्यहाँबाट हवाईमार्गबाट अफ्रिका पुर्याउँछन् । अर्काथरी दलालले युवतीहरूलाई सांस्कृतिक टोलीका सदस्य बनाएर विभिन्न सांस्कृतिक कार्यक्रमका लागि भन्दै काठमाडौंबाट विमान चढाएर कतार र दुबईहुँदै अफ्रिका पु¥याउँछन् । दलालको भन्दा पनि साथीहरूको विश्वासमा कतार हुँदै तान्जानिया पुगेकी रेश्मा श्रेष्ठले त्यहाँको विमानस्थलमा ‘प्रोग्राम’को लागि आएको भनेपछि धेरै सोधपुछ नगरी भिसा लगाइदिने बताइन् । दुई पटक दारेसलाममा काम गरेकी उनले पनि आधा तलब चाहिं दलालले खाने बताइन् ।
दलाललाई आधा तलब बुझएका रोजगारदाताले ‘बँधुवा मजदूर’ बनाएका यस्ता युवतीहरूसँग श्रम इजाजतपत्र हुने कुरै भएन । उनीहरूको पासपोर्ट मालिकले पहिल्यै ‘क्याप्चर’ गरेका हुन्छन् । पर्याप्त कागजात विनै दलाल मार्फत स्थलमार्गबाट भारत पुग्ने नेपाली युवतीहरूलाई दिल्ली र मुम्बई विमानस्थलबाट अफ्रिकाका विभिन्न देश पु¥याइन्छ । हरेक महीना सरदर ५० नेपाली युवती अफ्रिकी मुलुक गइरहेको बताउने भारतीय अध्यागमनका एक अधिकारी भन्छन्, “तपाईं नेपाली हो भने उनीहरूका लागि केही गर्नुहोस् ।”
तर, तान्जानियाकै कमाइले काठमाडौंमा घर बनाएकी त्रिशूलीकी रेश्मा भने नेपाल सरकारले बद्मासी गर्नेलाई कारबाही र मिहिनेत गर्नेको लागि संसार खुल्ला गर्नुपर्ने बताउँछिन् । “हामी अफ्रिका डराई–डराई जानुपर्छ, गएर भिसा किन्नुपर्छ”, रेश्मा भन्छिन्, “सरकारले कानूनी प्रक्रियाबाटै जान पाउने व्यवस्था गरे सुरक्षित र मर्यादित दुवै महसूस गर्न पाइन्छ ।”
‘थुनेर राखे पनि रमाइलै थियो’
म दुई वर्षअघि एजेन्टको सहयोगमा भारतहँुदै तान्जानिया पुगेकी हुँ । हामीलाई एअरपोर्टबाट सीधै टीओटी (टक अफ द टाउन) भन्ने रेस्टुरेन्टमा लगेर ताल्चा लगाएर राखियो । हामी कुखुरा जस्तै भयौं, नाच्ने वेला हुरुरु बाहिर आयो, नाच सकिएपछि फेरि खोरमा । एक वर्षमा एक दिन मात्र समुद्र र नरिवलको बोट देखियो, त्यो पनि नेपाल आउनु एक हप्ताअघि मात्र ।
थुनिएर बस्दैमा नरमाइलो भने भएन । भारतीय साहुको रेस्टुरेन्ट पारिवारिक खालको थियो । नेपाली केटीले राम्रो व्यापार गरिदिएको भन्दै साहुले हामीलाई माया गथ्र्यो । राम्रो व्यापार भएको दिन हामीभन्दा अघि नै कोठामा दूध–काजु पुगिसकेको हुन्थ्यो । साहुले दिवाली मनाउँदा हामीलाई पनि रमाइलो गर्न दिन्थ्यो । दशैं मनाउन पनि दियो । निधारभरि रातो टीका लगाएर नाच्दा ग्राहकहरू गललल हाँस्थे । तलबमा भने दलालले पहिल्यै ठगिसकेको हुँदोरहेछ । भारतमा हुँदै एउटा कागजमा सही गराएको थियो । हामीलाई भारु ७० हजार दिने भनेर लगेकोमा नेरु. ४० हजार पाउने कागज गराएको रहेछ । अरू पैसा उसैले खाएछ ।
अन्यत्र छोटो लुगामा नाच्नुपर्छ, ग्राहकसँग जान पनि पर्छ भन्ने सुनेकी थिएँ । तर, हामीले छोटो लुगा लगाउँदा पनि भित्र लेगिंग्स लगाउनुपथ्र्यो । लेहेंगा लगाउँदा पनि पेट छोप्नुपर्ने । स्टेजमा नाच्दा इशारामा जति हुन्थ्यो, ग्राहकसँग हुने त्यति नै हो । उनीहरूलाई नखरा मन परेपछि माला पाइन्थ्यो । जति मन जित्यो, त्यति माला पाइन्थ्यो । माला लगाएपछि उसैलाई हेरेर नाच्नुपर्ने, नजर यताउता भयो कि रिसाउने । साहुले माला गनेर त्यस्ता ग्राहकबाट लिने पैसाको ४० प्रतिशत हाम्रो हुन्थ्यो ।
काम सकिएपछि हामी कोठामा गएर माला लगाइदिने ग्राहकहरूलाई ‘मुर्गा’ भन्दै उडाउँथ्यौं । उनीहरू हामीलाई हेरेकै भरमा त्यत्रो पैसा सिध्याएर जान्छन् । नेपालमा त ग्राहकसँग टाँसिएर टेबुलमा बस्नुपर्छ, मस्कामस्की गर्नुपर्छ । अफ्रिकाका ग्राहकहरू त विचरा नै हुन् । त्यहाँ दुबई, इन्डिया, पाकिस्तानतिरका ग्राहक आउँछन् । मालाको कुरा अझै रमाइलो छ । कहिलेकाहीं के भइदिन्छ भने आफूलाई मनपराउने दुई जना ग्राहक एकैपटक आइदिन्छन् । अनि कसलाई हेर्दै नखरा गर्ने, आपत् नै पर्छ । एउटालाई कम हेरे उसले अर्कीलाई माला लगाइदिहाल्छ । तलब खास नभए पनि मालाले मालामाल बनाइदिन्छ । म सहितको नेपाली टोलीलाई राम्रै भएको हो । कसैलाई दुःख दिएको देखिएन । ताल्चा चाहिं ग्राहकसँग नजाउन्, असुरक्षित नहोउन् भनेर लगाएको भन्थे ।
(एक वर्ष तान्जानिया बसेर फर्केकी मोरङकी टीना लामा (परिवर्तित नाम) सँगको कुराकानीमा आधारित ।)
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !