CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नयाँ स्टार: तक्मेबूढा

नयाँ स्टार: तक्मेबूढा

- ऋषिराम कट्टेल
हास्य टेलिश्रृंखला मेरी वास्सै बाट दर्शक हँसाउन थालेका तक्मेबूढा अब नेपाली मनोरञ्जन बजारको नयाँ सिक्का भएका छन् ।

झापा, चारपानेका विल्सनबिक्रम राई (२७) कुनै वेला सिनेमामा खेल्न निर्देशकको भाँडा माझ्थे । नौ वर्षकै उमेरमा आमा गुमाएका उनको मगजमा सिने कलाकार बन्ने भूत यसरी सवार थियो कि एउटा रोल पाउन उनले काठमाडौंमा नगरेको दुःख केही छैन । उनी भन्छन्, “धैर्य नछाडी लागिपर्दा आफ्नो पनि सिक्का चल्ने दिन आउँदो रहेछ ।”
मेरी वास्सै मा तक्मेबूढोको रुपमा लोकप्रिय भएका उनले सानो पर्दाको सीमा नाघेर सिने उद्योगमै स्टारको रुपमा दबदबा बढाउन थालेको चोक–गल्लीमा देखिने नेपाली फिल्मका पोस्टरहरूले देखाउँछन् । हिजोआजका तक्मेबूढा यति हावी छन् कि फिल्ममा सानै भूमिका भए पनि पोस्टरमा उनको फोटो सबभन्दा ठूलो हुन्छ । चलचित्र शायद, रिदम, प्रोडुसर, नेपथ्य र माइ प्रमिस मा नायक बनिसकेका उनी राजकुमार राईको वान वे मा पनि मुख्य भूमिकामा देखिंदैछन् । उनलाई नै हेरेर तक्मेबूढा लस्ट इन लन्डन फिल्मको प्रोजेक्ट बनेको छ । निर्माता/निर्देशकबीच उनलाई फिल्ममा लिने अघोषित होडबाजी छ ।
यो वर्ष मात्र उनले तीन वटा महत्वपूर्ण अवार्ड थापे– डी–सिनेमा अवार्डमा सर्वोत्कृष्ट हास्यकलाकार, एनएफडीसी राष्ट्रिय चलचित्र अवार्डमा नीर सह–अभिनेता र चलचित्र कलाकार संघको सर्वाधिक लोकप्रिय नवकलाकार अवार्ड । गत १८ महीनामा कार्यक्रम गर्न उनी २५ देशका ३२ ठाउँ पुगे । दुई महीनाअघि उनी आफ्ना जोडी केदार घिमिरेसँगै बेलायतका मात्र २७ स्थानका कार्यक्रममा प्रस्तुत भए ।
संघर्षको परिणाम
ड्राइभर बाबुले सबै जायजेथा सक्दा पनि बिरामी आमालाई बचाउन नसकेपछि विल्सन टुहुरा सुकुम्बासी भएका थिए । बुबा गाडी लिएर टाढा जाँदा दुई बहिनीको आमा पनि उनी नै बन्थे । यस्तो दुःखका बीच विल्सन ११ वर्ष पुगेको वेला साथी फिल्मको सूटिङ भइरहेको थियो, बिर्तामोडमा । त्यसमा विल्सन यस्तरी झुम्मिए कि उनलाई पनि बाल कलाकारको रुपमा सहभागी गराइयो । त्यसरी उनको मगजमा फिल्मी कलाकार बन्ने भूतको जन्म भयो । त्यसको एक वर्षपछि विल्सन काठमाडौं टाप कसे, निर्देशकको घरमा भाँडा माझे, स्पट ब्वाई भएर खटे । र पनि केही नलागेपछि विरक्तिंदै झापा फर्किएका उनी तीन वर्षमा फेरि राजधानी आए । सूटिङ टीमको भाँडा माझ्नेदेखि शुरू भएको दोस्रो प्रयास कोरस नृत्य, क्लाप ब्वाई, प्रोडक्सन असिस्टेन्ट र प्रोडक्सन म्यानेजरमा पुगेर टुंगियो । “सानै भए पनि एउटा रोल चाहिं पाऊँ भन्दै काम गरें”, विल्सन भन्छन् ।
तर, फेरि पनि केही नलागेपछि उनी मलेशियातिर लागे, तर त्यहाँ पनि तीन महीना काम गर्दा तलब पाएनन् । फिल्मको भूतले झकझक्याइरहेकै थियो र उनको भाग्योदयको समय पनि आएको थियो । उनी लगभग बेखर्ची अवस्थामा नेपाल आउँदा चिनेजानेको सुरज सुब्बा चलचित्र शायद को निर्देशन गर्ने तयारीमा रहेछन् । त्यसमा विल्सनले मुख्य भूमिका पाए । सुरजसँग काम गर्दागर्दै विल्सनको जीवनमा ‘भगवान देता है तो छप्पड फाडके’ भन्ने हिन्दी कहावत चरितार्थ भयो । अर्थात्, यही बीचमा चिनजान भएका केदार घिमिरेले विल्सनलाई मेरी वास्सै मा तक्मेबूढा बनाए । “शायद पनि प्रदर्शन भएपछि त ठूलो पर्दामा पनि मेरो भाउ बढिहाल्यो”, विल्सन भन्छन् । यसरी नेपाली फिल्ममा एक जना बिकाउ तन्नेरीको उदय भएको छ ।

साभार : हिमाल साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis