CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » क्षमता बढाउने उपाय खोज्दै दम्पती

क्षमता बढाउने उपाय खोज्दै दम्पती


विवाह गरेको तीन वर्षपछि आफ्नो यौन क्षमतामा कमी आएको शंका गरेर धरानका सगुन राई (नाम परिवर्तन) यौन उत्तेजक औषधी खोज्दै विभिन्न क्लिनिक र सडकछाप चिकित्सकहरूको शरणमा पुगे। श्रीमतीसँग यौनसम्पर्क गर्न सुरु नगर्दै वीर्य स्खलन हुँदा-हुँदा आजित सगुनले क्लिनिकमा पुगेर सोध्ने गरेका थिए— 'यौनसम्पर्कको समयलाई कम्तीमा एक घण्टा कायम राख्ने
औषधी छ ? यौनक्षमता बढाउने अरू उपाय के-के छन् ?' औषधी विक्रेताहरूले यौनक्षमता बढाउने आधा दर्जन ब्रान्डका औषधी देखाएर यौन दुर्बलता कम गर्ने नाममा जे औषधी छ त्यही दिएर उनलाई पठाए। राईले क्लिनिकबाट किनेर ल्याएको औषधी प्रयोग त गरे तर उनको समस्या समाधान भएन। उनी अझ चिन्तित भए। उनले पत्नीबाट नपुंसकको संज्ञा पाउन मात्र बाँकी थियो। आफूले पत्नीलाई सन्तुष्टि दिन नसके अरू कुनै युवकसँग सम्पर्क गर्लिन् भन्ने पीर पनि उत्तिकै बोकेर सगुन निकै दिनसम्म भौंतारिरहे। केही नलागेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक रोग विभागमा गएर परामर्श लिएपछि भने उनको उपचार भयो। राई मानसिक रूपमा शीघ्र पतनको सिकार भएका थिए। 

उपत्यकाबाहिरका क्लिनिक, नर्सिङ होम, अस्पताल आदिमा यौन विशेषज्ञ, यौन दुर्बलता पहिचान गर्ने र उपचार गर्न सक्ने यौन मनोचिकित्सक, मनोविज्ञानी नभएकाले सडकछाप डाक्टरले दिने सल्लाह र उपचारको भरमा धेरै दम्पती यौन दुर्बलताको उपचारबाट वञ्चित छन्। कतिपय त भारतको जोगबनी, सिलिगढीसम्म पनि पुग्छन् यौन दुर्बलता घटाउने औषधी र उपचारका लागि, तर त्यहाँ पनि भरपर्दो उपचार नपाएपछि पत्रिकामा पढेजस्तो, नीला चलचित्रमा देखिएजस्तो यौन क्षमता आफूमा किन नभएको भनेर मनमा कुरा खेलाउँदै बस्न बाध्य हुन्छन्। 

प्रतिष्ठानको मानसिक रोग विभागमा सगुनको भन्दा अलिक फरक घटना लिएर एक दम्पती आए। उमेरले भर्खरै ३० कटेकी आफ्नी श्रीमती चन्द्रा -नाम परिवर्तन) मा यौनचाहना एक्कासि घटपछि श्रीमान् सोभित अलमल्लमा परे। विवाह गरेको झन्डै एक दशकसम्म नियमित यौनसम्पर्क गरेर शारीरिक आनन्द लुटिरहेको दम्पतीमध्ये एक जनामा यौन इच्छा हराउन थालेपछि अर्कोलाई चिन्ता लाग्नु स्वाभाविक हो। चन्द्राको यौनचाहनामा कमी मात्र आएन, उनी श्रीमान्लाई अस्वाभाविक लाग्ने यौन सल्लाहसमेत दिन थालिन्। श्रीमान्को यौन सन्तुष्टि मेट्न श्रीमतीले सायदै यस्तो सल्लाह कसैले दिन सक्छन्। 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक रोग विभाग प्रमुख मानसिक रोग विशेषज्ञ प्रोफेसर डा. प्रमोद स्याङ्वाको च्याम्बरमा शोभित र चन्द्रा आएर समाधानको उपाय खोजिदिन आग्रह गरे। यौन इच्छा मरेकै कारण प्रत्येक पटकको समागममा श्रीमतीले श्रीमान्लाई भन्ने गरेकी थिइन्— 'मलाई चाहना छँदै छैन, मात्र पीडा महसुस हुन्छ। बरु, पैसा दिन्छु कुनै युवतीसँग चाहना पुरा गर्नु। ' यस्तो सल्लाह दिने गरी श्रीमतीमा शारीरिक वा मानसिक रूपमा केही न केही गडबढी छ भन्ने लागेर उनीहरू मानसिक रोग विभागमा सुटुक्क समाधानको उपाय खोज्दै आएका थिए। 

ती दम्पतीको कथा सुनेपछि डा. स्याङ्वाले उनीहरूको (पति-पत्नीको) शारीरिक, मानसिक, सामाजिक एवं परिवारिक सम्बन्धको अनुसन्धान गरे। खोजी गर्दै जादा चन्द्राको योनिमा इन्फेक्सन भएकाले यौनसम्पर्कका बेला अत्यधिक पीडा हुने गरेको पाइयो। उक्त तनावकै कारण चन्द्रालाई यौनसम्पर्क गर्न मन नलागेको थाहा भयो। उक्त इन्फेक्सनको उपचारपछि चन्द्रामा फेरि यौनचाहना जागेकाले दुवैको दाम्पत्य जीवन आनन्दमय भएको छ। 

आधुनिक मिडिया, टेलिभिजन, मोबाइल, इन्टरनेट, खुला उपभोक्तावादी समाज, सहरी जीवनशैली, फेसन-मोडलिङ, बोल्ड टाइपका चलचित्र, नीला चलचित्र, खानपान, रात्रिजीवन आदिको प्रभावका कारण हिजो आजका युवायुवती एवं दम्पती यौनलाई सुख र आनन्दको प्रमुख साधन मान्न थालेका छन्, तर जैविक, मनोवैज्ञानिक, शारीरिक, सामाजिक, परिवारिक, धार्मिक, परम्परा एवं संस्कृतिका कारण यौन दुर्बलताको सिकार भएपछि सुख र आनन्द दिलाउने माध्यम नै समाप्त भएको मानेर यौन क्षमता बढाउन सर्वत्र चहार्ने दम्पतीको संख्या बढ्दै गएको मानसिक रोग विशेषज्ञ डा. स्याङ्वा बताउँछन्। डा. स्याङ्वा भन्छन्— 'यौन क्षमताको कसीमा कति हो भन्ने नै थाहा नपाएका कारण धेरै दम्पती अनावश्यक मानसिक तनावमा पनि पर्ने गरेका छन्। यस्ता दम्पतीहरू धेरै छन् समाजमा।'

डा. स्याङ्वा भन्छन्— 'यौनउत्तेजना बढाउने औषधी, विधि र प्रक्रियाको खोजी आधुनिक समयमा मात्र भएको छैन, प्राचिन मानव सभ्यताको प्रारम्भदेखि नै भएको हो। पछिल्लो समयमा मानिसको जीवनलाई आनन्द र सुख दिलाउने साधनहरू विकसित भएपछि वैज्ञानिक अध्ययन-अनुसन्धानहरू पनि भएका छन्, अरू पनि भैरहेका छन्। ' डा. स्याङ्वाका अनुसार यौनलाई विज्ञानले पनि आधारभूत शारीरिक आवश्यकतामा राखेपछि यौन सन्तुष्टि पाउन के गर्न सकिन्छ भनेर अझ धेरै उपायका खोजी पनि भएका छन्। 

यौनक्रियामा सक्रिय नभए मानिस त के कुनै पनि जीव जन्तु, पशुपन्छीको अस्तित्व नै नहुने यथार्थ हो। जुन जीवमा यौन दुर्बलताको असर पर्छ त्यो जीवको वंश वा प्रजाति कुनै पनि बेला समाप्त हुने कुरामा वैज्ञानिकहरू सहमत छन्। प्राणी र मानिसमा यौन क्षमता प्रकृतिले नै दिएको हो।

शीघ्रपतन रोक्ने खानेकुरा

शीघ्रपतन पुरुषहरूको एक प्रमुख यौन समस्या हो। यो अधिकांश पुरुषमा जीवनको कुनै न कुनै बेला देखा पर्छ। यद्यपि धेरैले आफ्नो अहम् तथा लाजका कारण यो कुरा भन्न सक्दैनन्। शीघ्रपतनका विभिन्न कारण हुन सक्छन्। व्यक्ति अस्वस्थ हुनु, मानसिक तनाव, डर वा चिन्ता, सम्भोगप्रति अरुचिका साथै अस्वस्थकर भोजन र व्यायामको कमी जस्ता कुराले पनि शीघ्रपतनमा सहयोग पुर्‍याइरहेका हुन्छन्। शीघ्रपतन पुरुषको यौन जीवनमा ठूलो असर पुर्‍याउने तथा कहिलेकाहीँ दाम्पत्य जीवनमा समेत खलल उत्पन्न गराउन सक्ने विषय बन्न सक्छ। शीघ्रपतनको समस्या कम गर्न चिकित्सकको परामर्शमा आफ्नो खानपिन तथा जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ। खानपनिमा सुधार, व्यायाम एवं योगका साथै अन्य प्राकृतिक उपाय अपनाएर शीघ्रपतन कम गर्न सकिन्छ। 

शीघ्रपतन रोक्न

लसुन र प्याज ः लसुन र प्याजमा एलिसिन नामक एन्टीअक्सिडेन्ट पाइन्छ। यसले रक्त संचारलाई सन्तुलित तथा रक्तप्रणालीलाई स्वस्थ बनाउन सहयोग गर्छ। यसले छिट्टै बुढ्यौलीका लक्षण देखिनबाट पनि जोगाउँछ भने यौन क्षमतामा वृद्धि गर्नुका साथै गुप्तांग तथा शरीरको तल्लो भागको रक्तप्रवाहमा सुधार ल्याई शीघ्रपतन रोक्न मद्दत पुर्‍याउँछ।

कफी ः कफीमा उत्प्रेरक क्याफाइन पाइन्छ। यसले मुटुलाई नियमित तथा शीघ्र रक्तसञ्चालनमा सहयोग गर्छ। जसका कारण एड्रेनलाइन हर्मोनको प्रवाह उच्च हुनुका साथै लामो समयसम्म यौनक्रिडामा संलग्न हुन सक्षम भइन्छ।

मासु ः सुँगुरको मासुको सेवन शीघ्रपतनको समस्या कम गर्न लाभदायक हुन्छ। यसमा पाइने भिटामिन बी वानले लिंगको तन्तुमा प्रभाव पार्छ र लामो उत्तेजनाका लागि सहयोग गर्छ।

रेडवाइन ः रेड वाइन पनि सुख प्राप्ति तथा शीघ्रपतनको समस्या निवारणका लागि सहयोगी बन्न सक्छ। रेड वाइनले सरीरमा नाइटि्रक अम्लको उत्पादनमा सहयोग पुर्‍याउँछ। यसबाट रक्तनली फैलिएर लिंगमा रक्तप्रवाह उच्च हुन्छ।

सी फुड ः समुद्री परिकार अर्थात् सी फुडमा पाइने भिटामिने बी सिक्स तथा जिंक पुरुषको सेक्स हार्मोन उत्पादनमा टेवा पुर्‍याएर यौन सुख प्राप्तिमा सहयोग पुर्‍याउँछ।

स्टबेरी ः यो फल यौन क्षमता बढाउने महत्वपूर्ण तत्व हो। स्ट्रबेरीको नियमित सेवनले सरीरमा रक्त प्रणालीको विकार कम गर्न सहयोग पुर्‍याउँछ। जसले यौन क्षमता वृद्धिमा सघाउ पुर्‍याउँछ।

केरा ः लिंगको उत्तेजनालाई लामो समयसम्म कायम राख्न लिंगमा लामो समयसम्म तथा पर्याप्त रक्त प्रवाह आवश्यक हुन्छ। केराको नियमित सेवनले शरीरमा पोटासियमको मात्रा पर्याप्त बनाउँछ, जसका कारण रक्तप्रवाह नियमित भै शीघ्रपतनको समस्या कम हुन्छ।

अण्डा ः अण्डा पनि यौन क्षमता वृद्धि गर्ने तथा शीघ्रपतन रोक्ने महत्वपूर्ण खाद्यपदार्थ हो। यसमा जिंक पाइन्छ जसले पुरुष सेक्स हर्मोनको उत्सर्जनमा सहयोग पुर्‍याउँछ।

रातो खुर्सानी ः भोजनमा नियमित रातो खुर्सानी खाँदा त्यसले शरीरको रक्तप्रवाह नियमित तथा यौन क्षमता वृद्धि गर्न सहयोग पुग्छ।

नरिवलको पानी ः नरिबलको पानीमा पोटासियम तथा म्याग्नेसियम पाइन्छ। यसले शरीरमा तरल पदार्थको सन्तुलनमा सहयोग गर्नुका साथै ऊर्जासमेत प्रदान गर्छ। यसले रक्तसञ्चारलाई समेत नियमित गर्छ। नरिबलको पानीको सेवनले यौन क्षमतामा वृद्धि गर्नुका साथै लिंगको मांसपेशी मजबुत बनाउन सहयोग पुर्‍याउँछ। यसले शीघ्र स्खलन रोक्न मद्दत गर्छ।
साभार : ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis