नर्सिङमा बीएन गरिरहेकी नम्रता थापालाई सानो मोबाइल मन पर्दैन। सामसुङ ग्यालेक्सी प्रयोग गर्दै आएकी नम्रतालाई आफ्ना स्कुलका साथीले ठूलो केटाले बोक्ने जस्तो मोबाइल बोकेको भनेर जिस्काएको सुनाउँदै भन्छिन्, यसलाई महिला-पुरुषका लागि भनेर बनाउनेले भन्दा पनि बोक्नेले छुट्याएका छन्। अहिले महिलाले पनि ठूला मोबाइल बोक्ने गरेको
उनको अनुभव छ। यो कुरामा ममता महर्जन पनि सहमत छिन्। महर्जन भन्छिन्-मोबाइल आफ्नो सजिलोका लागि बोक्ने हो। पहिले महिलालाई ग्याजेटप्रति खासै रुचि थिएन। त्यसैगरी आयस्रोत पनि नभएकाले अरूलाई किनिदिन लगाउनुपर्ने बाध्यता हुँदा सस्तो खालको तथा त्यति सुविधा नभएका मोबाइल बोक्ने गरेको उनी बताउँछिन्। ममता भन्छिन्, तर अहिले ट्रेन्ड फेरिएको छ।
अहिले ठूला स्क्रिन तथा सुविधा धेरै भएका मोबाइल सबैको रुचिमा पर्न थालेका छन्। मोबाइलको प्रयोग पनि बढ्दो छ। त्यसमा पनि अन्तर्राष्ट्रिय बजारमा आएका लेटेस्ट मोबाइल नेपाल भित्रिन समय लाग्दैन। हरेकको हात-हातको शोभा बनेको मोबाइलतर्फ हरेक उमेरका मानिस आकषिर्त भएको पाइन्छ। यस्तोमा महिलाहरू पछि पर्ने कुरै भएन। टाढा रहेका मानिससँग सजिलै कुरा गर्न सकिने, बोर भएका बेला गेम खेल्न तथा फ्री टाइममा नेट प्रयोग गर्न सकिने हुँदा यो सबैको रोजाइमा परेको हो। अझ अर्को अर्थमा भन्नुपर्दा यसले गर्दा न आइपोड बोक्नुपर्ने टेन्सन न त समय हेर्न घडी लाउनुपर्ने झन्झट। आइपोड, घडी, भिडियो गेम आदिको विकल्प यसले एउटै प्याकेजमा दिएको छ। त्यसैले पनि स्मार्ट फोन बिना अब हामी जीवनको कल्पनासम्म पनि गर्न नसक्ने भएका छौं। कुनै बेला महिलाका लागि नै भनेर विभिन्न रंग तथा ब्रान्डका मोबाइल आउँथे। ती मोबाइल हेर्दा साना तथा प्रायः राता वा गुलाबी रंगमा उपलब्ध हुन्थे तर समयसँगै यो ट्रेन्ड पनि बदलिँदो छ। अहिलेका महिला पनि ठूला तथा सबै खालका सुविधायुक्त मोबाइल बोक्न रुचाउँछन्। बाटोमा हिँड्दा महिला त्यसमा पनि युवतीहरूका हातमा आइफोन, सामसुङ ग्यालेक्सी, नोकिया, सोनी एक्सपेडियादेखि विभिन्न ब्रान्डका लेटेस्ट मोबाइल देख्न सकिन्छ। अहिले मोबाइल सञ्चारका लागि मात्र नभएर स्टाइल सिम्बोलका रूपमा पनि देखा परेको छ।
बजारमा आएका मोबाइलमध्ये नोकिया लुमिया ९२० धेरैको रोजाइमा पर्न सफल छ। यसमा एलसिडी क्यापिटिभिटी टच स्क्रिन छ। ३२ जिबीसम्म इन्टरनल मेमोरी स्टोरेज क्षमता भएको यो मोबाइलमा ८ मेगा पिक्सेलको क्यामेरा छ। यसमा अटो फोकस पनि छ। डबल एलइडी फ्ल्यासयुक्त यो मोबाइल कालो, सेतो, पहेंलो, रातो तथा ग्रे कलरमा उपलब्ध छ। त्यसैगरी अहिले नोकियाका आशा सेरिज पनि भित्रिएका छन्। यसले पनि नेपालमा राम्रो मार्केट लिने विश्वास गरिएको छ।
अहिलेका युवा-युवतीबीच विशेष स्थान बनाएको सामसुङ ग्यालेक्सी ३ जी तथा ४ जी एलटिई अरु मोबाइलको तुलनामा सहज र तीव्र छ। त्यसैगरी गेम खेल्दा समेत यसमा भएको १ दशमलव ५ गिगा हर्ज प्रोसेसरले नौलो तथा रोमाञ्चक अनुभव प्रदान गर्छ। यो मोबाइल फुल टच छ। यसमा ८ मेगापिक्सेल एलइडी फ्ल्यास क्यामेरा तथा क्यामकर्डर छ। त्यसैगरी यसको सहायताले गुगललाई वालेटमै बोकेर हिँड्न सकिन्छ। यसमा एस बिम, एस भ्वाइस, सामसुङ अलसेयर प्ले आदि पनि छ। त्यसैगरी सामसुङका ग्यालेक्सी एस ४, ग्यालेक्सी नोट टु, ग्यालेक्सी एस थ्री, ग्यालेक्सी ग्रान्ड डिवस, ग्यालेक्सी एस टु, ग्यालेक्सी ट्याब, ग्यालेक्सी नेक्सस, ग्यालेक्सी एसएल, ग्यालेक्सी वाई, ग्यालेक्सी पकेट आदि पनि बजारमा उपलब्ध छन्।
एलजीको अप्टिमस एल ९ स्मार्ट फोन पनि लोकप्रिय छ। स्मार्ट फोन रुचाउने महिला तथा युवतीहरूका लागि यो फोन बढी उपयुक्त छ। आधिकारिक बिक्रेता चौधरी गु्रप रहेको एलजीका मोबाइलले नेपाली बजारमा राम्रै स्थान बनाएका छन्। नेपाली बजारमा एलजीका विभिन्न मोडलका स्मार्ट फोन उपलब्ध छन्। यसमा ४ दशमलव ७ इन्चको आकर्षक आइपिएस एलसिडी क्याप्टिभिटी टच स्क्रिन, ५ मेगा पिक्सेल क्यामेराका साथमा अटो फोकस तथा एलइडी फ्ल्यास लाइट आदि सुविधा छ। यसका साथै यसमा ४ जिबीको इन्टरनल मेमोरी तथा १ जिबीको र्याम छ। आफ्नो आवश्यकताअनुसार माइक्रोएसडी कार्डको सहायताले यसको मेमोरी ३२ जिबीसम्म पुर्याउन सकिन्छ।
त्यसैगरी नेपाली बजारमा सोनिका मोबाइलले पनि तहल्का मच्चाएका छन्। त्यसमा सोनी एक्प्रेरिया एल, सोनी एक्सप्रेरिया एसपी तथा सोनिका ट्याबलेट सबैको रोजाइमा परेका छन्। यसका नयाँ मोबाइल वाटर प्रुफ छन्। हेर्दा आकर्षक एवं ठूला स्क्रिन भएका यी मोबाइलमा वाइफाइ, एन्ड्रोइड, ८ मेघा पिक्सेल क्यामेरा छ। यसमा आफ्नो इच्छानुसार मेमोरी बढाउन सकिन्छ। यी मोबाइल प्रयोग गर्न सजिला तथा आकर्षक छन्। यसैगरी एचटिसी आदि कम्पनीका मोबाइल पनि नेपाली बजारमा राम्रै स्थान बनाउन सफल छन्। त्यसबाहेक नेपाली बजारमा इन्डियन ब्रान्डका मोबाइलले पनि स्थान पाउन थालेका छन्। सस्ता एवं आकर्षक भएकाले ती मोबाइल लोकप्रिय भएका हुन्। त्यसमा पनि कार्बन, कलर्स, जी फाइब स्पाइस, वर्ड, माइक्रोम्यास आदि मोबाइलको बजार राम्रो छ।
कलर्सका विभिन्न रेन्जका मोबाइल नेपाली बजारमा छन्। यसका मोबाइल २ हजार १ सय ७० रुपैयाँभन्दा माथिका छन्। यसमा व्यक्तिको रुचि तथा आवश्यतानुसार विभिन्न सेरिज उपलब्ध छन्। कलर्सको एक्स फ्याक्टर विशेष रुचाइएको पाइन्छ। कलर्सका अन्य मोबाइलमा एक्स फो, एक्स ६, एक्स फ्याक्टर मिनी, एक्स फ्याक्टर प्लस, एक्स ६५ बोल्ड जेएक्स, एस १३० एसडी, एस ११ स्टार ३ दशमलव ५ आदि प्रमुख छन्।
महिलाका लागि भनेर फ्लपी मोबाइलका साथमा भ्यानिटी मिररयुक्त मोबाइल ल्याएको माइक्रोम्यासका विभिन्न सेरिज बजारमा आएका छन्। भारतमा बन्ने यो मोबाइलले कम मूल्यमा आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ। १ हजार ५ सय रुपैयाँबाट सुरु हुने माइक्रोम्यासका मोबाइल त्यसभन्दा माथि आफ्नो बजेटअनुसार खरिद गर्न सकिन्छ।
साभार : नारी
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !