CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कलियुगका कालिदासहरू

कलियुगका कालिदासहरू


कालिदासको कथा तपाईं-हामी सबैलाई थाहै छ। त्यसैले त्यो दोहोर्‍याएर तपाईंहरूको समय खेर किन फाल्नु! तर, यहाँ आज कालिदासलाई सम्झिनुपर्ने कारणचाहिँ अर्कै छ। कालिदास कथा र किंवदन्तीमा मात्रै सीमित रहेनन्। रगतको थोपाथोपाबाट एक-एकवटा अर्को दानव जन्मिने रक्तबीजजस्तै आजको समयमा पनि कालिदासहरू छ्यापछ्याप्ती जन्मिएका छन् र हाम्रो वरपिरि देखिएका छन्। फरक कति मात्र हो भने त्यो युगको कालिदास अज्ञानताका कारण आफू बसेकै रूखको हाँगो काट्थ्यो भने आजका कालिदासहरू जानीजानीकनै आफ्नो हाँगो काटिरहेका छन्। योचाहिँ बडो उदेकलाग्दो कुरो हो। किन यसो गररिहेका छन् त कलियुगका कालिदासहरू?

आजका कालिदासहरू ज्ञान, विवेक र सूचनाको प्रचुर विकास भएको युगमा बाँच्छन्। उनीहरूलाई कुन कुरा सही र कुन कुरा गलत हो भन्ने राम्रैसँग थाहा छ। तर, त्यति हुँदाहुँदै पनि जे जे कुरा गर्न हुँदैन, उनीहरू त्यही त्यही कुरा गररिहेका छन्। लिँडे ढिपीको कुरामा यिनलाई जित्न सक्ने कोही छैन। कलियुगका कालिदासहरू अरूको कुरा सुन्दैनन्, स्पष्ट देखिएको कुरालाई पनि नकार्छन् र विवेकहीनताको नयाँ मापदण्ड कायम गर्न कटिबद्ध रहन्छन्। आफ्नो कुकर्मले अरू कति मानिसलाई प्रभाव पारेको छ भन्ने कुराप्रति यिनीहरूलाई पटक्कै चासो हुँदैन। दिग्भ्रमको सिकार भएर शक्तिले मैमत्त हुन्छन्, कलियुगका कालिदासहरू।

यस क्रममा उनीहरूको चर्चा हुन्छ र त्यो चर्चामा उनीहरू रमाउँछन्। उनीहरूले के बिर्सन्छन् भने चर्चा देउताको जति नै दानवको पनि हुन्छ। एउटा मानिसको विचार वा आचरणले अरू ठूलो वर्ग र जमातलाई प्रभाव पार्ने गर्छ भने त्यसको चर्चा हुनु स्वाभाविक हो। तर, त्यो प्रभाव सकारात्मक हो कि नकारात्मक भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ र विवेक भएको मानिसले त्यसको हेक्का गर्नुपर्छ। कलियुगका कालिदासहरूलाई चाहिँ चर्चा भए पुग्छ। ऊ आफ्नो भ्रमकै घेरामा यसरी रुमलिएको हुन्छ कि उसले ती दुईबीचको भिन्नता देख्दैन, बुझ्दैन।

दुर्भाग्यको कुरा के हो भने हाम्रो वर्तमान त्यस्तै कालिदासहरूले भरिएको छ। जताततै उनीहरूको बाहुल्य छ। कुनै एउटा क्षेत्र मात्रै होइन। तर, ती सबैलाई छाडेर अहिलेको राजनीतिक परपि्रेक्ष्यमा कुरा गर्दा चाहिँ सबैभन्दा ठूला कालिदासहरू त्यहीँ छन् कि भन्ने लाग्छ। तिनीहरूमध्ये पनि अहिले कुरा गर्दा बन्दको नाममा आममानिसको जीवन कष्टकर बनाउनेहरूलाई सम्झिनुपर्ने हुन्छ। जुनसुकै कारण देखाएर, जेसुकैका लागि भनिए पनि यस्ता बन्द आह्वान गर्नेहरूले जनताको सराप मात्रै खाइरहेका हुन्छन्। त्यसले उनीहरूको भएको लोकपि्रयतामा पनि धमिरा लगाइरहेको हुन्छ। उनीहरूप्रति सहानुभूति राख्न्ोहरू पनि बाध्य भएर उनीहरूका विरोधी बन्न पुगिरहेका हुन्छन्। कोही प्रत्यक्ष वा कोही अप्रत्यक्ष होलान्, फरक त्यत्ति हो। विद्यार्थीहरू स्कुल/कलेज जान नपाउँदा, कर्मचारी कार्यालय जान नपाउँदा, व्यवसायीहरू काममा हिँड्न नपाउँदा, बिरामी अस्पताल जान नपाउँदा र दैनिक मजदुरी गरेर पेट पाल्नुपर्नेहरूको आय बन्द हुँदा कुन समस्याको समाधान हुन्छ भन्ने उनीहरूले बताउन सक्छन्? किन आममानिसको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने हकमाथि अंकुश लगाउन चाहन्छन् उनीहरू? राज्यले कफ्र्यु लगाउँदा त्यो तानाशाही हुन्छ भने कुनै पनि राजनीतिक दलले घोषणा गर्ने बन्द, जबरजस्ती, आगजनी र तोडफोडचाहिँ लोकतान्त्रिक अभ्यास कसरी हुन सक्छ? आफूलाई लोकतान्त्रिक, गणतान्त्रिक वा अरू केही भन्न चाहनेहरूले आफ्नो अधिकार उपभोग गर्दा अरूको अधिकार किन कुण्ठित गर्छन्? बन्द घोषणा गर्न उनीहरू स्वतन्त्र छन् भने त्यसलाई टेर्न वा नटेर्न जनता स्वतन्त्र हुन नपाउने? आफ्नो बन्दलाई नटेर्नेलाई सहिष्णुतापूर्वक लिएर सम्मान गर्न सक्ने हो भने तिनलाई जनताले नतमस्तक भएर अभिवादन गर्नेछन्।

हो, समस्या देख्न सक्नुपर्छ। तब न त्यसको समाधान सम्भव हुन्छ। तर, रोग चिन्दैमा कुनै चिकित्सक राम्रो हुँदैन। अझ रोग चिनेर गलत उपचार गर्न खोज्ने चिकित्सक त झनै डरलाग्दो हुन्छ। त्यस्तै समस्या देखाएर त्यसको समाधान भन्दै अझ बढी समस्या निम्त्याउने अर्थहीन उपाय सुझाउने र जबरजस्ती अरूलाई त्यो अवलम्बन गर्न लगाउन खोज्नेहरूलाई के भन्नु?

तर, चारैतिरबाट उनीहरूको यो क्रियाकलापको विरोध र भत्र्सना हुँदा पनि जानीजानी आफूलाई किन कोही अलोकपि्रय बनाउन खोज्छ? त्यसको पछाडि के कारण हुन सक्छ? जनताका लागि राजनीति गर्छु भन्ने तर जनताकै जीवन कष्टकर बनाउने कार्य कसैले गर्छन् भने हामीले के बुझ्ने? के उनीहरूलाई जनताको कुनै मतलब छैन? उनीहरू राजनीतिको नाममा अरू नै केही गररिहेका छन्? त्यो कारण के हुन सक्छ भन्ने कुरा केलाउने कामचाहिँ विज्ञ पाठककै हातमा सुम्पिन चाहन्छु। जसको हितका लागि भनेर उनीहरू डुक्रिन्छन्, तिनैलाई मारमा पारेर आत्मरतिमा रमाउँछन् भने हामीले के बुझ्ने? उनीहरूले हामीलाई बुझाउन खोजेको कुरो के हो? दिन खोजेको स्पष्ट संकेत के हो? के उनीहरूलाई जनता चाहिँदैन, जनताको समर्थन पनि चाहिँदैन? जनताको बीचमा आफ्नो कस्तो छवि बनिरहेको छ भन्ने कुरासँग उनीहरूलाई वास्ता छैन? आफैँले काटिरहेको हाँगा उनीहरूको पनि टेको अडाउने ठाउँ होइन र? त्यो हाँगा काटिएर खस्यो भने उनीहरू पनि भुइँमा खस्छन् भन्ने उनीहरूलाई थाहा छैन र? होइन, त्यो सबै उनीहरूले बुझेका छन् र पनि यस्तो क्रियाकलाप गर्छन् भने उनीहरूभन्दा ठूलो को होलान् त कलियुगका कालिदासहरू ? साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis