संविधानसभा निर्वाचनको मतगणना भइरहेका बेला जनताले दिएको भोट बाकसबाट गायब भएर आफू र आफ्ना उम्मेदवारहरू धमाधम पछि पर्न थालेपछि कमरेड प्रचण्ड स्तब्ध भए। उनी मत गणना छाडेर बाहिर आए र धाँधलीविरुद्ध पत्रकार सम्मेलन गरे। सम्मेलनमा एकपछि अर्को धाँधली भएका प्रमाणहरू उनले यसरी पेस गरे ः
मतपेटिकाको पिँधमा प्वाल हुनु र त्यो प्वालबाट मतपत्रहरू जमिनमुनि बनाइएको खाडलमा खसेको हुनुपर्ने, जंगलमा जलेको अवस्थामा भेटिएका कागजपत्रको खरानीमा मतपत्रको गन्ध आउनु, माझीहरूले खोलामा मतपेटिकाजस्तै वस्तु बग्दै गरेको देख्नु, मतपेटिका बोक्ने भ्यानको नम्बर प्लेटमा कालो टेप टाँसिनु, कार्यकर्ताको मोटरसाइकल पन्चर हुनु, गाडीको नक्कली दुर्घटना गराई नक्कली घाइतेहरू खडा गरेर टेलिभिजनबाट देखाइनु इत्यादि।
यी त एमाओवादीले फेला पारेका धाँधलीका तात्ताता प्रमाणहरू थिए। एमाओवादीले फेला पार्न बाँकी ग्रान्ड डिजाइनहरू भने यस्ता थिए ः
- अध्यक्ष प्रचण्डका पछाडि सधैँ जनताको लर्को लाग्थ्यो। मेची-महाकाली अभियानमा इटहरीदेखिका जनता तँछाडमछाड गर्दै काँकडभिट्टा पुग्थे। काँकडभिट्टादेखि पछि लागेर इनरुवा पुग्थे। इनरुवादेखिका मानिस लहानसम्म पुगेर ताली बजाउँथे। दाङदेखिका मानिस धनगढीसम्म पछ्याउँथे। यसरी राजमार्गका आमसभामा ताली बजाउने लाखौँ जनताले भोट हालेका भए माओवादीले दुईतिहाइ ल्याउँथ्यो। तर, ग्रान्ड डिजाइन अनुसार ती तालीवादकहरू कांग्रेस-एमालेले पठाएका नक्कली समर्थकहरू थिए।
- अध्यक्षलाई आमसभामा १५ मिनेटभन्दा बढी बोल्न दिइएन। प्रहरी र सुरक्षाकर्मीले घेरेर राजमार्गै राजमार्ग हूरीको गतिमा कुदाइयो। मतदाताले उनको भाषण सुन्नै पाएनन्। जनताले उनलाई हेर्न खोज्दा पनि खादा, माला र अबिर मात्रै देखियो, उनी देखिएनन्। त्यसले गर्दा जनताको मन खिन्न भयो।
- आमसभाहरूमा एमाओवादीमा प्रवेश गर्ने हजारौँको लर्कोले भोट हालेको भए एमाओवादीको बहुमत निश्चित थियो। तर, ग्रान्ड डिजाइन अनुसार ती पनि कांग्रेस-एमालेले पठाएका नक्कली प्रवेशीहरू नै थिए।
- घुमाईफिराई प्रचण्डलाई ग्रान्ड डिजाइनरहरूले कीर्तिपुरमै उठ्न उक्साए। कीर्तिपुर काठमाडौंबाट साह्रै नजिक हुँदा 'हेेलिकप्टर के लानु, गाडी चढेर के जानु !' भन्ने लागेर प्रचण्ड कीर्तिपुर गएनन्। अनुहारै नदेखाउने नेतालाई किन भोट दिन्छौ भनेर प्रतिस्पर्धीहरूले जनता भड्काए।
- चुनाव एकदमै हतारमा गरयिो। हतारले गर्दा चुनाव प्रचारका लागि प्रचण्ड हेलिकप्टरमा उडे। उनका दायाँबायाँ बस्ने छाते बैठकेहरूले भने, "जुन जुन जिल्लाको आकाशमाथिबाट कमरेड उड्नुहुन्छ, ती ती जिल्लाका मतदाताले हामीलाई नै भोट हाल्छन्।" कमरेडले पत्याए र विभिन्न जिल्लाका आकाशको मात्रै परत्रिmमा गरे, जमिनमा टेकेनन्। धोका खाए।
- कार्यकर्ताको उक्साहटमा अध्यक्ष आफैँले गरेको एउटा सानो त्रुटिले पनि उनलाई फसायो। चुनाव आउनुअघि नै आफूलाई नेपाली जनताले राष्ट्रपति बनाइसकेको भनिदिए। उनी राष्ट्रपति भइसके भने भोट हाल्नै नपर्ने भएछ भन्ने भ्रम जनतामा पर्न गयो र उनीहरूले अन्तै भोट हाले।
उपर्युक्त अनुसारका झीनामसिना षड्यन्त्रले त एमाओवादीलाई खासै लछारपाटो लगाउने थिएन। तर, पार्टीका प्रतिनिधिहरू र विभिन्न फरक राजनीतिक आस्था राख्ने सबै कर्मचारीलाई मोहनी मन्त्रद्वारा आफ्नो अधीनमा पारी छिनको छिनमा सक्कली मतपेटिका गायब गरी नक्कली बाकस तयार गर्न सक्ने भूमिगत जादुगरहरू निर्वाचनमा परचिालन गरएिपछि भने प्रचण्डको पनि केही जोर चलेन, उनी हारे।
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !