CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » गर्लफ्रेन्ड सभासद !

गर्लफ्रेन्ड सभासद !

अर्को चुनावमा चाहिँ म पनि एउटा पार्टी खोल्नेछु । आफू, श्रीमती, साला-साली, भान्जा-भान्जीदेखि केही गर्लफ्रेन्डसम्मलाई समानुपातिक सूचीमा राख्नेछु । व्यापारी मित्रहरूलाई मीठो-मसिनो कुरा गरेर प्रत्यक्षमा भिडाइदिनेछु । उनीहरूले आफ्नालागि खर्च गर्नेछन्, पार्टीको पनि बेहोर्नेछन् । नपुगेको अरू व्यापारीबाट उनीहरूले नै झार्नेछन् । मैले माग्दा दिने पनि धेरै छन्, पार्टी नै खोलेपछि नमागी 'कति चाहियो ?' भन्दै आउने पनि कम
छैनन् । त्यसरी जुटेको पैसाले हेलिकप्टर चढेर म देशदौडाहा गर्नेछु । थप डोनर-सोनर खोजेर मतदाता किन्ने प्रयास गर्नेछु । सकेसम्म धेरै मत बटुल्नेछु । एक सिट पाए आफू, दुई पाए श्रीमती वा गर्लफ्रेन्डमध्ये एक, तीनटा पाए सालो थप, चौथोमा भान्जी, पाँचौंमा अर्की गर्लफ्रेन्ड— एवंरितले छान्न पाउने नै छु । ठूलठूला दलले ठूलठूलै उम्मेदवार लडाउनेछन्, गतिला-गतिला व्यक्ति हारेर रुनेछन्, मेरी प्रेयसी मेरो बुद्धिको कमाल देखेर मख्ख पर्नेछिन् । संविधान बनाउने ठाउँमा पुग्नेछिन्, राज्यको सेवा-सुविधा थापेर दङ्ग पर्नेछिन् ।
मेरो बुद्धि देखेर तपाईं पनि चकितै हुनुभयो
होला ! तर यो मेरो नौलो 'आइडिया' होइन । यस्तो यही पालि धेरैले गरिसके । अघिल्लो संविधानसभामा पनि गरेकै थिए । यही संविधानसभाले संविधान बनायो भने वा भविष्यमा समानुपातिक प्रणाली हट्यो भने म त खुत्रुक्कै हुनेछु । किनकि मलाई आफू र गर्लफ्रेन्ड सँगसँगै संविधानसभामा जान खुब रहर छ ! यस अघि पार्टी खोल्ने बुद्धि आएन, भविष्यमा त्यो पूरा हुन्छ कि हुँदैन !
तर धेरै नेताका रहर पूरा हुने अवस्थामा छन् । निर्वाचन आयोगमा बुझाएका सूचीमा त्यस्तैका नाम पनि छन्, जुन जितेका भागअनुसार पार्टीले ठीक लाएर पठाउँदैछन् । समानुपातिकमै मात्र आउने दलका सभासद पछि हेर्नुहोस्, आफैं केलाउन सक्नुहुनेछ । दोष ती दल वा नेताको होइन, संविधान बनाउने गहन कार्यमा त्यस्तो मौका दिने राजनीतिक प्रणालीको हो । छ सय एक जनाको जम्बो पल्टनमा जम्मा दुई सय चालीसजना हामी जनताले जिताएका प्रतिनिधि छन् । तीन सय एकसठ्ठीजना 'टिके' त्यसमा थपिँदैछन्— तीन सय पैँतीस समानुपातिक र छब्बीस मनोनीत । हो, समानुपातिक प्रणाली जनताले पार्टीलाई पत्याएको उदाहरण हो, तर श्रीमती, गर्लफ्रेन्ड वा नातागोता राख्न दिएको अनुमति होइन । तर राखिगए 'राख्न पाउँदैनौ' भन्ने ठाउँ पनि छैन । यसरी जनतालाई झुक्याएर 'आफ्नो हात जगन्नाथ' गर्ने ठाउँ हो यो ।
तपाईंले देखिहाल्नुभयो— एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको हातमा दाइँको मियो हुँदा राजनीतिक नेपथ्यमा रहेकी छोरीदेखि गैरकानुनी विवाह गरी बुहारी बनेकी महिलासम्मले टिकट पाए । ती ठाउँमा पार्टीका अनुभवी, इमानदार र जुझारू महिलालाई मौका दिएको भए जित्ने थिए कि ? सँगसँगै दाहालको महानता पनि यसमा झल्कियो— ती कमजोर आफन्तलाई उनले समानुपातिकमा राख्न पनि सक्थे । राखेका भए निश्चित रूपमा छानिन्थे । हार्नेलाई जिताउने माध्यम पनि त रहेछ, समानुपातिक ! त्यही भएर प्रत्यक्षभन्दा त्यसमा धेरै
कोटा राखिएको हुनसक्छ । सिधा औंलाले घ्यु नआउँदा बङ्ग्याएर झिक्न ।
मेरो कुराले कतिपय महिला अधिकारीवादी आक्रोशित हुन सक्नुहुन्छ । तर म पनि महिला अधिकारवादी हुँ । गहिरिएर सोच्नुहोस्, यो तपाईंहरूकै हितमा छ । महिला कोटाका पदपूर्ति महिला बीचकै प्रतिस्पर्धाबाट होइन, पुरुषको मर्जीले भइरहेको छ भन्ने मेरो घुमाउरो आशय हो । सबैजसो पार्टी पुरुष नेतृत्वका छन् । तिनका दायाँ-बायाँ रहेका महिला भटाभट सभासद हुन्छन्, पार्टीमा त्याग, तपस्या, संघर्ष गरेका र जीवन अर्पिएकाहरू सूचीमा परिगए पनि काटिनेमा पर्छन् । टिके प्रणालीको अवगुण भनेकै यही हो ।  
प्रतिस्पर्धा छाडेर टिके आरक्षणमा जाने हो भने त्यो कोटा सीमान्तकृत समुदायको सीमान्तकृत व्यक्तिले पाउनुपर्छ । सीमान्तकृत समुदायको उच्च घरानियाँलाई दिइने हो भने आरक्षणको के अर्थ ? कर्णालीको बाहुनभन्दा काठमाडौंको कुनै दलित सम्पन्न हुनसक्छन् । दलितको कोटा उनैको कोटमा पुग्यो भने राज्यले चाहेको समानुपातिक प्रतिनिधित्वको के अर्थ रह्यो ? त्यस्तै डँडेलधुराको पुरुषभन्दा विराटनगरकी कुनै महिला अधिकारसम्पन्न हुन सक्छिन् । बढ्ता कोटा त उनैले पाउँछिन् नि ! डँडेलधुराकी महिलाले पनि पाउँछिन् । उनको कुनै नेतासँग साइनो नलाग्न सक्छ, पार्टीको नजर पनि नपुग्नेगरी धेरै हिमाल-पहाडले बीचमा छेकेका हुन्छन् । उनी कसैको गर्लफ्रेन्ड पनि हुन्नन्, कुरो 'क्लियर' छ— मौका पाउँदिनन् ।
खासमा समानुपातिकमा छानिने व्यक्तिका लागि जनताले मत दिएका होइनन् । तिनलाई मतदाताले मनपराउँछन् वा पराउँदैनन् वा उनीहरूका नजरमा तिनले संविधान बनाउन सक्छन् वा सक्दैनन् भन्ने जनादेश मिलेको छैन । साठी प्रतिशत त्यस्तै छन् । हाम्रा पालामा एसएलसीमा त्यति ल्याउँदा प्रथम श्रेणी आउँथ्यो । प्रथम श्रेणी ल्याउने बराबर सभासद 'टिके' भएको संविधानसभाले बनाएको संविधानलाई जनताले मानेनन् भने ? प्रत्यक्षमा एउटा पनि जित्न नसकेको दलका नेताका आफन्तको घन्चमन्चले संविधानै बिथोलिने वातावरण भयो भने ? हाम्रा नेताहरूले बेलैमा त्यता किन सोचेनन् ? अनेक आवरणका भँगेरे दलहरूले गर्लफ्रेन्ड र नातेदार लगेर जनताको मत दुरुपयोग गर्न सक्छन् भन्ने किन ध्यान दिएनन् ?  
यसको मतलब सबै दलले गर्लफ्रेन्ड वा आफन्तमात्र लान्छन् भन्ने नलागोस् । तर लगे भने रोक्न पनि त सकिन्न । सूचीमा धेरैले राखेका पनि छन्, लान के बेर ?
...
तर मेरो चाहना श्रीमती, गर्लफ्रेन्ड र नातेदारमात्र सभासद बनुन् र त्यसलाई नजिरै बनाउन् भन्ने हो । किनकि अर्को चुनावमा म त्यसै गर्न चाहन्छु !
अखण्ड भण्डारी
साभार : कान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis