CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ढुक्क हुनोस्, केही नहुन्जेल केही पनि हुँदैन

ढुक्क हुनोस्, केही नहुन्जेल केही पनि हुँदैन


भूकम्पपछि हाम्रो मनोदशा अचम्मको भएको छ । अग्ला घरमा पस्न मन नलाग्ने, होचा घरमा बस्न मन नलाग्ने, मोबाइलको भाइब्रेसनलाई भूकम्प मान्ने, मुसाको दौडाइलाई पराकम्प ठान्ने, छिनछिमा जमिन हल्लिएझैं हुने, ज्योतिषिको कुराले ठ्याक्कै छुने, वैज्ञानिकको तर्कले छुँदै नछुनेजस्ता घटना सामान्य हुन थालेका छन् ।
यस्तो हुनुमा सञ्चारमाध्यमको पनि ठूलो हात छ । मुसाले खनेको जमिनलाई धर्ती
फाट्यो भन्ने, मुसा मार्न प्वालमा लगाएको आगोलाई ज्वालामुखी ठान्ने, पानीको सामान्य मूल फुटाइलाई धर्तीले जल वमन गरेको मान्ने, पोखरीलाई समुन्द्रका रूपमा देखाउने, तीललाई क्लोजअपमा खिचेर पहाड बनाउने, पहाडलाई लङसटमा लिएर जमिन भासियो भन्ने प्रवृत्तिले निकै त्रास बढाएको छ । 

यसै पनि भूकम्पले थिलथिलो पारेको हाम्रो दिमाग, त्यसमाथि टिआरपी बढाउन टिभीले देखाउने बीभत्स दृश्यहरू, एफएम रेडियोहरूले फलाक्ने डरलाग्दा समाचारहरू, पत्रपत्रिकाले छाप्ने सनसनीपूर्ण समाचारहरू, अनलाइनमा अपलोड हुने हावा रहस्यहरू, सामाजिक सञ्जालमा अपडेट हुने ताइ न तुइका जानकारीहरू, ‘माउथ टु माउथ’ प्रचारित हुने गफै त हो सम्धी शैलीका सन्देशहरूले हामीलाई थप कमजोर बनाएका छन् ।

हुन त यसबाट बच्न विभिन्न अभियन्ताहरूले काम पनि गरिरहेका छन् । महिलाका लागि ‘गफगाफ थेरापी’, बालबालिका लागि ‘नाचगान थेरापी’, युवायुवतीका लागि ‘गफगाफ थेरापी’, वृद्धवृद्धाहरूका लागि ‘भजन कीर्तन थेरापी’ आदि अभियानहरू चलिरहेका छन् । त्रासलाई आशामा बदल्न, डरलाई भरतिर लान यस्ता थेरापीको ठूलो महत्व हुन्छ ।

यद्यपि के बुझ्नुपर्छ भने यी थेरापी सहायकमात्र हुन् । यो काटेको घाउमा मल्हमपट्टी लगाएजस्तो, दाँत दुखेकोमा झारफुक गरेजस्तो, भोक लाग्दा पानी पिएर एकछिन शान्त भएजस्तो मात्र हो । टिटानसको सुई हान्नै बाँकी छ । दाँतको कीरा मार्न बांकी छ । खानाले भोक मेटाउनै बाँकी छ । अर्थात् जसरी आफ्नो रोगका लागि अर्काले सुई लगाई दिएर हुँदैन, आफ्नो भोक अरूले खाई दिएर मेटिंदैन, अरूको कीरा झारेर आफ्नो दाँत निको हुँदैन, अरूको ब्यान्डेज गरेर आफ्नो खुट्टो लाग्दैन, त्यसैगरी आफूभित्रको डर अरूले भगाएर भाग्दैन ।

धामी, झाँक्री, लामा, फेदांग्मा, पण्डित, पुरोहितहरू मनको रोग भगाउने सहयोगी बन्न सक्छन् तर समाप्तै गर्न आफैं सक्रिय हुनुपर्छ । परामर्शदाता, मनोविद्, सन्त, महात्माहरू सहायक हुन सक्छन् तर आफैं सचेत बन्नुपर्छ । शुभ–चिन्तक, सञ्चार माध्यम, सहयोगी, साथीभाइले आत्मविश्वास बढाउने उपाय बताउन सक्छन् तर त्यो उपायमा अडिइरहने भनेको आफैंले हो ।

मान्छेको आत्मा फलामको खम्बा होइन, अनि कसरी विश्वासमा अडिइरहन सक्छ र भन्ने प्रश्न धेरैको हुन्छ । आत्मविश्वासमा अडिग रहन सबैभन्दा पहिले जगत्को सत्यलाई आत्मसात् गर्नुपर्छ । जन्म, जीवन र मृत्युको चक्रलाई स्वीकार गर्नुपर्छ । हाम्रो वशमा भएको र नभएको कुराको जानकारी राख्नुपर्छ । जुन चीज आफ्नो हातमा छैन, त्यो कुराको मोहलाई मनको जरैदेखि हटाइदिने हो भने हाम्रो डर उल्टै हामीसँग डराउन थाल्छ ।

डराउन थालेको डरलाई सदाका लागि भगाउने केही गजुरियल मन्त्र छन् । पहिलो मन्त्र हो, ‘केही नहुन्जेल केही पनि हुँदैन ।’ हुन त मानिसहरू यो मन्त्रलाई आफ्नो पारामा व्याख्या गर्दै भन्छन्, ‘केही नहुन्जेल केही पनि हुँदैन, भएपछि सकिन्छ ।’ तर, गजुरीयल सुझाव छ, यसरी मन्त्रलाई तोड–मरोड गर्नाले मनको शान्तिमा समस्या पर्न सक्छ । गजुरियल अनुरोध हो, यो मन्त्रलाई मनको केन्द्रदेखि नै स्वीकार गर्नुहोस् कि केही नहुन्जेल केही पनि हुँदैन ।

हामी भगवान्लाई निवेदन हालेर जन्मिएको पनि होइन, यमराजलाई घूस ख्वाएर बाँचिरहेको पनि होइन । जन्म र मृत्यु हाम्रो हातमा छँदै छैन । ज्योतिष, वैज्ञानिक, महाज्ञानीहरूसँग समेत नभएको जानकारी खोजेर दुई दिनको जिन्दगीमा किन पल–पल मर्ने ? जे गरिन्छ त्यो राम्रो गर्ने, जति सकिन्छ, सुन्दर गर्ने, जहाँ गरिन्छ, त्यहाँ आनन्दसँग गर्ने । ढुक्क हुनुहोस्, केही नहुन्जेल केही पनि हुँदैन । 

साभार : साप्ताहीक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis