- शाक्षात सुशिल-
मेरो नाम संगिता (नाम परिवर्तन) हो । बुवाले रक्सी खाएर दिन दिनै आमा
पिट्ने । अनि बस्नै नसकेर काठमाडौं आएको केही काम पाएन अनि एउटा दाईले
यस्तो काममा लगाइदिएको ।
मेरो नाम सिता (नाम परिवर्तन) हो । धेरै जना भाई बहिनी;
कमाउने बुवा
मात्र । बुवा पनि बिरामी भएर थला परेपछि कमाउने कोहि भएन । राम्रो काम
खोजेको कतै पाइएन । अनि यस्तो पेशा थालेको ।
यस्ता किसिमका परिवर्तित नाम तर समान ब्यथा बोकेका समाचार आज सम्म कैयौ
पटक पढिसक्यौ । प्राय जसो सस्ता गेष्ट हाउस र लजमा प्रहरीद्वारा छापा
मारेको भोलिपल्ट देखि सुरु हुन्छन् यस्ता समाचारका लर्को । प्रहरीले
समात्छन, अनि पत्रिकाले आपत्तिजनक, नग्न अवस्था, देहब्यापार, बेश्याब्रिती
जस्ता आकर्षक शिर्षक दिएर छाप्छन । केही समयपछी छुट्छन । समाचार सेलाउछ ।
फेरि अर्को गेष्ट हाउसमा छापा मारिन्छ । फेरि आपत्तिजनक, रङेहात,
नग्नअवस्था, देहब्यापार, बेश्याब्रिती दोहोरिन्छन । तर ती युवतीहरू जसको
घरमा एक बुजो गाँस, एकसरो कपास नभएर यो पेशामा लागेकी हुन्छिन तिनलाई
पत्रिकाको अर्को प्रति आएलगतै बिर्सिन्छौ ।
बिरामी बाउ उपचार गर्न, भाई बहिनि पढाउन , ॠणले डुबेको घर उकास्न उनले
आफ्नो शरीर अरुलाई सुम्पिन वाध्य भएको ब्यथा सभ्य समाजका कमै सदस्यले
सुन्छन किनभने उनी तथाकथित बेश्या हुन ।
बेलाबखतमा देहब्यापारलाई निश्चित क्षेत्र छुट्याएर कानुनी मान्यता दिनुपर्छ
भन्ने मलिनो आवाज सुनिन्छ तर सुनुवाई भएको छैन । नेपाल एक अत्यन्त गरिब
देश हो, यो मैले भनेको हैन अधिकांस बिदेशी आयोग, नियोग, संघसङठनका
तथ्यांकले भनेको । एक तिहाइ जनता निरपेक्ष गरिबीको रेखामुनी बाँच्न वाध्य
छन् । बेरोजगारीको बिकराल समस्या बुझ्न दैनिक श्रम स्वीकृति लिने २ हजार
युवायुवतीको लाइन हेरे पुग्छ । बिदेशी दान दक्षिणामा चलेको अब्यवहारिक
शिक्षा नितीले न देश मै रोजगारप्राप्त गर्न सम्भव छ न त स्वरोजगारको नीम्ति
सबैसँग यथेष्ट पुँजी छ । यस्तो हबिगतमा एक गरीब युवतीको नीम्ति दुई वटा
बिकल्प हुने नै भए । या त बिदेशी दलाल साथ लागेर खाडी मुलुक पस या स्वदेश
मै देह ब्यापारमा लाग ।
अशिक्षित र सीपबिहिन महिलाले खाडी मुलुकमा पाउने काम भनेकै घरेलु काम हो
। स्वदेशमा देहब्यापारमा नलागी खाडी मुलुकमा घरेलु कामदारको रुपमा गएका
महिलाले भोगेको यौन शोषण र हिंसाको चर्को रुप; पीडा सहदा सहदै मानसिक
सन्तुलन गुमाएर फर्किएका महिलालाई हेरेर थाहा पाईन्छ । लैंगिक समानता र
सशक्तीकरणका लागि राष्ट्रसंघीय निकाय युएन वुमनले गत वर्ष गरेको एक अध्ययन
अनुसार, अहिले १११ नेपाली महिला कुबेत, साउदी अरब, यमन र लेबनानका
कारागारमा छन्। ८२ जनाले उतै आत्महत्या गरेका छन् भने ३१ बेपत्ता छन्।
उद्धार गरेर नेपाल फर्काइएका २८२० मध्ये ४१५ मानसिक सन्तुलन गुमाएका, ८६
अनिच्छित गर्भ बोकेका र ३२ बालबच्चासहित आएका छन्। यस्तो असुरक्षित अवस्था
देख्दा देख्दै पनि अझै कतिपय महिलाहरू बिदेशिने क्रम रोकिएको छैन ।
स्वदेश मै रोजगारी मिल्दो हो त किन जान्थे पीडित हुन ?
खाडी मुलुकका डरलाग्दो वातावरण देखेर स्वदेश मै केही गरौ – काम छैन ।
हातमा सीप छैन । पुँजी छैन । तर पेटले धेरै दिन कुर्न सक्दैन । वाध्य भएर
देहब्यापारमा लागेर बिरामी बुवा, भोका भाई बहिनीको उद्दार गर्न खोज्दा
प्रहरी बीचमा आइपुग्छ । र सभ्य समाज सामु सिधै ‘बेश्या’ बाट सम्बोधित
हुनपुगिन्छ ।
पेट पाल्न यो पनि नगर्ने हो भने उनीसँग के बिकल्प रह्यो ? आत्महत्या ?
त्यसो त गरिबीको कारण आत्महत्या गरेका घटना पनि नभएका होइनन । एक गरीब
नेपाली नागरिकलाई गरिबी कै कारण आत्महत्या गर्न वाध्य पार्नुराम्रो हो ?
विकिपेडियामा खोजी हेर्दा नेपालमा देहब्यापार कानुनी पनि हैन गैरकानुनी
पनि हैन भनेर लेखेको छ । यसको अर्थ प्रहरीसँग टाकटुक कुरा मिलाउन सके
कानुनी नत्र गैरकानुनी हुन्छ भन्ने खोजेको हो की ? नभए तारे होटेलहरूमा
छापा मारेर आपत्तिजनक अवस्थामा पक्राउ परेको समाचार त कहिले आउदैन ।
महिनाको २९ दिन चुपचाप । एकदिन एकाध बाग्बजार, सुन्धारा, बालाजुका सस्ता
गेष्टहाउसमा छापा मारेको सुनिन्छ । कारण के हो ? तारे होटेलमा आपत्तिजनक
क्रियाकलाप हुनैसक्दैन भन्ने पूर्वअनुमान हो की सस्तालाई ठटाएर महँगो
तारेबाट ‘सुरक्षा अथवा हप्ता’ को नाममा मोटो रकम असुल्न? बिचरा त्यहाँ पनि
गरीबलाई नै सास्ती ।
केही इन्जिनियर, पत्रकार, वकिल, अध्यापक, बिद्यार्थी र ब्यवसायी
मित्रसँग अनौपचारिक कुराकानी गरे । निश्चित क्षेत्र छुट्याएर कानुनी
मान्यता दिए हुने तर नेपाली समाजले देहब्यापार पचाउन नसक्ने कुरा गरे
उनीहरू । हाम्रो समाज बुझ्नै नसकिने किसिमको छ । बालिग युवायुवती भावनाको
कारण, आकर्षणको कारण अथवा शारीरिक आवश्यकताको कारण बिवाह नै नगरी संगै बस्न
‘लिभ इन रिलेसनसिप’ कानुनी रुप मै पाईन्छ । यो कानुन देख्दा नेपालको
सामाजिक उदारता बेलायत र फ्रान्सको हाराहारीमा देखिन्छ । अझै समलिङी विवाह
अर्थात पुरुष पुरुषसँग, महिला महिलासँग बिवाह गर्न कानुनले नै मान्यता
दिएपछी त नेपालको सामाजिक र कानुनी उदारता बेलायत र फ्रान्स भन्दा माथी
पुगेको देखिन्छ किन भने फ्रान्समा समलिङी बिवाहको बिरोधमा डेढ लाख जनाले
प्रदर्शन गरेका थिए । बेलायतमा बल्ल २०१४ को मार्च देखि यो कानुन लागु
हुँदैछ, नेपालले ५ बर्ष अघि नै बनाईसक्यो त्यो पनि रत्नपार्कमा एउटा पनि
टायर नबलिकन । इजिप्टमा श्रीमतीको मृत्यु भएको ६ घण्टासम्म श्रीमानले यौन
सम्पर्क गर्न पाउने कानुन बन्न लागेको अनावश्यक हल्ला चलिरहदा, नेपालमा
श्रीमतीको इच्छा बिना हुने यौन सम्बन्धलाई बलात्कारको दर्जा दिने कानुन
बनिसकेको थियो । प्रत्यक्ष यौनसँग सरोकार राख्ने यी बिषयलाई नेपाली समाजले
बिना टायर बालि पचाइरहेको छ तर एक गरीब युवतीले त्यहि यौनसँग सरोकार राखेर
पेट भर्न खोज्दा समाज बाधक बनिदिन्छ । अघिसम्म सोचाइको स्तर बेलायत र
फ्रान्सलाई भन्दा अघि बढेको नेपाली समाज जब देहब्यापार गरेर पेट भर्ने कुरा
आउछ, अफगानिस्तान, इराक, साउदी अरबियाको हाराहारीमा पुगिदिन्छ ।
मेरो उमेर पत्रिकामा लेखिएका शब्दहरू बल्ल बल्ल बुझ्ने हुँदा देखि यो
समस्या पढ्दै आएको हो । आज त्यहि पत्रिकामा लेख्ने उमेर हुँदा सम्म समस्या
झनझनै बढेको छ । तारे होटेलमा बैठक गरेर महिला हकहित र सशक्तीकरणको नाममा
करोडौ सकियो होला, एनजिओ, आइएनजीओले कति डलरको खोलो बगाए होलान तर उपलब्धी
खै त ? सायद महिला हकहितका अभियन्ताहरू मध्येका एक समूह नै भन्दा हुन
देहब्यापार नैतिक कार्य होईन भनेर । प्रचण्डका शब्दका ‘सुकिला मुकिला’ले
तारे होटेलमा वाइनको चुस्की लगाउदै निर्माण गरेको नैतिकताको परिभाषा भोको
पेट दिनभरी रत्नपार्कमा ग्राह्क कुर्दै उभिएकी महिलालाई लागु हुन्छ होला ?
तैपनि नैतिकता के लाई भन्ने ? हजामले हातले कपाल काटेर सेवा दिन्छ ।
रिक्सावालाले खुट्टाले पेलेर । गायकले घाँटीको सहारामा पैसा कमाउछ । मोडलले
सुन्दर शरीर देखाएर । एक बालिग र स्वतन्त्र नागरिक भएको हैसियतले
भन्नुपर्दा मेरो पेट पाल्न शरीरको कुन अङ्गको प्रयोग गर्ने भनेर निर्णय
गर्ने अधिकार मलाई हुनुपर्छ , सरकारलाई होईन ।
देहब्यापारको नीम्ति निश्चित क्षेत्रलाई छुट्याएर कानुनको दायरामा
ल्याउने हो भने शैक्षिक, आर्थिक र सामाजिक परिवर्तनमा योगदान दिलाउन सकिन्छ
। जस्तै :
देहब्यापार संचालानको नीम्ति अनुमतिपत्र दिन मोटो रकम राजस्वको
रुपमा उठाउन सकियो। जसलाई शिक्षा र सिपमुलक तालिम बितरणको नीम्ति खर्च गर्न
सकिन्छ।
छरिएर र लुकेर रहेका देहब्यापारीहरू कानुनी मान्यता पाएपछि सङठित
हुनेछन । त्यसो त एड्सको प्रकोप नेपालमा पहिले जस्तो रहेन तैपनि सङठित
अवस्थामा एड्स र यौनरोग सम्बन्धी रोकथाम र अनुगमन गर्न सजिलो र कम खर्चिलो
हुनेछ ।
कानुनको दायरामा आएपछि देहब्यापारमा लागेकाहरूलाई बार्षिक शरीर जाँच
गराउनुपर्ने नियम राख्न सकियो जसले स्वास्थ्यचौकी लगायतमा रोजगारी सिर्जना
हुनेछ, आर्थिक क्रियाकलाप बढ्नेछ ।
स्पष्ट कानुन बनाएपछि त्यसको उल्लंघन गर्नेलाई देह ब्यापारी, संचालक,
सेवाग्राहीलाई कारवाही स्वरुप जरिवानाको ब्यवस्था गर्न सकियो । जसले राजस्व
बढाउन मद्दत गर्छ । अहिले त छापा नमारिएको कैयौ गेष्ट हाउस र लजले
गैरकानुनी पैसा कमाइरहेका छन ।
देहब्यापारीहरू आफैलाई थाहा की छ उनीहरू गैरकानुनी धन्दा गर्दैछन । यस्तो
अवस्थामा उनीहरू माथि हुने ब्ल्याक मेलिङ, यौन शोषण र अन्य अपराधको बारेमा
उजुरी गर्न सक्दैनन । किनभने कानुनको नजरमा उनीहरू पहिला दोषी हुन ।
पीडितको मानवअधिकारको रक्षा हुन जान्छ ।
देहब्यापार कानुनी बने पनि बाबुआमाले सन्तानलाई डाक्टर, ईन्जिनियर,
पाइलट, बैज्ञानिक नै बन्ने सल्लाह दिन्छन, सन्तान पनि त्यहि चाहन्छन । र
बन्नु पनि पर्छ । तर एकपटक आफूलाई देहब्यापारीको स्थानमा राखेर हेरौ त ।
सिप छैन, शिक्षा छैन, ब्यवसाय गर्न पुँजी छैन, रोजगारी कहि पाइंदैन । बिदेश
जाँदा मानसिक सन्तुलन बिग्रिने गरि दु:ख पाईन्छ । अनि के गर्ने ? करिब ९
प्रतिशत बेरोजगार भएको फ्रान्स र बेलायतमा देहब्यापारलाई कानुनले मान्यता
दिएको छ तर ४६ प्रतिशत बेरोजगार भएको हाम्रो देशमा किन नदिने ? की एकै पटक
शतप्रतिशतलाई रोजगार दिने गोप्य योजना बन्दै छ ?
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !