मीनरत्न बज्राचार्य
२०४६ को जनआन्दोलनमा दरबारमार्गस्थित राजा महेन्द्रको सालिकबाट राजदण्ड उखेलेर त्यसैले सालिकको शिरमा हिर्काएको तस्वीर धेरैले देखेको हुनुपर्छ। जनआन्दोलनको बिम्व बनेको सो फोटो कतिले घरमा सजाएर राखेको मैले देखेको छु। २४ चैत २०४६ मा सालिक फोर्ने क्रममा गोली लागेका रुकुम खलङ्गाका तारा खड्काले दाहिने खुट्टा र जिब्रो गुमाए। उनले पछि मागेर समेत गुजारा गर्नुपरिरहेछ।
त्यस दिन महेन्द्रको सालिक फोर्ने क्रममा आठ जनाले ज्यान गुमाएको जानकारी पाइन्छ। भाग्यले बाँचेका तारालाई त्यसपछिको जिन्दगी अभिशाप नै भयो। 'जिउँदो शहीद' को उपमाले जिन्दगी नचल्दो रहेछ। रोल्पाको रेडियो जलजलाका अनुसार उनी अहिले सिरहास्थित साथीको घरमा बसेका छन्। उनले तानाशाह महेन्द्रको सालिक फुटाउँदा नेपाली समाज रोमाञ्चित भए पनि सो घटनाको सुषुप्त प्रेरणाले सानोतिनो आन्दोलन हुनासाथ चोकका जोसुकैको सालिक फोरिदिने उन्मादको रचना गरे झैं लाग्छ।
महेन्द्रका सबै सालिक उनको मृत्युपछि ठड्याइएको थियो। राणा शासकहरूले झ्ैं आफू जीवितै छँदा उनका छोरा वीरेन्द्रले ठड्याएका सालिक पनि अहिले छैनन्, ललितपुरको जावलाखेलमा बाहेक। देशका केही प्रमुख सडक–चोकमा ठडिएका वीरेन्द्रका सालिकलाई २०६२/६३ को जनआन्दोलनको आगोले निल्यो। राजाकै सिको गर्दै भूपालमानसिंह कार्कीले सुनसरी, दुहवीको बीच सडकमा ठड्याएको सालिकको पनि नामोनिसान छैन।
पछिल्लो एक दशकका विभिन्न आन्दोलनमा भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, पृथ्वीनारायण शाह, राजा वीरेन्द्र, शहीद सेतु बिकदेखि भूपालमानसिंह कार्कीसम्मको सालिक राजनीतिक अहंकारको शिकार भएको छ। गणतन्त्रलगत्तै सिंहदरबार अगाडिको पृथ्वीनारायणको सालिक एउटा उन्मादी हूलले फोर्न खोज्यो। पोखरामा पृथ्वीनारायणको भव्य सालिक फोरेर लखन थापाको सालिक राखियो, जबकि पृथ्वीनारायणलाई नफोरी नै लखनलाई अझ् अग्लो बनाउन सकिन्थ्यो।
जनआन्दोलन २०६२/६३ ताका नेपालगञ्जमा तत्कालीन राजा ज्ञानेन्द्रको नयाँ प्रतिमा फोरेर शहीद सेतु बिकको सालिक राखियो, तर मधेश आन्दोलनको तापले बिकलाई पनि साबुत रहन दिएन। राजनीतिक अहंकारको आगोले कलाकारका अनेक उन्नत कृति निलेको यस्ता उदाहरण अनगिन्ती छन्। यो देखेर सिपालु मूर्तिकार रवीन्द्र ज्यापूलाई कस्तो लागिरहेछ कुन्नि, मलाई भने सडक बनाउँदा कुनै चोक निस्क्यो कि त्यहाँ सालिक उभ्याएर फोर्न सजिलो बनाइदिनेहरूलाई सम्झिरहेछु। सालिक पुरातात्विक महत्वको चिज हो। हिजोका सालिकहरू आज अमूल्य सम्पदा भएका छन्। आज सालिक ठड्याउन होड गर्नेहरूले भने भोलि त्यो सम्पदा बनोस् भन्ने सोचेका छैनन्। आफ्नो र आफन्तको कीर्ति राख्न सार्वजनिक ठाउँ ओगट्दा जनताबाट सम्मान पाइँदैन भन्ने कुरालाई त झ्नै बिर्सिएको देखिन्छ। सडक विभाग र महानगर/नगरपालिकाहरूले पनि सालिकको नाममा चोक हडप्ने काम रोकेको छैन। चोक/सडक हडपिरहँदा महानगर/नगरपालिका र सडक विभाग हाइसन्चो मानेर बसे जस्तै ऐतिहासिक सालिक फुटिरहँदा वा कसैको लहडले विस्थापित भइरहँदा पुरातत्व विभाग पनि चुपचाप छ।
बगैंचामा सालिक
भूपतिन्द्र मल्ल लगायतका शासकका सालिक उनीहरूकै दरबार परिसरमा राखिएको अहिले पनि देख्न पाइन्छ। काठमाडौंका राजा प्रताप मल्ल, उनका छोरा र रानी हात्तीमाथि चढेको सालिक रानीपोखरीको डिलमा सुरक्षित छ। सालिकहरू बाटबाटै राख्ने चिज हैन भन्ने चेत भएका राणाशासकहरूले आफ्ना भव्य सालिकहरू टुँडिखेलभित्र राखे। जुद्धशमशेरको सालिक पनि १९९० सालको भुईंचालोपछि नयाँसडकलाई फराकिलो बनाउँदा मात्र सडकमा आएको हो। प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका हिमायतीहरूले भने यही सालिकबाट प्रेरणा लिएर होला आफ्ना नेताहरूलाई चोक–चोकमा ठड्याउने होड गरे जस्तो देखिन्छ।
अरू त अरू इन्जिनियर शंकरनाथ रिमालले डिजाइन गरेको शहीदगेटमा समेत चारैतिरबाट धूवाँ–धूलो खाएर बस्न बाध्य छन्, चार शहीद। वास्तुकलाको हिसाबले हेर्नलायक भए पनि शहीदगेटले गेटको नभई डिभाइडरको काम गरेको छ। समाजका सत्पात्रहरूलाई सम्झ्न र विशेष अवसरमा उनीहरूलाई फूलमाला चढाउन सजिलो हुने गरी एकाध ठाउँमा मात्र सालिक बनाइएको छ। ट्राफिक प्रहरीलाई उभिन र सडक डिभाइडरको लागि बनाइएका झैं लाग्ने सालिकहरू राजनीतिक दुर्व्यवहार बेहोर्न मात्र चोकमा उभिए झैं लाग्छन्।
देवीदेवताका मूर्तिहरू मन्दिर, बगैंचा वा खुला ठाउँ सहितको परिसरमा राखिन्छ। सत्पात्रहरूको सालिकले पनि त्यस्तै ठाउँ पाउनुपर्छ। कोही अहंकारी शासकले नै आफ्नो मूर्ति बीच बाटोमा राखेको रहेछ भने पनि व्यवस्था फेरिएपछि त्यसलाई संग्रहालयमा सुरक्षित राख्न सकिन्छ। जनस्तरबाट स्थापित राजनेता, कवि, लेखक, कलाकार वा खेलाडी रहेछन् भने त उनीहरूको सालिक बाटाबाटामा उमार्नै हुँदैन। कोटेश्वर–सूर्यविनायक सडक विस्तारको क्रममा उखेलिएको पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको सालिक निकै दिनसम्म सडक विभाग परिसरमा लम्पसार परेको थियो। अहिले कोटेश्वर चोक पूर्वपट्टि उभ्याइएको उनको सालिक यस्सो छेलिएर सडकछेउमा पिसाब फेर्नेहरूका लागि सजिलो भएको छ। जोसुकैको होस्, बाटोको सालिकले यसरी सम्मान कम, हैरानी बढी खेप्छ।
समाजका सत्पात्रको सालिकलाई बीच बाटोमा प्रदर्शन गरिरहनुपर्दैन। त्यस्ता पात्रको सालिक फराकिलो सार्वजनिक बगैंचा वा पुस्तकालय परिसरमा राख्दा नयाँ पुस्ताका लागि पनि त्यो खास चिज बन्छ। जस्तो, सुन्दरीजल संग्रहालय परिसरमा रहेको बीपी कोइरालाको सालिक सुरक्षित र सबैको लागि प्रेरणाको स्रोत बनेको छ, तर तराई–मधेश लगायतका ठाउँका सडक चोकमा रहेका उनै बीपीका सालिकले बेहोरिरहेको हविगत बताइरहनुपर्दैन। कीर्तिपुरको चम्पादेवी र मुलुकका अन्य खुला चोकमा स्थापना गरिएका पुष्पलालका सालिकले पनि सुन्दरीजल र अन्य ठाउँका बीपीकै कथा भन्छन्।
कतिपय सत्पात्रको सालिकको वनावटले सम्बन्धित व्यक्तित्वकै तेजोबध गरेको देखिन्छ। रत्नपार्कको शान्ति बाटिकामा राखिएको गणेशमान सिंहको कलाविहीन सालिकले सिंहकै व्यक्तित्वको धज्जी उडाएको थियो। वृद्ध टाउको र बालकको खुट्टा जोडे जस्तो सर्वोच्च नेताको त्यस्तो सालिकको जनस्तरबाट विरोध बढेपछि राम्रो सालिक राखिएको छ। तरहराबाट धरान जाँदा तीनकुने चोकमा देखिने सालिकले किराँत मनिषी श्रीजंगाको शारीरिक बनावटबारे सही सन्देश दिइरहेजस्तो लाग्दैन। त्रिमूर्ति निकेतनले काठमाडौंको सञ्चारग्राममा बनाएका लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र बालकृष्ण समको सालिक निश्चय नै सुन्दर छन्, तर नेपाली भाषा–साहित्यका यी महारथीहरूलाई अन्य कहीं नभएर घरको धुरीमा चढाइएको छ। आधुनिक नेपाली गीत–संगीतका आख्यान नारायणगोपालको सालिकलाई चौबीसघण्टे धूवाँ–धूलो खाने गरी महाराजगञ्ज चोकमा राखिएको छ। कुनै शान्त–सुन्दर बगैंचामा नारायणगोपालका धुन समेत बजिरहने गरी उनको सालिक उभ्याइदिए पत्थर पनि रसाउँथ्यो होला।
तानाशाहहरूले दुनियाँलाई आफ्नो मूर्तिको फन्को मार्न बाध्य पारे भन्दैमा कवि, कलाकार, गायक, राजनेता र अन्य कीर्तिमानीहरूलाई चौबाटो हडप्न लगाउनु मूर्खता हो। जहाँ पायो त्यहीं सालिक उभ्याएर राजनीतिक उन्मादीहरूलाई सजिलो बनाइदिने हैन, व्यवस्थित बगैंचा रोज्नेहरूको जय होस्।
साभार : हिमाल साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !