CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » राजधानी अपराधीको क्रिडास्थल बन्दै, डनको सूचीमा नपरेको भन्दै आक्रोश

राजधानी अपराधीको क्रिडास्थल बन्दै, डनको सूचीमा नपरेको भन्दै आक्रोश

२५ माघ, काठमाडौं । विभिन्न सञ्चार माध्यममा ‘काठमाडौंका डनहरु’ भनेर कुख्यात अपराधीको फोटोसहितको समाचार छाप्दा सम्बन्धित व्यक्तिले कुनै चासो नदेखाएपनि अन्य व्यक्तिहरुले आफूहरु किन उक्त सूचीमा नपरेको भन्दै आक्रोस पोखेका छन् । काठमाडौंका कुख्यात अपराधीको सूचीमा फोटो नछापिएर आफ्नो साख गुम्यो भनेर धेरै गुण्डा र दादा
चिन्तित देखिए। त्यसरी फोटो छापिँदा गुण्डाहरूको साख बढ्ने र उनीहरूले थर्काएर कमाउने रकमको दर पनि बढ्ने गरेको प्रहरीका एक वरिष्ठ अपराध अनुसन्धान अधिकृतले बताए।


एक गुण्डाको सरदार विभिन्न व्यापारी र व्यवसायीकहाँ गएर ठूलो रकम सहयोग माग्ने गर्छ (सानो रकमका लागि त ऊ आफैं जानै पर्दैन, उसका केटाहरू नै काफी छन्)। यदि कसैले केही आनाकानी गर्यो भने आफूलाई एक राजनीतिक दलको ठूलो नेतालाई मार्छु भनेर घोषणा गर्ने दादाका रूपमा हाकाहाकी चिनाउँछन्। त्यस्ता गुण्डा एक होइन, काठमाडौंका टोल–टोलमा जन्मेका छन्।

एक खालका मान्छे अनेक मेहनत गरेर बल्लबल्ल केही पैसा कमाउँछन्, यस्ता गुण्डा भने धम्कीकै भरमा साना खुद्रे व्यापारीदेखि ठूला उद्योगपति र व्यवसायीसम्मबाट हप्ता वा महिना असुल्छन्। अर्काको पसिनाको कमाइ जुकाजस्तो चुस्ने यस्ता अपराधीलाई सरकारले नियन्त्रण गर्न नसक्नाले गुण्डा हुनु पनि एक प्रतिष्ठाको विषय बन्दै गएको नागरिक दैनिकमा खबर छ ।

यस्ता बदमास र लुटेराहरूलाई प्रहरीले कारबाही गर्न सक्दैन, किनभने नेपालका सबै राजनीतिक दलका नेताले यस्ता गुण्डालाई संरक्षण दिएका छन्। हरेक गुण्डा कुन राजनीतिक दलका नेता वा कार्यकर्ता हो भनेर सजिलै चिनिन्छ। नेपाली कांग्रेस, नेकपा (एमाले), मधेसवादी दल, माओवादी, राप्रपा सबैका नजिकका गुण्डा छन्। यी दलका नेताहरूको पनि आ–आफ्नै छुट्टाछुट्टै दादा र गुण्डाहरूसँग साँठगाँठ छ। कुनै एक गुण्डालाई गोली लाग्यो वा जेल पर्योल भने ठूला राजनीतिक दलका वरिष्ठ नेताहरू आफैं पुग्छन्, तिनको हालचाल बुझ्न र जेलमुक्त गर्न।

काठमाडौंका प्रहरी प्रमुखको पदबाट भर्खरै सरुवा भएका एसएसपी सुबोध घिमिरे भन्छन्, ‘यदि राजनीतिक दलको संरक्षण नहुने हो भने नेपाल प्रहरीले यस्तो गुण्डागर्दी र साना अपराध सजिलै नियन्त्रण गर्न सक्छ।’ तर नेताहरूले सिधै कसैको पक्ष लागेर संरक्षण गरिदिँदा प्रहरीलाई आफ्नो कार्यक्षमता देखाउन अप्ठेरो पर्छ। अपराधीले आफूसँग बदला लिनसक्ने खतरा त एकातिर छँदैछ, अझ राजनीतिक नेताले समेत पदोन्नतिमा समस्या खडा गर्ने र नचाहिँदो दुःख दिने जोखिम मोल्नुपर्छ प्रहरी अधिकृतहरूले।

राजनीतिक नेताको त्रास कस्तो गहिरोसँग बसेको छ नेपाल प्रहरीमा भने, प्रहरी महानिरीक्षकले समेत आफूले चाहेको ठाउँमा सक्षम र इमानदार अफिसरलाई सरुवा गर्न सक्दैनन्। राजनीतिक दलको सरकार आएपछि आफूले भनेको अफिसर ल्याउन सकिँदैन भन्ने डरले प्रहरी महानिरीक्षकले रमेश खरेललाई काठमाडौं प्रहरी प्रमुखको पदमा सरुवा गरेका हुन भन्ने एक स्रोतको भनाइ छ। काठमाडौंमा अपराध नियन्त्रण नगरी आफू सफल नदेखिने तर अपराध नियन्त्रण गर्न सक्षम अफिसरलाई राजनीतिक नेतृत्वले आउन नदिने खतरा टाल्न नयाँ सरकार आउन केही दिन बाँकी छँदै खरेललाई काठमाडौं ल्याउनुपरेको बुझिएको छ।

तर यो अपराधको राजधानीमा प्रहरीमात्र स्वच्छ र इमानदार तथा राजनीतिक नेतामात्र अपराधमुखी अवश्य होइनन्। यो अपराधको राजधानीमा धेरै अपराधी र थोरै मात्रामा सज्जन नागरिक बसोबास गर्छन्। नेपालमा प्रहरी जागिर खानेको मुख्य ध्येय कसरी चाँडोभन्दा चाँडो पैसा कमाउने, घर–घडेरी जोड्ने भन्ने हुन्छ। अन्य व्यापार र व्यवसाय गर्नेहरू पनि नियमविपरीत कसरी जनतालाई ठग्ने भन्ने धुनमै रहेका देखिन्छन्।

एकपल्ट मेरा नजिकका एक नातेदारलाई कुनै कामले महाराजगन्ज प्रहरी कार्यालय जानुपर्ने भयो। त्यहाँका कार्यालय प्रमुखलाई चिनेको कारणले उनले यो लेखकलाई एकपल्ट चिनाइदिन अनुरोध गरे। यो लेखकले उनको नाम चिनाइदिएको पाँच मिनेटभित्रै ती प्रहरी अधिकृतले ती नातेदारकै एक साथीलाई फोन गरेर सोधेछन्, ‘फलानो मेरोमा आउँदैछ, त्यसलाई कसरी लुट्न सकिन्छ भन् त।’ अर्थात्, प्रहरी कार्यालयसँग कुनै मद्दत माग्न जानु पनि लुटिन जानु बराबर भएको छ।

प्रहरी अधिकृतहरू ठूलो रकम बुझाएरमात्र भनेको ठाउँमा सरुवा वा बढुवा पाउँछन्। त्यसैले पैसा बुझाएर कुनै स्थानमा पुग्न सफल भएको सानो जवान होस् वा ठूला अफिसर, सबैको ध्यान कसरी र कहाँबाट पैसा झर्छ भन्नेमै हुन्छ। त्यस्तो पैसा लिएर सरुवा र बढुवा गर्ने विगतका धेरै गृहमन्त्री गन्हाउने फोहोरको रास भइसके पनि अझै निर्वाचन जितेर आएका केही फेरि गृहमन्त्री हुन कम्मर कस्दै गरेको अवस्थामा काठमाडौं अपराधीको क्रिडास्थलभन्दा माथि उठेर राम्रो सहर हुन धेरै ठूलो परिवर्तन जरुरी देखिन्छ।

काठमाडौंलाई अपराधमुखी सहर बनाउन अपराधी र प्रहरीमात्र जिम्मेवार छैनन्। सरकार कमजोर तथा भ्रष्ट र राजनीतिक नेताहरू जनतामुखी हुन नसकेका कारण यहाँका प्रत्येकजसो जनतालाई सेवा प्रदान गर्ने कार्यमा अपराध मुछिएको छ, भ्रष्टाचारले जरो गाडेको छ।
साभार : अनलाईन खबर
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis