-लक्ष्मी ज्ञवाली-
काम कै बीचमा फोन आउँछ- मम्मी के खाजा खाने? यो मन पर्दैन, त्यो मन पर्दैन। फेरि छोराछोरी बीच झगडा हुन्छ। रुवाबासीसँगै अर्को फोन आउँछ।
फोन राख्न भ्याएको हुँदैन, फोनको घन्टी फेरि बज्छ, “ए … सुन त! म आज ढिलो आउँछु है, साथीहरुसँग भेटघाट छ।”
अब श्रीमानबाट घरमा केही सहयोग हुन्छ कि भन्ने आश गर्नै परेन,
ढिला आउने खबर आइसक्यो।
उता छोराछोरीको लगातारको फोन, यता पार्लरमा भीडभाड – एउटा शरीर कता-कता बाँडिने??
“राम्रोसँग पढनु पर्छ, जागीर खानु पर्छ अनि सुख पाइन्छ।”
बाल्यकालमा कहिलेकाहीँ स्कुल नजान खोज्दा हजुरआमा र आमाले यसरी सम्झाउनु हुन्थ्यो। दुःख र सुखको खासै अनुभव बाल्यकालमा के हुन्छ र ? राम्रो पढ्यो भने ठूलो मान्छे बनिन्छ भन्ने कुरा बाल मस्तिकमा बुझेर हो वा नबुझी घुसिसकेको थियो।
हजुरआमा र आमाले गर्ने गरेको काम र लगातारको खटाइ बिना केही प्रतिकृया यी आँखाले देखेका थिए राम्रोसँग।
बिहान ३ बजे नै उठ्नु हुन्थ्यो उहाँहरु भने सुत्न जाँदाको समय थाहा नै पाउँदैन्थ्यौँ। किनकी हामीहरु सुत्न जाँदा उहाँहरु ढिकी र जाँतोको कामका व्यस्त हुनुहुन्थ्यो। अहिले मनन् गर्छु, सायद हामीहरुलाई पढाएर आफूले जस्तो भोगेको त्यो खटाइ पढेका छोराहरुलाई पक्कै पर्दैन भन्ने कुरामा उहाँहरु विश्वस्त हुनुहुन्थ्यो। अनि पो पढेपछि जागीर पाइन्छ ,जागीर खाए सुख पाइन्छ भन्ने विश्वास थियो उहाँहरुलाई।
पढेका छोरीहरुले जागीर खाएर सुख पाउँछन् भन्ने हजुरआमा र आमाका ती विश्वास केवल विश्वास मै रहेका छन्। व्यवहारमा पढे लेखेका छोरीहरुको जागीरे जीवन कामको प्रकृति भिन्न भए पनि दुःख र खटाइ भने उहाँहरुको भन्दा कम छैन।
आफ्नो सीप र योग्यता अनुसारको पेसालाई अङ्गाल्दा अहिलेका महिलाहरुलाई भ्याइनभ्याइ छ।
उनीहरु माथि पेशागत जिम्मेवारी र घरपरिवारको जिम्मेवारीको दोहोरो भूमिका निभ्याउने कर्तव्य पनि कायम हुने हुँदा आफ्नो पेसालाई निरन्तरता दिन निकै संघर्ष गर्नु परेको उनीहरुको अनुभव छ।
वरिस्ठ ब्युटिसियन एक साथी भन्छन्- “आफ्नो पेशा र घर परिवार सँगसँगै चलाउनु महिलाहरुको लागि फलामको चिउरा चपाउनु जत्तिकै हो। ”
कहिलेकाहीँ आफै देख्ने गर्छु उनको व्यस्तता। बिहान उनी पार्लर कोर्स पढाउँछन् भने दिउँसो आफैले खोलेको पार्लर चलाउँछन्। तीन छोराछोरीकी आमा उनीहरुको लालनपालन कै लागि पनि खट्नुपर्ने बाध्यता छ। घर, छोराछोरी र इस्टमित्रको ख्याल राख्ने काम पनि आफैले गर्नुपर्ने जिम्मेवारी पनि छ।
काम कै बीचमा फोन आउँछ- मम्मी के खाजा खाने? यो मन पर्दैन, त्यो मन पर्दैन। फेरि छोराछोरी बीच झगडा हुन्छ। रुवाबासीसँगै अर्को फोन आउँछ।
फोन राख्न भ्याएको हुँदैन, फोनको घन्टी फेरि बज्छ, “ए … सुन त! म आज ढिलो आउँछु है, साथीहरुसँग भेटघाट छ।”
अब श्रीमानबाट घरमा केही सहयोग हुन्छ कि भन्ने आश गर्नै परेन, ढिला आउने खबर आइसक्यो।
उता छोराछोरीको लगातारको फोन, यता पार्लरमा भीडभाड – एउटा शरीर कता-कता बाँडिने?? शरीर आफ्नो पेशामा संलग्न भए पनि मन चाहिँ घरपरिवारको साथमा पुगेको हुन्छ। आफ्नो अनुपस्थितिमा घरमा राम्रो व्यवस्था हुँदै हुँदैन। अति दुःख छ महिलाहरुलाई- उनी गुनासो पोख्छिन्।
अर्की मित्र कलेज पढाउँछिन्। उनको पनि दुखेसो त कम रहेनछ।
महिला भएकै कारण आफ्नो पेशालाई राम्रोसँग अङ्गाल्न नसकेको र महङ्गीको मार खप्न क्षमता भए पनि पैसा कमाउन नसकेको अनुभव उनीसँग रहेछ।
बिहान ४ बजे उठे पनि बिहानी क्लास लिन नसकेको यथार्थलाई यसरी पोखिन् उनले- घरमा एक मात्र बुहारी आफू। सासु-ससुरा, देवर-नन्द, आमाजु सबैको चित्त बुझाउँदै छोराछोरीको रेखदेखसम्म आफ्नै जिम्मेवारी भएको हुँदा आफ्नो पेशाले आफूलाई सास्ती पुर्याएको उनको भोगाइ छ।
श्रीमानको मात्र जागीरले पूरै घरपरिवार चलाउन मुस्किल छ। जागिर नखाउँ सजिलो छैन, खाउँ भने पनि सजिलो छैन। शिक्षित भए पनि आखिर मार महिलालाई नै पर्दोरहेछ, वास्तविकता ओकलिएको गुनासो उनको पनि सुनियो।
शिक्षित महिलाहरुका यी पीडालाई जबसम्म पारिवारिक रुपमा मनन् गरिँदैन वा घर परिवार सम्हाल्ने जिम्मेवारी महिलाको मात्र होइन भन्ने भावनाको विकास गरिँदैन, तबसम्म महिलाले आफ्नो पेशालाई पूर्ण रुपमा अङ्गाल्न सक्दैनन्। खाएको जागिर पनि छोडेर घरपरिवार कै लागि घरभित्रको सीमित दायरामा घेरिनु पर्ने बाध्यात्मक स्थिति कुनै पनि क्षमतावान महिलालाई पर्नु हुँदैन।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !