१४ मंसिर, बारा। राँगाको मासु किन्न बजार जाँदै हुनुहुन्छ ? त्यसो भए एकपटक सोच्नुहोस् । तपाईंले किन्ने मासु बाराको गढीमाई मन्दिरमा बली चढाइएका राँगाको पनि पर्न सक्छ ।
गढीमाईको प्रसादका रुपमा बली चढाइएका हजारौं राँगा शनिबार रातारात गायब पारिएका छन् । ती राँगा लुकाई-छिपाई नजिकैका बजार र
राजधानीसम्म ल्याएर मःमः बनाइन सक्ने सम्भावना देखिएको छ ।
गढीमाईमा असुरीक्षत ढंगले काटिएका राँगाको मासु बजारमा भित्र्याइए त्यसबाट संक्रमण बढ्न सक्ने खतरा उपभोक्तवादीहरुले औंल्याएका छन् ।
ममःका लागि राजधानी खपत गर्ने ठेकेदारको तयारी
विगतमा खाडल खनेर पुर्ने गरिएका राँगाहरु विभिन्न ठाउँमा लगेर बिक्री गर्ने ठेकेदारको तयारी थियो । यसका लागि बली दिइएको स्थलमा ठेकेदारले ५० वटा ट्रक र २५ वटा ट्याक्टर समेत तैनाथ गरेका थिए । ५० ट्याक्टर राँगाको बजार बारामा मात्रै सम्भव छैन, त्यो ममः बनाउनका लागि रातारात राजधानी भित्र्याउने ठेकेदारको तयारी थियो ।
ठेकेदारहरुले बली दिइएका राँगा भण्डारण गर्न कलैया र परवानीपुरमा दुईवटा भण्डारणसमेत बनाएका छन् ।
शनिबार स्थानीय दलित समुदायका नागरिककले राँगा कब्जा गरेर ठेकेदारलाई लैजान नदिएपछि गढीमाईमा सिनो व्यवस्थापन कसरी गर्ने भन्ने विवाद देखिएको छ । ठेकेदारहरु त्यसलाई बजारमा पुर्याएर बेच्नुपर्ने पक्षमा छन् भने स्थानीयले विगतजस्तै जमीनमा गाड्नुपर्ने आवाज उठाएका छन् । दलित समुदायका अगुवाहरुले भने सिनो बहिस्कार अभियान चलाएका छन् ।
रातारात राँगा गायव
बली चढेका राँगा बिसर्जनको तयारी भइरहेका बेला एक समूहले बधस्थलबाटै शनिबार राति काटिएका राँगाहरु लुटेर लगेको टेकेदारहरुले बताएका छन् । ठेकेदारले बली चढेका पशु बिसर्जनको तयारी गरे पनि सो समूहले अवरोध गरेर राँगा लुटेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ ।
मेला व्यवस्थापन समितिले बली चढाइएका पशुपंक्षीको बिसर्जन गर्न डेढ करोडभन्दा बढी मूल्यमा ठेक्का दिएको थियो । तर, सम्झौता अनुसार पशु नपाएपछि ठेकेदार समूह पनि रुष्ट छ । बली चढेका राँगाका टाउका मन्दिर नजिकै खाल्डो खनेर गाड्ने गरिएको छ ।
अब के होला ?
मेला व्यवस्थापन समितिले बली दिइएका पशुपंक्षीलाई ठेक्का दिने तयारी गरे पनि स्थानीय समुदायले गढिमाईको प्रसाद बेच्न नपाइने भन्दै बिरोध गर्दै आएका छन् । स्थानीयबासी र मेला व्यवस्थापन समितिबीचको विवाद मिलाउने प्रयासमा आइतबार वार्ता गर्ने तयारी भैरहेका मेला व्यवस्थापन समितिका एक सदस्यले जानकारी दिए ।
तस्वीरः विकाश राैनियार
साभार : अनलाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !