बजारमा दैनिक ४० किलो सुनको माग छ। तर व्यापारीलाई सुन बेच्ने अनुमति पाएको निकायबाट १५ किलोसमेत बिक्न छाडेको छ। बाँकी सुनको खपत कसरी हुन्छ त ? तस्करीबाट। भन्सार शुल्क नतिरेको सुनबाट। एक किलो सुनको ५ लाख २० हजार रुपैयाँ भन्सार शुल्क तिर्नुपर्छ। सुन आयात गरेर बेच्न पाइने भनेको वाणिज्य बैँकले मात्रै हो। भन्सार तिरेको त्यस्तो सुन महँगो हुन्छ। नतिरेको तस्करीको सुन तोलामै करिब १ हजार रुपैयाँसम्म सस्तोमा पाइन्छ।
यसैलाई रोक्न प्रहरी लागेको छ। अहिलेमात्र होइन पहिलेदेखि नै। केही दिन यता पनि झ्याम्म झ्याम्म किलोका किलो सुन समातिएको समाचार तपाईँहरुले सुन्नुभएकै होला। यसरी सुन समातिँदा सुराकी दिनेलाई १५ प्रतिशत कमिसन सरकारले दिन्छ। यही कमिसनको लोभमा के-केसम्म भएका छन् भन्ने कुरा अहिलेको यो सुन सुराकी कान्डले खुल्दैछ।
भएछ के भने ३५ किलो सुन समातिँदाको एउटा केसमा सुराकीलाई बाइपास गरी प्रहरीले नक्कली सुराकी खडा गरी कमिसन पच पारेछन्। उनीहरुले संसदको सार्वजनिक लेखा समितिमा यसरी उजुरी दिए
भएछ के भने ३५ किलो सुन समातिँदाको एउटा केसमा सुराकीलाई बाइपास गरी प्रहरीले नक्कली सुराकी खडा गरी कमिसन पच पारेछन्। उनीहरुले संसदको सार्वजनिक लेखा समितिमा यसरी उजुरी दिए
३५ किलो सुनको १५ प्रतिशत कमिसन भनेपछि झण्डै २ करोड ३० लाख रुपैयाँ। अनि यत्रो धन देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ भने पुलिसको किन नहोस्।
लेखा समितिमा गृह सचिव र एआइजिपीलाई र्याखर्याख्ती पारेपछि बुधबार प्रहरी महानिरीक्षकलाई नै बोलाइएको थियो। आइजी उपेन्द्रकान्त अर्याललाई पनि यसरी प्रश्नमाथि प्रश्न गरी एक किलो सुन कान्डमा उनकै संलग्नताबारे औँला ठड्याए।
अहिलेे लेखासमितिमा उजुरी परेपछि मात्रै यो कुरा सार्वजनिक रुपमा बाहिर आएको हो। नत्र पुलिसले आफ्नै आफन्त, नातागोता, इस्टमित्रलाई सुराकी बनाएर १५ प्रतिशत कमिसन खाइरहेको कुरा नयाँ होइन।
अहिले उनीहरुले प्रमाण ऐन २०३३ अनुसार सुराकीको नाम सार्वजनिक गर्न नमिल्ने भन्दै ढाकछोप गर्न खोजिरहेको कारण पनि यही हो। यो सार्वजनिक हुने हो भने समाजले आदर्श मानेका हिरो पुलिस अफिसरका श्रीमतीहरुको नाम पनि त्यसमा भेटिनेछ, पत्रकारहरुको नाम पनि त्यसमा भेटिनेछ। उनीहरुकै आफन्त, नातागोताको नाम भेटिनेछ।
एक पत्रकार सुनाउँदै थिए- एयरपोर्टका एक जना हाकिम पुलिसले एक दिन फोन गरेर भाइ तपाईँको नाम पनि राखिदिएको छ है भनेर भनेछन्। बिचरा सोझो, कुरा बुझेनछन्। के हो कुरो भनेर सोधेपछि बल्ल ‘सुराकीमा क्या सुराकीमा, मिलाएर गर्नुपर्यो नि’ भनेर दिएछन्।
‘धत्, कसलाई सोधेर राख्नुभो, तुरुन्त हटाउनुस्। भरे मेरो नाम आयो भने ठीक हुनेछैन’ भनेर थर्काएपछि बल्ल नाम काटेछन्। ती पुलिस अधिकारी मनमनै भन्दै थिए होलान्, ‘मुला पत्रकार, बढी भाउ खोज्छ।’ हुन पनि कयौँ पत्रकारले खाइरहेकै छन् त्यसरी नै। यिनलाई भने आत्माले दिएनछ त्यसरी खान।
‘ए भाइ, घुस नखाउ पनि भन्ने। राज्यले दिने वैध कमिसन पनि नखाने त हामी। म त एक्लै होइन मिलाएर गर्नुपर्छ भन्ने मान्छे हो’ भन्दै ती अफिसरले उनलाई सम्झाउन खोजेका थिए रे।
अब अहिले लेखा समितिले यो सुन सुराकी कान्डलाई कहाँ लगेर टुङ्ग्याउने हो कुन्नि। सबका सब लागिरहेका होलान्, सुराकीको नाम चैँ सार्वजनिक हुन दिनु हुन्न, नत्र बर्बाद हुन्छ। यसका लागि के के मिलाउनु पर्ने हो सब मिलाउन बाँकी राख्दैनन् होला उनीहरुले पक्कै पनि।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !