टिफिनको पैसा बचाएर मसाज पार्लर पुग्छ, एउटा किशोर । अनि, ६५ वर्षको प्रौढ पनि पुग्छ त्यहाँ । तेलमालिस त बहाना न हो, उनीहरूको ध्येय हुन्छ देहसुख । राजधानीका मसाज पार्लर र डान्सबारमा मालिस र नृत्यका साथै अन्य धेरै थोक हुन्छन् । तथाकथित सभ्य समाजले नपचाउने काम गर्न बाध्य युवतीहरूका आफ्नै व्यथा छन् । बाँच्ने बाटोको खोजीमा उनीहरू त्यस्तो बाटोमा हिँड्न बाध्य छन्, जहाँबाट फर्किन सजिलो छैन । अर्जुन पौडेलले केही यस्ता पात्रसँग भेटेर उनीहरूको जगत्का पीडा र दुःखलाई आत्मसात् गरेका छन् ।
‘श्रीमान् कहाँ छन् ?’
एक्लै छोरी हुर्काइरहेकी देखेपछि गोर्खाकी शर्मिला (नाम परिवर्तन)को निजी जीवनमा छिमेकीले चासो राख्छन्।
छिमेकीले अनावश्यक चासो राखेको देख्दा उनलाई मुख छाडेर भन्न मन लाग्छ– ‘कहाँ–कहाँ मात्रै छैनन् ?’ तर, एक रातका श्रीमान्हरूका बारेमा छिमेकीले सोधेका होइनन् । सँगै जिउने र मर्ने कसम खाएको श्रीमान्को कुरा गरेका हुन्। उनी टार्छिन्, ‘कुवेतमा छन्। पैसा पठाइरा’छन्। अर्को साल आउँछन्।’
शर्मिलाका श्रीमान् नफर्केको त नौ वर्ष बितिसक्यो। श्रीमान्बारे जवाफ दिँदादिँदा हैरान भइन् भने एक–दुई वर्षको अन्तरालमा डेरा परिवर्तन गर्ने गर्छिन्।
विगत आठ वर्षदेखि ठमेलस्थित एक मसाज पार्लरमा काम गर्दै आएकी शर्मिलाले सुरूमा त आफू यौनकर्मी भएको स्विकार्न आनाकानी गरिन्। ‘होइन, म त्यस्तो काम गर्दिनँ, गर्नेले गर्लान्,’ भन्दै पन्छिन खोजिन्।
तर, उनको अस्विकारोक्तिलाई उनी काम गर्ने मसाज पार्लरको वातावरणले पनि साथ दिँदैनथ्यो। ठमेलको साँघुरो गल्लीभित्र रहेको एकनाले घरको दोस्रो तलामा रहेको मसाज पार्लरको काउन्टरमा अरू तीनजना केटी पनि थिए । नङपालिस लगाउँदै गरेका। एउटै कोठालाई बीचमा प्लाइउडले बारेर रिसेप्सन बनाइएको थियो। बीचमा पर्दाको ढोका। शर्मिलाले कुराकानी गर्न भनेर भित्र लगिन्। जहाँ दुईवटा खाट राखिएका थिए। बीचमा सानो टेबल थियो। टेबलमुनि रहेका एस्ट्रेहरू चुरोटका ठुटाले भरिएका थिए। चुरोटको चर्को गन्ध आइरहेको थियो भने ट्युबर्ग बियरका रित्ता सिसीहरू ढलिरहेका थिए। खाटका तन्ना मैला र दागैदागले भरिएका थिए।
केही बेरको भलाकुसारीपछि उनी सहज भइन्।
‘भनेर के हुन्छ र ? कतिलाई भनियो। आखिर के नै भयो र? केहीले त पत्रिकामा पनि छापिदिए। पुलिसले बित्थामा दुःख दियो,’ उनले भनिन्।
ताल–तालका ग्राहक
उनी आफ्नो जीवन र जगत्का बारेमा बिस्तारै खुल्दै गइन्। र, स्पष्ट पार्दै गइन्, ती एकरातका तालतालका ‘श्रीमान्’बारे ।
उनका ग्राहक शहरभरि छन्। को छैनन्? सेना, प्रहरी, सशस्त्र, प्रशासनका हाकिम, लाहुरे र विदेशी नागरिक पनि उनका ग्राहक हुन्। ६५–७० वर्षका बुढादेखि १३–१४ वर्षका ‘भाइभतिजा’ पनि आउँछन्। स्कूल ड्रेसमै आउँछन् र भन्छन्, ‘दिदी टिफिनको पैसा बचाएर आएको यहाँ मसाज हुन्छ।’ शर्मिला भन्छिन्, ‘सायद मसाज सेन्टरमा ‘अर्थाेक’ हुने उनीहरूले कतैबाट थाहा पाए र त्यसैले उनीहरू आए। खासमा उनीहरूलाई मसाज होइन, अर्कै चिज चाहिएको हुन्छ।’
ती स्कुले ठिटाहरूलाई उनी सम्झाएर पठाउँछिन्। ‘धेरै सानालाई त बाबु तिमीले सक्दैनौ। जाऊ, बुबा, अंकल र हजुरबुबा छन् भने पठाइदेऊ भनेर फर्काइदिन्छु,’ उनी हाँसिन्। उनले थपिन्, ‘हो भन्या, त्यति साना केटाका पनि ढाड दुख्छ त? त्यस्ता पनि आउँछन्।’
युवाहरूको शैली उनलाई त्यति मन पर्दैन। ‘सीधै यहाँ मसाज हुन्छ कि ससाज ? भन्दै छिर्छन् । भेट्न पाएको हुन्न अँठ्याउन खोजिहाल्छन्,’ उनले अनुभव बाँडिन्। उनीकहाँ किचकिचे र उधारो खोज्ने खालका ग्राहक पनि आउँछन्। त्यसैले युवाहरूबाट पहिल्यै आधा रकम असुल्ने नियम छ उनीकहाँ। ‘एकजना केटाले सेक्स गर्न खोज्यो,’ उनले सुनाइन्, ‘मैले यति पैसा चाहिन्छ भनेँ। उसले हुन्छ भन्यो। साहुनीले आधा पहिल्यै माग् भनिन्। उसले आधा दियो तर धेरै बेर टिक्न सकेन। छिट्टै थाक्यो। उसले बाँकी पैसा दिन मानेन।’ त्यस्ताबाट पैसा असुल्ने आइडिया पनि छ उनीसँग, ‘मैले उसका सबै लुगा लुकाइदिएँ।’
एकथरी केटाहरू कन्डम लगाउन नमान्ने खालका पनि हुन्छन्। ‘काउन्सिलिङ’ गर्नुपर्ने हुन्छ त्यस्तालाई। रक्सीको सुरमा ‘केही हुन्न, मज्जा आउँदैन, कन्डम नलगाई गर्छु’ भन्ने खालका धेरै हुन्छन्। ‘उनीहरूसँग तपाईंलाई रोग नभए पनि हामीलाई भएको हुन सक्छ। सर्यो भने के गर्नुहुन्छ भनेपछि चेत खुल्दो रहेछ, लगाउँछन्,’ उनले भनिन्।
उसो त शर्मिलालाई सुरुमा कन्डम लगाइदिन पनि आउँदैनथ्यो। हातैभरि चिल्लो हुन्थ्यो। ‘मुखले टोकेर खोल्थेँ,’ उनले भनिन्, ‘मुखभरि पनि चिल्लो लाग्थ्यो,’ उनले सुनाइन्, ‘सुरुमा त कन्डमै नलगाई कति जनासँग सम्पर्क भयो, भयो।’ तैपनि कुनै यौन रोग वा एचआईभी नभएको उनले दाबी गरिन्, ‘म नियमित जँचाइरहेको छु। त्यस्तो केही छैन।’
बुढा ग्राहक भने विनम्र हुने उनले बताइन्। ‘उनीहरू चाहिँ सेक्सका लागि रिक्वेस्ट गर्छन्,’ उनले भनिन्।
प्रहरीसँग उनको गुनासो छ। ‘कति प्रहरीहरू मस्ती गर्छन्, पैसा माग्यो भने भ्यान बोलाउने धम्की दिन्छन्। कतिले त रेड नै गराउँछन्,’ उनले भनिन्। अहिले शर्मिलालाई यी सब घटनाक्रमको बानी परिसकेको छ। ‘अहिले त मलाई डर लाग्दैन,’ उनले भनिन्, ‘म त उनीहरूसँग बाझ्छु।’
उनका आँखामा सरकारी वा अरू जागिरे चाहिँ एकदम इमानदार छन्। ‘भनेकै तिर्छन् र भनेकै समयमा छाड्छन्,’ उनले भनिन्।
उनका नियमित ग्राहक पनि छन्। कहिलेकाहीँ राम्रै पैसा दिन्छन्। कहिले उधारोमा यौन प्यास मेटाएर जान्छन्। उनलाई बिजनेसमा उधारो नचलाई उँभो लागिँदैन भन्ने ज्ञान छ। ‘करिब ४० प्रतिशत जति त नियमित ग्राहक छन्। ६० प्रतिशत जति नयाँ हुन्छन्,’ उनले सुनाइन्।
प्रवेश
शर्मिला २० वर्षकी थिइन्, मसाज पार्लरमा प्रवेश गर्दा। ‘एकजना परिचित दिदीले मारवाडीको घरमा भाँडा माझ्ने, लुगा धुने काम लगाइदिन्छु भनेर ल्याएकी थिइन्,’ उनले भनिन्, ‘घरमा खाने सामल थिएन। दूध नपुगेर छ महिनाकी छोरी दिनरात रुन्थी। श्रीमान् नफर्केको एक वर्ष हुन लागिसकेको थियो। भाडा नबुझाएको पनि छ महिना भइसकेको थियो।’
घरबेटीको दिनदिनैको किचकिचले पनि हैरान भैसकेकी थिइन्। तत्काल भाडा नदिए कोठमा ताला लगाइदिने धम्की दिन्थे घरबेटी। श्रीमान्को पत्तो थिएन ।
‘निकै रोएकी थिएँ म त्यस दिन, मसाज पार्लरबाट फर्किएपछि,’ उनले भनिन्, ‘त्यसपछि त १५ दिन फर्किनँ।’ पहिलो दिन ग्राहकले उनलाई १२ सय रुपैयाँ थमाएका थिए। मसाज पार्लरका साहूले कमिसन पनि मागेनन्।
पन्ध्र दिनपछि साहू उनलाई आफैँ लिन गए। छोरी पाल्न र बाँच्नका लागि मात्रै भए पनि उनले काम गर्नुपर्ने भयो। उनीसँग अर्को विकल्प थिएन। पहिलो दिन लिएको पैसा पनि बाँकी थिएन। एक–दुई पटकका लागि भनेर गइन् उनी र अन्ततः पेशेवर यौनकर्मी बनिन्।
अठ्ठाइस वर्षीया शर्मिला १४ वर्षदेखि माइती फर्केकी छैनन्। न त श्रीमान्ले कहिल्यै आफ्नो घर देखाए। चौध वर्षको उमेरमा साथीसँग फिल्म हेर्न हिँडेकी उनी गाउँ फर्केकी छैनन्। न माइतीले नै खोजी गरे। श्रीमान् बाहुन, उनी क्षत्री। श्रीमान्को परिवारले स्विकारेन।
चाबहिलमा कोठा लिएर राखे उनका श्रीमान्ले। उनी स्कुल पढाउँथे। पछि क्याम्पस पनि पढाए। उनको कमाइले दुईजनाको राम्रै गुजारा चलेकै थियो। बच्चाबच्ची थिएनन्। श्रीमान्कै करमा उनले १० कक्षासम्म पढिन्। एसएलसी भने कटाउन सकिनन्। घर परिवारले नस्विकारे पनि श्रीमान् त आफ्नो छँदैछ जस्तो लाग्यो उनलाई। उनले श्रीमान्लाई घर लैजान र उनको अधिकार दिलाउन कहिल्यै जिद्दी गरिनन्। तर, छ वर्षपछि जब उनी गर्भवती भइन्, श्रीमान्सँग सम्बन्ध बिग्रियो। उनी डेरामा कम आउन थाले। पछि बिस्तारै माया नै मारे। उनी छ महिनाकी गर्भवती थिइन्। त्यस्तो हालतमा छोडेर श्रीमान् बेपत्ता भए।
निस्कनै गाह्रो
‘यो पेशा भनेको अमेरिकाजस्तै हो। हत्तपत्त मान्छे पस्दै–पस्दैन, पसेपछि निस्कनै मुश्किल हुन्छ।’
डान्सबारमा काम गर्ने कास्कीकी २१ वर्षीया इशा (नाम परिवर्तन) भन्छिन्। उनका अनुसार अमेरिका गएको मान्छे पनि फर्केर आएको निकै कम उदाहरण छन्। ‘यो पेशाका धेरे मान्छे पेशा परिवर्तन गर्न चाहन्छन् तर सक्दैनन्। सजिलो कमाइ एउटा कारण होला। तर, सबैले पैसा नै कमाएका छन् भन्ने होइन,’ उनले भनिन्।
उनका अनुसार एउटा चुरोट र एक कप चियामा सेक्स गर्नेहरू पनि छन्। ३०–४० हजार लिनेहरू पनि छन्। ‘काठमाडौँमा बाँच्न महिनामा कम्तीमा १०–१२ हजार रुपैयाँ चाहिन्छ।’
उनले डान्सबारमा काम गर्न थालेको छ वर्ष भयो। यस बीचमा केही पनि कमाएकी छैनन्। यो पेशामा पस्नु उनको पनि बाध्यता थियो। आमा बिरामी थिइन्। उपचार गर्ने पैसा भएन। उनी सानै छँदा बुबा बिते। पोखरामा एउटा गैरसरकारी संस्थामा १४ वर्षकै उमेरदेखि काम गर्न थालिन्। त्यो संस्थाले पनि पढ् भनेन। मासिक १५ सय दिन्थ्यो। पैसाले पुगेन। केही समय काम गरेपछि साथीसँग काठमाडौँ आइन्। र डान्सबारमा काम गर्न थालिन्। त्यही बारमा काम गर्नेसँग माया बस्यो। १७ वर्षमा छोरी जन्मिइन्। श्रीमान्कोे कमाइले उनलाई कोठामा राखेर पाल्न पुगेन। उनले जागिर पनि छोडे। सम्बन्धमा तिक्तता आयो। श्रीमान् छोरी टिपेर हिँडे। कता हिँडे, इशालाई आजसम्म पत्तो छैन।
एक–दुई पटकपछि छोडिदिन्छु भनेर मसाज पार्लर छिरेकी शर्मिलाले यहीँ आठ वर्ष बिताइसकिन्। ‘यस्तो ठाउँमा आउने चाहना कसको हुन्छ र ? उनले आँखा रसिला पार्दै भनिन्।
आँखाभरि सपना
शर्मिला र इशा दुवैलाई थाहा छ– यो पेशा भनेको गालामा रगत हुञ्जेलमात्र हो। अनि त्यसपछि?
दुवैका सपना छन्, योजना पनि छन्।
छोरी हुर्कंदै छे। छोरीलाई राम्रै स्कुलमा भर्ना गरेको छु,’ शर्मिलाले भनिन्, ‘अर्काे साल डीएभी स्कुलमा भर्ना गर्ने सोच्दै छु। उसलाई शिक्षादीक्षा दिन्छु। पछि सुख देली नि!’ अहिले भर्ना पनि गरिएको छ। ‘अर्को साल डिएभी स्कूलमा भर्ना गर्ने सोच्दै छु,’ उनले आफ्ना सपना सुनाइन्। छोरीले राम्रो पढेपछि आफूलाई भविष्यमा सुख दिने आशा छ उनलाई।
उनको योजना छ– एकदुई वर्षमै यो काम छोड्ने। ‘मसाज पार्लरमा २५ प्रतिशत शेयर हालेकी छु,’ शर्मिलाले भनिन्, ‘एकजना पार्टनरले हालिदिएको।’
इशाले ब्युटिसियनको तालिम पनि लिएकी छिन्। ‘केही वर्ष विदेश बसेर अलिकति कमाएर यहाँ ब्युटी पार्लर खोल्ने विचार छ,’ उनले भविष्यको योजना बताइन्।
२७ हजारभन्दा बढी यौनकर्मी
शर्मिला र इशाजस्ता यौनकर्मी नेपालभरि कति होलान्? सन् २०१२ मा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गरेको अध्ययनले नेपालमा २७ हजार १ सय ७५ जना यौनकर्मी महिला रहेको अनुमान गरेको थियो। तीमध्ये अधिकांश राजधानीमा सक्रिय छन्। उनीहरूका ग्राहक सात लाख भन्दा बढी भएको केन्द्रको अनुमान छ।
‘काम देखाउन छापा मार्दैनौँ’
वीरेन्द्रबहादुर शाही, प्रमुख, महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टे
मेरो क्षेत्रमा साना–ठूला गरी ५८ वटा मसाज पार्लर छन्। त्यसमा स्पादेखि सामान्य तेल मसाज गर्नेसम्म पर्छन्। केही मसाज पार्लर छिट्टै बन्द हुने खालका पनि हुन्छन्।
हामीले समय–समयमा सादा पोशाकका प्रहरी परिचालन गरेर पनि निरीक्षण गर्ने गरेका छौँ। आइतवारमात्रै पनि जिल्ला प्रशासन कार्यालयको एक टोली निरीक्षणका लागि आएको थियो। हामीले २९ वडाका सामुदायिक प्रहरी, जिल्ला प्रशासनका साथीहरू र हाम्रो टोलीले संयुक्त अनुगमन गर्यौँ। त्यसमा त्यस्तो खासै बदमासी पाइएन।
मसाज पार्लरमा मसाज गर्ने बहानामा यदाकदा यौन व्यापार पनि भएका छन्। हामीले कतिलाई रंगेहात पनि पक्राउ गरेका छौँ। उनीहरूलाई कारबाही पनि गरेका छौँ। मसाज सेन्टर र डान्सबारमा काम गर्ने कम उमेरका केटीहरूलाई उद्धार गरेर घर पठाएका छौँ। कतिलाई माइती नेपालमा पनि बुझाएका छौँ।
त्यस्ता ठाउँमा काम गर्ने महिलाका पनि आफ्नै खाले बाध्यता रहेको हामी पाउँछौँ। सानै उमेरमा प्रेममा परेका, श्रीमान्ले छोडेका, आर्थिक अवस्था कमजोर भएका र नपढेका महिला यस पेशामा संलग्न छन्। श्रीमान्सँग सम्बन्ध विच्छेद भएका कोही चाहिँ बच्चा पाल्नका लागि यस्तो पेशा गर्दा रहेछन्।
कम उमेरका केटीहरू अहिले खासै छैनन् यो पेशामा। त्यस्तो छन् भन्ने जानकारी हुनेबित्तिकै हामी तत्कालै उद्धार गर्छौं। कसैले जबर्जस्ती काममा लगाएको छ, ललाई–फकाई ल्याएको छ र यौन व्यवसाय गर्न लगाएको छ भने मानव तस्करी र बेचबिखनअन्तर्गत मुद्दा लाग्छ।
प्रहरीले काम देखाउन मसाज पार्लरमा छापा मार्छ, पक्राउ गर्छ भन्ने कुरा सही होइन। हामीसँग देखाउनका लागि थुप्रै काम छन् र गर्नुपर्ने काम पनि पर्याप्त छन्। जहाँसम्म केही प्रहरीले यौनकर्मीसँग हप्ता पनि असुल्छन् भन्ने आरोप छ, त्यसमा कुनै सत्यता छैन।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !