झिल्को पछ्याउँदै त्यहाँ पुग्छन्। उनीहरूलाई सशुल्क फारम भर्न लगाइन्छ, सशुल्क तालिम लिन लगाइन्छ। अनि भुलाइन्छ र झुलाइन्छ। शैक्षिक प्रमाणपत्र धरौटी राखेर झोलाभरि सामान हालेर गल्लीगल्लीमा बेच्न पठाइन्छ। महिना मर्छ, तर तलब दिइँदैन। राजधानीमा अहिले केहीका लागि नयाँ रोजगारी सिर्जना भएको छ। त्यो हो– बेरोजगार ठग्ने। अम्मर जिसीले बेरोजगारको भेषमा यो धन्दाको खोजीनिती गरेका छन्।
एक दैनिक पत्रिकामा छापिएको विज्ञापनले आकर्षित गर्यो, सिन्धुपाल्चोकका सर्वजीत रावत (२८) लाई। मासिक ३३ हजार तलब पाउने सपना देखेर 'नेतृत्व विकास' तालिम लिए। नयाँ बानेश्वरको इन्टरनेसनल फर्वार्ड नामक कम्पनीले उनलाई सुरुमै पाँच सयको फारम भरायो। त्यसपछि 'तालिम लिए जागिर पक्का' भन्दै पाँच हजार रुपैयाँको तालिम पनि गरायो। 'उतिबेला अफिसमै बसेर आठ घण्टा काम गरे ३३ हजार दिन्छु भन्यो। अहिले त हामीले भनेजति सामान बेचेमात्र पूरा तलब दिने भनेर कुरा फेर्यो,' अहिले उनी पछुताएका छन्, 'दुई महिना खेरै गयो। पकेट खर्च पनि गुमाइयो। अब त त्यस्ता कम्पनीमा भुलेर पनि छिर्दिनँ।'
एक राष्ट्रिय दैनिकमा छापिएको विज्ञापन पछ्याउँदै चाबहिलस्थित 'इन्टरनेसनल आईटी मार्केट' पुगेका रोज शाही (२३) सशुल्क फारम भरेर सीधै अन्तर्वार्ता दिन तम्से। कम्प्युटरको बेसिक कोर्स मात्र गरेका थिए उनले। 'इन्टरनेटको राम्रो ज्ञान भयो भनेमात्र पूरा तलब पाइन्छ' भनियो अन्तर्वार्तामा। त्यसका लागि के गर्ने त ? उनलाई सात दिनको कोर्स गर्न सुझाइयो। तीन हजार रुपैयाँ तिरेर कोर्स गर्दा त्यत्रो कमाइ हुन्छ भने को पछि पर्ला ? कोर्स सकेपछि उनलाई एक वेबसाइटमा 'क्याप्चा वर्ड' टाइप गर्न दिइयो। हजार शब्द टाइप गरे, एक डलर कमाइ। सुरुका केही दिन त्यही डलरले दंग पा¥यो उनलाई। प्रत्येक दिन साँझ एक–डेढ सय रुपैयाँ बुझ्दैमा मक्ख थिए उनी।
मासिक दुईतीन हजार कमाउँदैमा तीन महिना बित्यो। दिनभरि काम गरेर एक–डेढ सय ! 'पछि त त्यही पैसा पनि भोलिभोलि भनेर दिनै छाडियो,' बल्ल घैँटोमा घाम लागेको बताउँदै उनले भने, 'उनीहरू त ठग पो रहेछन्। काम गरेको पैसा पनि नदिने। सपना भने ३०–४० हजारको देखाउने। खाना, खाजा, यातायात खर्चको त कुरै छैन। हामी दिनभरि दुःख गर्ने। मालिकले आफ्नै खातामा पैसा जम्मा पारेर हामीलाई चारो हालेजस्तो मात्र गर्ने।' अहिले उनी काम गर्न छाडेर पुरानो पैसा असुल्ने दाउमा छन्।
रोजको पीडाबारे बुझ्न कार्यालय पुग्दा त्यहाँको हाकिम बताउने रामकुमार बैदारले उल्टै थर्काए। 'हाम्रो व्यवसायमा डिस्टर्ब गर्ने तपाईं को हो ?' उनी झर्के, 'उसले टार्गेट मिट गर्न सकेन। काम गर्न अल्छी गरेपछि बाँकी पैसा पनि नदिएको हुँ।' उनले आफ्नो अफिसले इन्टरनेटबाट संसारका जुनसुकै कुनाका काम गर्ने अवसर जुटाइरहेको दाबी गरे। 'नेपालका बेरोजगारहरूलाई काम दिएकै पच्दैन। काम पाएनौँ मात्र भनेर कचकच !' उनी नेपालको बेरोजगारी घटाउन आफूले ठूलै संघर्ष गरेको बताउन पछि पर्दैनन्, 'दुईचार हजार खर्चेर हजारौँ कमाइन्छ भने किन कन्जुस्याइँ गर्ने ?' कार्यालयको प्रयोगात्मक कोठामा 'दुईचार' हजार तिरेका १० जनाभन्दा बढी युवायुवती मासिक ३०–४० हजारको सपना बुन्दै कम्प्युटरमा भुलिरहेका थिए।
अनलाइन र अफलाइन जबकै आश्वासन दिएर ठग्ने कम्पनीविरुद्ध केहीअघि झापाका विद्यार्थीहरूले पत्रकार सम्मेलन गरेका थिए। सेलो नामको कम्पनीले मासिक ७० हजारको लोभ देखाएर १५ हजार तिराएर तालिम गरायो। दैनिक डेढ सयमात्र कमाउन सकेपछि विद्यार्थीहरू आक्रोशित भएका थिए।
पत्रिकाको विज्ञापनलाई पछ्याउँदै 'अनलाइन जब'को आशमा धाउँदाधाउँदै थाकिसकिन्, बुटवलकी कामना राना (२९)। 'कम्प्युटरमा डिप्लोमा कोर्स गरे जागिर पक्का' भनेर उनलाई एक कम्पनीले पाँच महिना झुलायो। पाँच हजार तिरेर कोर्स गर्दा उनको हात लाग्यो शून्य। 'अरू कति ठाउँमा गइयो, गन्ती नै छैन। आवेदन फारम र कोर्स गर्दागर्दै भएको २० हजार पनि सकियो,' उनले भनिन्, 'पत्रिकामा जागिर फालाफाल खुल्छन् भनेर राजधानी आइयो। जताततै ठगका फेला पर्नुभन्दा त घरै फर्किने तयारीमा छु।' विज्ञापनमात्रै दिएर कम्पनी चलाउनेहरू उनले चिनिसकिन्। भन्छिन्, 'कर्मचारी चाहियो भनेर विज्ञापन गर्ने। फारम शुल्क र कोर्स गराउने भनेर पैसा असुल्ने। जागिरसागिर केही पाइने होइन।'
०००
'चक्रपथको मल्टिनेसनल कम्पनीलाई कर्मचारी तु आवश्यकता। तलब मासिक रु. ३६, ५००।' दैनिक पत्रिकामा यस्तो 'लोभलाग्दो' विज्ञापन देखेपछि आवेदन दिन नतम्सिने बेरोजगार को होला ? कमाउँदै, पढ्दै गर्ने सपना बुनेर सल्यानबाट राजधानी पसेका सोहन रोकाय (२५) लाई विज्ञापनले लोभ्याइहाल्यो। त्यसैमा उल्लेखित नम्बर आफ्नो मोबाइलमा डायल गरिहाले। 'सक्कली प्रमाणपत्रसहित आजै आउनुभयो भने छनोट हुने सम्भावना छ है !' कार्यालयको ठेगाना बताउँदै उनलाई 'आजै आएर सीधै अन्तर्वार्ता दिन' लोभ्याइयो। गल्लीगल्ली चहार्दै कार्यालय भेट्न सफल सोहन सशुल्क आवेदन फारम भरेर हतारोमै अन्तर्वार्ता लाइनमा हाजिर भइहाले। तीन जनापछि उनको पालो आयो। सुरुमा आफ्नो अध्ययन र अनुभवको पृष्ठमूमि बताउन भनियो। बीबीएस पढ्दै गरेका सोहनलाई अन्तर्वार्ताका क्रममा 'ल जागिर पक्का' भनेर हौस्याउँदै एउटा सर्त तेर्साइयो, 'तपाईंका प्रमाणपत्रहरू कार्यालयमै रहन्छन्। हाम्रा उत्पादन बेच्न जानुपर्छ। महिना पुगेकै दिन तलब पाउनुहुन्छ।' भोलिपल्टको परामर्श कक्षापछि उनी काममा खटिए। घरघरमा पुगेर बेच्नुपर्ने सामानको झोला भिरेर। दैनिक पाँचसात सयको सामान बेचेर कार्यालयमै पैसा बुझाउँथे उनी। महिना पुग्यो। कार्यालयको हाकिमसँग पैसा मागे। 'तपाईंले टार्गेट पूरा गर्न सक्नुभएन। यसपटक तीन हजार मात्र तलब,' भने हाकिमले। त्यत्रो दुःख गरेर तीन हजार ! उनको पारो तात्यो। 'अब म काम गर्दिनँ भनेर प्रमाणपत्र फिर्ता मागेँ। तर, हाकिमले त त्यो झोलाको सबै सामान नबेचेसम्म प्रमाणपत्र फिर्ता नगर्ने भन्यो,' उनी अहिले प्रमाणपत्र फिर्ताकै लागि धाइरहेका छन्। झोलाको सामान उनका लागि निल्नु न ओकल्नु भएको छ।
बेरोजगार ठग्ने बेरोजगार
ग्वार्कोस्थित आत्मनिर्भर केन्द्र इन्टरनेसनलले कर्मचारी चाहियो भनेर विज्ञापन प्रकाशन गर्न लागेको एक वर्ष भइसक्यो। एक दैनिक पत्रिकामा प्रत्येक दिन विज्ञापन छापिन्छ। रोजगारीको खोजीमा भौँतारिरहेका तन्नेरीहरू दैनिक धाइरहेका देखिन्छन्। कर्मचारी पूर्ति कहिल्यै नसकिने कस्तो कार्यालय रहेछ ? बुझ्न खोज्दा थाहा भयो, यो त 'बेरोजगार ठग्ने अखडा' मात्र रहेछ। आवेदन फारमको साढे तीन सय रुपैयाँ। दिनमा एक जनामात्र नयाँ आवदेक आए पनि मासिक १० हजार बढी आम्दानी हुने। अन्तर्वार्ता भइसकेपछि 'तपाईंको नाम निस्क्यो भने फोन गर्छाैं' भन्दै बिदा गर्ने। 'तपाईं पनि ठगिन आउनुभो ?' अफिसछेउका एक पसलेले शुक्रवारकर्मीलाई सुरुमै सजग बनाए।
कार्यालय प्रमुख प्रभु सिग्देल आफूहरू मल्टिनेसनल कम्पनीको प्रतिनिधि भएकाले यहाँ जहिल्यै कर्मचारीको खाँचो परिराख्ने बताउँछन्। 'नाम निस्केका जतिले हाम्रा उत्पादन बेच्नुपर्छ। धेरै आवेदकहरू मार्केटिङ गर्न झ्याउ मानेर कामै गर्दैनन्,' नचाहँदा–नचाहँदै उनी वास्तविकता ओकल्छन्, 'आवेदकमध्ये पाँच प्रतिशतले मात्र रेगुलर काम गर्छन्।' यहाँबाट धेरै जना ठगिएको गुनासो गर्छन् नि भन्ने जिज्ञासमा उनी भन्छन्, 'अरूले राम्रो गरेको त कसले देख्न सक्छ र ? राज्यबाट स्वीकृत कम्पनी हो हाम्रो। कसरी ठग्छ ?' एक छिमेकीका अनुसार सञ्चालक सिग्देल पनि केही वर्षअघिसम्म रोजगारीका लागि निकै भौँतारिए। 'आफू बेरोजगार हुँदा ठगिएकै जसरी अरू बेरोजगारलाई ठग्न यो कम्पनी खोल्यो,' छिमेकीले भने, 'यहाँ आउने कसैले जागिर पाएको मैले देखेको छैन अहिलेसम्म।'
०००
'७५ कर्मचारी अर्जेन्ट' भनेर छापिएको विज्ञापनलाई पछ्याउँदै जाँदा चाबहिल, स्तुपापछाडि बोलाइयो। 'नेपाल सरकारबाट मान्यताप्राप्त भर्खरै सञ्चालनमा आएको कम्पनीलाई कर्मचारी आवश्यक। काम अफिसभित्रै। अनुभवको कुनै चिन्ता छैन। जब ग्यारेन्टी। पार्टटाइम १५,५००। फुलटाइम ३७,५००। खानाखाजा, गाडी भाडा, बोनस दिइने। बिहान, दिउँसो, साँझ, राति जुनसुकै सिफ्ट।' विज्ञापन यस्तो थियो।
त्यहाँ पनि 'सक्कली प्रमाणपत्र ल्याउनुस् है' भनिएको थियो। कार्यालयमा पुग्दा एक युवती अन्तर्वार्ता दिइरहेकी थिइन्। उनलाई फारम भराउन हरसम्भव 'कन्भिन्स्ड' गर्ने प्रयत्न भइरहेको बाहिरै सुनिन्थ्यो, 'मार्केटिङ होइन बाबा। विश्वास गर्नुस्। कार्यालयको पूरै जिम्मेवारी तपाईंकै हुन्छ।'
'बेरोजगार' शुक्रवारकर्मीलाई 'एकछिन पल्लो कोठामा कुर्न' भनियो। तीनचारवटा कुर्सी मात्र राखिएको त्यो कोठामा एउटा ठूलो कार्टुनको डस्टबिन थियो। जसमा सयौँ बेरोजगारका प्रमाणपत्रको फोटोकपीको थुप्रो पोखिनै लागेको थियो। च्यातिएका आवेदन फारममा टालिएका थरीथरी फोटा टल्किरहेका थिए।
युवतीको अन्तर्वार्ता सकिएपछि शुक्रवारकर्मीलाई भित्र बोलाइयो। सक्कली प्रमाणपत्र नल्याएकोमा खिन्नता व्यक्त गर्दै आफ्नो नाम आशिष थापा बताउने 'ब्रान्च मेनेजर'ले भने, 'बानेश्वर, कोटेश्वर, ग्वार्कोलगायत विभिन्न चोकमा खुलेका हाम्रा नयाँ शाखामा व्यवस्थापनको पूरा जिम्मेवारी सम्हाल्ने कर्मचारी चाहिएको छ। त्यसमा काम गर्न इच्छुक हुनुहुन्छ ?' कामचाहिँ के गर्नुपर्छ ? 'जिम्मेवारी वहन गर्नुपर्छ,' उनी घरीघरी यही वाक्यांश दोहा¥याउँछन्। काम के हो भन्ने नै स्पष्ट पार्दैनन्, 'मज्जाले जिम्मेवारी वहन गरेपछि तोकिएकै तलब पाउनुहुन्छ। अरू केही गर्नुपर्दैन। जिम्मेवारी मात्र वहन गर्ने।' झिँजो लगाउने लामो बातचितपछि अन्तिममा उनी मार्केटिङकै कुरा गर्छन्, 'हाम्रो कम्पनीले उत्पादन गरेका सामान उपभोक्तासम्म पु¥याउने व्यवस्था मिलाउनुपर्छ। हामी तपाईंलाई मेनेजर बनाउँछौँ।' यो कम्पनी पनि फारम भराउँदै बेरोजगार झुलाउनै खोलिएको हो भन्ने प्रस्ट थियो।
०००
चाबहिलकै एउटा अर्को कम्पनीमा 'जागिर खोज्दै' गइयो। जहाँ सुरुमै हौस्याउन खोजिन्छ, 'तपाईंको यस्तो एट्राक्टिभ पर्सनालिटीलाई त सुरुमै ३० हजारभन्दा माथि दिन्छ कम्पनीले। फारम भरिहाल्नुस्। आज अन्तिम दिन हो। दुईतीनजना नआएको हुनाले मात्र तपाईं भाग्यमानी बन्नुभएको हो।' प्रभात इन्टरनेसनल नामको कम्पनीका सुपरभाइजर सुनील ठाकुर पाँच सय मूल्यको फारम भराउन बहुत प्रयास गर्छन्। 'कुन पोस्टको जागिर खानुहुन्छ ?' उनी सोध्छन्, 'जुन पोस्टमा भने पनि पक्का हुन्छ। घरमै बसेर पनि डलर कमाउन सकिने उपाय सिकाउँछौँ हामी।' 'डलर कमाउने' कोर्सका लागि आठ हजार रुपैयाँ खर्च हुने उनले बताए।
बेरोजगार भेला पार्ने टेक्निक
एक पत्रिकाको वर्गीकृत डिस्प्लेमा छापिएको थियो, 'सुकेधारामा मासिक ५० हजार तलब।' विज्ञापनमै दिइएको नम्बरबाट कार्यालयसम्म पुग्दा थाहा भयो, त्यो त लाइफ इन्सुरेन्स कर्पोरेसनले अभिकर्ता मागेको विज्ञापन थियो। जुम्ला घर बताउने दुई युवालाई उनी दंग पारिरहेका थिए, 'सरकारी हो। भारत सरकारसँग मिलेर खुलेको। तपाईंले जुम्लामै शाखा लिएर पनि काम गर्न सकिन्छ। यहीँ पनि लाखौँ कमाउने पक्का छ।' शुक्रवारकर्मीलाई पनि आकर्षित गर्ने प्रयास गरे। 'अन्तिम समयमा आउनुभाछ। फारम भरिहाल्नुस्। भोलिदेखि तालिम छ,' शाखा प्रमुख नरप्रसाद सिटौलाले भने। आफ्नै कार्यकक्षमा आयोजना हुने तालिमका लागि १५ सय रुपैयाँ तिर्नुपर्ने उनले बताए। उनी ग्यारेन्टी दिन तम्सिन्छन्, 'चार लाखको बिमा गर्नुस्,एक लाख तपाईं नै लिएर जानुस्। कमाइ लाखभन्दा कम नहुने ग्यारेन्टी छ।' तपाईंको विज्ञापन टेक्निक मन पर्यो भन्दा उनको अनुहारले फुर्किएको संकेत गर्छ, 'यो विज्ञापनले धेरैलाई प्रभावित गरेको छ। फेरि सानो विज्ञापनमा खर्च पनि कम हुने।' अभिकर्ता चाहियो भनेर गरिने विज्ञापनबाट युवाहरू प्रभावित नहुने बुझाइ छ उनको।
'ललितपुरलाई कर्मचारी चाहियो। ८० हजार तलब मासिक।' यो विज्ञापनदाता कम्पनी कामदार विदेश पठाउने मेनपावर पो रहेछ। मेनपावरमा कामदार आउन छोडेपछि नयाँ टेक्निक लगाएर यो विज्ञापन गरिएको रहेछ। त्यहाँ पुगेपछि फर्केका युवा राम चौधरी भन्छन्, 'के रहेछ भनेर बुझ्न गा'को। दलालकै फेला परिएछ।' मासिक ८० हजार तलब दिने गरी कतारबाट सेक्युरिटी गार्डको माग भएको छ भनेर आफूलाई लोभ्याएको उनले बताए। 'हामी बेरोजगारहरूलाई रनभुल्ल पार्ने टेक्निक धेरै गर्न लागे ठगहरू,' उनी आजित भइसके विज्ञापन हेर्दै। विज्ञापनले भरिएको पत्रिका हातमा समाएर काम खोज्दै हिँड्न थालेको दुई वर्ष भइसक्यो। कामको टुंगो नलागेको बताउँदै चौधरीले अब भारत पलायन हुन लागेको जानकारी दिए।
यस्ता विज्ञापन पछ्याउँदै कम्पनी धाउनेको लर्को लाग्छ। कसैलाई भीड जम्मा पारेर आफ्नो शक्ति प्रदर्शन गर्नुछ भने 'लाखौँ तलबसहित रोजगारी' भन्दै वर्गीकृत विज्ञापन गर्दा हुन्छ। लाखौँ तलबको आशमा उनीहरू फोन गर्दै जहाँ भन्यो त्यहीँ थुप्रिहाल्छन्। यस्ता टेक्निकले लाखौँ कमाउने कम्पनी पनि थुप्रै भइसके राजधानीमा।
०००
बसुन्धरास्थित डिनिसा इन्टरनेसनल सीप विकास केन्द्रमा बोलाइयो। मूलगेटमा जब सेन्टरको बोर्ड थियो। जागिर खुवाउने पनि सेन्टर। यो बोर्डभित्रको एक मेनपावरले बेरोजगार आकर्षित गर्न राखेको रहेछ। त्यसैमाथिको डिनिसामा पुग्दा त्यहाँ पनि 'घरमै बसीबसी जब' बारे दुई गृहिणीसँग बातचित भइरहेको थियो। 'तपाईं जस्तो काम खोज्नुहुन्छ, त्यस्तै काम पाइन्छ। अनलाइनमा गर्ने कि घरमै गर्ने ?' भित्र एक महिला गृहिणीहरूलाई आकर्षित गर्दै थिइन्, 'यही घरको घरबेटी आमाले पनि महिनामा हजारौँ कमाइराख्नुभा'छ यहीँबाट सिकेर। तपाईंहरू पनि कमाउन सक्नुहुन्छ।' उनले शुक्रवारकर्मीलाई पनि 'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको काम रोजेरै गर्न' सुझाइन्।
कलंकीस्थित जब नेपाल नामक कम्पनीमा पुग्दा त्यहाँको दृश्य रोचक पाइयो। चारतले घरको माथिल्लो तला भाडामा लिएर बेरोजगार भुलाउने प्रयास भइरहेको थियो। छोराछोरी खेलाएर बसिरहेकी एक अधबैँसे महिला बोलिन्, 'तपाईंलाई जागिर चाहिने हो ?' उनले छोराछोरीलाई बाहिर पठाइन् र 'काउन्सिलिङ' थालिन्, 'कार्यालय आउनै नपर्ने काम हो। मासिक ५० हजारभन्दा बढी कमाउन सकिन्छ। फारम आजै भर्नुस्। भोलि प्याक हुन सक्छ। फेरि यसमा काम गर्न चाहनेले भोलि भन्नु हुन्न। भोलिवाद मुर्दावाद भन्नुपर्छ।' उनका कुरै रोचक थिए। पत्रिकामा विज्ञापन दिएकै भरमा 'कम्पनी' चल्छ भने उनलाई पनि के दुःख गर्नुप¥यो ! फारमको चार सय मूल्य थियो। यसलाई अफिस हो भनेर कसले पत्याउला ? छेउमै भान्सा थियो। तैपनि बेरोजगारको आवतजावत भइरहेकै थियो।
०००
काठमाडौँमा यस्तै अनलाइन जबको लोभमा फसेका व्यक्ति हुन्, सुरेन्द्र पौडेल। सुरुमा यहाँ ठगिएका उनी पछि यस्तै व्यवसाय गर्न भनेर पोखरा हानिए। तर, पोखरामा यो व्यवसाय असफल भएको उनले बताए। 'पोखरामा त्यस्तो अनलाइन जब भनेर व्यवसाय गर्न सकिएन। राजधानीमा पो धेरै अपरिचित भेटिन्छन् र त्यस्तो व्यवसाय गर्न सकिन्छ। यहाँ त सबै स्थानीय। भनेअनुसार भएन भने त मारिहाल्छन् नि,' उनले भने, 'फेरि काठमाडौँमा दुईचार हजारको मतलब पनि गर्दैनन् युवाहरू।' आउट सोर्सिङमा लामो अनुभव बटुलेका सुर्खेतका अशोक गौतमले आफू पनि ठगिएको बताए। 'सुरुमा गलत मान्छेको फेला परेर ठगिएँ। पछि काम गरेर पनि पैसा नपाएर ठगिएँ,' उनले भने, 'नेपालमा धेरैले बेरोजगारहरूलाई ठग्ने नियतले काम गरिरहेका छन्।' उनका अनुसार इन्टरनेटमा भुलाएर बेरोजगारलाई झन् समस्यामा पार्ने काम भइरहेको छ यहाँ।
०००
काठमाडौँ, हाँडीगाउँकी अनिसा श्रेष्ठको दिनचर्या बनेको थियो, पत्रिकामा विज्ञापन हेर्नु। विज्ञापनमा पार्टटाइम जागिर गरे १८ हजार र फुलटाइम गरे ३६ हजारको आकर्षक तलब स्केल देखेपछि उनी पुगेकी थिइन्, चुच्चेपाटीस्थित नेपाल डेभलपमेन्ट प्रोजेक्टको कार्यालयमा। तर, त्यहाँ पुगेपछि आकर्षक जागिर खाने उनको रंगिन सपना तुहियो। उक्त संस्थाले तेर्सायो विभिन्न सर्त। सुरुमा सय रुपैयाँको फारम भर्नुपर्ने। त्यसपछि केही हजार तिरेर अनिवार्य तालिम लिनुपर्ने। कम्पनीले उनलाई तालिमका लागि भन्दै कल सेन्टरमा ३५ सय, टाइपिङमा तीन हजार, कम्प्युटर अपरेटरमा २५ सय, पोस्टकार्ड बनाउन दुई हजार, डल बनाउन तीन हजार तिर्नुपर्ने जनायो। उनी अहिले तनावमा छिन्। भन्छिन्, 'सधैँ रोजगारी पाइने आशले पत्रिकाको विज्ञापन हेर्छु। त्यो विज्ञापनअनुसार संस्थामा पुग्दा कुरा अर्कै सुन्नुपर्छ। उसै त पैसाको मारमा परेका हामी। त्यसमाथि जागिरका लागि त्यत्रो पैसा तिर्नुपर्ने।' उनले जागिरका नाममा विज्ञापन गरेर कम्पनीले बेरोजगारमाथि थप लुटको खेल चलाएको बताइन्।
गाँउबाट अध्ययनसँगै जागिर खाने सपना बोकेर आएका रमेश नेपालको त झन् तीतो अनुभव छ। पत्रिकामा हेरेको विज्ञापनकै आधारमा जागिर खान भन्दै चाबहिल मेडिकेयर अस्पतालअगाडि रहेको एसी कम्प्लेक्सको छैटौँ तलामा रहेको वेब इन्टरनेसनल कम्पनीमा तीन महिनाअगाडि पुगेका उनको सक्कली नागरिकता नै कम्पनीले धितोका रूपमा लुकाएर राखेको छ। सुरुमा १५ हजारसम्म तलब भन्दै जागिरमा राखेको कम्पनीले उनलाई मार्केटिङको लागि भन्दै केही कस्मेटिक सामानहरू बिक्री गर्न शहरका गल्लीगल्लीमा पठायो। पहिलो महिना जसोतसो सामान बेचेका उनले कम्पनीले सामान बेचेको आधारमा मुस्किलले ३५ सय रुपैयाँ मात्र तलब दियो। त्यसपछि जागिर छाड्न लागेका उनलाई कम्पनीले 'पहिला कम्पनीले तोकेको निश्चित कोटा सामान बिक्री गर्नुस्, अनि मात्र नागरिकता दिन्छौँ' भन्दै ब्ल्याकमेलिङ गरिरहेको छ।
सुरुमा जागिर खान आउँदा नै कम्पनीले उनीजस्ता हजारौँसँग २ सय ५० रुपैयाँका दरले रजिस्ट्रेसन फी भन्दै पैसा असुलेको थियो। त्यसपछि अलि कम पढेका र सोझा मानिसहरूको नागरिकता मागेर गुणस्तर नै नभएका सौन्दर्यका सामान बिक्री गर्न कुदाउन थाले। भन्छन्, 'जागिरको लागि रजिस्ट्रेसन फर्मको शुल्क त तिर्नैपर्ने। त्यसमाथि तालिमका लागि छुट्टै शुल्क तिर्नुपर्ने, अझ नभएर आफ्नो नागरिकता नै धितोका रूपमा राख्दा अहिले निकै समस्यामा परेको छु।'
सरकारबाट मान्यताप्राप्त 'ठग'
पत्रिकामा छापिने सयौँ विज्ञापनमध्ये धेरैमा 'नेपाल सरकारबाट मान्यताप्राप्त' उल्लेख गरिएको हुन्छ। कर कार्यालयमा एउटा कामका लागि भनेर दर्ता गर्ने अनि अर्कै काम गरिरहेका कम्पनीहरू बेरोजगारलाई भ्रमित पार्न यसो गरिररहेका छन्। 'सरकारले न त जागिर दियो। न त यस्ता ठगलाई कारबाही गर्न सक्यो,' पीडित रोज शाहीले आक्रोश पोखे, 'झन उल्टै सरकारबाट मान्यता पाएको भनेर छाती पिटेर ठग्न पाइरहेका छन्।' कर कार्यालयमा दर्ता भएका हरेक अफिसले सरकारबाट मान्यता पाएको भनेर मनपरी गर्न पाइरहेको देखेर चकित छन् उनी। अनि बेरोजगार युवाहरूमा भ्रम पार्न उद्यत व्यक्तिहरूले कम्पनीको नाम पनि त्यसैगरी जुराएका हुन्छन्। फेरि कुनैले आफूलाई एनजीओ भनेर विज्ञापन गरी भ्रम पारिरहेका छन्।
संख्यामा प्रतिस्पर्धा पनि भइरहेको देख्न सकिन्छ विज्ञापनमा। एउटाले २५ जना आवश्यक भन्यो। अर्कोले ५० भन्छ। तेस्रोले ७० त चौथोले ९०। हचुवाका भरमा संख्या राखेर भ्रम पार्न खोजिएको पाउन सकिन्छ।
पत्रिकाहरूमा आँखै तिरमिराउने 'भ्याकेन्सी नोटिस' देख्न पाइन्छ। यस्तो लाग्छ, नेपालमा रोजगारी नै भएन भन्नेहरू पूरै गलत हुन्। पछिल्लो राष्ट्रिय जनगणना भन्छ– ४२ लाख ४० हजार जनशक्तिले क्षमताअनुसार काम पाएका छैनन्। वार्षिक पाँच लाखको हाराहारीमा विदेश जाने युवाले यस्ता विज्ञापन देखेकै छैनन्। तर, वास्तविकता ठीक विपरीत छ। पछिल्लो पटक यस्ता विज्ञापनमा छापिने रोजगारदाताबाट ठगिने क्रम बढेपछि यस्ता विज्ञापन विज्ञापनमै सीमित भएको पुष्टि हुँदैछ। उनीहरू बेरोजगारलाई भ्रम बाँडिरहेका छन्, सपना बाँडिरहेका छन् र ठगिरहेका छन्।
यो ठगीबारे आइटी कोर्स पढेपछि बल्ल बुझेँ : विदुर कायस्थ, आईटी इन्जिनियर
इन्टरनेट बहुआयामिक प्रविधि हो। यसबाट धेरैथोक गर्न सकिन्छ। व्यापार गर्न सकिन्छ। लगानी गर्न सकिन्छ। जागिर खान सकिन्छ। तर, त्यसका लागि प्रविधिमा खारिएको बुद्धि, ज्ञान, सीप आवश्यक छ। कम्प्युटर खोल्न जानेकै भरमा हजारौँ तलबमा लोभिएर यस्ता अनलाइन जागिर गर्छु भन्नु कत्तिको जायज होला ? सबैले अनुमान लाउन सकिन्छ।
नेपालमा खुलेका आफूलाई मल्टिनेसनल भन्ने धेरै कम्पनी बेरोजगारलाई ठगिरहेको देख्छु म। म पनि एक वर्षजति ठगकै भुमरीमा थिएँ। मैले पनि सुरुमा १० हजार खर्चेर जागिर थालेँ। दिनमा १० घण्टा टाइप गराएर एकदुई सय दिएकै भरमा कसले काम गर्छ ? थाकेर लखतरान परिएको हुन्छ काम गरेर। अनि ठगहरूले डलरका सपना देखाइरहेका हुन्छन्। अनि मैले यो ठगीबारे आइटी कोर्स पढेपछि बल्ल बुझेँ।
घरमै बसेर राम्रो कमाइ गर्न सकिन्छ। विदेशबाट धेरै अर्डर फेला पार्न सकिन्छ– वेबसाइट बनाउने, सफ्टवेयर बनाउने आदि। तर, यो विज्ञापनमा भनिएजस्तो सजिलो काम होइन। नेपालका लागि यो लिगल काम नै होइन। विदेशमा तोकिएभन्दा धेरै पैसा लेनदेन गर्नै पाइँदैन।
ठगिने चुप बस्नु हुँदैन
ज्योति बानिया, महासचिव, उपभोक्ता हित संरक्षण मञ्च
रोजगारीका नाममा गलत सन्देश तथा सेवासुविधा देखाएर मान्छेलाई झुक्याउने काम धेरै पहिलादेखि चल्दै आइरहेको छ। हामीले यसको नियन्त्रणका लागि पटक–पटक आवाज उठाइरहेका छौँ। सरकारले नियन्त्रण गर्न नसक्दा हजारौँ बेरोजगार नेपाली झन् ठगिन पुगेका छन्। हुँदै नभएको सेवा र सुविधाको हवाला दिँदै दैनिक पत्रिकामा आउने यस्ता विज्ञापनका पछाडि लाग्दा बेरोजगार थप मारमा परेका छन्। सार्वजनिक रूपमै खुलेआम सबैलाई झुक्याएर फस्टाइरहेको यस्तो गलत कार्य तत्काल रोक्नुपर्छ। यस्तो कार्य गर्नेलाई पाँच वर्षसम्म जेल हाल्नुका साथै लाखौँ जरिवानासमेत गर्न सकिने कानुनी व्यवस्था छ।
आम नागरिक तथा उपभोक्तामा भ्रम पैदा गर्दै झुटा प्रचारप्रसार गर्ने यस्ता संस्था तथा व्यक्तिलाई कारबाही गर्न विभिन्न ऐन तथा नियम बनेका छन्। झुटा प्रचारका कारण ठगिएको भन्दै कसैले संस्था र व्यक्तिमाथि उजुरी दिने हो भने उनीहरूलाई तत्काल कारबाही गर्न सकिन्छ। उपभोक्तालाई भ्रमपूर्ण प्रचार–प्रसार वा विज्ञापन गरी अनुचित व्यापारिक क्रियाकलाप गरेमा उपभोक्ता संरक्षण ऐन–२०५४ अनुसार कसुर मानी कारबाही हुन्छ। ऐनको दफा १० मा यस्ता क्रियाकलाप गर्न नपाइने स्पष्ट उल्लेख छ। कसैले यस्तो कार्य गरेको पाइएमा त्यस्ता व्यक्तिलाई पाँच वर्ष कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। बेरोजगारहरूलाई झुट्टा जानकारी दिँदै हुँदै नभएको सेवासुविधा देखाएर अनुचित लाभ उठाउने यस्ता संस्थालाई यही ऐनअनुसार कारबाही गर्नुपर्छ।
जागिरका नाममा आफू ठगिँदा समेत चुप लागेर बस्ने मानिसहरूका कारण पनि यस्ता कार्य फस्टाइरहेका पाइन्छन्। कुनै उपभोक्ताले आफू ठगिनेबित्तिकै तुरुन्तै उजुरी दिने हो भने यस्तो कार्य धेरै हदसम्म रोकिन्छ। त्यसकारण म उपभोक्ताहरूलाई यस्ता कार्य गर्नेविरुद्ध उजुरी दिन आग्रह गर्छु।
सरकारलाई नै साक्षी राखेर यस्ता संस्थाहरूले उपभोक्ताहरूलाई खुलेआम ठगिरहेका छन्। तर, सरकार भने मूकदर्शक भएको छ।
साभार : नागरिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !