'मलाई त ३५ दिनपछि मात्र होस आएछ ।' डडेलधुराको खलंगामा जन्मिएका ठकुराठीले हालैको एकबिहान पुराना दिनको स्मरण गरे, 'मलाई गोली लागेको कुरा पछि मात्र थाहा भयो ।' वीर अस्पतालपछि थप उपचारका लागि उनलाई थाइल्यान्डको बैंकक पुर्याइएको थियो । त्यति बेला श्रीलंकास्थित संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका प्रमुख भेषबहादुर थापा पत्नी रीतासँगै कामको सिलसिलामा थाइल्यान्ड घुम्दै थिए । गोली लागेको ३६ औं दिनमा ठकुराठीलाई अस्पतालमा भेट्न पुगेका थापाले भनेछन्, 'गोली चाहिँ हान्न नहुने, बरु काराबास राख्नुपर्ने ।' त्यो कुरा ठकुराठीले बुझेनन् । थापा त्यहाँबाट हिँडेपछि साथमा रहेका आफ्ना ज्वाइँ विष्णुबहादुर केसीसँग ठकुराठीले सोधे, 'थापाले कसलाई गोली हानेको कुरा गरेको ?' 'कुरा त हजुरकै बारेमा हो ।' ज्वाइँको कुरा सुनेर ठकुराठी झसंग भए । आफैंलाई गोली हानेको पत्तै रहेनछ उनलाई । डाक्टरले 'गोली हानेको नभन्नु' भनेका रहेछन् । ठकुराठीले शंका गरे, पक्कै यो काम त्यही भूमिगत गिरोहको हुनुपर्छ ।
नभन्दै ठकुराठीको हत्या प्रयास गर्नेहरूको रहस्य खुल्दै गयो । अमेरिकाको लसएन्जल्समा बुनिएको उक्त घटनाका रणनीतिकार थिए— पूर्वअधिराजकुमार धीरेन्द्र शाहका एडिसी भरत गुरुङ । गुरुङले जगत गौचनलाई गोली हान्ने मानिस खोज्न लगाएका रहेछन् । गौचनको इशारामा गोली हान्ने काममा अघि सरे, विकास गुरुङ जो २७ वर्ष जेल बसेर गत वर्ष मात्र छुटे । भूमिगत गिरोहको गोलीको सिकार भएपछि ठकुराठीको एउटा आँखा सधैंका लागि गुम्यो ।
अहिले उनको टाउकोमा गहिरो खोपिल्टो छ । 'कस्तो लाग्छ त्यो घटना सम्झँदा ?' प्रश्नमा ठकुराठीले निर्धक्कसँग भने, 'बडो स्वाद लागिरा'छ । मलाई चिनाउने काम त्यही गोलीले गरायो ।' ठकुराठीले निर्भिक भएर पत्रकारिता गरे । पञ्चायती व्यवस्थाको राजनीतिमा संलग्न भएर पनि उनले पत्रकारितामार्फत उक्त व्यवस्थाका नकारात्मक पक्षहरू, भूमिगत गिरोहका चलखेलहरू निरन्तर बाहिर ल्याइरहे, जनतालाई सुसूचित गरिरहे । पञ्चायती व्यवस्थाको प्रजातान्त्रिक धारको समर्थनमा लागेका उनी कुनै लोभ, लालचमा फसेनन् । ०४२ सालमै भरत गुरुङले उनलाई भनेका रहेछन्, 'तिमीलाई १ करोड रुपैयाँ दिन्छु । पद, प्रतिष्ठा मिलाउँछु, तर पत्रकारिता छाडिदेऊ ।' ठकुराठीले उक्त प्रस्ताव सिधै अस्वीकार गरे । बरु भनिदिएँ, 'मलाई पाठकले जे दिन्छन्, त्यही भए पुग्छ, अरू चाहिँदैन ।' उनमा देशका लागि केही गर्ने आत्मबल थपियो । जे-जस्तो छ त्यसैमा उनी गौरब गर्छन् । 'जीवनमा कहिल्यै टाउको निहुराउनुपर्ने अवस्था आएन ।' ठकुराठी भन्छन्, 'अहिलेसम्म कसैबाट यो मान्छेले मेरो पैसा खाइदियो भन्ने आरोप सुन्नु परेको छैन ।'
नेपालमा जुन बेला भारतीय अखबारहरू दिनमान, टाइम्स अफ इन्डिया, नबभारत टाइम्स, इन्डिया टुडे पढ्नेहरूको बाहुल्यता थियो, त्यही बेला ठकुराठी र उनको समूहले निकालेको पत्रिकाले लोकपि्रय बटुल्दै गयो । पञ्चायतले प्रतिबन्धित गरेका व्यक्तिहरूको अन्तर्वार्ता छाप्ने तथा पञ्चायतका विकृतिहरू जनमानससमक्ष ल्याउने साप्ताहिक मञ्चले पाठकहरूको मन जित्दै गयो । उनको बुझाइमा लेखाइको सुन्दरताभन्दा पनि त्यो बेला 'आँट' सबैभन्दा ठूलो कुरा थियो । 'पत्रिका पढ्ने बानी बसाल्यौं हामीले ।' उनी सुनाउँछन्, 'त्यो लोकपि्रयता देखेपछि प्रशासनले सेन्सरसिप लगाउने, जफत गर्ने काम गर्न थाल्यो ।'
६६ वर्षको उकालो उक्लिरहेका ठकुराठीको दैनिकी बिहान साढे ४ बजे सुरु हुन्छ । उनी मधुमेहका बिरामी हुन् । नित्यकर्मपछि आधा घण्टा योगका लागि छुट्याउँछन् । त्यसपछि चियासँगै ब्रेकफास्ट लिन्छन् । उनी रेडियो नेपाल नियमित सुन्छन् । कान्तिपुर दैनिक घरमै आइपुग्छ । चाँसो लागेका पत्रिकाहरू बाहिर गएर किनेर पढ्छन् । ज्ञानेश्वरस्थित निबासबाट उनी राजदरबार, रातोपुलतिर नियमित घुम्न निस्कन्छन् । घर र्फकंदा साढे ९ बज्छ । भेटघाटका लागि आउनेहरूसँग गफगाफमा केही समय बित्छ । बिहानको खाना १०-११ बजेतिर खान्छन् । जेरी उनलाई खुब मन पर्छ, तर मधुमेहले च्यापेपछि जेरी खान छाडिदिए । मासु, भात र गुन्द्रुक भनेपछि उनी हुरुक्कै हुन्छन् । पोलेको मकै खान पनि उत्तिकै रुचाउँछन् ।
ठकुराठी यतिबेला पुराना दिनहरूको स्मरण लेख्ने तयारीमा छन् । यतिबेला उनी आफूले काम गरेका पुराना पत्रपत्रिकाहरूको खोजी गर्दैछन् । स्मरणशक्ति पहिलेजस्तो बलियो छैन । तैपनि पुस्तक लेखनको काम पूरा गर्न पाए हुन्थ्यो भन्ने उनको सोच छ । आजतक, एबीपी, एभिन्युज, सगरमाथा र हिमालयन टेलिभिजन उनले हेर्ने च्यानल हुन् । एउटा आँखाको दृष्टि गुमेकाले पुस्तक पढ्न गाह्रै हुन्छ । पत्रकारितामा साथीहरूको जोडले आए पनि राजनीतिमा आउन डोटीवासी पूर्वगृहमन्त्री खड्गबहादुर सिंहको प्रेरणा रहेको बताउँछन्, ठकुराठी । अझै पनि ठकुराठीमा राजनीति गर्ने र समाजको उन्नतिमा सहयोग पुर्याउने उत्साह बाँकी नै छ ।
साभार : ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !